नुनम फुङ सुब्बाले जितिन् मिस चार्म नर्थइस्टको उपाधि

हिमाली बेला
• स्थानीय • ०५ नोभेम्बर, २०२६
नुनम फुङ सुब्बाले जितिन् मिस चार्म नर्थइस्टको उपाधि

गान्तोक, 5 नोभेम्बरः पश्चिम सिक्किमको सोमवारे निवासी नुनम फुङ सुब्बाले असमको जोरहाटमा 27 देखि 29 अक्टोबरसम्म असमको जोरहाट आयोजित ‘मिस ग्रान्डियोज नर्थइस्ट 2026’-मा मिस चार्म नर्थइस्ट 2026 को उपाधि जित्दै राज्यलाई गौरवान्वित बनाएकी छन्। उनी यस प्रतियोगिताको शीर्ष 3 भित्र पर्न सफल भएकी हुन्।

मालुम ध्वज सुब्बा र सन्तोषी सुब्बाकी छोरी 21 वर्षीय नुनमले हाल जोरहाटस्थित असम कृषि विश्वविद्यालयमा कम्युनिटी साइन्स विषयमा स्नातक तहको अध्ययन गरिरहेकी छन्।

सुब्बाले भनिन्, “मलाई सौन्दर्य प्रतियोगिताहरूमा सधैँ रुचि थियो, तर लामो अन्तरालपछि मार्च महिनामा नजिकैको एक इञ्जिनियरिङ कलेजमा आयोजित ‘मिस फिनिक्स 2026’ मा भाग लिने निर्णय गरेँ। मैले ‘मिस फिनिक्स 2026’ को ताज जितेँ र आयोजकहरूले मलाई ‘मिस ग्रान्डियोज’-मा सहभागी हुन आमन्त्रित गरे। यो यस्तो अवसर थियो, जसलाई म गुमाउन चाहँदिनँ थिएँ।”

आफ्नो उपलब्धिबारे बोल्दै सुब्बाले भनिन्, “मैले कहिल्यै यो स्तरसम्म पुग्ने अपेक्षा गरेकी थिइनँ। ‘मिस चार्म नर्थइस्ट’-को उपाधि जित्दा मलाई आफैँमाथि धेरै गर्व लागेको छ, किनभने मैले यहाँसम्म पुग्ने कल्पना पनि गरेकी थिइनँ। म सधैँ आफैँमाथि शङ्का गर्थेँ र म यो गर्न सक्छु होला? भनेर सोच्थेँ, तर यसपटक, मैले आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने निधो गरेँ।”

उनले अझ भनिन्, “शीर्ष तीनमा पर्नु र उपाधि जित्नु त छँदैछ-जसको म पक्कै पनि कदर गर्छु, तर म यस सम्पूर्ण अनुभवलाई मैले भेटेका मानिसहरूलाई र पूर्वोत्तरका विभिन्न राज्यबाट बनेका साथीहरूलाई अझ बढ़ी महत्त्व दिन्छु। उनीहरूसँगको सांस्कृतिक आदान-प्रदान साँच्चै अमूल्य थियो र म यसलाई नै सबैभन्दा बढ़ी सँगालेर राख्नेछु।”

“आफ्नो पढ़ाइ र सौन्दर्य प्रतियोगिताको तयारीलाई सन्तुलनमा राख्नु अर्को चुनौती थियो, किनभने उनको अध्ययनमा सैद्धान्तिक पढ़ाइका साथै धेरै व्यावहारिक कार्य र असाइनमेन्टहरू सामेल हुन्छन्। साँचो भन्नुपर्दा यो निकै कठिन थियो किनभने मेरो पढ़ाइ धेरै पक्षहरू समेटिएका छन् र यसमा मैले धेरै समय दिनुपर्छ। यहाँ सिद्धान्त मात्र होइन, धेरै व्यावहारिक अभ्यास र कार्यहरू पनि हुन्छन्”- उनले भनिन्।

सुब्बाले हिल लगाएर हिँड्ने बानी पार्न उनी घरमा दैनिक कामकाज गर्दा पनि हिल लगाएर हिँड्ने अभ्यास गर्थिन्। सौन्दर्य प्रतियोगितासम्बन्धी कुनै व्यावसायिक प्रशिक्षण नलिएकी उनले आधारभूत कुराहरू सिक्न युट्युब र अन्य अनलाइन स्रोतहरूको मद्दत लिइन्।

“म हिल लगाएर हिँड्ने बानी बसाल्न सधैँ 10 देखि 20 मिनटसम्म घरको काम गर्थेँ। मैले कहिल्यै कुनै व्यावसायिक कक्षा लिएकी छैन। त्यसैले मैले युट्युब र अन्य अनलाइन स्रोतहरूबाटै सबै कुरा सिकेँ”-उनले भनिन्। उनले प्रतियोगिता हुनुअघि आयोजकहरूले उपलब्ध गराएको दुई-तीन दिनको तयारी सत्रमा मात्र वास्तविक ‘ग्रुमिङ’ पाएकी थिइन्।

“मलाई सधैँ दर्शनशास्त्रका किताब र विभिन्न ब्लग पढ्न मन पर्थ्यो। मलाई लाग्छ, यसले मेरो शब्दभण्डार बढ़ाउन र अझ राम्रोसँग कुराकानी गर्न सहयोग गर्‍यो। विभिन्न दर्शनबारे सिक्नु र तिनलाई जीवनमा उतार्नुले पनि मलाई धेरै सहयोग पुर्‍यायो”-उनले भनिन्।

15 वर्षको उमेरमा नुनमले ‘सिक्किम ग्ल्यामर वर्ल्ड’ द्वारा आयोजित ‘मिस टिन सिक्किम’-मा भाग लिइन्, जहाँ उनले एउटा उप-शीर्षक जितिन्। उनी भविष्यमा आफ्नो पढ़ाइलाई निरन्तरता दिँदै थप क्षेत्रीय तथा राष्ट्रियस्तरका सौन्दर्य प्रतियोगिताहरूमा सहभागी हुने योजना बनाउँदै छिन्।

विज्ञापन यहाँ तपाईंको विज्ञापन देखिन सक्छ 728 × 90 →
विज्ञापन Hotel Gangtok Drift — Footer Banner
ब्रेकिङ