जन्मपछि मृत्यु सबैको लागि एउटा सत्य क्रम हो। ठूला-साना, धनी-गरीब, साधारण व्यक्ति, प्रतिष्ठित व्यक्ति, महान् साहित्यकार, कवि, खेल जगतका खेलाड़ी, सङ्गीत जगतका गायक, गीतकार, सङ्गीतकार आदि-आदि सबैले वरण गर्नुपर्ने यो तीतो सत्य हो मृत्यु। र आज म खेल जगतमा ख्यातिप्राप्त एक विशेष व्यक्तिको व्यक्तित्व विषयमा कुरा राख्न गइरहेछु, जसको विषयमा आजका नानीहरूलाई थाहा नहुन सक्छ। उनी हाम्रो गोर्खे भूमिमा मात्र नभएर विश्वमै प्रसिद्धि पाएका एक त्यस्ता व्यक्ति हुन्, जसले खेल जगतमा विभिन्न खेलहरूमा ख्याति प्राप्त गरेका थिए, जसको नलेखिएको इतिहास लेखिनुपर्छ भन्ने मेरो अवधारणा छ।
त्यस ताकाको नगरपालिका सुपरिटेण्डेन्ट चार्ली डनको पालाको दार्जीलिङ जस्तो स्वच्छ अनि स्वास्थ्यकर, रमणीय पहाड़ी भेकमा जन्म लिनु भाग्यको कुरा हो। त्यस ताकाको कति सुन्दर, स्वास्थ्यकर अनि शान्त वातावरण हुने गर्दथ्यो। हुनसक्छ, उनी सानैदेखि आफ्नो शरीरलाई स्वस्थ अनि सठिक राख्ने रहरले नै एक जोश र जाँगरले भरिएका अब्बल दर्जाको शरीर सौष्ठव (बडी बिल्डर) व्यक्तित्व हुनुहुन्थ्यो। उहाँ नै दार्जीलिङ बडी बिल्डिङ अर्थात शरीर सौष्ठवको प्रवर्धन संस्थापक हुनुहुन्थ्यो। यसका साथै विश्वले मानिलिएका राष्ट्रिय, अन्तरराष्ट्रिय मान्यता प्राप्त शरीर सौष्ठव (बडी बिल्डर) प्रतिस्पर्धाका निर्णायक हुनुहुन्थ्यो। देश-विदेशमा गएर उहाँले अनेकन् शरीर सौष्ठव प्रतिस्पर्धामा प्रथम भएर ख्याति प्राप्त गर्नु भएको छ। रूस, थाइल्याण्ड, स्पेन, भूटान अनि असममा यस्ता कैयौँ प्रतिस्पर्धात्मक खेलमा निर्णायकको भूमिका निर्वाह गरेर प्रसिद्धि कमाएका व्यक्तित्व हुनुहुन्छ गणु गिरी। उहाँले कम्तीमा पनि 15 वटाभन्दा बढ़ी राष्ट्रमा शरीर सौष्ठवको कार्यक्रममा सहभागिता र निर्णायकजस्तो चुनौतीपूर्ण कार्यलाई सहजै सम्पन्न गर्नुभएको विषयमा जानकारी प्राप्त गर्न सकिन्छ।
उहाँको जन्म 15 अप्रेल 1936 मा जर्ज बजारमा बाबु श्री सार्की गिरी र माता श्रीमती रोहिणी गिरीको कोखबाट भएको थियो। उहाँ भन्नुहुन्छ, “ईश्वरकोभन्दा उच्च स्थान आफ्ना आमा-बाबुको हुन्छ र हामीले जहिल्यै पनि आमा-बाबुको श्रद्धापूर्वक सम्मान गर्नुपर्छ र नै आफूले सङ्कल्प गरेको कामना पूरा हुन्छ। उहाँहरू जीवित भगवान् हुन्। उहाँहरूले देखाएका बाटो, संस्कार, संस्कृति नै हाम्रोलागि ईश्वरको कृपाभन्दा महान् र महत्त्वपूर्ण हुन्छन्। आमा-बाबुको सेवा गर्नु नै महान् कार्य ठहरिन्छ।”
उहाँले सर्वप्रथम व्यायाम तथा शरीर बलिष्ठ बनाउने कला 1953 सालदेखि शुभारम्भ गर्नुभएको हो भनिन्छ। एकपल्ट उहाँरू सिलगढ़ीमा सायद 1953 सालतिर नै होला, शरीर सौष्ठव प्रतियोगितामा भाग लिन जाँदा हामी पनि यस्तो शरीर बलिष्ठ बनाउने कलामा प्रशिक्षण लिनुपर्ने रहेछ भन्ने उद्देश्यले त्यस ताकाको गोर्खा दुःख निवारक सम्मेलनका सभाध्यक्ष श्री एच.डी. लामाले एउटा कोठा उपलब्ध गराइदिएका थिए। शुरु-शुरुमा युवाहरू त्यहाँ व्यायाम गर्ने गर्थे भनिन्छ। पहिलो व्यायामशाला नै गोदुनिसको प्रेक्षालयमुनि श्रृङ्गारकक्षको एउटा कोठामा थियो।
त्यसपछि श्री गणु गिरीले एकजना गुरु थापेर आफ्नो शरीर सौष्ठवको (Bodybuilding) प्रशिक्षण श्री मन्तोष रायबाट प्राप्त गर्नु भएको थियो। श्री मन्तोष राय 1951 सालमा दार्जीलिङ आएका थिए। उनी मिस्टर युनिभर्स पनि भएका थिए। उनैबाट प्रभावित भएको कारण उहाँले यस कलाक्षेत्रमा सदैव एक दत्तचित्तले अघि बढ्दै गएर अरूलाई पनि साथमा लिएर शरीर सुगठन बनाउने क्रममा अघि बढ्नु भएको हो। उहाँका गुरु श्री मन्तोष राय एक दक्षता प्राप्त प्रशिक्षक थिए र उहाँ खुबै अनुशासित हुनुहुन्थ्यो। र उहाँको सान्निध्यमा शरीर सौष्ठव प्रशिक्षणको उत्कृष्ट तालीम प्राप्त गर्नु भएको थियो। तालीम लिन सिलगढ़ी अथवा कलकत्तासम्म पुगेर प्रशिक्षण लिनुभएको थिएछ। अनि शरीर सौष्ठवमा अनुशासनको ठूलो महत्त्व राखिनुपर्ने श्री गणु गिरीले आफ्ना शिष्य-साथीहरूलाई पनि ज्ञान दिनुभएको बुझिन्छ। अनुशासित भएर गर्न सके मात्रै कुनै पनि कार्य सफलतापूर्वक गर्न सकिन्छ भन्ने विषयमा उहाँले सबैलाई जोड़ दिनुहुन्थ्यो। अनुशासनका साथसाथै अहम् भावनादेखि सधैँ टाढ़ा रहनुपर्ने विषयमा पनि सजग हुनुपर्छ भन्नुहुन्थ्यो।
एक शरीर सौष्ठवलाई मजबुत बनाउन निरामिष हुनु अति उत्तम भन्नुहुन्थ्यो अनि छरितो कमर भएको शरीर, छाती फराकिलो, हातखुट्टा सुडौल अनि शरीरमा बोसो हुनुहुँदैन भन्नुहुन्थ्यो। शरीर सुगठनको निम्ति मदमदिरा र धूम्रपान गर्नु असल होइन र यस विषयमा सदैव सजग गराउनुहुन्थ्यो। व्यायामको यात्रामा लाग्नु भएको 1951 साल हो, जब कि मिस्टर युनिभर्स श्री मन्तोष राय दार्जीलिङ आएर गोर्खा दुःख निवारक सम्मेलनमा आफ्नो शारीरिक सुगठन प्रदर्शन गरेको देखेर चासो लिएर घरैमा खाली हात तथा (freehand) व्यायाम गर्नु शुरु गर्नुभएको भनिन्छ। अनि 1953 सालको मार्चदेखि प्रशिक्षक बाबी सिङसँग शरीर सौष्ठवको तालीम लिने मौका पाउनु भएछ। तर केही कारणवश् उहाँको व्यायामशाला बन्द भएपछि श्री मन्तोष रायसँग प्रशिक्षण लिनुभएको थिएछ। व्यायामलाई निरन्तरता दिने उद्देश्यले उनी कलकत्ता गएर व्यायामको निम्ति चाहिने आवश्यक सामान किनेर ल्याएका थिएछन् र गोर्खा दुःख निवारक सम्मेलनका अध्यक्ष श्री एच. डी. लामाले निरन्तरता दिनुका साथै स्वयंसेवकको काम पनि गर्नुपर्छ भन्ने शर्तमा श्रृङ्गारकक्षमा एउटा कोठा उपलब्ध गराइदिएको ठाउँमा उहाँले कलकत्ताबाट ल्याएका सामानहरू हातेगाड़ीमा हालेर गोर्खा दुःख निवारक सम्मेलनको हलमा पुर्याउन सहयोग गर्नेहरूमा सर्वश्री चित्रकुमार छेत्री, धुर्बचन्द्र खाती, याङ्काई नेपाली, प्रदीप लोहार र अञ्जु लामाहरू थिएछन्, जो पछि उनीहरू पनि व्यायामशालाका प्रशिक्षणार्थी बनेर त्यो कार्यको शुरुवात भएको उदाहरण पाइन्छ।
यसरी शुरु गरेको बडी बिल्डिङ तालिमले धेरै युवाहरूले राष्ट्रिय अनि अन्तरराष्ट्रिय प्रतिस्पर्धामा भाग लिन र ख्यातिप्राप्त गर्न सकेका धेरै उदाहरणहरूको श्रेय वरिष्ठ बडी बिल्डर गणु गिरीलाई जान्छ भन्दा अत्युक्ति नहोला।
सधैँ फरासिलो र आत्मीयताको भावना लिएर अघि बढ़े सफलता प्राप्त गर्न सहज हुने र आपसमा मित्रता कायम गर्न सकिन्छ भन्ने विषयमा विश्वस्त हुनुहुन्थ्यो। 1955 सालमा उहाँको पहिलो प्रदर्शन गोदुनिसको प्रेक्षालयमा भएको थियो। उहाँ इन्डियन बडी बिल्डिङ फिटनेसका उपाध्यक्ष अनि बडी बिल्डिङ फेडरेसनका अन्तरराष्ट्रिय निर्णायक हुनुभएको थियो।
सन् 1971 सालमा फ्रान्सको पेरिस शहरमा मिस्टर बडी बिल्डिङ च्याम्पियनशिपमा प्रथमपल्ट पहाड़ी भेकबाट भारतीय बडी बिल्डिङ दलको प्रतिनिधित्व गर्दै टिम म्यानेजरको रूपमा जानुभएको थियो।
सन् 1972 मा इराकको बगदाद शहरमा विश्व अनि एशियन बडी बिल्डिङको प्रतिस्पर्धामा भारतीय दलको आधिकारिक प्रतिनिधित्व गर्नुभएको थियो।
सन् 1976 सालमा अन्तरराष्ट्रिय शरीर सौष्ठवको निर्णायकको परीक्षामा सफलतापूर्वक उत्तीर्ण भएको प्रमाणपत्र प्राप्त गर्नुभएको थियो।
सन् 1977 सालमा कलकत्तामा भएको एशियन बडी बिल्डिङ च्याम्पियनसिपका निर्णायकहरूमध्ये एकजना निर्णायक हुनुहुन्थ्यो। सन् 1980 सालमा फिलिपिन्सको मनीला शहरमा आयोजित मिस्टर युनिभर्स को प्रतियोगितामा भारतीय दलको टिम म्यानेजरको भूमिका निभाउनु भएको थियो।
सन् 1985 सालमा श्रीलङ्कामा आयोजित बडी बिल्डिङ च्याम्पियनशिपमा भारतीय दलका प्रशिक्षक अनि खेलका निर्णायक हुनुहुन्थ्यो। उनी त्यसबेला फ्रान्स, इराक, सिङ्गापुर, ताइवान, स्पेन, लण्डन अनि चीनसहित विश्वभरका बडी बिल्डिङ प्रतियोगिताका निर्णायक थिए। उहाँको अतुलनीय योगदानको निम्ति स्पेन, लन्डन र चीनमा स्वर्णपदकले विभूषित गरिएको थियो।
22 फरवरी 1986 मा पश्चिम बङ्गाल सरकारको स्पोर्ट्स एन्ड युथ सर्भिसेस डिपार्टमेन्टद्वारा अतुलनीय सेवा र योगदान पुर्याउनुभएकोमा युवा तथा खेलकुद मन्त्री श्री सुभाष चक्रवर्तीद्वारा प्रशस्तिपत्रसहित पाँच हजार रुपियाँको साथ अभिनन्दन जनाइएको थियो। पहाड़का सम्पूर्ण जनता गर्वले प्रफुल्लित बनेका थिए।
सन् 1988 मा सिङ्गापुरमा भारतीय दलको प्रशिक्षक भएर जानुभएको थियो, साथै विशेष सम्मानसहित एकजना निर्णायकको भार पनि उहाँलाई दिइएको थियो।
सन् 1995 सालमा चीनको मिन्हुमिङ सिटीमा भारतीय दलको प्रशिक्षक, टिम म्यानेजर अनि निर्णायक भएर गएका थिए।
15 अगस्त 1996 सालमा स्वतन्त्रता दिवसको उपलक्ष्यमा दागोपाप अध्यक्ष श्री सुवास घिसिङको बाहुलीबाट प्रशस्तिपत्र र पाँच हजार रुपियाँसहित उहाँको अतुलनीय योगदानको निम्ति प्रदान गरिएको थियो।
ख्यातिहरू:-
1) 1971 ईसवीमा राष्ट्रिय-अन्तरराष्ट्रिय शरीर सौष्ठव प्रतियोगितामा निर्णायक अनि भारतीय बडी बिल्डिङ दलको टिम म्यानेजरको रूपमा मिस्टर युनिभर्स र ओलम्पियाको प्रतियोगितामा पेरिस, लन्डन, रोम, जर्मनी जाने अवसर प्राप्त भएको थियो।
2) 1974 मा इराकको बगदादमा मिस्टर एशिया, मिस्टर युनिभर्स बडी बिल्डिङ प्रतियोगितामा अन्तरराष्ट्रिय निर्णायक।
3) 1977 मा एशियन बडी बिल्डिङ फेडरेशनको निर्णायक।
4) 1980 मा फिलिपिन्समा टिम अफिसियल्स र अब्जर्भरको रूपमा।
5) 1985 मा एशियन बडी बिल्डिङ प्रतियोगितामा।
6) 1988 मा सिङ्गापुरमा निर्णायकको रूपमा।
7) 1990 मा हङकङमा ।
8) 1995 मा चीनमा ।
9) 1996 मा नयाँ दिल्ली एशियन बडी बिल्डिङ प्रतियोगितामा प्रोटोकल अफिसर जजको स्थानमा।
10) 1999 मा चीनको ताइवानमा भारतीय दलको प्रशिक्षक र अन्य निर्णायकमध्ये एक निर्णायक।
11) 2004 मा श्रीलङ्का साउथ एशियन बडी बिल्डिङ खेलमा।
1970-2006 सम्म सिक्किम र भारतका विभिन्न स्थानहरूमा भएको राष्ट्रिय स्तरका प्रतियोगितामा अनि साथसाथै नेपालमा भएका राष्ट्रिय स्तरका तथा नेपालश्री प्रतियोगिताहरूमा।
1976 देखि लगातार 2002 अनि 2005 मा नेपाल बडी बिल्डिङ संस्थाको दशौँ प्रतियोगिता तथा स्वर्ण जयन्तीको प्रमुख निर्णायक।
स्थानीय स्तरमा उहाँको योगदान चाखलाग्दो छ। उहाँले नै दार्जीलिङमा 1965 सालमा सर्वप्रथम ‘मिस्टर दार्जीलिङ’ अनि ‘स्ट्रङ म्यान’को प्रतिस्पर्धी खेलको आयोजना गरेका थिए। उहाँले शरीर सौष्ठवमा आफ्नो कार्यकुशलता र कढ़ा परिश्रमको कारण नै 1975 सालदेखि राष्ट्रिय निर्णायकको भूमिका बहन गर्ने अवसर पाउनु भएको थियो। सर्वप्रथम कलकत्ता, त्यसपछि मुम्बई अनि असममा राष्ट्रिय निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो।
सिलगढ़ीको मेथीबारीमा भएको हिमालयन व्यायामशाला पनि उहाँको बाहुलीबाट नै उद्घाटन भएको थियो भन्ने धेरैको भनाइ छ। भनिन्छ, उनी दार्जीलिङ शरीर सौष्ठव (बडी बिल्डिङ) अनि भार उत्तोलक (weightlifting) को पिता तथा प्रमुख संस्थापक हुनुहुन्थ्यो। उहाँले पहाड़का अनि सिक्किम, कालेबुङका धेरै युवाहरूलाई प्रशिक्षण दिएर राष्ट्रिय शरीर सौष्ठवको प्रतिस्पर्धी बनाउन सफल हुनुभएको थियो। उनीहरूको विजयी मुस्कानलाई आफ्नो विजय ठान्नुहुन्थ्यो र हँसिलो मुहारले सधैँ युवाहरूलाई प्रोत्साहित तुल्याउनुहुन्थ्यो। उहाँले शरीर सौष्ठव अनि भार उत्तोलकमा धेरै ख्याति प्राप्त गरेपश्चात् राष्ट्रिय-अन्तरराष्ट्रिय शरीर सौष्ठव प्रतियोगिताका निर्णायक अनि टिम इन्डियाका प्रशिक्षकजस्तो गौरवशाली भूमिका निर्वाह गर्ने अवसर प्राप्त गरेर हामीलाई गौरवान्वित तुल्याउनुभएको छ। सायद 1972 सालमा गोदुनिसमा चलाउँदै गरेको व्यायामशालामा तत्कालीन अधिकारीले ताला लगाएर बन्द गरिदिँदा पनि रत्तिभर विचलित नभई सो व्यायामशाला अन्यत्र ठाउँमा चलाएर उक्त व्यायामशालाको वर्चस्व कायम राख्नुभएको महत्त्वपूर्ण जानकारी रहिआएको हामी पाउँदछौँ। उहाँ 2004 सालमा सिक्किम सरकारको ‘सिक्किम पुरस्कार’को साथमा पाँच हजार नगद रुपियाँका प्रापक पनि हुनुहुन्थ्यो। त्यसबेला पाँच हजार भनेको धेरै राशि हुने गर्दथ्यो। अनि बङ्गाल सरकारद्वारा 2020 सालमा बङ्ग रत्न पुरस्कारले पनि सम्मानित हुनुभएको थियो।
दार्जीलिङ गोर्खा हिल काउन्सिलबाट उहाँ पाँच हजार नगद राशिसहित त्यसबेलाका दागोपाप प्रमुख श्री सुवास घिसिङको बाहुलीबाट सम्मानित हुनुभएको थियो। यसबाहेक उहाँले भारतीय बडी बिल्डिङ फेडरेशनजस्तो देशकै सर्वोच्च गौरवशाली निर्णायकको संस्थामा मूल सचिवको पद सम्हाल्नुभएको थियो।
दार्जीलिङ भेकमा गोर्खा हिल काउन्सिल बडी बिल्डिङको जग बसाउने हस्ती हुनुहुन्थ्यो उहाँ।
यी बाहेक उहाँले बहन गर्नुभएका विभिन्न कार्यभारहरू धेरै छन्:-
1) गोर्खा हिल काउन्सिल बडी बिल्डिङ एशोसिएशनका महासचिव।
2) दार्जीलिङ व्यायामशालाका कार्यरत् अध्यक्ष।
3) पूर्वीय भारत बडी बिल्डिङ एशोसिएशनका संस्थापक अध्यक्ष।
4) सिक्किम भारत बडी बिल्डिङ एशोसिएशनका सल्लाहकार।
5) इन्डियन बडी बिल्डिङ फेडरेशन (खइइऋ) का उपाध्यक्ष।
6) इन्डियन बडी बिल्डिङ फेडरेशनका निर्णायक समितिका अध्यक्ष।
7) साउथ एशियन बडी बिल्डिङका सहसचिव, साथै दार्जीलिङबाट 12 जना राष्ट्रिय स्तरका निर्णायकहरूमध्ये उहाँ एक हुनुहुन्थ्यो। खेलकुदअन्तर्गत 40 वर्षसम्म बडी बिल्डिङको क्षेत्रमा अभूतपूर्व तथा चरमोत्कर्ष योगदान दिनुभएकोमा उहाँलाई ‘एचिभमेन्ट मेडल’ प्रदान गरिएको थियो।
उहाँलाई बडी बिल्डिङ सितारा भनेर 19 मार्च 1986 को हिमालचुली खबरकागजको प्रतिभा परिचयमा कलमकार श्री प्रभु प्रताप कणेलले लेख्नुभएको छ। बडी बिल्डिङको क्षेत्रबाहेक उनी एक उम्दा किसिमको भलिबल खेलाड़ी र रेफ्री पनि हुनुहुन्थ्यो। उनले पचासको दशकदेखि सत्तरको दशकभरि नै भलिबलको उच्चस्तरीय निर्णायकको भूमिका निर्वाह गर्दै आउनुभएको विषयमा एक वरिष्ठ कलमकार श्री डी. एस. मोक्तानले 1 दिसम्बर 2006 को दर्पण दर्शिकामा विस्तृत जानकारी दिनुभएको थियो। बडी बिल्डिङको क्षेत्रमा अति व्यस्त रहँदारहँदै पनि उहाँ भलिबलको खेलमा उत्तिकै सक्रिय भूमिका 40 वर्षसम्म कुशलतापूर्वक निभाउनुभएको विषयमा हामी त्यसबेलाका पत्रपत्रिकामा प्रकाशित लेखहरूबाट थाहा पाउन सक्छौँ। भलिबलको क्षेत्रमा काम गर्दा उहाँ कमान-कमान, बस्ती-बस्ती, डुवर्सका गर्खा-गर्खा अनि अन्य धेरै ठाउँहरूमा रेफ्री भएर जानुहुन्थ्यो भन्नुभएका थिए उहाँको दौँतरी मित्र महान् साहित्यकार राजनारायण प्रधान। उहाँ रेफ्री भएर सिलगढ़ी, जलपाइगड़ी, कलकत्तासम्म पुगेका थिएछन्। उहाँले लगभग 1300 जति भलिबलको खेलमा विभिन्न ठाउँमा गएर रेफ्रीको भूमिका निभाउनुभएको तथ्याङ्क रहिआएको पाइन्छ।
उहाँलाई देशका विभिन्न सङ्घ-संस्थाले उहाँको नाम सम्मानका साथ लिने गरेको र आजपर्यन्त लिने गर्दछन्। उनले 1956 सालदेखि दार्जीलिङ जिल्ला भलिबलका निर्णायक भएर आएका थिए। त्यसपछि 1977 सालदेखि पश्चिम बङ्गाल राज्यको भलिबल निर्णायकको रूपमा नियुक्त भएका थिए। उहाँको अतुलनीय योगदानको कदर गर्दै प्रमाणपत्रसहित पाँच हजार नगद पुरस्कार प्रदान गरिएको थियो।
उहाँ खेलकुदबाहेक नाट्य-कलाकार र नाट्यनिर्देशक पनि हुनुहुन्थ्यो। उहाँले 38 वटा नाटकमा निर्देशक अनि नायक-खलनायकको भूमिका निर्वाह गर्नुभएको थिएछ। नायक, सहनायक भएर धेरै नाटकहरूमा भाग लिएर दर्शकवृन्दका मन जित्नुभएका थिए। भनिन्छ, उहाँको नाटक यात्रा स्व. जयन्त बम्जनद्वारा लिखित नाटक झन्कार र आँधी 1949 देखि 1968 सम्म अनि श्री मोहन सिंह थापा लिखित अनि बिहान हुन्छ बाट शुरु भएको थिएछ।
कतिपय नाटक स्वयंले निर्देशन गरेका थिए भने दिलु छेत्री लिखित नाटक स्वामीजीको त्याग, दिदी, बलभद्र, मोहन थापाको नौलो देश, सीमा, भुलेको बाटो, साँझको तारा, अनि बिहान हुन्छ, विदेश किन, वीरविक्रम गुरुङको जीवन परिदर्शन अनि ज्ञानेश्वर गिरीको बन्द जीवनहरू, जयन्त बम्जनको हाम्रो चाड़, श्याम आशुँको प्रतिशोध अनि मनबहादुर गुरुङको फर्केको लाहुरेमा उनले अभिनय गरेका थिए। नेपाली चलचित्र जार मा नायकको अभिनय उहाँले नै गर्नुभएको रहेछ। यसबाहेक पनि अरू धेरै नाटकमा आफ्नो नाट्यकला प्रस्तुत गरेर मनोरञ्जन दिलाउने काम उहाँबाट भएको छ, जुन समय टीभी आएको थिएन, त्यसबेला नाटक हेर्न मानिसहरू लाम लागेर जाने गर्थे। नाट्य कलाकारहरू उत्तिकै थिए सायद। मनोरञ्जनको साधन नै नाटक थियो। उहाँले नाटक खेल्दा नै चाँदबारी निवासी मनमायासँग 23 दिसम्बर 1957 सालमा प्रेममा परी मङ्गनी विवाह गर्नुभएको थियो। उहाँ त्यसबेला 21 वर्षे सुन्दर ठिटो हुनुहुन्थ्यो। मनमाया पनि उत्तिकै राम्री थिइन्, उनी पनि नाटक खेल्थिन्। उनी दुवैको भेट नाटक खेल्दा नै भएको थिएछ। नाटक कृष्णजन्ममा उनी राधिका थिइन् भने उहाँ वासुदेवको भूमिका खेल्नुभएको थिएछ।
उहाँ धेरै वरिष्ठ नाट्यकलाकारहरूसँग आबद्ध हुनुहुन्थ्यो, जस्तै सर्वश्री टङ्क शर्मा, मनबहादुर गुरुङ, मनबहादुर मुखिया, जी. रिजाल, कृष्ण थापा, भगीरथ शर्मा आदि धेरै थिएछन्। त्यसबेला नाटकको टिकटको मूल्य 3) रुपियाँ, 2) रुपियाँ, 1) रुपियाँ अनि आठ आना थिएछ। पछि-पछि 5 रुपियाँ, 3 रुपियाँ, 2 रुपियाँ भएको तथ्याङ्क पाइन्छ। उहाँ स्वस्थकर जीवन जिउनुहुन्थ्यो, एकदमै सात्त्विक भोजन, माछा-मासु, जाँडरक्सी, धूम्रपानदेखि अछुन्न रहेर नै बडी बिल्डिङको क्षेत्रमा विश्वविख्यात बनेर हामी गोर्खा जातिलाई गर्वान्वित तुल्याउन सफल भएका दृष्टान्तहरू धेरै छन्।
उहाँ असल समाजसेवी पनि हुनुहुन्छ, जसको जीवन नै सामाजिक सेवाबाट शुरु भएको हो भन्छन्। उहाँ एकपल्ट नगरपालिका अध्यक्ष पनि बन्नुभयो। पथ पसले सङ्घका 28 वर्षसम्म अध्यक्ष रहनुभयो। उहाँ एक सामाजिक अभियन्ता, जसले गोर्खाल्याण्ड आन्दोलनको क्रममा भएको दर्दनाक हत्याका शवहरूलाई अन्तिम संस्कार गर्ने जस्ता जोखिमपूर्ण काम गरेका थिएछन्। उनीसँग यस जोखिमपूर्ण कार्यमा अरू पनि धेरै मानिसहरू संलग्न थिएछन्। आवश्यक परेको खण्डमा कसैलाई पनि सहयोग गर्नुहुने मनकारी व्यक्तिको जति नै प्रशंसा गरे पनि थोरै हुन्छ। गणेश बहादुर गिरी, जो गणु गिरी नामले विश्वविख्यात छन्, उनको निधन 85 वर्षको उमेरमा 21 तारिख नोभेम्बर, 2021 मा आफ्नै घरमा भएको थियो। 22 तारिख नोभेम्बर 2021 को दिन उनको पार्थिव शरीर दार्जीलिङ रेलवे स्टेसनदेखि अपार भीड़को साथ दार्जीलिङ शहर परिक्रमा गराउँदै अन्तिम संस्कार गर्न श्मशानघाटमा पुर्याएर सश्रद्धा अन्तिम संस्कार गरिएको थियो।
उहाँले आफूपछि दुई जना पुत्रहरू श्री मोहन गिरी र श्री बसन्त गिरी, बुहारी अनि दुई नातानातिनी छाड़ेर गएका छन्। उहाँको एकजना छोराको भने पहिले नै मृत्यु भइसकेको हो। बडी बिल्डर गणु गिरीको जन्मोत्सव शरीर सौष्ठवका प्रथम संस्थापकका रूपमा मनाइने गरिन्थ्यो। सायद आजपर्यन्त पनि गरिन्छ होला।
उहाँलाई उनको उत्कृष्ट आयुष्य उपलब्धिको सराहना गर्दै IFBB (The International Bodybuilding and Fitness) को गोल्ड मेडल प्रदान गरेर असामान्य सम्मानले पुरस्कृत गरिएको थियो। यसप्रकारको गौरवमय सम्मान आईएफबीबी अध्यक्ष डा. राफेल सान्टेनजा साथै डा. सन्जय मोरे, इन्डियन बडी बिल्डिङ एण्ड फिटनेश फेडरेशनका महासचिवका बाहुलीबाट प्रदान गरिएको थियो। अनि यो 2017 सालको 13 तारिख अक्टोबरदेखि 15 तारिख अक्टोबरसम्म सम्पन्न भएको भव्य समारोहमा ओलम्पिया एम्याच्योर इन्डिया 2017 अन्तर्गत मुम्बईमा भएको थियो। उहाँलाई उक्त सम्मानले सुशोभित गरिएको एउटा इतिहास सुनौलो अक्षरमा लेखिनुपर्छ र आउने हाम्रा बालबालिकाले पनि पढ़ेर बुझ्न सकून् कि हाम्रा अग्रजहरूले यतिका महान् कार्य गरेका थिएछन् भनेर अभिप्रेरित बनून्। उहाँले 1965 सालमा दार्जीलिङमा मिस्टर हिमालय अनि सर्वशक्तिमान (स्ट्रङ म्यान) शरीर सौष्ठव प्रतियोगिताको आयोजना गर्नुभएका थिएछन्। उनले 1972 ईस्वीमा युवावर्गमा प्रोत्साहन दिलाउने उद्देश्य लिएर दार्जीलिङ व्यायामशाला स्थापित गरेर भारतीय बडी बिल्डिङसँग आबद्ध भएका थिए। फेरि उहाँले 1989-90 सालमा गोर्खा हिल काउन्सिल बडी बिल्डिङ एशोसिएसन गठन गरेर इन्डिया बडी बिल्डिङ फेडरेशनसँग आबद्ध भएका थिए।
यी बाहेक उनी देश-विदेशका कैयौँ बडी बिल्डिङ प्रतियोगिताका विचारक, निर्णायक भएर अनेकौँ प्रशंसापत्र अनि स्वर्ण पदकद्वारा सम्मानित भएका थिए। तीमध्येका एक स्वर्णपदकमा यस्तो वाक्यांश कुँदिएको छ:-
IN RECOGNITION OF OVER 40 YEARS OF OUTSTANDING SERVICE TOWARDS THE GROWTH DEVELOPMENT OF THE SPORTS OF BODY BUILDING IN INDIA AND THROUGHOUT ASIA. भनेर सुनौलो अक्षरमा कुँदिएको छ।
यसप्रकारको उत्कृष्ट सम्मानले हामी पहाड़वासी गर्वान्वित बनेका छौँ।
उहाँको व्यक्तिगत जीवनको पृष्ठभूमि नियाल्दा:
उहाँले 28 वर्षसम्म एउटा व्यापारिक सङ्गठन पथ पसल सङ्घको अध्यक्षता गर्नुभएको थिएछ। 1986 को गोर्खाल्याण्ड आन्दोलनको क्रममा विरोध जनाएर बन्द राखिएको दोकानपाट प्रशासनिक दबावमा खोल्न लगाइएको समय विरोध गर्दा सीआरपीले भानुभवनमा लाठी चलाएर कुटपिट गर्दा एक शिक्षक श्री आर. बी. सुब्बालाई बचाउन आफूलाई कुटाइ माग्दा उहाँले निकै भयानक जोखिम मोलेर आफ्नो ढाड़ र खुट्टा भाँचिएको कथा मार्मिक रहेको हामी स्मरण गर्दछौँ। शिक्षक रहनुभएका उहाँलाई नकुट, बरु मलाई कुट भन्दा आफूले कुटाइ खाएर खँजा हुनुपरेको थियो। पछि उहाँ लौरो टेकेर हिँड्ने हुनुभएको थियो। त्यसबेला उहाँ यस्तै 50/51 वर्षको हुनुहुन्थ्यो होला। त्यसरी आफूले सीआरपीको कुटाइबाट झेल्नपरेको व्यथा मार्मिक र दुःखान्त थियो। उहाँलाई उपचारको लागि पहिले प्लान्टर्समा भर्ना गरियो, तर ढाड़ र खुट्टा निको नहुँदा ब्याङ्ककमा लगेर उपचार गराउँदा ढाड़ निको भयो तर खुट्टा भएन। खोल्ट्याङ-खोल्ट्याङ गर्दै लौरो टेकेर हिँड्नु परेको थियो। यद्यपि, उहाँ यतिको बलियो मनोबल भएका व्यक्ति हुनुहुन्थ्यो कि सधैँ सक्रिय भएर नै बाँकी जीवन बिताउनुभयो। अन्तमा बिरामीको कारण केही समयसम्म थलिनुभयो र अन्तमा हामी सबैदेखि सधैँको निम्ति विदा लिएर जानुभयो।
आजभन्दा धेरै वर्षअघि नै गणु गिरी जीवित हुनुुहँदा कतिपय विज्ञजनले उहाँको विषयमा उहाँका उपलब्धिका मूल्याङ्कन गरेर विभिन्न दैनिक, पाक्षिक, मासिक पत्र-पत्रिकामा विस्तृत जानकारी दिइसकेका भए पनि फेरि किन भन्ने प्रश्न उठ्न सक्लान्। तर मेरो उद्देश्य के हो भने, गत 90 को दशकदेखि यता जन्मेका युवा पिँढ़ीले स्व. गणु गिरी अर्तात गणेश बहादुर गिरीका विषयमा जानेका छैनन्, बुझेका छैनन् होला भनेर यो सानो जानकारी राख्ने जमर्को हो।
हाम्रा खेल जगतका पूर्व उत्कृष्ट खेलाड़ीहरू, सङ्गीत जगतका ख्यातिप्राप्त सङ्गीतकार, गायक, गीतकारहरू, नाट्य जगतका मूर्धन्य कलाकार, नाट्यनिर्देशकहरू, वरिष्ठ साहित्यकारहरूका विषयमा जान्नुपर्ने हुन्छ र नै इतिहास लेखिएका हुन्छन्। तर ख! इतिहास कसले लेख्ने? र नै आज खोजतलास गरेर, पुराना पत्रपत्रिका पल्टाएर, उहाँको परिवारजनसँग सोधपुछ गरेर शरीर सौष्ठवका महारथी स्व. गणु गिरीको छोटो जानकारी यहाँ राख्ने उद्देश्यले युवा पिँढ़ी अभिप्रेरित होउन् भन्ने अवधारणा हो मेरो।
फेरि पनि नाटकहरू मञ्चित होऊन्, भलिबल फेरि उचित स्थान प्राप्त गर्न सकोस् र यो सामाजिक सञ्जालको दुष्प्रभावदेखि युवाहरूलाई छुटकारा मिलोस्। लेख्ने क्रममा कहीँ त्रुटिपूर्ण वाक्यांश देखा परेमा क्षमाप्रार्थी छु। यी सबै जानकारीहरू पुराना पत्रपत्रिका अनि उहाँका पारिवारिक सदस्य अनि छोरा श्री वसन्त गिरीबाट जुटाएकी हुँ। उहाँको विषयमा जस-जसले पनि लेख्नुभएको थियो वा छ, उहाँहरूमा अनि उहाँका छोराबुहारी श्री/श्रीमती वसन्त गिरी र शीला गिरीलाई हार्दिकतापूर्वक आभार व्यक्त गर्दछु। उहाँ दुवैजना म्यारथन धावक हुन्। आफ्नो बाबुको कलाकौशलबाट उनीहरू अभिप्रेरित छन्।
01 अगस्त, 2026
यहाँ तपाईंको विज्ञापन देखिन सक्छ
300 × 250 विज्ञापनका लागि सम्पर्क गर्नुहोस् →अन्य • २८ अक्टोबर, २०२६
अन्य • १६ अक्टोबर, २०२६
अन्य • १५ अक्टोबर, २०२६