मल्ली, 5 नोभेम्बरः सिटिजन एक्सन पार्टी-सिक्किमका परिषद् अध्यक्ष तथा महासचिवहरूको समन्वय सभा पार्टी अध्यक्ष गणेश राईको अध्यक्षतामा मल्ली निर्वाचन क्षेत्रस्थित उनकै निवासमा सफलतापूर्वक सम्पन्न भयो। सम्पूर्ण परिषद्का अध्यक्ष तथा महासचिवहरूको उपस्थिति रहेको उक्त सभाको औचित्यमाथि प्रकाश पार्दै पार्टी अध्यक्ष गणेश राईले परिषद्का शीर्ष नेतृत्वले पार्टीका नीति, सिद्धान्त तथा कार्यक्रमका साथै वर्तमान सरकारको नियतबारे आम नागरिकलाई जानकारी गराउँदै जनचेतना अभिवृद्धि गर्ने कार्यक्रम सञ्चालन गर्नुपर्ने दायित्व रहेको बताए।
उनले वर्तमान राजनीतिक व्यवस्था यति नाजुक अवस्थामा पुगेको उल्लेख गर्दै एउटा कन्टेन्ट क्रिएटरले समेत स्वेच्छाले आफ्नो विचार अभिव्यक्त गर्न नपाउने परिस्थिति सिर्जना भएको बताए। कुनै सामग्री प्रकाशन भएको भोलिपल्टै दबाउमा परेर भिडियो हटाउनुपर्ने र क्षमायाचना गरेको भिडियो बनाउनुपर्ने अवस्था रहेको उनको भनाइ थियो।
यस्तो शासन व्यवस्थाको अन्त्य गरी सिक्किम र सिक्किमेली जनतालाई न्याय दिलाउने प्रतिबद्धतासहित सिटिजन एक्सन पार्टी-सिक्किमका प्रत्येक सदस्य सक्रिय भएर काममा लाग्नुपर्ने उनले निर्देशन दिए। साथै, वर्तमान सरकारले प्रलोभन देखाएर पार्टीका नेताहरूलाई आफ्नो पक्षमा पार्दै पार्टी विभाजन गराउने असफल प्रयास गरिरहेको जानकारी गराउँदै यस्तो निम्न स्तरको षड्यन्त्रले सिटिजन एक्सन पार्टी-सिक्किमलाई केही फरक नपर्ने बताए। राजनीतिमा इमानदारिताको अभावले वर्तमान मात्र नभई भविष्यमा समेत नकारात्मक प्रभाव पार्ने उल्लेख गर्दै अध्यक्ष राईले सिटिजन एक्सन पार्टी-सिक्किमले इमानदार राजनीतिक अभ्यास गर्दै आएको र भविष्यमा पनि त्यसलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
उनले पाँच दशकअघिसम्म सिक्किम र भूटान दुवै राजतन्त्रात्मक शासन व्यवस्थाअन्तर्गत रहेका र त्यसबेला सिक्किम भूटानभन्दा अगाड़ि रहेको स्मरण गराए। तर, गलत राजनीतिक अभ्यासका कारण आज सिक्किम भुटानभन्दा धेरै पछाड़ि परेको उनको भनाइ थियो। सिक्किमको गुमेको गरिमा पुनर्स्थापित गर्न सिटिजन एक्सन पार्टी-सिक्किमले सक्रियतापूर्वक सङ्गठन विस्तारमा जुट्नुपर्ने उनले बताए।
सिक्किमलाई देशभित्रै अलग पहिचान, व्यवस्थित संरचना र समृद्धिसहितको राज्यका रूपमा स्थापित गर्ने स्वर्ण अवसर सिटिजन एक्सन पार्टी-सिक्किमको हातमा रहेको उल्लेख गर्दै उनले पार्टी सङ्गठनलाई अझ सशक्त र व्यापक बनाउन सबैले थप सामर्थ्यका साथ काम गर्नुपर्नेमा जोड़ दिए। पार्टी अध्यक्षको सम्बोधनपछि विभिन्न परिषद्का प्रतिनिधिहरूले आ-आफ्ना प्रतिवेदन प्रस्तुत गर्दै परिषद्का भावी कार्ययोजना तथा रणनीतिबारे जानकारी गराएको महासचिव जिग्मी डी भोटियाद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।
यहाँ तपाईंको विज्ञापन देखिन सक्छ
300 × 250 विज्ञापनका लागि सम्पर्क गर्नुहोस् →स्थानीय • १४ नोभेम्बर, २०२६
स्थानीय • १३ नोभेम्बर, २०२६
स्थानीय • १३ नोभेम्बर, २०२६