गान्तोक, 5 नोभेम्बरः सिक्किम ब्याडमिन्टन सङ्घ (बास)-ले आगामी 49औँ योनेक्स सनराइज जुनियर राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनशिप 2026 को मिति घोषणा गरेको छ।
राष्ट्रियस्तरको यो प्रतिष्ठित प्रतियोगिता आगामी 14 देखि 21 नोभेम्बरसम्म पाल्जर स्टेडियममा सञ्चालन हुनेछ, जसमा देशभरिका प्रतिभावान युवा ब्याडमिन्टन खेलाड़ीहरू एकै ठाउँमा भेला हुनेछन्।
पत्रकारहरूसँग संवाद गर्दै मुख्यमन्त्रीका राजनीतिक सचिव तथा बास अध्यक्ष जेकब खालिङले च्याम्पियनशिपलाई सफलतापूर्वक सम्पन्न गर्न सङ्घका सबै सदस्य एकजुट भएर काम गरिरहेको बताए। उनले मुख्यमन्त्री पीएस गोलेले यस प्रतियोगिताको तयारीलाई व्यक्तिगत रूपमा अनुगमन गरिरहेको जानकारी दिए।
उनले सिक्किम सरकारले यस च्याम्पियनशिपलाई राज्यस्तरीय कार्यक्रमको मान्यता दिएको अवगत गराए। उनले मुख्य सचिव र विभिन्न विभागका प्रमुखहरूले यस प्रतियोगिताको सुचारु र सफल आयोजनाका लागि सङ्घलाई आवश्यक समन्वय र सहयोग प्रदान गरिरहेका बताए। प्रतियोगिताको महत्त्वबारे प्रकाश पार्दै अध्यक्ष खालिङले यसमा विश्व ब्याडमिन्टन महासङ्घको वरीयतामा रहेका खेलाड़ी र युथ ओलम्पिककी फाइनलिस्ट तन्वी शर्मालगायत धेरै शीर्ष वरीयताका खेलाड़ीहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।
उनले यस प्रतियोगितालाई सिक्किमको खेलकुद क्षेत्रका लागि एक महत्त्वपूर्ण कोसेढुङ्गाको रूपमा वर्णन गर्दै भने, “राज्यमा आयोजन हुन लागेको यस प्रकारको पहिलो र एकमात्र राष्ट्रिय च्याम्पियनशिप हो। यस प्रतियोगिताले सिक्किमका उदीयमान ब्याडमिन्टन खेलाड़ीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने, उच्च स्तरको प्रतिस्पर्धा हेर्ने र देशका उत्कृष्ट खेलाड़ीहरूबाट प्रेरणा लिने महत्त्वपूर्ण मञ्च प्रदान गर्नेछ। सिक्किममा ब्याडमिन्टन सबैभन्दा बढ़ी खेलिने र तीव्र गतिमा विकास भइरहेका खेलहरूमध्ये एक हो। त्यसैले, यस्तो प्रतिष्ठित राष्ट्रिय च्याम्पियनशिपको आयोजना हुनु खेलको विकास र यहाँका उदीयमान खेलाड़ीहरूका लागि विशेष रूपमा महत्त्वपूर्ण छ।”
सिक्किम ब्याडमिन्टन टोलीको तयारीबारे बोल्दै प्रशिक्षक तथा पूर्व भारतीय ब्याडमिन्टन खेलाड़ी राम सी विजयले राज्यको टोलीसँग जोड़िन पाउनुलाई आफ्नो लागि एक ठूलो अवसर भएको बताए। उनले सहयोगका लागि सिक्किम ब्याडमिन्टन सङ्घप्रति आभार व्यक्त गरे र खेलाड़ीहरू दिन प्रतिदिन अझ राम्रो हुँदै गइरहेको बताए। उनले सङ्घको निरन्तर सहयोग र प्रोत्साहनको प्रशंसा गर्दै खेलाड़ीहरूलाई उपलब्ध गराइएका सुविधा र सहायता अत्यन्तै उत्साहजनक रहेको बताए। उनले निरन्तर प्रशिक्षण र सहयोग पाएमा सिक्किमका खेलाड़ीहरूले भविष्यमा राष्ट्रियस्तरका प्रतियोगिताहरूमा अझ राम्रो प्रदर्शन गर्न र पदक जित्न सक्ने विश्वास व्यक्त गरे। उनले सिक्किममा प्रतिष्ठित राष्ट्रिय च्याम्पियनशिप आयोजन हुनु स्थानीय खेलाड़ीहरूका लागि एउटा महत्त्वपूर्ण अवसर रहेको बताए।
यहाँ तपाईंको विज्ञापन देखिन सक्छ
300 × 250 विज्ञापनका लागि सम्पर्क गर्नुहोस् →स्थानीय • १४ नोभेम्बर, २०२६
स्थानीय • १३ नोभेम्बर, २०२६
स्थानीय • १३ नोभेम्बर, २०२६