काकिस्टोक्रेसी अङ्ग्रेजी भाषाको एउटा यस्तो शब्द हो, जसले राज्यसत्ताको कुरूप यथार्थलाई उजागर गर्छ। यसको अर्थ योग्य, सक्षम र विवेकशील व्यक्तिहरूको सट्टा अयोग्य तथा भ्रष्ट प्रवृत्तिका व्यक्तिहरूले सत्ता सञ्चालन गर्नु हो।
यो शब्दको प्रारम्भिक प्रयोग सन् 1644 मा रेभरेन्ड पल गस्नोल्डले अक्सफोर्डमा दिएको वक्तव्यमा गरेका थिए। पछि थोमस लव पिककको कृति The Misfortunes of Elphin ले पनि यस शब्दलाई साहित्यिक तथा बौद्धिक विमर्शमा स्थापित गर्न योगदान पुर्यायो।
आधुनिक राजनीतिक सन्दर्भमा काकिस्टोक्रेसी भन्नाले अयोग्य तथा भ्रष्ट प्रवृत्तिका व्यक्तिहरूको प्रभुत्व रहेको शासन व्यवस्थालाई बुझिन्छ। यी ऐतिहासिक सन्दर्भहरूले एउटा महत्त्वपूर्ण प्रश्न उठाउँछन्, मानव सभ्यताको इतिहासमा अयोग्य तथा भ्रष्ट व्यक्तिहरूले पटक-पटक कसरी शासन गर्ने अवसर पाए? कालान्तरमा यो प्रवृत्ति झन गहिरिँदै गएको देखिन्छ।
अनेकौँ राजनीतिक व्यवस्थामा परिवर्तन हुँदै आए पनि सत्ता सञ्चालन गर्ने व्यक्तिहरूमा अयोग्यता र भ्रष्टाचारजस्ता प्रवृत्ति दोहोरिरहेका छन्। चाहे त्यो राजतन्त्र होस् वा आधुनिक लोकतान्त्रिक प्रणाली, कुनै पनि व्यवस्था यस्ता प्रवृत्तिबाट पूर्णतः मुक्त हुन सकेको छैन। तर, भ्रष्टाचारी वा अयोग्य व्यक्तिहरूको हातमा सत्ता पुग्नुको कारण उनीहरूको शक्ति र महत्त्वाकाङ्क्षा मात्र होइन। यस्तो अवस्था सिर्जना हुनुमा समाजको बौद्धिक वर्गको भूमिका पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ।
प्रगतिशील समाजका धेरैजसो बुद्धिजीवीले राजनीतिलाई अपनाउन वा आफ्नो कार्यक्षेत्र बनाउन कहिल्यै रुचि देखाएनन्। बरु, यसको सट्टा हावा जता बग्छ, उतै चल्ने यन्त्रझैँ बन्न रुचाए। राजनीतिमा प्रत्यक्ष सहभागी भएर सत्ता सञ्चालन गर्नुको सट्टा सत्ताको पर्दापछाड़िबाट प्रभाव पार्ने किङमेकर बन्नुलाई आफ्नो सुरक्षाको उपाय ठान्न थाले। आफू सुरक्षित रहेर सत्ताको चाप्लुसी गर्नुलाई नै आफ्नो विवेक ठाने। समाजलाई सही दिशा देखाउने, सत्तालाई प्रश्न गर्ने र गलत प्रवृत्तिविरुद्ध आवाज उठाउने जिम्मेवारी बोकेको बौद्धिक वर्ग नै जब राजनीतिबाट टाढ़ा रहन खोज्छ, तब राजनीतिको मैदान विवेकशील र उत्तरदायी व्यक्तिहरूका लागि क्रमशः साँघुरिँदै जान्छ। दुर्भाग्यवश, कतिपय बुद्धिजीवी राजनीतिलाई सुधारको माध्यम बनाउनुको सट्टा त्यसबाट सुरक्षित दूरी कायम राख्न वा सत्ताको वरिपरि रहेर आफ्ना स्वार्थ सुरक्षित गर्नमै सीमित हुन्छन्। कुर्सीमा जोसुकै आओस्, आफ्नो स्वार्थ पूरा गर्नमै व्यस्त रहने र सत्ता, समाज तथा व्यवस्थाप्रति कुनै जिम्मेवारी नलिने प्रवृत्तिले अयोग्य तथा भ्रष्ट व्यक्तिहरूलाई आफ्नो मनमर्जी अनुसार शासन सञ्चालन गर्ने अवसर दिन्छ।
अर्कोतर्फ, कुनै शक्तिशाली मुलुकले अर्को मुलुकमा प्रत्यक्ष शासन नगरी त्यहाँ आफ्ना स्वार्थअनुकूल चल्ने कठपुतली नेतृत्व स्थापित गर्न सक्छ। यस्तो नेतृत्वमा निर्भर सरकारलाई पपेट सरकार अर्थात् कठपुतली सरकार भनिन्छ। लोकतान्त्रिक व्यवस्थामा पनि शक्तिशाली पुँजीवादी स्वार्थ समूहहरूले आफ्ना हितअनुकूल काम गर्ने व्यक्तिहरूलाई सत्तामा पुर्याउने वा सत्तामा रहेकाहरूलाई प्रभावित पार्ने प्रयास गर्न सक्छन्। जब राज्य सञ्चालन गर्ने व्यक्तिहरू जनताको हित र सार्वजनिक उत्तरदायित्वभन्दा निजी स्वार्थप्रति बढ़ी निष्ठावान् हुन्छन्, तब लोकतान्त्रिक व्यवस्थाभित्र पनि काकिस्टोक्रेसीका लक्षण देखिन सक्छन्। विश्व राजनीतिमा यस्ता प्रवृत्तिहरू पटक-पटक देखा पर्दै आएका छन्।
आज पृथ्वी कृत्रिम विकास र प्रविधिको चरम उन्नतिको चरणमा पुगेको छ। विलासिताका साधनहरू प्रशस्त उपलब्ध भए तापनि मानिसहरूमा शान्ति र सुरक्षाको अभाव कायमै छ। प्राकृतिक स्रोतसाधनले सम्पन्न भेनेजुएलाजस्ता देशहरूले समेत आर्थिक तथा राजनीतिक सङ्कटको सामना गर्नुपरेको छ। यस्ता सङ्कटको विश्लेषण गर्दा नेतृत्वको गुणस्तर, शासन प्रणाली, नीतिगत निर्णय, संस्थागत कमजोरी जस्ता विभिन्न पक्षलाई ध्यान दिन आवश्यक हुन्छ। प्राकृतिक सम्पदाको प्रचुरता मात्रले कुनै देशको समृद्धि सुनिश्चित गर्दैन; त्यसको उचित व्यवस्थापन र उत्तरदायी नेतृत्व पनि उत्तिकै आवश्यक हुन्छ।
अन्ततः काकिस्टोक्रेसी केवल अयोग्य शासकहरूको कथा होइन, यो योग्य मानिसहरूको मौनता, बुद्धिजीवीहरूको पलायन र समाजको कमजोर प्रतिरोधको कथा पनि हो। किनकि, अयोग्य व्यक्तिहरूले सत्ता कब्जा गर्नु एउटा समस्या हो, तर योग्य व्यक्तिहरूले सत्ता गलत दिशामा गइरहेको देख्दादेख्दै मौन बस्नु अझ गम्भीर समस्या हो।
यहाँ तपाईंको विज्ञापन देखिन सक्छ
300 × 250 विज्ञापनका लागि सम्पर्क गर्नुहोस् →अन्य • २९ अक्टोबर, २०२६
अन्य • १६ अक्टोबर, २०२६
अन्य • १५ अक्टोबर, २०२६