शिक्षित समाज कि बौद्धिक समाज?

दिपेन्द्र राई ‘उपहार’
• अन्य • १२ अक्टोबर, २०२६
शिक्षित समाज कि बौद्धिक समाज?

प्रगतिशील समाजले शिक्षालाई सधैँ महत्त्व दिन्छ। शिक्षाबिना विकसित समाजको कल्पना गर्न सकिँदैन। कालान्तरमा शिक्षासँगै शिक्षा दिने प्रविधि र पद्धतिमा पनि परिवर्तन हुँदै आएको छ। शिक्षाको महत्त्व त्यो बेला पनि उत्तिकै थियो र अहिले पनि उत्तिकै छ। बरु आजको प्रतिस्पर्धी युगमा यसको महत्त्व अझ बढ़ेर गएको छ। हामीले शिक्षाको स्तर त माथि उठायौँ, तर के हाम्रो शिक्षा प्रणाली नै हाम्रो बौद्धिकताको मापन हो? यो प्रश्नको उत्तर खोज्नुअघि शिक्षा र बौद्धिकताबीचको अन्तरलाई बुझ्नु आवश्यक छ।

PISA (Programme for International Student Assessment), OECD (Organisation for Economic Co-operation and Development) द्वारा सञ्चालन गरिने अन्तरराष्ट्रिय विद्यार्थी मूल्याङ्कन कार्यक्रम हो। PISA ले विद्यार्थीहरूले के जानेका छन् मात्र होइन, उनीहरूले प्राप्त ज्ञानलाई विभिन्न परिस्थितिमा कसरी प्रयोग गर्न सक्छन् भन्ने विषयलाई पनि मूल्याङ्कन गर्छ। PISA 2022 मा पहिलोपटक 15 वर्षका विद्यार्थीहरूको सिर्जनात्मक सोच पनि अन्तरराष्ट्रिय रूपमा मापन गरिएको थियो। यस अध्ययनको एउटा महत्त्वपूर्ण निष्कर्ष के निस्कियो भने शैक्षिक विषयमा उत्कृष्ट हुनु मात्र सिर्जनात्मक सोचमा उत्कृष्ट हुन पर्याप्त हुँदैन। यसले हामीलाई एउटा गम्भीर प्रश्न सोध्न बाध्य बनाउँछ, के धेरै पढ्नु र बौद्धिक हुनु एउटै कुरा हो?

शिक्षाले विकाससँगै अवसर पनि ल्यायो। मानिसहरूको जीवनस्तरमा सुधार आयो र जीवन सहज बन्दै गयो। मानव समाजको स्तर र देशको प्रगति शिक्षासँग जोड़िएपछि मानिसहरूबीच प्रतिस्पर्धा पनि बढ्दै गयो। यही प्रतिस्पर्धाले मानिसलाई आफ्नो भौतिक उपलब्धिलाई नै श्रेष्ठताको आधार मान्ने दिशातर्फ पनि डोहोर्‍यायो।

प्रकृतिलाई आफ्नो वशमा पार्ने होड़ चल्यो। पृथ्वीबाट ब्रह्माण्डसम्म आफ्नो ज्ञान र प्रविधिको पहुँच विस्तार गर्ने क्रममा मानिस निरन्तर अघि बढ़िरहेको छ। हावालाई जित्ने, आकाशलाई चिर्ने र समुद्रको गहिराइदेखि अन्तरिक्षसम्म पुग्ने हाम्रो प्रचुर इच्छाले मानिसलाई अभूतपूर्व उपलब्धि हासिल गर्ने प्राणी बनाएको छ। तर विकाससँगै चुनौतीहरू पनि आएका छन्। प्राकृतिक स्रोतको अत्यधिक दोहन, वातावरणीय सङ्कट, जलवायु परिवर्तन, युद्ध र विनाशकारी प्रविधिका सम्भावनाले धेरै गम्भीर प्रश्न उठाएका छन्। यही प्रश्नको उत्तर खोज्ने ठाउँमा शिक्षा र बौद्धिकताबीचको अन्तर देखिन थाल्छ। शिक्षित मानिसले कुनै समस्याको समाधान खोज्न सक्छ। तर बौद्धिक मानिसले त्यो समाधानले भविष्यमा पार्ने प्रभावबारे पनि सोच्न सक्छ। शिक्षित मानिसले नयाँ प्रविधि निर्माण गर्न सक्छ। तर बौद्धिक मानिसले त्यो प्रविधि मानवता, समाज र प्रकृतिका लागि कसरी प्रयोग गर्ने भन्ने प्रश्न गर्छ। शिक्षाले मानिसलाई ज्ञान दिन्छ भने बौद्धिकताले त्यस ज्ञानलाई दिशा दिन्छ। महान् दार्शनिक सुकरातले पनि भनेका छन्, “मलाई केही थाहा छैन भन्ने कुरा मैले जानेको छु।” यसको मूल भाव ज्ञानको सीमासँग सम्बन्धित छ। वास्तविक बौद्धिकता केवल धेरै कुरा जान्नुमा हुँदैन। आफूले जानेको ज्ञानको सीमा बुझ्नु, प्रश्न गर्न सक्नु, नयाँ कुरा सिक्न तयार हुनु र आफ्नो ज्ञानको प्रयोग गर्दा त्यसको परिणामबारे सोच्न सक्नु पनि बौद्धिकताको महत्त्वपूर्ण पक्ष हो।

आज हामीसँग सूचना पहिलेभन्दा धेरै छ। प्रविधिले संसारका करोड़ौँ मानिसलाई एउटै क्षणमा जानकारी प्राप्त गर्ने सुविधा दिएको छ। तर सूचना बढ्दै जानु र विवेक बढ्दै जानु एउटै कुरा होइन। हामीसँग ज्ञानको भण्डार बढ़िरहेको छ, तर त्यससँगै हाम्रो निर्णय क्षमता, संवेदनशीलता र जिम्मेवारी पनि बढ़िरहेको छैन।

अब हाम्रो समाजले शिक्षित र बौद्धिकबीचको भिन्नता गर्न सक्नुपर्छ। हाम्रो समाज शिक्षित अवश्य बनेको छ, तर त्यही अनुपातमा बौद्धिक भएको भए आजको यो जटिल संसारको निर्माण हुने थिएन। यो हतियारको धारमा उभिएको भविष्य हुने थिएन। यसैले शिक्षित हुनु मात्र बौद्धिकताको प्रमाण होइन। तर हाम्रो समाजमा अहिले शिक्षित मानिसलाई नै बौद्धिक भन्ने चलन छ। यही भुलले गर्दा ती तथाकथित बौद्धिकहरूले समाजलाई दोहोर्‍याएर पतनतर्फ धकेलिरहेका छन्।

शिक्षित हुनुको अर्थ प्रायः विद्यालय, कलेज वा विश्वविद्यालयबाट प्राप्त प्रमाणपत्रसँग जोड़िन्छ। उच्च शैक्षिक योग्यता भएको व्यक्तिलाई बौद्धिक मान्ने प्रवृत्ति पनि देखिन्छ। तर प्रमाणपत्रले व्यक्तिले निश्चित तहको औपचारिक शिक्षा हासिल गरेको प्रमाणित गर्न सक्छ भने उसको सम्पूर्ण बौद्धिक क्षमता, विवेक, सिर्जनात्मकता वा सामाजिक संवेदनशीलतालाई प्रमाणित गर्दैन। यसको अर्थ औपचारिक शिक्षाको महत्त्व छैन भन्ने पनि होइन। शिक्षा बौद्धिकताको महत्त्वपूर्ण आधार हो, तर शिक्षा मात्र बौद्धिकताको पूर्ण प्रमाण होइन भन्ने यहाँ बुझिन्छ।

PISA 2022 को सिर्जनात्मक सोच सम्बन्धी निष्कर्षले पनि यही अन्तरलाई प्रमाणित गर्छ ख केही विद्यार्थी मूल शैक्षिक विषयहरू (Core academic Domains) मा उत्कृष्ट नभए पनि सिर्जनात्मक सोचमा उत्कृष्ट हुन सक्छन्। बौद्धिकता भन्नाले केवल परीक्षा वा डिग्रीको विषय मात्र होइन। यसमा प्रश्न गर्ने क्षमता, तर्क गर्ने क्षमता, सिर्जनात्मक सोच, समस्या समाधान गर्ने क्षमता, आफ्नो विचारमाथि पुनर्विचार गर्ने क्षमता तथा सामाजिक र भावनात्मक पक्ष पनि जोड़िन्छन्।

यसैले अब फरक सम्झौँ अनि विवेकको प्रयोग गर्दै चेतनाको प्वालबाट अलि नियालेर समाजलाई हेरौँ। तपाईँ-हाम्रो बुझाइको बौद्धिकताले समाजको स्तर कहाँ पुर्‍याएको छ? अब फरक गर्ने, हुने अनि देखिने समय आएको छ।

विज्ञापन यहाँ तपाईंको विज्ञापन देखिन सक्छ 728 × 90 →
विज्ञापन Hotel Gangtok Drift — Footer Banner
ब्रेकिङ