नेपथ्यको बहुप्रतीक्षित प्रस्तुति भोलि

देव दर्जी
• स्थानीय • ३० अक्टोबर, २०२६
नेपथ्यको बहुप्रतीक्षित प्रस्तुति भोलि

कार्यक्रमले कन्सर्ट र रचनात्मक अर्थव्यवस्था सुदृढ़ बनाउनेछः खरेल

गान्तोक, 29 अक्टोबरः नेपालको चर्चित तथा लोकप्रिय रक-लोक ब्याण्ड नेपथ्य आगामी शनिवार राजधानी गान्तोकस्थित पाल्जर स्टेडियममा आफ्नो प्रस्तुतिमार्फत दर्शकलाई मन्त्रमुग्ध तुल्याउन तयार छ। ‘रेशम’, ‘उड़ायो रेलैले’, ‘भेँड़ाको ऊन जस्तो’, ‘तालको पानी’ जस्ता कालजयी गीत पस्किएर दर्शकमाझ छुट्टै छाप छोड्न सफल नेपथ्यका फ्रण्ट म्यान अमृत गुरुङलगायत ब्याण्डका अन्य सदस्य बहुप्रतीक्षित कन्सर्टका लागि बुधवार साँझ नै सिक्किम आइपुगिसकेका छन्।

कार्यक्रमको आयोजक पोजिटिभ भाइब्स इन्टरटेन्मेन्ट नेटवर्क (पीभीई नेटवर्क)-ले ‘नेपथ्य लाइभ इन सिक्किम- लेट्स गेट लाउडः सेलिब्रेट सिक्किम’-कन्सर्टले राज्यको कन्सर्ट र रचनात्मक अर्थव्यवस्था सुदृढ़ बनाउनमा टेवा पुर्‍याउन सक्ने विश्वास व्यक्त गरेको छ। बिहीवार राजधानीमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नामथाङ-रातेपानी निर्वाचन क्षेत्रका विधायक तथा उक्त कार्यक्रमका मुख्य संरक्षक सञ्जीत खरेलले 31 अक्टोबरमा आयोजन हुने नेपथ्यको कन्सर्टका लागि 11 हजार टिकट बिक्री भइसकेको र आयोजकले कुल 15 हजार टिकट बिक्री गर्ने लक्ष्य राखेको अवगत गराए। उनले भने, “नेपथ्य एक चर्चित तथा लोकप्रिय ब्याण्ड हो। उनीहरूले देश-विदेशमा साङ्गीतिक प्रस्तुति दिइसकेका छन् र धेरै अनुभवी ब्याण्ड पनि हो। सिक्किमका सङ्गीतप्रेमीहरूले नेपथ्य औधि मनपराउँछन्।” उनले अहिले भीआईपी तथा सामान्य श्रणीका टिकटहरू प्रायः बिक्री भइसकेको र दर्शकलाई टिकट पाउन हम्मे परेको, यद्यपि टिकट व्यवस्था गरिएको बताए।

“अहिलेसम्म लगभग 11 हजार टिकट बिक्री भइसकेका छन्। दक्षिण कोरियालगायत अन्य देशबाट पनि 4,000 टिकट खरिद गरिएको छ”-मुख्य संरक्षक खरेलले बताए। उनले यसअघि कार्यक्रमका लागि पाल्जर स्टेडियमको ढोका साँझ 5ः00 बजी खोलिने निर्धारित गरिए तापनि दर्शकको भीड़ नियन्त्रण गर्न साथै कुनै अप्रिय घटना हुन नदिन हेतु दिउँसो 3ः00 बजी नै ढोका खोलिने जानकारी दिए।

यस प्रकारको कार्यक्रमले कन्सर्ट तथा सृजनात्मक अर्थव्यवस्था कसरी सुदृढ़ बन्न सक्छ भन्ने प्रश्नमा विद्युत् विभागका सल्लाहकार पनि रहेका खरेलले भने, “यो पहलले मुख्यमन्त्री पीएस गोलेद्वारा व्यक्त गरिएको एउटा व्यापक आकाङ्क्षालाई प्रतिबिम्बित गर्दछ, जसअन्तर्गत मनोरञ्जन क्षेत्रलाई पर्यटन, उद्यमशीलता र रोजगारीसँग जोड़ेर राज्यको कन्सर्ट अर्थतन्त्र र सृजनात्मक अर्थतन्त्रको विकास गर्ने लक्ष्य राखिएको छ। विभिन्न ठाउँबाट आउने दर्शकको आगमनले स्थानीय आतिथ्य तथा पर्यटन उद्योगका लागि महत्त्वपूर्ण अवसर प्रदान गर्नेछ किनभने अतिथिहरूले आवास, रेस्टुरेन्ट, यातायात, किनमेल र दर्शनीय स्थलहरूको भ्रमण गर्छन्। यस्तो हुँदा राज्यको राजस्व पनि वृद्धि हुँदछ।”

पत्रकार सम्मेलनमा मञ्च निर्माण, कार्यक्रम स्थलको पूर्वाधार, दर्शकको प्रवेश प्रक्रिया, टिकट प्रमाणीकरण, सुरक्षा व्यवस्था, भीड़ व्यवस्थापन, ट्राफिक समन्वयमाथि संक्षिप्त रूपमा प्रकाश पारियो।

सम्मेलनमा सिम्फेडका अध्यक्ष तथा कार्यक्रमका मुख्य समन्वयक तेञ्जिङ दोर्जी भोटिया, स्वास्थ्य विभागका अध्यक्ष फुर्बा रिञ्जिङ शेर्पा, पीभीई नेटवर्कका संस्थापक निर्देशक विकास कायस्थ, कार्यक्रमका राज्य प्रतिनिधि नीर छेत्रीको पनि उपस्थिति रहेको थियो।

विज्ञापन यहाँ तपाईंको विज्ञापन देखिन सक्छ 728 × 90 →
विज्ञापन Hotel Gangtok Drift — Footer Banner
ब्रेकिङ