पुस्तक समीक्षा
पूर्वी नेपालसँग सिमाना जोड़िएको भारतको एक राज्य सिक्किमको दक्षिण सिक्किमको लिङ्गोमा वि.सं. 2030 सन् 1974 मा जन्मेकी गीता शर्मा नेउपानेको साहित्यिक नाम गीताश्री शर्मा हो। पति पुण्यप्रसाद नेउपानेसँग सहकार्य गर्दै जनपक्ष प्रकाशन, सुपरमार्केट, गान्तोकमा प्रकाशन व्यवसाय गरिरहेकी गीताश्री शर्मा साहित्यिक लेखन, सम्पादन तथा प्रकाशनमा निकै सक्रिय छन्।
‘अमृत-वाणी’, ‘विश्व प्रसिद्ध व्यक्तिहरूका महान् वाणीहरूको सङ्कलन’ तथा विद्यालयका पाठ्यपुस्तकहरू सम्पादन गरेकी शर्माका ‘मुक्ता’ (मुक्तक सङ्ग्रह), वर्षा कविता सङ्ग्रह (सन् 2023), ‘तिलस्मी’ रम्बास कविता सङ्ग्र (सन् 2022), ‘समयका रेखाहरू’ कथा सङ्ग्रह (सन् 2022), ‘ढुङ्गाका फूल’ मुक्तक सङ्ग्रह (सन् 2026), ‘शब्दभित्र आमा’ संस्मरण (सन् 2026), प्रकाशित कृति हुन्। शर्माले सन् 2023 मा ‘काव्याञ्जलि’ शीर्षकको रम्बास कविता सङ्ग्रहको सम्पादन पनि गरेकी छन्।
सामाजिक, साहित्यिक, प्रकाशन तथा गैह्रसरकारी संस्थाहरूसँग आबद्ध शर्माका कृतिहरू मुख्य रूपमा पत्रपत्रिका, साहित्यिक पोर्टल तथा सङ्ग्रहहरूमा प्रकाशित छन्। उनी, विशेष गरी, फुटकर कविता, कथा, लघुकथा र मुक्तक विधामा विशेष सक्रिय छिन्।
उनका यी रचनाहरू सिक्किम तथा नेपालका विभिन्न नेपाली पत्रपत्रिका र अनलाइन साहित्यिक पोर्टलहरूमा उनका कविता तथा रचनाहरू नियमित रूपमा प्रकाशित र लोकप्रिय हुँदै आएका छन्।
गीताश्री शर्माका रचनाहरूलाई नियाल्दा उनका सिर्जनामा समाजभित्रका असमानता, नारी जीवनका भोगाइ, विभेद र आन्तरिक वेदनाहरूलाई संवेदनशील रूपमा प्रस्तुत गरिएको हुन्छ। जटिल र क्लिष्ट शब्दावलीभन्दा सरल र सर्वसाधारणले सहजै बुझ्न सक्ने भाषाको प्रयोग उनको मूल विशेषता हो। सिक्किमको प्राकृतिक सौन्दर्य, पहाड़ी जीवनका चुनौती र स्थानीय परिवेशलाई उनले आफ्ना कविता तथा रचनाहरूमा बिम्बका रूपमा कलात्मक ढङ्गले उतारेकी छन्। मानिसका स-साना खुसी, निराशा, सम्बन्धका आयाम र दैनिक जीवनका सूक्ष्म अनुभूतिहरूलाई कथा वा कविताको रूप दिने प्रवृत्ति उनमा पाइन्छ। विषयवस्तुका हिसाबले उनका रचनाहरूमा सामाजिक संवेदना, मानव जीवनका भोगाइ, प्राकृतिक सौन्दर्य र वातावरणीय सचेतनाका पक्षहरू पाइन्छन्।
लघु-संरचनामा जोड़ दिने गीताश्री शर्मा लघुकथा, मुक्तक र रम्बास कवितामा छोटा तर चोटिला अभिव्यक्तिमार्फत गहन सन्देश दिने सूक्ष्म काव्य-संरचनामा उनी बढ़ी पोख्त छिन्। यद्यपि, उनका कथा सङ्ग्रह पनि प्रकाशित छ। समग्रमा, उनको साहित्य जीवनमुखी, सरल र गहिरो मानवीय अनुभूतिले भरिएको छ।
गीताश्री शर्माद्वारा लिखित ‘ढुङ्गाका फूल’ मुक्तक सङ्ग्रह (सन् 2026) को भूमिकामा प्रा. डा. देवी नेपाल शर्माका सम्बन्धमा भन्छन्, “नेपाली साहित्यका कविता, मुक्तक, कथा, लघुकथा, रम्बास कविता आदिको सिर्जनामा आफूलाई लामो समयदेखि समर्पित गर्दै आए पनि बाह्य रूपमा भने उहाँको प्रकटीकरण सन् 2021 बाट मात्र भएको हो।”
गीताश्री शर्मा भारतको सिक्किमकी एक समसामयिक नेपाली साहित्यकार, कवयित्री तथा कथाकार हुन्। गान्तोक, सिक्किममा आधारित रहेर उनले नेपाली साहित्यको सिर्जना क्षेत्रमा निरन्तर कलम चलाउँदै आएकी छन्। उनले भारतीय नेपाली साहित्यको विकास र प्रवर्द्धनमा आफ्नो सिर्जनात्मक माध्यमबाट उल्लेखनीय योगदान दिइरहेकी छन्।
सन् 2022 गीताश्री शर्माको जनपथ प्रकाशन, सिक्किममार्फत 16 वटा कथा लिएर ‘समयमा रेखाहरू’ पाठक माझ आयो। साधारण पाठकले पनि बुझ्न सक्ने शैलीमा लेखिएका यी 16 वटा कथामा पाठक रमाउँछन्, रुन्छन्, पढ़ेपछि बिर्सिँदैनन्।
‘समयमा रेखाहरू’ कथा सङ्ग्रहमा सङ्ग्रहीत अधिकांश कथा ग्रामीण परिवेशमा लेखिएका छन्। कथाका घटना, पात्र, परिवेश, वर्णन, संवाद, भाषा सबैमा स्थानीयता पाइन्छ। सिक्किम राज्यको परिवेशमा लेखिएका हुनाले कथाहरूमा वर्णित स्थानहरू स्थानीय नै छन्। सिक्किम बाहिरका पाठकका लागि यी नौला तर उत्सुकसुता जगाउने किसिमका छन्। कथाका घटना तथा पात्रहरू कतै भेटिएका, देखिएका वा अनुभव गरिएका जस्ता लाग्छन्, कतै-कतै त पाठकका आफ्नै परिवेशमा घटित भएका वा हुन सक्ने प्रकृतिका पनि अनुभूत गर्न सकिन्छ।
‘अन्धविश्वास’ यस कथा सङ्ग्रहको पहिलो कथा हो। यस कथाले संसारका अनेकन् ठाउँमा बसोबास गर्ने नेपाली समुदायबिच विश्वासको घर बनाएको छ। बाबुछोरीबिच ग्रह जुधेको भन्ने ज्योतिषको भनाइमा विश्वास गरी बाबुछोरी छुट्टाछुट्टै बसे पनि बाबु बिरामी भएपछि ग्रह जुधेको कुरालाई वास्ता नगरी छोरीलाई घरमै ल्याउने बाबु र बाबुको दुखत अन्त्यलाई कथामा मर्मस्पर्शी ढङ्गले व्यक्त गरिएको छ। अन्धविश्वासमाथि प्रहार गर्न खोज्दाखोज्दै पनि छोरी घर आएपछि बाबुको मृत्यु हुनुले अन्धविश्वास नै विश्वासमा परिणत हुन पुगेको हो कि भन्ने आभास कथाले दिन पुग्छ। कथाकारले कथाको अन्त्यमा लेखेकी छन्, अन्धविश्वास अलिअलि पालेर ज्यादाजस्तो मारेर! (पृ. 25)।
‘आराधना’ शीर्षकको कथा राम्रो वातावरण भएको परिवारमा पत्नीको मृत्युपछि छोराबुहारीले गरेको व्यवहार र भौतारिँदै सिक्किम पुगेका गोविन्दको कथा छ। सम्पत्तिको स्वार्थका लागि छोराबुहारीको व्यवहार, भौतारिँदै गर्दा सिक्किमका शिव र गोमाले देखाएको आत्मीयता, गोविन्दलाई इलाम ल्याइपुर्याउन गोमाको छोरा संस्कारले गरेको व्यवहार र गोविन्दका नातिनातिनीले देखाएको आत्मीयताले पाठकलाई द्रविभूत पार्दछ। गुरुदत्त ज्ञवालीका अनुसार ‘आराधना’ कथाले सकारात्मक भावुकता तथा सन्देश दिएर पाठकप्रति आकर्षण बढ़ाएको छ।
‘दिदी’ शीर्षकको कथा विधवा विवाहसँग सम्बन्धित छ, विधवा विवाह मात्र होइन, विधुर विवाह पनि यो कथा सम्बन्धित छ। दिदी झुमाले बैँसालु उमेरमै वैधव्य जीवन बिताएको देख्न नसकेकी बहिनी अञ्जनाले दिदीको नेपालका एक विधुरसँग विवाहको प्रपञ्च मिलाइन्। दुर्भाग्य, बच्चा जन्माउन नसकेर पेटका जुम्ल्याहा नानीसँगै मृत्युवरण गरिन्। कथा सुुरुमा नै दुःखान्त थियो नै, गर्भवती झुमाको निधनले पाठकलाई घुक्कघुक्क बनाउँछ।
दोषी को? शीर्षकको कथामा अनामिकाले आफ्नो विवाहपश्चात् आमासँग मागेर भाइ रमणलाई पनि सँगै लैजान्छिन्। दिदी अनामिका र भिनाजु आमिषको न्यायो माया र अभिभावकत्व पाएर रमणले स्कुल शिक्षा पूरा गरी विश्वविद्यालय शिक्षातर्फ लागे। रमणले दिदीभिनाजुलाई खबरै नगरी ललिता नामको केटीसँग प्रेम विवाह गर्यो। सम्पर्क टुटेको चौथो दिन भिनाजु आमिषलाई फोन गरेर थाहा दियो। दिदी भिनाजुको अभिभावकत्वमा विद्यार्थी जीवन बिताएको रमणको लापरबाही र भूलले अनामिका र आमिष दुखित भए पनि आफ्नो कर्तव्य पूरा गर्न चुकेनन्। सम्पत्तिको फूर्ति गर्ने ललिताले दिदीभाइ र सालाभेन बिचको सम्बन्धमा दूरता ल्याउने अनेकौ प्रपञ्च गरिन्। अन्ततः उनी सफल पनि भइन्। भाइ दिदीको घरमा आउन छाड्यो, ललिताका व्यवहार दुश्मनले पनि नगर्ने किसिमको हुँदै गयो। दिदीभिनाजुप्रति कृतज्ञ हुनुपर्ने रमण कृतघ्न देखियो।
यस कथामा कथाकारले मनबहादुर मुखियाको प्रसिद्ध नाटक अनि देउराली रुन्छ-का लागि लेखिएको, कर्म योञ्जनले सङ्गीतबद्ध गरिएको र कुमार सुब्बाले गाएको गीतलाई प्रसङ्ग मिलाएर प्रस्तुत गरेकी छन्। कथामा अनामिकाले माइतीघर छोड़ेर पराया घर जाने समयकी बेहुलीको मनको पीड़ा र त्यसले घरपरिवारमा पार्ने शून्यतालाई प्रस्तु गर्न कथाकारले यस गीतलाई कथाा उपयोग गरेकी छन्ः
हे फूल चुँडेर लाने हो, यहाँ माली रोएको देख्यौ कि (पृ. 50)।
‘घर’ कथा एक सानो र खुसी परिवारको कथा हो; आमा भूमिका, बाबा आकाश र छोरा बादल। घर सञ्चालनमा भूमिकाको भूमिका नै अतुलनीय देखिन्छ। आवश्यक पर्दा पति आकाशलाई उचित सल्लाह दिन पछि पर्दिनन्। सहरमा भन्दा ग्रामीण जीवन आनन्ददायक हुने तर्क गर्दै पतिलाई गाउँको पैतृक सम्पत्ति बेच्नबाट रोकिन्। बादलको गान्तोक कलेजमा पढ्ने चाहनालाई पनि पूरा गर्न सहयोग गरिन्। योग्य आमाबाबाको योग्य छोरा बनेर बादलले बीए पास गर्यो, सिक्किम सरकारको सूचना तथा जनसम्पर्क विभागमा उपनिर्देशकको सरकारी नोकरी पायो। सुशील कन्यासँग बिहे गर्यो। सेवानिवृत्त बाबा र आमालाई बिदाको समयमा नियमित घर पुगेर सँगै बसेर खुसी बनाएको छ। यही सामान्य दैनिक जीवनमा आधारित भई यो कथा बुनिएको छ।
खुसी यस कथा सङ्ग्रहको सबैभन्दा छोटो कथा हो। खुसी चञ्चलताले पूर्ण एक बालिका हुन्। उनकी नीलमसँग निकै प्रेम बसेको छ, नीलमको पनि खुसीसँग। खुसी घर आउँदाको रौनक र जाँदा अँध्यारो महसुस गर्छिन् नीलम।
नियत शीर्षकको कथा सामाजिक सञ्जाल प्रयोग गर्दा यसको दुरुपयोग गर्ने नियत भएका प्रवृत्तिसँग सम्बन्धित छ। स्मार्ट फोन पाएकी छोरी वृक्षाले आमा धरतीलाई आफूले प्रयोग गर्दै आएको स्क्रिन टच मोबाइल दिँदै यसको प्रयोगको तरिका सिकाउनुका साथै फेसबुक, ह्वाट्सएपको खाता खोलिदिन्छन्। फेसबुकमा आमाछोरीको फोटो पोस्ट भएपछि कमेन्ट आउँदा अपरिचित व्यक्तिले फोटो सेयर गरेको र सेयर गरेको फोटो हटाउन अनुरोध गर्दा नगरेको घटना यस कथामा आउँछ। पटकपटक भिन्न भिन्न एकाउन्ट खोलेर सोही व्यक्ति फ्रेन्ड रिक्वेस्ट पठाउन थालेपछि धरतीले फोन नम्बर मागेर साइबर क्राइममा उजुरी दर्ता गर्ने चेताउनी दिएपछि सम्पर्क गर्न र फ्रेन्ड रिक्वेस्ट पठाउन छोडेको घटना उल्लेख गर्दै कथाले सामाजिक सञ्जाल प्रयोगबाट सावधानी नअपनाए दुरुपयोग हुने र अन्ततः यसैको शिकार हुन सक्ने सन्देश दिएको छ।
पितृ प्रसाद पारिवारिक कथामा हो। एक जजमानी परिवारको सङ्घर्ष र सन्तानहरूले लिएका सुमति र कुमति यस कथाभित्र छन्। बा घनश्यामले पुरोहित पेशाले नै छः जनाको परिवार धानेका थिए। धनश्याम र आमा धनमति सन्तानलाई सही बाटामा लगाउन तल्लिन हुँदाहुँदै जेठो छोरा कुलप्रसादले गलत बाटो समायो। माहिलो छोरा धनराजले संस्कृत पाठशाला खोली शिक्षकको नियुक्ति पनि पायो। कान्छो छोरा तेज अध्ययनकै क्रममा थियो। बिरामी भएका घनश्यामले छोरी तुलसाको बिहे गरिदिए। कुलप्रसाद सुध्रन्छ कि भनेर बिहे गरिदिए। बिग्रेको छोरो घरपरिवारले सुधार्न नसकेपछि बिहे गरिदिने र अर्काकी छोरीलाई सुधार्ने जिम्मा दिने प्रवृत्तिलाई कथाकारले यसरी उल्लेख गरेकी छन्: विवाह गरेपछि परिवारको माया मोहमा परेर छोरो सुध्रिन्छ कि भन्ने एउटा अन्तिम आशा थियो। अनि अर्को पीर पनि थियो बढ़ेको छोरो कहीँ कतै केही उपद्रो गरेर विपद् आउँछ कि भन्ने ! बेलैमा जोड़ी बाँधिदिए (पृ. 76-77)। गुरुदत्त ज्ञवालीका अनुसार ‘पितृप्रसाद’ कथाले सकारात्मक भावुकता तथा सन्देश दिएर पाठकप्रति आकर्षण बढ़ाएको छ।
‘समयका रेखाहरू’ शीर्षकको कथाबाट नै यो कथा सङ्ग्रहको नामाकरण भएको छ। यो कथा रमला भाउजूको जीवन कथा वरिपरि घुमेको छ। पढ़ालेखा, शिक्षित र सफल गृहणी रमला र विद्युत विभागका साधारण कर्मचारी रविको जीवन रमाइलो किसिमले चलिरहेको बेला बिजुलीको पोस्टमा चढ़ेर बत्ती बनाउँदै गर्दा करेन्ट लागेर मृत्युवरण गरेपछि रमलाका जीवनमा आएका आँधीबेहरी र समुदायमा पति बितेपछि गरिने घोचपेच, लाञ्छना र खिसिट्युरीले दुःखित बनाउँछ। सहासी र पुरातन सोचको विरोधी रमलालाई उनका पति विद्युत विभागको कर्मचारी भएकै नाताले रमलालाई सिक्किम सरकारले जुनियर हाइस्कुलको शिक्षक पदमा नियुक्ति दिन्छ। पछि सरकारले उनलाई गाउँकै बेनस्कुलमा सरुवा भएपछि आफ्ना विरुद्ध कुरा काट्ने समुदायका मानिसहरूलाई राम्रो पाठ सिकाउँदै गाउँको सेवा गर्छिन्।
‘साथी’ शीर्षकको कथा दुईजनाको मित्रताको प्रतीक हो। सँगसँगै स्कुल पढ़ेका साथी दिव्या र डोमाबिच पच्चिस वर्षपछि डोमाको दाजुबाट सम्पर्क नम्बर पाएपछि भएको संवाद र दिव्याको परिवार डोमाको घर दार्जीलिङमा पुगेर गरेको भेटघाटले साथी-साथीबिचको मित्रता लामो समयको अन्तरालमा पनि प्रगाढ़ हुने रहेछ भन्ने सन्देश प्रवाह गरेको छ।
तीज शीर्षकको कथामा विवाहित चेली र माइतीको प्रसङ्ग पाइन्छ। तीज मान्ने समुदायमा चेलीलाई लिन माइती जाने प्रचलन छ। तीजको समयमा गाउँघर तथा छिमेकीका घरमा चेली लिन आउने माइतीको ताँती लाग्छ। चेली पनि लिन आउने माइतीको बाटो हेरिरहेका हुन्छ। वल्लोपल्लो घरका महिला तथा देउरानीजेठानी पनि माइती लिन आए नआएको चनाखो रूपमा हेरिरहेका हुन्छन्। सबैका लिन आउँदा र आफूलाई लिन नआउँदा चेलीको मन ज्यादै नै दुख्छ। यसै विषयमा कौशिला पात्रमार्फत कथाकारले तीजको चेली माइतीबिचको सम्बन्धलाई उल्लेख गरेकी छन्।
यसै कथामा कथाकार गीताश्रीले कौशिलाका श्रीमान्मार्फत भनाउँछिन्, यो तीज भनेको यस्तो चाड़ हो कि ! माइतबाट नबोलाई अथवा दाज्यू-भाइ, आमा-बाबा लिन नआइकन पटक्क जानु हुँदैन, हाम्रो परम्पराले यही भन्छ। नबोलाइकन गए भने, इज्जत पनि हुँदैन, अरू बेला आउँदा-जाँदा केही फरक पर्दैन (पृ. 103)।
पाँच-पाँचजना दाजुभाइ भए पनि बिहे भएको दस वर्षसमम्म कौशिलालाई माइतीबाट तीजमा कोही पनि लिन आएका थिएनन्। तर, तिनै तीजमा लिन नआउने माइतीका दाजुभाइलाई तिहारमा भाइटीका गर्दा लगाइदिने मालाका लागि सयपत्री, गोदावरी र मखमली फूल रोपेकी छन् कौशिलाले। दशैँमा टीका लगाउन जाँदा पाँचैजना दाजुभाइलाई सयपत्रीको फूलको थुँगा दिँदै, तिहारमा सबैजना मेरा माइतीराजाहरूलाई भाइटीकाको निम्ता हैँ! भनेर तीजमा लिन नआउने माइतीलाई बदला लिइन् कौशिलाले (पृ. 107)।
यात्रा शीर्षकको कथा सिलगढ़ीदेखि गान्तोकसम्मको यात्रामा सृष्टि, सवारी चालक र गाड़ीका यात्रुबिचको संवाद हो। यसमा विपरीत दिशाबाट आएको कारलाई गाड़ीका चालकको सावधानीका कारण जोगिन पुगेको र आवेगमा आएका चालकको कस्ती आइमाई रहिछ? भन्ने भनाइको केन्द्रमा रहेर नारीको सम्मान, नारीको पारिवारिक भूमिका, नारीलाई समाजले हेर्ने दृष्टिकोण र व्यवहारको चर्चा पाइन्छ। अन्त्यमा, सवारी चालकले आवेगमा आएर बोलेको कुरा गलत भएको महसुस गर्दै नारीको सम्मान हुनुपर्नेमा सहमत भए।
मैले नजन्माएको छोरी शीर्षकको कथा पारिजातको मैले नजन्माएको छोरो शीर्षकको कथासँग कता कता तादात्म्यता राख्न खोजेको जस्तो लाग्छ। सामाजिक सञ्जालबाट परिचय भएकी नित्या नामकी युवतीसँग रमाको आमाछोरीको साइनो बस्न पुग्छ। फोन, भिडियो कल तथा ह्वाट्सएपमा सन्देश आदान-प्रदान तथा कुराकानी हुँदा यति न नजिकिन्छन् कि नित्या रमाकै कोखबाट जन्मेकी हुन् जस्तो लाग्छ। कथा पढ्दै जाँदा रमा शर्माका पति राज शर्मा, उनीहरूको गान्तोक र सिलगढ़ीमा व्यापार व्यवसाय अनि दुध छोरी आवृत्ति र प्रकृति; कतै कथाकारले आफ्नै परिवारको कथा त लेखेकी होइनन् जस्तो लाग्छ। रमा शर्मा= गीताश्री शर्मा, राज शर्मा= पुण्यप्रसाद शर्मा, मुक्ता र वर्षा= प्रकृति र आवृत्ति, सिलगढ़ी र गान्तोकको व्यापार व्यवसाय= सिलगढ़ी र गान्तोकको पुस्तक व्यापार र जनपक्ष प्रकाशन।
‘अकल्पनीय संयोग’ शीर्षकको कथा सबैभन्दा लामो कथा हो 23 पृष्ठको। यो कथा सामाजिक सञ्जालबाट भएको परिचय विस्तारै भौतिक उपस्थितिमा नै पारिवारिक भेटघाट र घुमघामपछि प्रगाढ़ भएको छ। कथाकी पात्र सानु, जसको वास्तविक नाम काव्य छ, अवास्तविक फेक अकाउन्ट खोलेर देहरादून घर भएका बेङ्गलुरुमा कार्यक्षेत्र बनाएर काम गरेका सरकारी उच्च तहका कर्मचारी ऋषिसँग सामाजिक सञ्जालमार्फत परिचय बनाएर एकार्कामा सन्देश आदान-प्रदान हुन्छ। विस्तारै काव्यलाई फेक अकान्टबाट साथी बनाएकामा ग्लानि हुन पुग्छ र वास्तविक अकाउन्टमार्फत पुनः सम्पर्क स्थापित हुन्छ। एकार्काका आग्रहमा ऋषि पत्नी सुवर्णा र छोरी लावण्यसहित सिक्किम घुम्न जान्छन्। काव्य र उनका पति श्रवणले पाहुनालाई ससम्मान सिक्किम घुमाउँछन्, खाना खुवाउँछन्, कोसेली पठाउँछन्। यस कथामा काव्यको छोरा प्रतीकको प्रसङ्गवश नाम आए पनि कथामा कुनै भूमिका दिइएको छैन। सामाजिक सञ्जालबाट दुई परिवारमा आत्मीयताका साथ मित्रता बढ़ेको यस कथाको सन्देश हो साथै, वर्तमान समयमा सामाजिक सञ्जालको प्रयोग गर्नै सर्तक रहनुपर्ने र सदुपयोग गर्न सके निकै उपलब्धिमूलक हुन सक्ने अप्रत्यक्ष सन्देश पनि यस कथाले प्रवाह गरेको छ।
अनुभव शीर्षकको कथा एक विद्यालयकी प्राचार्य वाणीको वरिपरि घुमेको छ। उच्च शिक्षा हासिल गरेकी वाणी उच्चतर माध्यमिक विद्यालयकी शिक्षक हुन्, उनलाई शिक्षा विभागले प्राचार्यमा छनोट गरी पूर्वी सिक्किमस्थित तुमिनको कैजरबहादुर माध्यमिक विद्यालयको रिक्त प्राचार्य पदमा पदस्थापना भएपछि उक्त स्कुलमा पुगेकी हुन्। उनी प्राचार्य भएपछि विद्यालयमा आएको सुधार र परिवर्तन यस कथामा पाइन्छ। स्नातकोत्तरसम्म अध्ययन गरी नेट, टेट र बीएडसमेत गरेकी वाणी योग्यतामा मात्र होइन, संस्कार र आचरणमा पनि उत्ति नै अनुकरणीय थिइन्। ग्रामीण भेगको स्कुलमा प्रार्चाय भएर जाँदा पेइङ गेस्ट पिजी रूपमा बस्ने र डेरामा बस्दा आफ्नै घर जस्तो हेरचाह र चासो दिने वाणी शर्माको प्रवृत्ति अनुकरणीय छ नै, मैनाली आमाको घरमा उनको प्रयत्नले आएको परिवर्तन प्रशंसनीय छ। कथाको शीर्षक वाणीले मैनाली आमाको जीवनमा आधारित लेखिएको उपन्यास हो भन्ने कुरा कथाको अन्त्यमा आएर बुझिन्छ।
‘लोकन्ते’ यस कथा सङ्ग्रहको अन्तिम कथा हो। यस कथाका मुख्य पात्र मदन हुन्। उनी फुपूका छोरा शङ्करको बिहेमा लोकन्ते भएर गएपछि बेहुलीतर्फको लोकन्ती सदीक्षासँगको अव्यक्त प्रेम वरिपरि कथा घुमेको छ। कथाका प्रारम्भमा मदनको परिवारको चर्चा गरिएको छ, हिन्दु सनातनी ब्राह्मण परिवारमा गरिने संस्कारको फेहरस्ती दिइएको छ। पत्नी किरण, छोरा प्रज्ञान, बुहारी राधा र नाति पङ्कजसहितको सानो तथा सुखी परिवारमा सेवानिवृत्त जीवन बिताएका मदनलाई सामाजिक सञ्जालमार्फत धेरै पुरानो बिहेमा भेटिएकी लोकन्तीसँग मित्रता बढ़ाउँछन् र दैनिक औपचारिक सन्देश आदानप्रदान हुने गर्छ। कथामा एक कुरा भने रमाइलो गरी उठाइएको छ: बिहा बटुलो भनेपछि केटाहरू भन्दा केटीहरू ज्यादा उत्ताउला हुन्छन् (पृ. 171)। यस्तो प्रवृत्ति भूगोलभित्र सीमित नहुने कुरा रहेछ।
कथामा नित्याले कालेबुङका आफ्ना बाबाआमाभन्दा गान्तोकका रमा र राजलाई बिहेको सन्दर्भमा बढ़ी विश्वास गर्नु र रमाले ‘आफ्ना आमाबाबाको इच्छा र अनुमति बेगर निर्णय नगर्नू’ भन्न नसक्नुले कथामा उल्लिखित ब्राह्मण परिवारको छोरीलाई सिकाइने संस्कार र व्यवहारमा विरोधाभास देखिएको छ। कथामा भनिएको छ, आमाबाबा, छरछिमेक अलि परम्परावादी छन् (पृ. 123)। परम्परावादी हुनु भनेको नराम्रो होइन, बरू अन्धविश्वासी हुनु नराम्रो हो। संयुक्त अधिराज्यमा कञ्जरभेटिभ दलले धेरै वर्ष सरकार चलाएको थियो, यो अन्धविश्वासी दल थिएन, अपितु परम्परावादी दल थियो। परम्परालाई संरक्षण गर्नुपर्ने, आफ्नो रीतिरिवाज बचाउने, संस्कार र संस्कृति जोगाउने नै परम्परावादी हुन्।
***************
कथाकार सिक्किम निवासी ब्राह्मण परिवारको भएकाले कथामा वर्णित परम्परा, धार्मिक अनुष्ठान, प्रचलन, नियम, संस्कृति, कर्मकाण्ड त्यही अनुरूप पाइन्छ। यसले कथाहरूलाई जीवन्त बनाएका छन्। यस सङ्ग्रहका विभिन्न कथाहरूमा पूजाआजा, किरिया कर्म, चाड़पर्व, विवाह कर्म आदिको सविस्तार चर्चा पाइन्छ। कथाकारको संस्कार र संस्कृति प्रतिको मोह कथा पढ्दै जाँदा झल्कन्छ।
कथामा पर्याप्त मात्रमा स्थानीय लवज पाइन्छ। शब्दहरूको प्रयोगमा पनि स्थानीयता झल्कन्छ। यस कथामा प्रयोग गरिएका केही स्थानीय शब्दहरू हुन्; सिकुवा, हाऊ, मुरई, बिस्किट सिस्किट, जुठेल्नो, करेसो, बगडा, डोको, पँधेरो, अन्धशुक्र, चाबी, हेराउन कोराउन, अम्बक, किनेमा, पिरा, खोसेला, थान्कोमान्को, समसाँझै, लोदरे, निस्पट, चुक घोप्ट्याए झै, गग्रेटो, मरिकुच्चे, चुल्हो, लिपपोत, माचिस, छ्वास्स, तोसक, लट्टे झाक्री, दैलो, तालाचाबी, मक्किन, कुचो, मतान, सर्जाम, अँगेनु, वनमारा, थाङ्ग्रा, खोले, भकारो, लुर, पैसठ, पोस्तक, खँदाल, खाश मजारा, मैलो, मजेत्रो, कल, डबका, बटुका, घुर्यान, राखनधरन, मेलापात, अस्ति, भुर्कुट, च्यादर, चिप्लेटी, लालगेढी, सखारै, सौदापात, भदैनी, कित्ली, बर्गत, भरअभर, दुधेरी, कुँडे, मोहीको सोल्लर, पुरेतसुरेत, नाम्लो, थुन्से, डालो, दाउनु, मधौरो, उपद्रो, लिङ्गो, फाल्तु, भातखौँरे, लोकन्ती, चियासिया, पर्सिन, फिलहाल, प्रभारी, रङपचेरा, बिस्याहार, कडक, आम्खोरा, भनाभैरी, हली तिहार, रिङ्गटा, हाराबारा, फर्माइली, नोकरीचाकरी, सरकारी सिन्दूर, सञ्चसुबिस्ता, कमरा, सौदा, आलो, अम्बक, करेसो, जिउती, कटेरा, दुधेरो, कुटे, आग्या, किराया, ठिका, तीनठुन्का, औरत, ढिकी, न्वागी, जोरीपारी, माखामुन्द्रा, कमेरो, कोठेबारी, सेञ्जोमेञ्जो आदि। यस्ता स्थानीय लवजका शब्दहरूको प्रयोगले कथामा मिठास थपिदिएको छ।
यस सङ्ग्रहका लगभग अधिकांश कथा सिक्किमेली परिवेशमा लेखिएका छन्। त्यसैले, स्थानीय ठाउँका नाम ज्यादै हुनाले आञ्चालिकता प्रचुर छ। सिक्किमका विभिन्न स्थानलाई आधार मानी कथा रचिएको छ। यस्ता स्थानहरूमा गान्तोक, जङ्गु, देउराली बजार, बेन गाउँ, तिमी तार्कु, सिङ्ताम, एम. जी. मार्ग, सिलगढ़ी, प्रधाननगर, सेवक रोड, बाघपुल, कालीझोडा, रानीपुल, किर्ने, तादोङ, नाम्ची, सोलोफोक, राभाङ्ला, लालबजार, कालेबुङ, मङ्पू, टिस्टा, रम्बी, आशाबारी, बाग्राकोट, तिन्तेक, राक्दोङ, साम्दोङ, तुमिन, पाकिम महकुमा, डुगालाखा, खेचीपेरी, गेजिङ, नाम्ची, बाघडोग्रा, मल्ली, जोरथाङ, लेगसेप, पेलिङ, खरसाङ, चेरेञ्जी, तिमी बजार, जीरो, नेपाल गाउँ, पाबोङ, सिरवानी, सिङ्ताम, नाथुला, छाङ्गु, गुरुदोङ्मार, युमथाङ आदि मुख्य छन्। कथा पढ्दै जाँदा सिक्किमका गाउँ गाउँ र ठाउँ ठाउँमा पुगिन्छ।
नेपाली ग्रामीण परिवेशमा विगतमा प्रचलनमा रहेका तर विस्तारै लोप हुँदै गएका व्यवहारहरूलाई पनि कथामा प्रशस्त स्थान दिइएको छ। जस्तै- भुइँ सोहोरेर ढोग्ने, घरको व्यक्ति बाहिर गएपछि कुचो नलगाउने, मूल ढोका नलगाउने, धागोले बाँधेको चिठी मृत्युको सन्देश आदि। यस्ता प्रचलन लोप हुँदै गए पनि कथा पढ्दा पुराना दिनहरूको याद दिलाउँछ पाठकलाई। राजनीतिक सिमानाले फरक देश भए पनि नेपाली मूलका नागरिक बसेका बस्तीका विशेषता नेपालका ग्रामीण भेगसँग मिल्ने रहेछन्।
उखान टुक्काको प्रयोगले यस कथा सङ्ग्रहका कथालाई सरल र मिठासपूर्ण बनाएका छन्। कथाकारले कथाको घटनाको परिवेश हेरेर कथाको भावलाई तिख्खर बनाउन नेपाली भाषाका उखान टुक्काको उपयोग गरेकी छन्। यसका केही उदाहरणहरू हुन्; कुरा सुन्नु बुढाको, आगो ताप्नु मुढाको, विधिको विधान, हुने हुनामी टार्न कसले सक्छ र, कालो अक्षर भैँसी बराबर, एक थुकी सुकी हजार थुकी नदी, जसका छोरा उसको धन, जसको भैँसी उसको धन, इँटको जवाफ पत्थर से, रिस खा आफू, बुद्धि खा अरू, ढुङ्गाको भर माटो, माटाको भर ढुङ्गा, खसी किन्नु मान्छे चिन्नु आदि।
यस कथा सङ्ग्रहमा 16 ओटा कथा रहेकामा कथाहरूको लम्बाइमा विविधता छ। खुसी कथा चार पृष्ठको छ भने अकल्पनीय संयोग कथा 23 पृष्ठको रहेको छ। अन्य कथाहरूमा पाँच पृष्ठका 2, छ पृष्ठका 4, आठ पृष्ठका 2, नौ पृष्ठको 1, एघार पृष्ठको 1, तेह्र पृष्ठका 2, पन्ध्र पृष्ठको 1, अठार पृष्ठको 1 रहेका छन्। कथाहरूको कथागत लम्बाइ असमान हुनु यस कथा सङ्ग्रहको विशेषता हो।
कथा सङ्ग्रहमा अङ्ग्रेेजी शब्दको भरमार उपयोग गरिएको छ। यस्ता अङ्ग्रेेजी शब्दको प्रयोग सान्दर्भिक र आवश्यक स्थानमा भएका छन्। अङ्ग्रेेजी शब्दको प्रयोगबाट पाठकलाई कथा बुझ्न कुनै कठिनाइ महसुस हुँदैन, बरु बुझ्नलाई सहयोगी नै हुन्छन्। यस्ता केही शब्दहरू हुन्; एसएनटी, पिजी, भेकेन्सी, सेकेन्डरी, एसेम्ली, प्रिन्सिपल, एसिस्टेन, नोटप्याड, प्लानिङ, मिस अन्डरस्टान्डिङ, आइडी, फेक, मेसेज, ओभर अल, ट्रान्सफरेबल जब, ह्याङ्गर, कन्टेनर, सेन्ड, मिटिङ, सिम्बल, एपोइन्टमेन्ट, लोड, फाइनल, इन्टेलिजेन्स, लोकेसन, फ्लाइट, नेट, टेट, बीएड, प्लानिङ, प्रोफाइल, फ्रेन्ड फलोइङ, टेक रेस्ट, गुड नाइट, फर्न्ट सिट, कन्ट्रोल, सिनियर सेकेन्डरी, पोलिटिकल साइन्स, पिजिटी, बिजी, क्रसिङ, माइन्ड, पर्क, बिफ, मास्टर, गिल्टीफिल, स्टार्ट, टान्सफर सर्टिफिकेट, रजिस्ट्रर, हेडमिस्ट्रेस, डिउटी, जोइन, जोइनिङ रिपोर्ट, बिल्डिङ आदि।
***************
कथा सङ्ग्रह प्रकाशनपूर्व यसको सम्पादनमा ध्यान दिनुपर्थ्यो भन्ने लाग्छ। सम्पादनमा पर्याप्त ध्यान दिन पाएका भए कथामा अनावश्यक कुरा दोहोरिँदैथे। साथै, अनुच्छेदका नियमहरू पनि पालना हुने थिए। यस कुरामा कथाकारले यसको दोस्रो संस्करणमा ध्यान दिनु हुने नै छ।
कथामा कथाको मूल विषयवस्तुभन्दा अन्य घटनाहरू अनावश्यक रूपमा आएका छन्। यस्ता घटना हटाउँदा पनि कथाको मूल मर्म मर्दैनथ्यो, कथा चुस्त र दुरुस्थ हुन्थ्यो। कहीँ कहीँ त वाक्यहरू पनि अति लामा छन्। जस्तै, पृष्ठ 103 को अन्तिम अनुच्छेदमा पाँच हरफको एक वाक्य छ। पाठकलाई एक वाक्य पढ्न पाँच पटक सास फेर्नुपर्ने हुन सक्छ।
कथाकार गीताश्री शर्माको यो पहिलो कथा सङ्ग्रह भएकाले आगामी दिनमा प्रशस्त अपेक्षा गर्न सकिने प्रशस्त ठाउँ छ। साहित्यका अन्य विधामा त उहाँको कलम निरन्तर चलिरहेकै छ।
‘समयका रेखाहरू’ कथा सङ्ग्रह पठनीय छ। नेपाल र नेपालबाहिर रहेका नेपाली भाषाीहरूका लागि यो कथाले आफ्नो पुर्खा, संस्कार र संस्कृतिको जगेर्ना गर्न उत्प्रेरणा दिन्छ। सिक्किम बस्ने नेपाली भाषी लेखिकाले नेपाली भाषा र साहित्यको संमृद्धिका लागि गरेको योगदानको प्रशंसनीय छ। यसका पनि, नेपाल बाहिर नारी हस्ताक्षरको उपस्थिति कम भएको अवस्थामा गीताश्रीको उपस्थिति उल्लेखनीय छ।
कथाकार गीताश्री शर्मा भावी दिनमा अझै सशक्त लेखनको अपेक्षा गर्दै हार्दिक शुभकामना।
यहाँ तपाईंको विज्ञापन देखिन सक्छ
300 × 250 विज्ञापनका लागि सम्पर्क गर्नुहोस् →साहित्य • ०१ नोभेम्बर, २०२६
साहित्य • ०१ नोभेम्बर, २०२६
साहित्य • ०१ नोभेम्बर, २०२६