गान्तोक, 5 नोभेम्बर (हि.स.): जर्नलिस्ट युनियन अफ् सिक्किमले नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको 117औँ जयन्ती पालन गरेको छ। कार्यक्रममा सिक्किम अकादेमीका अध्यक्ष साथै साहित्यकार प्रवीण राई ‘जुमेली’ मुख्य अतिथिका रूपमा उपस्थित थिए।
यसैगरी, जर्नलिस्ट युनियन अफ् सिक्किमका अध्यक्ष प्रवीण खालिङ, सल्लाहकार भीम राउत, चित्रकार तथा कवि दीपा राई, युनियनका कार्यकारी समितिका सदस्य, प्रेस क्लब अफ् सिक्किमका महासचिव तथा संयुक्त सचिव तथा विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरूको पनि उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि प्रवीण राई जुमेलीले महाकवि लक्ष्मीप्रसाद देवकोटाको जीवन, साहित्यिक यात्रा तथा नेपाली साहित्यमा उनले पुर्याएका योगदानबारे प्रकाश पारे। उनले देवकोटाका साहित्यिक सिर्जनाहरूले नेपाली भाषा र साहित्यलाई समृद्ध बनाउन महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गरे।
यसैगरी, युनियनका अध्यक्ष प्रवीण खालिङले देवकोटाको साहित्यिक योगदानका साथै पत्रकारिताको क्षेत्रमा समेत उनले पुर्याएको योगदानबारे चर्चा गरे। उनले देवकोटा 15 नोभेम्बर, 1952 मा सिक्किम भ्रमणमा आएको ऐतिहासिक प्रसङ्ग उल्लेख गरे। कार्यक्रमको क्रममा कवि एवम् पत्रकार एनबी घिमिरेले महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा रचित कविता वाचन गरेका थिए।
नेपाली साहित्यका महान् स्रष्टा महाकवि देवकोटाको साहित्यिक योगदान र व्यक्तित्वको स्मरण गर्दै कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा सबैलाई सांस्कृतिक पर्व तिहारको शुभकामना व्यक्त गर्दै अध्यक्ष प्रवीण खालिङले पत्रकार एकता र सिकाइको प्रक्रियालाई निरन्तरता दिन पर्ने आह्वान गरे। समापनमा प्रचार सचिव अनुशिला शर्माले धन्यवाद ज्ञापन गरेकी थिइन्।
यहाँ तपाईंको विज्ञापन देखिन सक्छ
300 × 250 विज्ञापनका लागि सम्पर्क गर्नुहोस् →स्थानीय • १४ नोभेम्बर, २०२६
स्थानीय • १३ नोभेम्बर, २०२६
स्थानीय • १३ नोभेम्बर, २०२६