काइँलाको कटाक्ष कान्छालाई

धन ‘नीरव’ प्रधान तुरूक, नाम्ची सिक्किम
• साहित्य • १५ नोभेम्बर, २०२६
काइँलाको कटाक्ष कान्छालाई

मान्छे कि त करोड़पति हुनुपर्‍यो कि त रोडपति हुनुपर्‍यो सबैले चिन्दछन् यस केटेगोरिकाहरूलाई। हामी भयौँ मध्यम वर्गीय कोही पाँच सय कोही बेला हजारपतिसम्म। यसैले त हामी बीचको साँघुको काम गर्नेहरूको त्यति खोजी खबर, निन्दा चिन्ता कमै हुन्छ। यस्तै कम मान्छेले चिनेको कारणले म पनि कतिवटा विषयबाट ओझेलमा परेको छु, मैले गरेका कामहरू.. सामाजिक, साहित्यिक हुँदै सरकारी कामसम्मको कुरा थाहा छैन धेरैलाई।

अब शुरु गर्नु परो त्यो प्रसङ्गबाट उब्जेको मेरो मानसिक स्थिति खलबलाएको एउटा कथा। त्यो पँधेराघरे बाबैले मलाई पत्रु जस्तो पात्र बनाएर भन्न खोजेको मेरो कथा। पात्रलाई कमजोर देखाएर, तनावग्रस्त बनाएर, ऊ तानाशाह बन्ने निर्दयी कथाकार..?

...गाउँ बस्तीमा मान्छे बसेपछि एकाअर्काको भर भएर बस्नुपर्ने हुन्छ। माटो र ढुङ्गा जस्तो। बिहे, मरौदेखि, छेवर सेवरदेखि, घर पैंचोसम्ममा आफूले जानेको विश्वास गरेर दिएको दायित्व पूरा गरीदिनु पर्ने। यसैले गाउँमा बिहे कार्जे हुँदा मलाई हाम्रो गाउँमा धेरैजसो खजन्तिको भार दिने गर्दछन्। यसलाई म परम दायित्व सम्झी पूरा गरिदिन्छु र घरपति बाबै र आमैको मुहारमा त्यो पैसाको झोला थमाउँदा अनुहारमा आएको उज्यालो पनलाई हेर्छु। यसैले होला गाउँलेहरूले यो काम मलाई सुम्पेर ढुक्क हुने गर्दछन्।

प्रसङ्ग लक्षीमायाको बिहेको हो। लगभग अढ़ाई तीनसय घरलाई निम्तो थिएछ। त्यहाँ पनि मलाई खजन्तिको भार दिएको थियो। तल्लोघरे घनश्याम काका र म यस काममा खटेका थियौँ। टाड़ा-नजिक सबैतिरका निम्तारूहरू , पाहुनाहरू आए, नमस्कार गरे आफ्नो जेथा अनुसारका लिफा बुझाए।

कोही रम-रक्सी बेसी नै पिएर लटपटिँदै आएर लिफा थमाए। पुनः त्यही मान्छे पाँच-छपल्ट आएर ‘मैले लिफा दे कि दिन?’ पनि सोधे। आफ्नो दायित्व लिएर बसेपछि त्यस्ता सामान्य र रमाइला कुराहरू सुन्दै, हेर्दै बस्नु पर्‍यो।

त्यो चौकी नै त्यस्तो हो, तर यो बिहेमा मलाई मेरो साइनोले पनि आफन्त पर्ने पँधेरा घरे काइँला बाबैले मप्रति अति अभद्र दृष्टिकोण राखेर जुन कटुवचन प्रहार गर्‍यो, त्यसले मेरो मन, विचार र दिमागको तन्तुलाई महिनौ दिन गिजोली बस्यो। उनी उमेरले मात्र मभन्दा पाको र,छ। विचारले त धेरै तऽऽऽ पऽऽऽ गाको र,छ। जहिल्यै आफ्नो अगाड़ि उभिनसाथ हिना बाबै भने तर मेरो हिनालाई उसको पिना खाको जस्तो कुराले हरेस बनायो।

“हन तँलाई त यो गाउँकाहरूले यसैको लागि अडर दे,र राखेको छ क्या! जहाँ पनि तँलाई देख्छु।”

यहाँसम्म त ठिकै थियो तर “तँ पनि यतिमै सीमित हुने र,छस् तँ यहाँ देखि माथि जान नसक्ने र, छस् जिन्दगीमा” हो यो कुरा र कटाक्षले मलाई एकक्षण लथालिङ्ग पार्‍यो। आखिर बाबैले किन यस्तो कटाक्ष गरे मलाई, गाउँका निम्ति एउटा भार निभाइरहेको थिएँ म तर बाबैले मलाई पृथ्वीमा एउटा भार भएर निष्क्रिय, नियास्रो र खस्रो पात्रको रूपमा टिप्पणी गरेर उसको नजरमा यहाँदेखि माथि मान्छे बने म?

कसैले आफ्नो मनोरञ्जन लिनको निम्ति गरेका हर्कत, व्यवहार अन्य कसैको पीड़ादायक क्षण बन्दछन्। यो विषय सिद्धान्तवादीसम्मले गरेका छन्।

पँधेरा घरे बाबैको निम्ति त्यो कटाक्ष मनोरञ्जन बन्यो होला तर मेरो निम्ति त्यो मलाई बिथोल्ने विषय बन्यो।

फेरि बाबैलाई त्यो उसको खैराते बोलीको पश्चताप भयो होला र!! किन पो मैले त्यसलाई तेसो भने भन्ने विचारले निचोरे होलान्? तर मलाई भने त्यो लक्षीमायाको बिहे भएको एक वर्ष बितिसक्दा पनि काईंला बाबैको कटाक्षले घरिघरि पिरोली रहेको छ।

मैले कस्तो पात्र हुन चाहन्छु, मैले मेरा परिवार पाल्न उसको घरको पिँढ़ीमा पैँचो माग्न पुगिन, मैले उनीबाट एकै रुपियाँ पनि सापट लिएको पनि छैन। साइनो पर्ने मेरो उनी भनेर उनको अघि जहिले आदर स्वरूप शिर झुकाएर ढोग गरेकै हो। तर मैले जुन् इज्जत र आदर गरे त्यसको बाबैले उचित कदर गरेनन्। अनि मलाई यस्तो पत्र बनायो बाबैले। माहोल हेरी कुरा गर्न जान्नु नै मान्छेको बुद्धिमत्ता हुन जान्छ। नत्र त सुरोको फेला परेको बेलामा बाबैको बोलीले उसको टोपी उड्न के बेर?

त्यो म बसेको छेउमा मलाई आदर्श पात्र मान्ने भाइहरू थिए। मैले गरेका साहित्यिक कार्य एवम् उपलब्धिमा मलाई सधैँ एकजना सकारात्मक पात्र, धीरूदत्त पात्र, धीरललित पात्र मानेर मेरो पाइलाहरूको प्रशंसा गर्ने प्यारा भाइहरू थिए। भनौँ जेनजीहरू थिए।

उनीहरूकै छेउमा मलाई काइँला बाबैले कटाक्ष गर्दा मैले उनीहरूका नजरमा हिनताबोध गर्नु परेको थियो। फेरि म साह्रै धीरप्रशान्त पात्र हुँ, यसैले सहने बानी मेरोमा पर्याप्त छ, र नै प्रतिक्रियामा काइँला बाबैलाई केही भनिन, भन्नै सकिन। यही तत्काल केही भन्न नसक्ने प्रवृत्तिले जिन्दगीमा धेरै ठाउँहरूमा मैले यस्ता क्षणहरूबाट गुज्रिनु परेको छ। काइँला बाबैलाई पनि कुनै प्रतिक्रियाहरू गरिन मैले तर उसको तेरो जिन्दगी यतिमै सीमित र,छ भन्ने भनाइले मलाई एउटा पीड़ाको रापले पोलिरह्यो, पिरोलिरह्यो।

यसरी लेखेर, यतिसम्म लेखेर मनलाई शान्त बनाको छु। अब यस लेखलाई हिमाली बेलामा बेलैमा छपाउनु पर्‍यो। छापिएर आएपछि एकप्रति काइँला बाबैलाई पनि पठाउनु पर्‍यो भन्ने विचारले लेख टुङ्ग्याउन लागेको थिएँ, बाहिरबाट पूरण भाइले मलाई बोलाउँदै रहेछ।

‘किन?’ भनी बाहिर आएँ।

उसले भन्यो, “यही असोज बाह्र गते आइतवारको दिन पाखाघरे माइलाकी जेठी छोरी प्रकृतिको बिहे छ। उसैको निम्तो बाड्ँदै आको।’ यति भनेर उसले दुईवटा सुपारीको पोको निकालेर “यो दुई गेड़ा चाँहि बिहे मान्ने अनि यो दुई गेड़ा चाँहि खजन्ति बस्ने..” भनी राखेर गयो।

अब त्यस दिन त्यहाँ काइँला बाबैले म कान्छो नातिलाई के भनेर कटाक्ष गर्ने हुन् अहिलेदेखि एड्भान्स पीरमा छु।

विज्ञापन यहाँ तपाईंको विज्ञापन देखिन सक्छ 728 × 90 →
विज्ञापन Hotel Gangtok Drift — Footer Banner
ब्रेकिङ