मङ्गनमा विद्यमान प्रसंस्करण प्लान्टलाई आधुनिक बनाउन केन्द्रिय मन्त्री सिंहको आग्रह
गत एक दशकमा सिक्किममा दुग्ध उत्पादनमा 79 प्रतिशतको वृद्धि भएको दाबी
‘सिक्किममा 79,000 लिटर प्रतिदिन मिल्क चिलिङ क्षमता स्थापित भएको छ’
‘दुग्ध उत्पादनको समस्या सिक्किमको मात्रै नभएर पूरै देशकै एक समस्या हो’
गान्तोक, 4 नोभेम्बरः सिक्किमले दुग्ध क्षेत्रमा उल्लेखनीय प्रगति गरेको बताउँदै केन्द्रिय मत्स्य, पशुपालन तथा डेरी मन्त्री राजीव रञ्जन सिंहले सिक्किममा सिरी गाईमा आधारित सेन्टर अफ् एक्सिलेन्स स्थापना गर्ने प्रस्ताव राखेका छन्। प्रस्तावित केन्द्रले यस क्षेत्रमा पाइने स्वदेशी सिरी गाईवस्तुको संरक्षण, विकास र वैज्ञानिक सुधारलाई सहयोग गर्ने लक्ष्य राखेको छ। उनले राज्य सरकारले केन्द्र स्थापना गर्न जमिन उपलब्ध गरे सो प्रस्ताव केन्द्र सरकारले पारित गर्ने दाबी गरे। उनले मङ्गनमा विद्यमान प्रसंस्करण प्लान्ट एकदमै पुराना रहेको जनाउँदै त्यसलाई आधुनिकीकरण गर्न आग्रह पनि गरे। सिक्किम दुग्ध सङ्घले मङ्गलवार लुम्सेमा आयोजित एक कार्यक्रममा मन्त्री सिंहले सिक्किममा भावी दिनमा स्थापना तथा मरम्मती गरिने पूर्वाधारमाथि योजनाहरू रेखाङ्कित गरे।
कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, “गत एक दशकमा सिक्किममा दुग्ध उत्पादनमा 79 प्रतिशतको वृद्धि भएको छ। पहिला 1.137 लाख लिटर प्रतिदिनको उत्पादन थियो, जुन वृद्धि भएर 2.45 लाख लिटर प्रतिदिन भएको छ। यद्यपि, यो आँकड़ा राष्ट्रिय औसतभन्दा थोरै कम छ, तर प्रगति भने सराहनीय रहेको छ।”
2014-15 मा केवल 389 सहकारी समिति रहेको आँकड़ा प्रस्तुत गर्दै केन्द्रिय मन्त्रीले 2025-26 सो समितिमा वृद्धि भएर 733 पुगेको, जसमा 88 प्रतिशतको वृद्धि आएको जानकारी दिए। “दूध सङ्ग्रह पनि 17 हजार लिटर प्रतिदिनदेखि बढ़ेर 61 हजार लिटर प्रतिदिन पुगेको छ। सिक्किममा 79,000 लिटर प्रतिदिन मिल्क चिलिङ क्षमता स्थापित भएको छ”-मन्त्रीले बताए।
उनले अहिले सिक्किममा दुग्ध उत्पादनको मागमा व्यापक वृद्धि भएको रेखाङ्कित गर्दै माग वृद्धि भएको अवस्थामा क्षमता पनि बढ़ाउनुपर्ने सुझाउ राखे। यसो गर्दा मानिसहरूमा पहुँच सशक्त रूपमा स्थापित हुने उनले जनाए। केन्द्रिय मन्त्री सिंहले भने, “हामी सिक्किममा 2029-30 सम्म 3.6 लाख लिटर दुग्ध उत्पादन बनाउने लक्ष्य लिएर अग्रसर छौँ र त्यो लक्ष्य प्राप्तिका लागि केन्द्रबाट सिक्किम सरकारलाई हरसम्भव सहयोग गर्नेछौँ। सहकारी समितिहरूलाई सुदृढ़ बनाउन नितान्त आवश्यक छ। जति नयाँ सहकारी संस्थाहरू स्थापित हुन्छन्, त्यति नै दूध सङ्ग्रहमा पनि वृद्धि हुनेछ। दूध सङ्ग्रह बढ्दा प्रसंस्करणको पनि विस्तार हुनेछ। हामीले 900 सहकारी समिति बनाउने लक्ष्य राखेका छौँ। यो लक्ष्य हासिल गर्न हेतु राष्ट्रिय डेयरी विकास बोर्ड (एनडीडीबी)-लाई सिक्किमलाई सहयोग गर्न आग्रह गर्दछु।”
दुग्ध उत्पादनको समस्या सिक्किमको मात्रै नभएर पूरा देशकै एक समस्याको रूपमा अघि आएको केन्द्रिय मन्त्रीले बताए। उनले भने, “दुग्ध उत्पादनमा भारत विश्वमा पहिलो स्थानमा छ। प्रधानमन्त्री नरेन्द्र मोदीले सत्ताको बागडोर सम्हालेदेखि दुग्ध उत्पादनमा बढ़ोत्तरी भइरहेको छ। मत्स्य उत्पादनमा भारत दोस्रो स्थानमा छ। दुग्ध क्षेत्रको सबैभन्दा ठूलो समस्या भने बजारमा जुन उपलब्धता छ, त्यो उपलब्धताको गुणवतामा सम्झौता गरिन्छ। यदि दूध सङ्ग्रहण असङ्गठित क्षेत्र अधीनस्थ छ भने दूधमा मिलावटको गुनासो बढ्दछ। यदि सहकारी संस्थाको माध्यमबाट दूध सङ्ग्रह गरिए, त्यसमा मिसावटका शिकायतहरू आउँदैनन्।”
उनले सङ्गठित क्षेत्रमा सहकारी समिति जति लामो विस्तार गरिन्छ, पशुपालकलाई पनि लाभ हुने बताए। “पशुपालकहरूले दूधको मूल्यमा पनि बढ़ी प्राप्त गर्नेछन् र उपभोक्ताहरूले सही गुणवत्तायुक्त दूध र दुग्ध उत्पादन प्राप्त गर्नेछन्। यसो हुँदा सिक्किम राज्यको आर्थिक उन्नति हुनेछ। सिक्किम राज्यको आर्थिक उन्नति हुँदा पूर्वोत्तर राज्यहरू सशक्त बन्नेछन् र यही प्रधानमन्त्रीको पनि लक्ष्य हो”-उनले बताए।
केन्द्रिय मन्त्रीले सिक्किम सरकारले जमिन उपलब्ध गराएको खण्डमा सिरी गाईमा आधारित एक सेन्टर अफ् एक्सिलेन्स स्वीकृत गर्ने प्रस्ताव राखे। उनले भने, “आईभीएफ प्रौद्योगिकीमार्फत गाईबाट बाछा जन्माइनेछ र ती बाछा कृषकहरूलाई उपलब्ध गराउनेछौँ। आईभीएफ प्रौद्योगिकीबाट जन्मिएका बाछाहरूको दूधप्रदत्त क्षमता तीन गुणा बढ्नेछ।” उनले राज्य सरकारलाई सहकारी समितिको सङ्ख्या बढ़ाउन र दुग्ध क्षेत्रलाई असङ्गठित क्षेत्रदेखि सङ्गठित क्षेत्रअन्तर्गत ल्याउन आग्रह गरे। यस्तो हुँदा दूधको सङ्ग्रहण बढ्ने, क्षमता पनि बढ्नेछ र उपभोक्ताका लागि बजारमा गुणस्तरीय सामान उपलब्ध हुने दाबी गरे। केन्द्रियमन्त्रीले कृषिमन्त्री पुरण गुरुङलाई 500 नयाँ सहकारी समिति गठन गर्न आग्रह गरे। उनले मङ्गमा विद्यमान प्रसंस्करण प्लान्ट एकदमै पुराना रहेको बताउँदै त्यसलाई आधुनिकीकरण गर्न आग्रह पनि गरे। प्रधानमन्त्री नरेन्द्र मोदी पूर्वोत्तर राज्यको विकासका लागि सदैव चिन्तित रहेको जनाउँदै भारत सरकार सिक्किमको दुग्ध क्षेत्रमा हरसम्भव सहयोग गर्न तयार रहेको आश्वासन दिए।
5 वर्षमा सिक्किम दुग्ध सङ्घको कारोबारमा 85.69 प्रतिशत वृद्धि भएको छः घतानी
सिक्किम दुग्ध सङ्घका प्रबन्ध निर्देशक टीबी घतानीले सङ्घ 19 वर्षदेखि निरन्तर मुनाफामा सञ्चालन भएको दाबी गरेका छन्। उनले सङ्घका पाँच प्रमुख क्षेत्रमा खरिद तथा निवेश, प्लान्ट र सञ्चालन, विपणन, लेखा तथा वित्त र प्रशासन रहेको अवगत गराए।
सिक्किम दुग्ध सङ्घले मङ्गलवार लुम्सेमा आयोजित एक कार्यक्रममा घतानीले आफ्नो प्रस्तुतिमा उक्त आँकड़ा सार्वजनिक गरेका हुन्। उनले दुग्ध सहभारी सङ्घमा 16,297 सदस्य सङ्गठित रहेको आँकड़ा प्रस्तुत गरे। उनले भने, “गत पाँच वर्ष दूध खरिदमा 77.55 प्रतिशत वृद्धि भएको छ। 2025-26 मा 105 करोड़ 31 लाख 99 हजार रुपियाँ दूधको भुक्तानी गरेका छौँ।” सिक्किम सरकारले हरेक ग्वालालाई प्रति लिटरमा आठ रुपियाँ प्रोत्साहन राशि प्रदान गर्ने गरेको बताउँदै सरकारले 2021 यता 80 करोड़ 53 लाख 31 हजार रुपियाँ प्रोत्साहन राशि प्रदान गरेको जानकारी।
प्रबन्ध निर्देशक घतानीले 2025-26 मा 205.97 लाख लिटर दूध बिक्री भएको अवगत गराए। उनले सिक्किम दुग्ध सङ्घको वार्षिक कारोबार 2025-26 मा 157.20 करोड़ रहेको, जुन गत पाँच वर्षमा 85.69 प्रतिशत वृद्धि भएको जनाए। उनले अहिले दूध खरिदको लक्ष्य एक लाख लिटर रहेको र 200 करोड़को कारोबार गर्ने लक्ष्य राखेको बताए।
सिक्किम दुग्ध सङ्घको भ्रमणको क्रममा केन्द्रिय मत्स्य, पशुपालन तथा डेरी एवं पञ्चायती राज मन्त्री राजीव रञ्जन सिंहले सिक्किम मिल्क युनियन प्रशोधन केन्द्रमा विद्यमान माइक्रोबायोलोजी प्रयोगशालाको उद्घाटन गरे र दुग्धजन्य उत्पादन तथा सम्बन्धित पहल प्रदर्शन गरिएका पसलहरूको अवलोकन गरे।
कार्यक्रममा मन्त्री सिंहका बाहुलीबाट कर्फेक्टारस्थित माइक्रोबायोलोजी प्रयोगशालाको भर्चुअल उद्घाटन गरियो। उनले ‘छुर्पी ट्रेसिबिलिटी’, ‘फोडर प्लस’ किसान उत्पाद संस्था (एफपीओ)-का उत्पादहरू सार्वजनिक तथा उद्घाटन गरे। यस क्रममा पाँचवटा नवनिर्मित दुग्ध सहकारी समितिलाई पञ्जीकरण प्रमाण-पत्र वितरण गरियो। ती पाँच संस्थानमा कुल 60 जना कृषक आबद्ध छन् र यहाँ दैनिक 357.1 लिटर दूध सङ्कलन हुने अपेक्षा गरिएको छ। यसअघि सिक्किम दुग्ध सङ्घका अध्यक्ष यामकुमार शर्माले स्वागत सम्बोधन राखे। कार्यक्रममा कृषि विभागका मन्त्री पुरण गुरुङ, स्वास्थ्यमन्त्री जीटी ढुङ्गेल, विधायक तथा सल्लाहकार एनबी प्रधानसहित अन्यको उपस्थिति रहेको थियो।
यहाँ तपाईंको विज्ञापन देखिन सक्छ
300 × 250 विज्ञापनका लागि सम्पर्क गर्नुहोस् →स्थानीय • १४ नोभेम्बर, २०२६
स्थानीय • १३ नोभेम्बर, २०२६
स्थानीय • १३ नोभेम्बर, २०२६