गान्तोक, 5 नोभेम्बरः सिक्किमका चर्चित र्यापर उगेन नामग्याल भोटिया उर्फ यूएनबीले आफूमाथि अरुणाचल प्रदेशमा चलिरहेको एउटा मुद्दाको कारबाही प्रक्रियाप्रति असन्तुष्ट व्यक्त गरेका छन्। उनले आफूमाथि ठूलो षड्यन्त्र भएको आरोप लगाउँदै अनुसन्धान अधिकारी (आईओ)-को आचरणमाथि पनि गम्भीर प्रश्न तेर्साएका छन्।
उल्लेखनीय छ, यूएनबीमाथि अरुणाचल प्रदेशको लोअर दिबाङ उपत्यका जिल्लास्थित तिवारी गाउँ नजिकै 8 देखि 10 जनाको समूहले आक्रमण गरेको बताइएको थियो। गत 21 सेप्टेम्बरमा उनी ‘अनिनी विन्टर फेस्टिभल 5.0’ मा आफ्नो प्रस्तुति दिएर फर्किँदै गर्दा सो घटना भएको थियो।
बिहीवार आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै यूएनबीले भने, “हामी 2022 मा प्रस्तुति दिन इँटानगर गएका थियौँ। त्यो कार्यक्रम सकिएर फर्किएपछि त्यहाँका एक डन क्याम नामक र्यापरले मलाई लक्षित गरी र्याप बनाएका थिए। मैले त्यस र्यापबारे पछि इन्टरनेटमार्फत जानकारी पाएँ। सबैले मलाई हिपहपको रक्षाको निम्ति ती र्यापरविरुद्ध र्याप बनाउन आग्रह गरेपछि मैले पनि उनीविरुद्ध र्याप बनाएँ र त्यो क्रम जारी रह्यो। मैले अप्रेल, 2025 मा जारी गरेको ट्र्याक डनले नेपाली समुदायलाई लक्षित गरेको अपमानजनक टिप्पणी र कथित जातीय अपमानको प्रतिक्रियामा बनाएको थिएँ। मेरो गीतले उनको समुदायलाई लक्षित गरेको थिएन, न त त्यसमा उनको नाम नै लिइएको थियो। तर उनले नेपाली समुदायलाई निशाना बनाउन थाले, त्यसपछि मात्रै मैले जवाफ दिनुपर्ने भान भयो। हामी हालै अनिनी महोत्सवमा प्रस्तुति दिन जाँदा हामीमाथि प्राणघातक आक्रमण भयो।” उक्त घटनापछि पुलिसमा एफआईआर दर्ता गरेको यूएनबीले बताए। यद्यपि, त्यसको केही समयपछि 29 सेप्टेम्बरमा डन क्यामकी श्रीमतीले आफूविरुद्ध प्रति एफआईआर दर्ता गरेको यूएनपीले घटनाक्रमबारे प्रस्ट्याए। उनले अनुसन्धानको प्रगति र यसलाई अघि बढ़ाउने प्रक्रिया विशेष गरी अधिकारीहरूसँग सहयोग गर्ने आफ्नो प्रयासको सन्दर्भमा चिन्ता व्यक्त गरे। उनले भने, “हामीले अनुसन्धान अधिकारीलाई अनुसन्धानमा सहभागी हुन र बयान दर्ता गर्न 1 नोभेम्बर, 2026 मा अरुणाचल प्रदेश आउने निश्चित गरेपछि 31 अक्टोबरमा सिक्किमबाट इँटानगर प्रस्थान भएका थियौँ। त्यहाँ पुगेपछि हामीलाई पुलिसबाट सुरक्षा प्रदान गरिनुपर्ने माग पनि राखेका थियौँ। तर, सुरक्षा दिनु त टाढ़ैको कुरा अनुसन्धान अधिकारी पनि अस्वस्थ भएकोले अस्पताल भर्ना भएको भनियो। हामीले बयान दर्ता गर्न सकेनौँ। यसले हामीलाई आघात पुर्याएको छ। हामीले आर्थिक रूपमा पनि निकै नोक्सानी ब्योहोर्नु परेको छ।” यूएनबीले 28 अक्टोबरमा अनुसन्धान अधिकारीले आफूलाई जातीय विभेदबारे उल्लेख गरिएको एउटा भिडियो हटाउन आग्रह गरेको विषयमा पनि प्रश्न उठाए। उनले यस विषयमा मानव अधिकार निकायलगायत सम्बन्धित निकायहरूमा उजुरी दर्ता गराएको, जसमा अनुसन्धान प्रक्रियामा उठाइएका चिन्ताहरूतर्फ ध्यानाकर्षण गराउन आग्रह गरिएको बताए। यस घटनालाई हत्याको प्रयासको रूपमा वर्णन गर्दै यूएनबीले चारजना हिरासतमा रहेको र अन्यले भने धरौटीमा रिहाइ पाएको अवगत गराए। उनले अनुसन्धानको गति तथा फोन रेकर्डहरूको जाँच प्रक्रियामाथि प्रश्न उठाएका छन्। उनले मुख्यमन्त्री पीएस गोलेलाई साथ र सहयोगको निम्ति आभार व्यक्त गरे।
यूएनबीका अधिवक्ता अभिनव झाले यूएनबी र उनका सहयोगीहरू अनुसन्धानमा सहयोग गर्न तत्पर रहेको यद्यपि, कानुनी प्रक्रियामा सहभागी हुने प्रयास गर्दा पनि झेल्न परेका कठिनाइहरूप्रति चिन्ता व्यक्त गरे। यस घटनाले सिक्किमका एक कलाकारद्वारा उठाइएका चिन्ताहरूलाई पुनः चर्चामा ल्याएको र यस प्रकरणको निष्पक्ष र पारदर्शी अनुसन्धान हुनुपर्ने माग गरेका छन्। “यूएनबीमाथि आक्रमण भएपछि हाम्रो पक्षबाट एफआईआर दर्ता गरिएको थियो। अप्रेल, 2025 मा यूएनबीले एउटा गीत बनाएको विरुद्धमा प्रति एफआईआर गरियो। हामीलाई अक्टोबर महिनामा दुईचोटि नोटिश दिइएको थियो। त्यसपछि हामीले एक महिनाका लागि भावी योजना बनाउन समय मागेका थियौँ। हामी दिइएको समयसीमामै पेश भयौँ। यूएनबी आईओसँग फोनमा सम्पर्कमा थिए। 28 अक्टोबरमा आईओले यूएनबीलाई भिडियो हटाउन आग्रह गरेका थिए। हामीले भिडियोमा कसैलाई ठेस पुर्याउन खोजिएको होइन भनेर अस्वीकरण पनि उल्लेख गरेका थियौँ। आईओले अर्को पार्टीलाई भिडियो डिलिट गर्न लगाएको भनेका थिए। यसको अर्थ भिडियो हाम्रो मात्रै हुनेछ। हामीलाई फसाउन ठूलो षड्यन्त्र गरिँदैछ। हामीले आईओ परिवर्तन गर्न आग्रह पनि गरेका छौँ किनभने उनले प्रमाणमाथि छेड़छाड़ गरेका छन्।”
झाले भने, “यदि पुलिसलाई कुनै अपराध भएको छ भन्ने लाग्छ भने उनीहरूले अनुसन्धान गर्नुपर्छ र कानूनअनुसार अघि बढ्नुपर्छ। तर, कसैलाई प्रमाण बन्न सक्ने सामग्री हटाउन लगाउनाले अनुसन्धानको निष्पक्षतामाथि गम्भीर प्रश्न खड़ा गर्छ।” झाले 5 नोभेम्बरमा यूएनबी उपस्थित हुन नसक्ने कुरा जानकारी गराउँदा पनि अनुसन्धान अधिकृतले आदेश नमानेको खण्डमा पक्राउ पर्न सक्ने चेताउनी दिएको आरोप लगाए। उनले सिक्किम पुलिसले धेरै सहयोग गरेको बताउँदै आभार व्यक्त गरे।
यहाँ तपाईंको विज्ञापन देखिन सक्छ
300 × 250 विज्ञापनका लागि सम्पर्क गर्नुहोस् →स्थानीय • १४ नोभेम्बर, २०२६
स्थानीय • १३ नोभेम्बर, २०२६
स्थानीय • १३ नोभेम्बर, २०२६