सिक्किम आक्रमणसँग इतिहास रच्ने मौका
शिलङ लाजोङको नजर उपाधिमा
गान्तोक, 15 अक्टोबरः 42औँ अखिल भारतीय गभर्नर्स गोल्ड कपको उपाधि भिड़न्तमा शुक्रवार सिक्किम आक्रमण एससी र शिलङ लाजोङ एफसीबीच रोचक प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ। शिलङ लाजोङले सेमिफाइनल चरणमा सिङ्लिङ एससीमाथि पेनल्टी शुटआउटमा 5-4 गोलअन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित बनाएको छ। अर्कोतिर, सिक्किम आक्रमणले सेमिफाइनल चरणमा गोकुलम केरला एफसीलाई 3-2 गोलअन्तरले पराजित गरेर फाइनलमा कब्जा जमाउन सफल भएको छ।
गभर्नर्स गोल्ड कपको गौरवपूर्ण 41औँ संस्करणसम्म सिक्किमको केवल एउटा घरेलु टोलीले यो प्रतिष्ठित उपाधि हत्याउन सफल भएको छ। 1979 मा भएको पहिलो संस्करणमा गान्तोक म्युनिसिपल कर्पोरेशन (जीएमसी)-ले फाइनल खेलमा बीएसएफ कदमतलालाई 1-0 गोल अन्तरले पराजित गर्दै इतिहास रचेको थियो। त्यसपछि कुनै पनि सिक्किमे टोलीले उपाधि जित्न सकेको छैन। गान्तोक हिमालयन एससी 2019 र 2024 को संस्करणमा फाइनलमा पुग्न सफल भए तापनि उपाधि चुम्न सकेन। अब यस संस्करणमा सिक्किम आक्रमण एससीसित इतिहास रच्ने सुनौलो अवसर रहेको छ।
शुक्रवार सम्पन्न हुने 42औँ गभर्नर्स गोल्ड कपको पूर्वसन्ध्यामा अर्थात् बिहीवार सिक्किम आक्रमण र शिलङ लाजोङका कप्तान तथा मुख्य प्रशिक्षक निकै आत्मविश्वासी देखिए। दुवै टोली पूर्ण तयार भएर भोलि मैदानमा ओर्लिने बताए। आज आयोजित पत्रकार सम्मेलनमा सिक्किम आक्रमणका मुख्य प्रशिक्षक निकोलश राईले भने, “हामी फाइनल खेल्न उत्साहित छौँ। सिक्किम आक्रमणसित इतिहास कायम गर्ने सुनौलो अवसर छ। हामीले अन्य प्रतियोगिता पनि खेलिरहेका हुन्छौँ, तर सिक्किमको फुटबल इतिहासमा गभर्नर्स गोल्डकपको छुट्टै र विशेष स्थान छ। यो प्रतियोगिता अखिल भारतीय फुटबल महासङ्घसँग आबद्ध छ। हामीले यसपाली यो उपाधि हत्यायौँ भने जीवनका लामो समयसम्म यो क्षण हामीमा इङ्कित हुनेछ।”
सिक्किम आक्रमणका लागि पाल्जर स्टेडियम घरेलु मैदान पनि भएको हुँदा साथै स्थानीयको अपार समर्थन प्राप्त भएको हुँदा यस्ता पक्षहरू महत्त्वपूर्ण कारक बन्ने उनले बताए। “हामीले यस प्रतियोगितामा लिक चरण पनि खेल्यौँ। सेमिफाइनलमा गोकुलम केरला एफसीजस्तो बलियो टोलीमाथि विजयी हासिल गर्यौँ। हामी आफ्नो पक्षबाट सर्वस्व दिएर खेल्ने छौँ।” खेलाड़ीहरूमा स-साना चोटपटक लागे तापनि उनीहरू भोलिको खेल खेल्न पूर्ण तयार रहेको राईले बताए। सिक्किम आक्रमणले हालै सम्पन्न सिक्किम प्रिमियर लीग पनि खेलेको हुँदा यसले आफ्नो लयलाई निरन्तरता दिन सहयोग पुगेको राईले स्वीकारे। “हामी विपक्षी टोलीमाथि भन्दा पनि आफ्नै खेलाड़ीहरूमाथि केन्द्रित हुन्छौँ। खेलमा आफ्नो पक्षबाट शत प्रतिशत दिँदा पनि कहिलेकाहीँ परिणाम आफूअनुकूल हुँदैन। तरै पनि हामी उपाधि हत्याउने प्रतिबद्धताका साथ मैदानमा ओर्लने छौँ”-उनले भने।
कप्तान बक्सर प्रधानले भोलि फाइनल खेल्न पाउँदा निकै उत्साहित रहेको बताए। उनले भने, “गभर्नर्स गोल्ड कपमा उत्कृष्ट टोली स्पर्धाका लागि आएका हुन्छन्। योपाली हामी फाइनलमा पुग्न सक्षम भएका छौँ। यस प्रतियोगितामा हामीले गोकुलम एफसी (केरला) लाई पराजित गरेका छौँ। हामीले कड़ा मेहनत र सङ्घर्ष गरेर फाइनलमा स्थान सुरक्षित बनाएका छौँ। मैले आफ्नो व्यक्तिगत पक्षबाट केही योगदान दिएर टोलीलाई फाइनल जिताउन सकेँ, त्यसमा म अत्यन्तै खुशी हुनेछु।” मुख्य प्रशिक्षक राईले खेलाड़ीहरूले कड़ा मेहनत गरेको र धेरै वर्षपछि फाइनल खेल खेल्न पाएको बताउँदै जुनसुकै टोलीका समर्थक भए तापनि भोलि फुटबल फाइल खेल हेर्न आउन आग्रह पनि गरेका छन्।
शिलङ लाजोङका मुख्य प्रशिक्षक वीरेन्द्र थापाले भने, “यो प्रतिष्ठित प्रतियोगिताको फाइनलमा पुग्दा धेरै उत्साहित छौँ। सिक्किम आक्रमणले पनि उत्कृष्ट प्रदर्शन गर्दै आएको छ। खेलाड़ीहरूमा छिटपुट चोटपटक लागेता पनि उनीहरू खेल्न तयार छन्।” बुधवार खेलिएको शिलङ लाजोङ र सिङ्लिङ एससीबीचको खेलमा सिङ्लिङका किपरले रेड कार्ड पाएपछि टोली 10 जना खेलाड़ीमा सीमित रहे तापनि शिलङ लाजोङले पेनाल्टी सुटआउटमा गएर मात्रै 5-4 गोल अन्तरले जीत हासिल गर्यो। टोलीले किन सहजै जीत हासिल गर्न नसकेको र परिणाम सन्तोषजनक किन आउन नसकेको भन्ने प्रश्नमा प्रशिक्षक थापाले भने, “हामीले सेमिफाइलनमा साँघुरो जीत निकाल्यौँ। शिलङ र सिक्किमको मौसम समान रहे तापनि टोलीले लामो दुरीको यात्रा तय गरेको तुरुन्तैपछि खेलेकोले पनि परिणाम सन्तोषजनक नआएको हुनसक्छ। भोलिको खेलमा हाम्रो टोलीले उत्कृष्ट प्रदर्शन गर्नेछ भन्नेमा म विश्वस्त छु।”
कप्तान केन्स्टर खार्सेले भने, “हामी भोलि फाइनल खेल्न तयार छौँ। सिक्किम आक्रमण पनि उत्कृष्ट प्रदर्शन गर्दै आएको छ। हामी उपाधि हत्याउन हरसम्भव प्रयास गर्नेछौँ।” भोलिको खेलमा राज्यपाल ओम प्रकाश माथुर मुख्य अतिथिका रूपमा उपस्थित रहने छन् भने मुख्यमन्त्री पीएस गोले विशिष्ट अतिथिका रूपमा रहने छन्। खेल साँझ 5ः00 बजीदेखि शुरु हुनेछ।
यहाँ तपाईंको विज्ञापन देखिन सक्छ
300 × 250 विज्ञापनका लागि सम्पर्क गर्नुहोस् →स्थानीय • ३० अक्टोबर, २०२६
स्थानीय • ३० अक्टोबर, २०२६
स्थानीय • ३० अक्टोबर, २०२६