सिक्किमको राजनीति, सिक्किम बचाउने हो कि राजनीतिको खेल खेल्ने?

विष्णु दुलाल ताक्छाङ, पूर्व सिक्किम
• अन्य • ०९ अक्टोबर, २०२६
सिक्किमको राजनीति, सिक्किम बचाउने हो कि राजनीतिको खेल खेल्ने?

सिक्किमको वर्तमान राजनीतिक अवस्था, राजनीतिक दलहरूको गतिविधि र नेताहरूका अभिव्यक्तिलाई नजिकबाट नियाल्दा एउटा गम्भीर प्रश्न उठ्छ- हामी राजनीति गरिरहेका छौँ कि राजनीतिको स्तर र गरिमालाई नै दिनप्रतिदिन तल झारिरहेका छौँ?

आज राजनीतिक बहसभन्दा आरोप, प्रत्यारोप, दोषारोपण, व्यक्तिगत आक्षेप र अस्वस्थ आलोचना बढ़ी सुनिन थालेको अनुभूति हुन्छ। लगभग सबै राजनीतिक दलको दाबी छ- सिक्किम बचाउने, सिक्किमेली अस्तित्वको रक्षा गर्ने, जनताको हक, हित र अधिकार सुरक्षित गर्ने तथा राज्यमा सुधार र विकास ल्याउने। तर प्रश्न छ, यी दाबी व्यवहारमा कहाँ देखिन्छन्?

यदि राजनीतिक दल र राजनीतिज्ञहरूलाई साँच्चिकै सिक्किमको चिन्ता छ भने राज्यका साझा विषयमा एकअर्कासँग संवाद र सहकार्य किन हुन सक्दैन? विचार फरक हुनु स्वाभाविक हो, तर सिक्किमको हितका साझा विषयमा हातेमालो गर्न किन सकिँदैन? दुर्भाग्यवश, हामी युवाहरूले देखिरहेको राजनीतिक वातावरणमा विपक्ष सरकारको विरोधमा र सरकार पक्ष विपक्षको आलोचनाको जवाफ दिनमै व्यस्त देखिन्छ। यसरी आरोप र प्रत्यारोपको चक्र चलिरहँदा सिक्किमेली जनताको वास्तविक समस्या भने ओझेलमा परिरहेको छ।

प्रजातन्त्रमा सरकार र विपक्ष दुवै आवश्यक छन्। सरकारका कमजोरी औँल्याउनु, जनताको आवाज उठाउनु र सरकारलाई जवाफदेही बनाउनु विपक्षको धर्म हो। तर विपक्षको काम विरोध गर्नु मात्र होइन, कमजोरीसँगै विकल्प र समाधान दिनु पनि हो। ‘यो गलत छ’ भन्नुका साथै ‘यसको समाधान यस्तो हुन्छ’ भन्न सक्ने राजनीतिक क्षमता पनि देखिनुपर्छ। त्यसैगरी सरकारको जिम्मेवारी आफ्ना समर्थकको मात्र संरक्षण गर्नु वा विपक्षको आलोचनाको जवाफ दिइरहनु होइन। सरकार सम्पूर्ण सिक्किमेली जनताको हो। विपक्षले उठाएका जायज प्रश्न र सुझावलाई सुन्ने, तथ्य गलत भए प्रमाणसहित खण्डन गर्ने र सही भए सुधार गर्ने संस्कार सरकारमा हुनुपर्छ। सरकार बलियो हुनुको अर्थ आलोचना दबाउनु होइन, आलोचना सुनेर सही निर्णय लिन सक्नु हो।

आज सिक्किममा स्वस्थ राजनीतिक बहसको वातावरण कमजोर हुँदै गएको अनुभूति हुन्छ। राजनीतिक मतभेद व्यक्तिगत सम्बन्ध र सामाजिक सम्बन्धसम्म पुग्नु चिन्ताजनक विषय हो। यही कारणले धेरै युवाहरू राजनीतिबाट टाढ़ा बस्न रुचाइरहेका छन्। युवालाई राजनीतिमा आकर्षित गर्नुपर्ने समयमा राजनीतिप्रतिको वितृष्णा बढ्नु गम्भीर चिन्ताको विषय हो।

राज्यका विपक्षी दलहरू, क्याप, एसडीएफ, काङ्ग्रेस लगायतले वर्तमान एसकेएम सरकारका कामकारबाहीमाथि भ्रष्टाचार, विकास, सड़क, पुल, अस्पताल, विद्यालय, प्रशासन, सिक्किमेली अधिकार तथा राज्यको भविष्यलगायत विभिन्न विषयमा प्रश्न उठाउँदै आएका छन्। यी आरोप र दाबीहरू तथ्य, प्रमाण र सम्बन्धित अभिलेखका आधारमा जनताले मूल्याङ्कन गर्नुपर्छ। तर एक सामान्य सिक्किमेको रूपमा म ती सबै विपक्षी दलहरूसामु एउटा सीधा प्रश्न राख्न चाहन्छु- यदि वर्तमान सरकार साँच्चिकै गलत छ भने, सिक्किमको भविष्य सङ्कटमा छ भने, सिक्किमको माटो, अस्तित्व र अधिकार असुरक्षित छन् भने, त्यस्तो सरकारलाई चुनौती दिन विपक्षी दलहरू साझा मुद्दामा एक ठाउँमा उभिन किन सक्दैनन्?

यो प्रश्न मैले एसकेएम सरकारको पक्षमा उभिएर सोधेको होइन। यो प्रश्न सिक्किमेली जनताको पक्षमा उभिएर सोधेको हुँ। यदि विपक्षी दलहरूलाई साँच्चिकै सिक्किमप्रति प्रेम छ र जनताको अधिकार तथा भविष्यप्रति गम्भीर छन् भने व्यक्तिगत रिस, राजनीतिक अहङ्कार र नेतृत्वको प्रतिस्पर्धाभन्दा माथि उठेर कम्तीमा साझा सिक्किमेली मुद्दामा एक ठाउँमा उभिन सक्नुपर्छ। चुनावी तालमेल वा राजनीतिक एकताको स्वरूप उनीहरूको निर्णय हो, तर जनतासामु स्पष्ट वैकल्पिक नीति, साझा कार्यक्रम र व्यवहारिक समाधान प्रस्तुत गर्नु उनीहरूको जिम्मेवारी हो। विपक्षी दलहरू विभाजित हुँदा त्यसको असर अन्तत: जनतामाथि पर्छ। युवा, विद्यार्थी, किसान, मजदुर, कर्मचारी तथा सामान्य नागरिक बारम्बार आरोप र प्रत्यारोप सुन्छन्, तर विकल्प के हो भन्ने स्पष्ट जवाफ खोजिरहेका हुन्छन्। त्यसैले जनताको भावनालाई केवल चुनावी गणितका रूपमा प्रयोग गर्ने होइन, उनीहरूलाई स्पष्ट राजनीतिक विकल्प दिन सक्नुपर्छ।

सिक्किममा राजनीतिक आस्थाका आधारमा विभेद भएको भन्ने गुनासाहरू पनि समय-समयमा उठ्ने गरेका छन्। यस्ता गुनासाहरू जहाँ छन्, त्यहाँ तथ्य र प्रमाणका आधारमा निष्पक्ष छानबिन हुनुपर्छ। कुनै नागरिकको राजनीतिक आस्था उसको अधिकार खोस्ने वा सरकारी सुविधा रोक्ने आधार बन्नु हुँदैन। नागरिक अधिकार दलको झण्डासँग जोड़िनु हुँदैन। त्यसैले राजनीतिक दलहरूसँग मेरो स्पष्ट आग्रह छ, सिक्किमेली युवाको काँधमा बन्दुक राखेर आफ्नो राजनीतिक लड़ाइँ नलड़ौँ। विद्यार्थी, युवा, किसान, मजदुर र सामान्य नागरिकलाई राजनीतिक भीड़को सङ्ख्या बनाउने काम नगरौँ। जनताको भावनालाई भड्काएर वा उनीहरूलाई एकअर्काविरुद्ध खड़ा गरेर प्राप्त गरिने राजनीतिक लाभले अन्ततः सिक्किमलाई नै कमजोर बनाउँछ।

आगामी 20027 को पञ्चायत चुनाव लगायत 2029 को विधानसभा निर्वाचनमा कसले जित्छ वा हार्छ भन्ने निर्णय आजै गर्न सकिँदैन। त्यो अधिकार जनतासँग छ। त्यसैले प्रत्येक मतदाताले पार्टीको झण्डा, भाषण वा भावनात्मक नाराभन्दा माथि उठेर उम्मेदवारको काम, नीति, विगतको योगदान, सार्वजनिक व्यवहार र भविष्यको स्पष्ट योजनालाई आधार बनाएर मतदान गर्नुपर्छ। सरकारको विकल्प बन्न चाहने विपक्षी दलहरूले पनि जनतालाई एउटा स्पष्ट उत्तर दिनुपर्छ, हामी सरकारको विरोधमा छौँ मात्र होइन, हामी सरकारमा आएपछि के फरक गर्छौँ? यही प्रश्नको व्यवहारिक उत्तर आजको सचेत मतदाताले खोजिरहेका छन्।

त्यसैगरी सरकार पक्षले पनि विपक्षीको प्रत्येक आलोचनालाई राजनीतिक हमला भनेर अस्वीकार गर्नु हुँदैन। आलोचना तथ्यमा आधारित छ भने सुधार गर्ने साहस देखाउनुपर्छ, आरोप गलत छ भने तथ्य र प्रमाणसहित जवाफ दिनुपर्छ। जनतालाई राजनीतिक हल्ला होइन, सत्य र परिणाम चाहिएको छ।

राजनीतिमा त्यागको कुरा धेरै हुन्छ। तर त्यागको भार जनता र कार्यकर्ताले मात्र बोक्ने कि राजनीतिज्ञहरूले पनि? यदि सिक्किम साँच्चिकै पहिलो प्राथमिकता हो भने नेताहरूले पनि व्यक्तिगत अहङ्कार, पदको आकाङ्क्षा र दलगत स्वार्थभन्दा माथि उठ्न सक्नुपर्छ। सार्वजनिक हितका लागि त्याग गर्न नसक्ने नेतृत्वले जनताबाट मात्र त्यागको अपेक्षा गर्नु उचित हुँदैन। हामीले स्पष्ट रूपमा बुझ्नुपर्छ, सिक्किम कुनै एउटा राजनीतिक दलको होइन, कुनै नेताको व्यक्तिगत सम्पत्ति होइन। सिक्किम सत्ता पक्षको मात्र होइन, विपक्षको मात्र पनि होइन। सिक्किम सम्पूर्ण सिक्किमेली जनताको साझा घर हो। त्यसैले अब सिक्किममा राजनीतिको नयाँ संस्कार आवश्यक छ, आरोप छ भने प्रमाण देऊ, विरोध छ भने विकल्प देऊ, समस्या छ भने समाधान देऊ र नेतृत्व छ भने त्याग देऊ। सम्पूर्ण सिक्किमेली जनता, युवा, विद्यार्थी, किसान, कर्मचारी, मजदुर र आम नागरिकहरूसामु मेरो अपील छ, आफ्नो बहुमूल्य मत कुनै दबाब, डर, लोभ वा भावनात्मक उत्तेजनामा होइन, विवेक र तथ्यका आधारमा प्रयोग गरौँ। राजनीतिक गतिविधिमा सहभागी हुने वा नहुने निर्णय प्रत्येक नागरिकको स्वतन्त्र अधिकार हो। तर राजनीतिक दलको झण्डा बोक्नुभन्दा पहिले आफ्नो विवेकको झण्डा उठाऔँ।

अन्ततः प्रश्न एसकेएम, एसडिएफ, क्याप बिजेपी वा काङ्ग्रेसको मात्र होइन। प्रश्न सिक्किमको राजनीतिक संस्कारको हो। प्रश्न हाम्रो भविष्यको हो। प्रश्न हाम्रो अस्तित्वको हो।

यदि कुनै विपक्षी दललाई वर्तमान सरकार गलत छ भन्ने लाग्छ भने जनतासामु स्पष्ट वैकल्पिक बाटो प्रस्तुत गरोस्। यदि सिक्किमको भविष्य सङ्कटमा छ भन्ने लाग्छ भने त्यसबाट बाहिर निकाल्ने साझा योजना प्रस्तुत गरोस्। व्यक्तिगत अहङ्कार र राजनीतिक विभाजनभन्दा माथि उठेर सिक्किमेली हितमा सहकार्य गर्ने क्षमता देखाओस्। किनकि सिक्किम बचाउने, सुधार ल्याउने , परिवर्तन गर्ने कुरा भाषणमा होइन, व्यवहारमा देखिनुपर्छ। सिक्किम कुनै नेताको राजनीतिक सम्पत्ति होइन। सिक्किम कुनै दलको बपौती होइन।

सिक्किम हामी सबैको साझा माटो, साझा अस्तित्व र साझा भविष्य हो। त्यसैले राजनीति गरौँ, तर सिक्किमलाई केन्द्रमा राखेर। विरोध गरौँ, तर प्रमाण र समाधानसहित। सत्ता खोजौँ, तर जनताको विश्वासको माध्यमबाट। र सबैभन्दा महत्वपूर्ण, सिक्किमको नाममा राजनीति गर्ने हो भने, पहिले सिक्किमलाई नै पहिलो स्थानमा राखौँ। यदि भविष्यका दिनमा केन्द्रिय पार्टीहरू सिक्किमका लागि घातक साबित हुनसक्छन् भन्ने लाग्छ भने राज्यका सम्पुर्ण क्षेत्रीय पार्टी, सङ्गठन अनि जनताहरू सिक्किमको हितमा एकजुट हुन् सक्नुपर्छ। चाहे एसकेएमको पक्षमा होस्, या क्याप, एसडीएफ या कुनैपनि क्षेत्रीय नयाँ सङ्गठनको पक्षमा होस्, हामीले सिक्किमको हितमा साथ दिनसक्नु पर्छ। यदि सबैले सिक्किमका लागि राजनीति गरेका हुन भने सर्वप्रथम नेता अर्थात राजनीतिज्ञहरूले त्याग गर्न सक्नुपर्छ।

विज्ञापन यहाँ तपाईंको विज्ञापन देखिन सक्छ 728 × 90 →
विज्ञापन Hotel Gangtok Drift — Footer Banner
ब्रेकिङ