गान्तोक, 14 नोभेम्बर (आईपीआर): गान्तोकस्थित पाल्जर स्टेडियम कम्प्लेक्सको इण्डोर ब्याडमिन्टन हलमा शनिवार ‘योनेक्स-सनराइज 49औँ अन्तरराज्य तथा अन्तरक्षेत्रीय जुनियर राष्ट्रिय ब्याडमिन्टन टिम च्याम्पियनसिप 2026’ को शुरुआत भएको छ। सिक्किमले यति प्रतिष्ठित राष्ट्रियस्तरको च्याम्पियनशिप आयोजना गरेको यो पहिलोपटक हो।
शिक्षा, खेलकुद तथा युवा मामिला एवं कानून तथा संसदीय मामिलामन्त्री राजु बस्नेतले मुख्य अतिथिका रूपमा उद्घाटन समारोहमा सहभागिता जनाए। 14 देखि 21 नोभेम्बरसम्म सञ्चालन हुने यस च्याम्पियनशिपलाई सिक्किम सरकारले राज्यस्तरीय कार्यक्रमको मान्यता दिएको छ भने मुख्यमन्त्री पीएस गोले यसका मुख्य संरक्षक हुन्।
यस च्याम्पियनशिपमा 28 राज्य र पाँच केन्द्र शासित प्रदेशका 33 टोलीको प्रतिनिधित्व गर्दै लगभग 500 जुनियर ब्याडमिन्टन खेलाड़ी भेला भएका छन्। उनीहरूसँगै विभिन्न राज्यका ब्याडमिन्टन सङ्घ र ‘ब्याडमिन्टन एसोसिएशन अफ् इण्डिया’ (बीएआई)-का प्रशिक्षक, अभिभावक, पदाधिकारी र प्रतिनिधि पनि उपस्थित रहेका छन्। यस कार्यक्रममा 600 भन्दा बढ़ी व्यक्तिको सहभागिता रहने अपेक्षा गरिएको छ।
उद्घाटन समारोहको शुरुआत सहभागी राज्य टोलीको औपचारिक मार्च पास्ट र राष्ट्रगानको प्रस्तुतिबाट भयो। गान्तोक नगर निगमकी मेयर तथा ब्याडमिन्टन एसोसिएशन अफ् सिक्किम (बास)-की वरिष्ठ उपाध्यक्ष छिरिङ पाल्देन भोटियाले स्वागत मन्तव्य राखिन्। त्यसपछि, सहभागी खेलाड़ी तथा पदाधिकारीहरूले खेल भावना र निष्पक्ष खेलप्रति प्रतिबद्ध रहँदै शपथ ग्रहण गरे। सिक्किमकी विद्यार्थी प्रतिनिधि हिग्जेन डोल्मा लाचेन्पाले उनीहरूलाई शपथ दिलाइन्।
मुख्य अतिथि राजु बस्नेतले ‘योनेक्स-सनराइज 49औँ अन्तरराज्य तथा अन्तरक्षेत्रीय जुनियर राष्ट्रिय ब्याडमिन्टन टिम च्याम्पियनशिप 2026’ को औपचारिक उद्घाटन गरे।
सिक्किमको समृद्ध परम्परा र सम्पदा झल्काउने सांस्कृतिक प्रस्तुतिले कार्यक्रमको शोभा बढायो भने बासका वरिष्ठ उपाध्यक्ष महेन्द्र छेत्रीले धन्यवाद ज्ञापन गरे। उद्घाटन समारोहपछि च्याम्पियनशिपका खेलहरू शुरु भए। प्रतियोगिता सुचारू रूपमा सञ्चालन गर्नका लागि खेलस्थलमा पाँचवटा ब्याडमिन्टन कोर्ट तयार पारिएका छन्। ब्याडमिन्टन एसोसिएशन अफ् इण्डियाको संरक्षणमा ब्याडमिन्टन एसोसिएशन अफ् सिक्किमद्वारा आयोजित यो च्याम्पियनशिपले 19 वर्ष मुनिका उदीयमान खेलाड़ीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने र राष्ट्रिय वरीयतामा सुधार गर्ने महत्त्वपूर्ण मञ्च प्रदान गर्दछ। यसका साथै यसले उनीहरूलाई अन्तरराष्ट्रिय प्रतियोगिता तथा विश्व च्याम्पियनशिपमा भारतको प्रतिनिधित्व गर्ने सम्भावनालाई अझ बलियो बनाउन मद्दत पुर्याउँछ।
आजबाट टिम च्याम्पियनशिप शुरु भएको छ, जबकि अण्डर 19 का खेलाड़ीहरूको व्यक्तिगत च्याम्पियनशिप 16 नोभेम्बरदेखि शुरु हुनेछ र यसको फाइनल खेल 21 नोभेम्बरमा हुनेछ।
यो च्याम्पियनशिप 21 नोभेम्बरमा समापन हुनेछ। समापन समारोहमा चर्चित गायक पवनदीप राजन र पूर्ण राईको साङ्गीतिक प्रस्तुति पनि रहनेछ।
राष्ट्रिय च्याम्पियनशिपको आयोजना सिक्किममा ब्याडमिन्टन खेलका लागि एक महत्त्वपूर्ण कोसेढुङ्गा हो। यसले स्थानीय खेलाड़ीलाई उच्चस्तरको राष्ट्रिय प्रतिस्पर्धा प्रत्यक्ष हेर्ने अवसर प्रदान गर्नुका साथै राज्यको खेलकुद पूर्वाधार र साङ्गठनिक क्षमतालाई पनि उजागर गरेको छ।
यस कार्यक्रममा सिक्किमका मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार तथा ब्याडमिन्टन एसोसिएसन अफ् सिक्किम (बास)-का अध्यक्ष जेकब खालिङ, गान्तोक नगरनिगम (जीएमसी)-की उपमेयर सारा लामा, जीएमसीका पार्षद्गण, ब्याडमिन्टन एसोसिएसन अफ् इन्डियाका उपाध्यक्ष तथा प्राविधिक समितिका अध्यक्ष एस. मुरलीधरन, खेलकुद विकास बोर्डका अध्यक्ष रिञ्जिङ छोपेल, श्रम विकास बोर्डका अध्यक्ष प्रेमराज गुरुङ, सूचना तथा प्रविधि विभागका अध्यक्ष नवराज गुरुङ, प्रशासनिक सुधार समितिका अध्यक्ष एसडी ढकाल, खेलकुद तथा युवा मामिला विभागकी सचिव याङ्चेन डी तामाङसहित अन्यको उपस्थिति रहेको थियो।
यहाँ तपाईंको विज्ञापन देखिन सक्छ
300 × 250 विज्ञापनका लागि सम्पर्क गर्नुहोस् →स्थानीय • १४ नोभेम्बर, २०२६
स्थानीय • १४ नोभेम्बर, २०२६
स्थानीय • १३ नोभेम्बर, २०२६