वसन्त, ग्रीष्म, वर्षा, शरद, हेमन्त र शिशिर यी 6 वटा ऋतुभित्र 12 महीना पर्छन। सबै ऋतुको आ-आफ्नो विशेषता भए तापनि शरद ऋतुको छुट्टै महत्व छ। यस ऋतुमा पर्ने असोज महिना र त्यसमा पनि शुक्लपक्षलाई अझ बढ्ता महत्व दिइएको छ। यसबेला न गर्मी न जाड़ै हुन्छ। आकाश उघ्रेको चन्द्रमा र तारागण छर्लङ्ग देखिन्छन्। दिन सुक्खा र रमाइलो हुन्छ। बाली-नाली लागिसकेको, कतै पाकेको र कतै पाक्न आँटेको देखिन्छ। कृषकहरू पनि कामको चटारोबाट प्रायः मुक्त भइसकेका हुन्छन्। यस्तै सबैतिरबाट मौका परेको बेलामा दशैँको चाड़ मनाउने हाम्रो परम्परा छ।
असोज कृष्णपक्षको औँसी तिथिलाई जमरे-औँसी भनिन्छ। यस दिन जमरा राखिन्छ। जमरा भनेको जौको आँकुरा हो। हिज-आज त धान, जौ, तिल मकै सबै मिलाएर जमरा राखिन्छ र त्यमाथि तामाोको पवित्र घड़ामा पानी भरेर अनि आँप, बर, पिपल, राई, डुम्म्रो दाइ औषधीमूलक वृक्षका पात हालेर रातो वस्त्र रातो चन्दन, फूल अक्षता आदिले देवीको पूजा गरिन्छ। यस कामलाई घटस्थापना भन्दछन्। भोलिपल्ट अर्थात शुक्लपक्षको परेवा तिथिबाट नौरथा लाग्छ। नौ रातसम्म देवीको पूजा-आराधना हुनाले नवरात्री अथवा नौरथा भनिएको हो। कालो रात अज्ञानको नमूना हो, अज्ञानरूपी रातमा जागो बस्नुको आशय, अज्ञान हटाएर ज्ञान पाउनु हो। यसैकारण हामी कालरात्रीमा देवीको, मोहरात्रीमा श्रीकृष्णको र महाशिवरात्रीमा शिवको आराधना गर्दछौँ र त्यसबाट ज्ञानको खोजी गर्छौँ। यसर्थ वेदले-तमसोमा ज्योतिर्गमय अर्थात् अँध्यारोबाट उज्यालोतर्फ लैजाऊ भनेको हो।
नौरथाको नौ दिनपछिको दशौँ दिन दशैँ हो। नौ दिनसम्म शैलपुत्री आदि नौ देवीको आराधना गरिन्छ र विशेष गरी सातौँ दिनमा कालरात्री, आठौँ महागौरी र नवौँ दिनमा सिद्धिदात्रीको साथै ज्ञानकी देवी सरस्वतीको, धनकी देवी लक्ष्मीको र प्रलयकी देवी कालीको पूजापाठ र आराधना-दुर्गादेवीको नाउँले गरिसकेपछि त्यही पवित्र र स्वास्थ्यप्रद जमरा एवं प्रसाद दशैँका दिन पनि बाँड़िन्छ।
जयन्ती मङ्गला काली भद्रकाली, कपालिनी,
दुर्गा क्षमा शिव धात्री स्वाहा स्वधा नमोस्तुते॥
यस्ता पवित्र मन्त्रद्वारा जमराको पूजा गर्ने परम्परा छ। दुर्गादेवीका धेरै स्वरूप छन्। दुर्गाति हुन नदिने हुनाले दुर्गा भनिएको हो। यहाँ टीकाकोे विशेषताभन्दा अघि यसको आधार के हो? भन्ने कुरा जान्नु आवश्यक छ। दशैँको टीको किन लगाइन्छ भने, नवरात्री विशेष गरेर शक्तिको उपासना गर्ने शुभ पर्व हो। भौतिक संसारमा मानिसलाई शक्तिशाली हुनलाई ज्ञान-बल तथा सम्पति चाहिन्छ। सरस्वतीले ज्ञान-विद्या, लक्ष्मीले धन-सम्पति र कालीले शत्रु नाश गर्ने बल प्रदान गर्छिन।
देवी-देवता विश्वास र श्रद्धा चाहन्छन्। संसार विश्वासले चल्दछ। देखेको कुरा मात्र सत्य हुन् भन्दा आफ्नो अस्तित्व नै हराउँछ। आध्यात्मिक अर्थमा तीनै देवीहरू भगवानका चैतन्य शक्ति हुन्। यिनैलाई साथमा लिएर ईश्वरले जगतको सृजना-पालन र प्रलय गराउँछन्। यसर्थ नौरथाको सातौँ दिनमा बिहान फूलपातीको पूजा गरेर ज्ञानकी देवी सरस्वतीको पूजा, आठौँ दिन महालक्ष्मी र महाकालीको पूजा हुन्छ। यस रातलाई कालरात्री भनिन्छ। यसै दिन मनका दुर्गुण-काम-क्रोध आदिको प्रतीक मार हान्ने चलन उति सुहाउँदो छैन तर मानिस जिब्राको कमारो हुनाले यो प्रथा आजपर्यन्य छोड्नसकेको छैन। पशु बलि नदिनेले नवौँ रात्रीमा कुभिन्डोज्ञको बलि दिन्छन् र आफ्नो मनोकामना सिद्ध होस् भनेर सिद्धिदात्री देवीको पूजा-आराधना गर्दछन्। यसरी नौ दिनसम्म शक्तिको उपासना र विशेषगरी ज्ञान-धन अनुभवी बुढ़ा-पाका र आमा-बाबु सबैका हातबाट विजयको टीको र आशिष लिनु सभ्य मानवका लागि अत्यन्त गौरवको विषय हो भन्नुमा अनुचित नहोला।
दुर्गा ज्ञान-धन र बलकी मूर्ति हुन्। प्रतीक हुन्। यस दिन भगवान रामले लङ्का विजय गरेका थिए। यसकारण यस दिनलाई विजया दशमी पनि भनिन्छ। यसैगरी सरस्वतीले सत्पुरूषका अधिकारको हनन् गरी मनमानी गर्ने शुभ-निशुभलाई, लक्ष्मीले महिषासुरलाई र कालीले मधु-कैटभ आदि अनेक तमोगणी दानवहरूमाथि विजय गरेको उपलक्ष्यमा विजया दशमीको पर्वमा मान्यजनको शुभ आशिष शक्तिको आराधना र फूल-प्रसाद सखा-सम्बन्धीको भेटघाट, मोवा-मिष्ठानको भोग, मनोरञ्जन र हर्षोल्लास आदिसित मनाउने परम्परा रहिआएको छ।
निधारमा टीको किन लगाइन्छ भने योगशास्त्र अनुसार दुइ आँखीभौँको बीचमा आज्ञा-चक्र हुन्छ, यसै ठाउँमा प्राण शक्ति दिने सुषुम्ना नाड़ीसित ईडा र पिंगला नाड़ी पनि मिलेका हुन्छन्। यस क्षेत्रलाई शान्त र शीतल राख्न श्रीखण्ड केशर-कुकुम आदिको लेप लगाइन्छ। यसरी शीतल गराउन तिलक-चन्दन आदिको लेप लगाउनाले आयु बढ्छ, रोग-पाप नष्ट हुन्छ अनि आपद-विपद आइपर्दैन भन्ने शास्त्रको सम्मति छ। शरीरको उत्तम अङ्ग शिर हो, प्रसाद, टीका र आशीवार्द उत्तम अङ्गले थाप्नुपर्दछ, लत्याउनु हुँदैन। प्रसाधन र श्रृङ्गार मुख-मण्डलमा गरिन्छ।
मानिसको प्रथम दृष्टि अनुहारमा पर्दछ। अनुहारबाटै मानिसको लक्षण पत्तो लाग्छ। यसर्थ निधारलाई महत्त्व दिएर टीका-टालो गर्ने चलन चलिआएको छ। नारीहरूको श्रृङ्गारको टीको बालकमा कुदृष्टि नपरोस भनेर लगाइएको हो। आमाको पैतालाको टीको सौभाग्यवतीको हो। सिन्दुरको टीको, वैष्णवहरूको उर्ध्वपण्ड (ठाड़ो टीको) शैवीहरूको त्रिपुण्ड (तेर्सो तीनधर्के) र साधारण एक थोप्ले टीको यी सबै ज्ञान-आयु, स्वास्थ्य र गौरवका प्रतीक हुन्। खत नलागेको सग्लो चामलको (अक्षता) गाईको पवित्र एवं पौष्टिक दही शक्ति र सामर्थ्यको प्रतीक, रातो चन्दन, सिन्दुर, वस्त्र, फूल आदि सौभाग्य, वीरता र गौरवका चिन्ह हुन, गौरव शीर हो। अत-शिरले स्वीकार गरिन्छ।
शिर लगायत हृदय-नाभी-कण्ठ-शिखा क्षेत्रमा पनि चन्दन-भरम विभूति धारण गरिन्छ। यिनीहरू पनि प्राणशक्तिका क्षेत्र हुन्। टीकाको महत्व आध्यात्मिक र भौतिक दुवै प्रकारले हुन्छ। ईश्वरीय वर-प्रसाद र मान्यजनबाट थापेको आशीवार्दयुक्त दही अक्षताको टीकाले मानिस गौरवशाली र निर्भय रहन्छ। टीका धेरै आकारका हुन्छन्। वैष्णवहरूले उर्ध्वपुण्ड अर्थात् ठाड़ो टीका लगाउँछन् भने शैवीहरू त्रिपुण्ड अर्थात् तीन धर्काको तेर्सो टीका लगाउँछन्। कसैले पूर्ण चन्द्र आकारको एउटा गोलो टीका लगाउँछन्। यी सबै आ-आफ्ना सम्प्रदायको परिचायक हुन् भनेर वर्णन गरियो।
टीका पवित्र वस्तुबाट बनाइन्छ जस्तै श्रीखण्ड, लाल चन्दनको काठ केशर, कस्तुरी, कुम्कुम, हरिद्र, गङ्गामाटी, सिन्दुर, भरम, अबीर आदि। यो स्वास्थ्यकर एवं माङ्गलिक हुन्छ। यसप्रकार टीका नित्य पूजा र कार्यक्रममा प्रतिष्ठित गरिएको देवी देवतालाई चाड़ पर्व र विशेष अवसरमा लगाउने हाम्रो आफ्नै परम्परा छ। पितृकार्यमा लगाइने टीको हर्दीले रङ्गाएको अथवा रङबिनाको हुन्छ। पितृहरू सत्वगुणी हुनाले सेतो, पहेँलो सात्विक वस्तु मनपराउँछन्। शक्तिका प्रतीक देवी, हनुमान, गणेश आदि रातो वस्तुले, शिवलाई सेतोले, विष्णु-राम-कृष्ण रातो-सेतो दुवैले, भूत-प्रेत-शानि-राहु कालो वस्तुले पुजिन्छन्।
भित्रिएको विकृति
दशैँमा आफन्त, मान्यजन र ठूलाबड़ाको हातबाट टीका तथा जमरा लगाउने र आशीर्वाद प्राप्त गर्ने नयाँ-नयाँ कपड़ाहरू लगाउने, आफ्नो क्षमताअनुसार मिठो खाना खाने-खुवाउने, घर-आँगन, बाटो-घाटो, गाउँ-बस्ती सफासुग्घर राख्ने जस्ता काम यस चाड़मा विशेष उत्साहका साथ गरिन्छ। यसो गरेमा वर्षभरि नै सुख प्राप्ति हुने, कार्य सफलता मिल्ने शास्त्रमा उल्लेख गरिएको पाइन्छ। पहिले दशैँमा आफ्नो घरमा रङ लगाउने, गाउँ-घरमा रमाइलो गर्ने, आफूसँग जे छ त्यही कुरामा रमाउने, परिवारहरू भेटघाट गर्ने, मीठो मीठो कुरा खाने गरिन्थ्यो। तर अहिले विगतको तुलनामा दशैँमा विकृति पनि उत्तिकै बढ्दो क्रममा देखिन्छ।
अहिले दशैँ एक-अर्काको देखासिकीमा मनाउने गरिन्छ। कसले कस्तो लुगा लगायो? कस्तो खानेकुरा खायो? कसरी अरू भन्दा राम्रो देखिने? भन्दै आफूसँग पैसा नहुँदा पनि ऋण लिएर दशैँ मनाउने गरिन्छ। दशैँको नाममा विकृति दिन दिनै बढ्दो क्रममा छ। पहिले गाउँ-घरमा दशैँको बेला चिउरा कुट्ने, कदली पकाइने, आफ्नतकोमा जाने जस्ता गतिविधि हुन्थे जो अहिले कतै कतै मात्र देखिन थालेको छ। पारिवारिक भेटघाटको नाउँमा जुवा, तासको विकृति बढ्दो छ। गाउँ-घरमा रात भरि दशैँकै नाममा रक्सी पिउँदै जुवा, तास खेलिने गरिन्छ। यसबाट हामी पनि अछुतो छैनौैँ अहिले दशैँको समयमा धेरै आम्दानीभन्दा पनि बढ़ी खर्च हुने संस्कृति भएको छ। दशैँको नाममा अत्याधिक रूपमा मदिरा सेवन गर्ने, स्वास्थ्यको ख्याल नगरी माछा मासु खाने अथवा जुवातासमा समय र पैसा खर्च गर्ने जस्ता विकृती फैलिरहेको छ, जसको अन्त्य गर्न जरुरी छ।
दशैँको टीका कतिबेला लगाउने?
दशैँ आफैँमा शुभ दिन हो। दशैँको बिहानदेखि दिनभर र अपराह्नसम्म पुरै साइतको दिन हो। अन्य कामका लागि साइत हेर्न आवश्यक भए पनि दशैँका दिन टीकाका लागि थप केही गरिरहन पर्दैन। बिहान उठेर घामको झुल्कोमा दुर्गा विसर्जन गरेर कलशको जलले अभिषेक गरेर आफन्तकोमा टीका लगाउन जाने चलन छ। दशैँमा कतिबेला टीका लगाउने भनेर कुनै अलमल हुनु पर्दैन।
हामीले घटस्थापनादेखि दशमीसम्म दुर्गाको नित्य पूजा गरेका हुन्छौँ। त्यसका आ-आफ्नै प्रक्रिया छन्। शुरुमा घटस्थापना गरिन्छ, सप्तमीका दिन विभिन्न प्रकारका वनस्पती र फलफूलहरूसहित फूलपाती भित्र्याइन्छ। नवदुर्गाको पूजा हुन्छ, हातहतियार अनि यन्त्रहरूको पूजा गरिन्छ। महानवमीका दिन हवन गरिन्छ। विभिन्न धार्मिक अनुष्ठान सम्पन्न गरेपछि दशैँका दिन नित्य पूजा गरेर आरती पुष्पाञ्जली गरेर दुर्गा विसर्जन गरिन्छ। दुर्गा विसर्जन पश्चात कलश उठाएर त्यहाँको जल घरका विभिन्न ठाउँमा छर्ने र शान्ति, प्रगति र उन्नतिको कामना गरिन्छ। दुर्गा विसर्जन गरेपछि टीकाको क्रम शुरु हुन्छ। शुरुमा कुलदेवता, पितृदेवतालाई टीका चढ़ाउने गरिन्छ। कतिपय ठाउँमा घरको मूल ढोकामाथि टीका लगाइदिने भन्ने परम्परा छ। त्यसपछि हामी मान्यजनबाट टीका लगाउँछौँ।
दशैँको टीका र जमरा दुर्गाको प्रसाद हो। पुर्खाको कीर्तिलाई कायम राख्न कृपा मिलोस् भनेर मान्यजन र ठूलाबड़ाबाट आशीर्वादका साथ टीका जमरा लगाइदिने गरिन्छ। कुल परम्पराको वैभव कायम रहोस् भनेर आशीर्वाद दिइन्छ। यसै सिलसिलामा आफ्नतजनसँग भेटघाट, भलाकुसारी लगायतका धार्मिक, सांस्कृतिक र सामाजिक आयामहरूत छँदैछन्। दशैँमा टीकाको जस्तै जमराको पनि आफ्नै विशेष महत्व छ। दुर्गास्थापना गरेको ठाउँमा जौ उमारेर जमरा तयार गरी त्यसलाई टीकापछि प्रसादको रूपमा ग्रहण गरिन्छ। जौ विभिन्न प्रकारको औषधीय तत्वले युक्त वनस्पती हो। ऋषीमुनीहरूले जौलाई अनेक धार्मिक काममा प्रयोग गरे। पूजादेखि पितृकार्यमा जौको प्रयोग हुन्छ। जमराको विभिन्न आयुर्वेदिक प्रयोग पनि हुन्छ। सायद औषधीय गुणका कारण जमराका लागि जौको प्रयोग गरिन्छ।
(लेखक सिक्किमबाट प्रकाशित दैनिक नेपाली समाचारपत्रका प्रबन्ध सम्पादक हुन।)
यहाँ तपाईंको विज्ञापन देखिन सक्छ
300 × 250 विज्ञापनका लागि सम्पर्क गर्नुहोस् →अन्य • २९ अक्टोबर, २०२६
अन्य • २८ अक्टोबर, २०२६
अन्य • १६ अक्टोबर, २०२६