काल्पनिक कथा
शहरको बीचमा रहेको एउटा ठूलो सरकारी भवनअगाड़ि पूरै भीड़ लागेको थियो।
त्यहाँ एउटा सुँगुर उभिएको थियो। उसले सेतो कुर्ता लगाएको थियो। छातीमा राष्ट्रिय झण्डाको सानो चिह्न थियो। वरिपरि सुरक्षाकर्मीहरू उभिएका थिए।
उसको नाम थियो- मन्त्री बराहप्रसाद।
पत्रकार तथा सञ्चारकर्मीहरू माइक्रोफोन लिएर उसको अगाड़ि उभिएका थिए।
एकजनाा पत्रकारले प्रश्न गर्यो, ‘‘मन्त्रीज्यू, देशमा खाद्यान्नको समस्या बढ़िरहेको छ। यसको समाधान के हो वा के हुन सक्छ?’’
बराहप्रसादले मुस्कुराउँदै भन्यो, ‘‘समस्या ठूलो छैन, जनताले ठूलो सोच्न छोड्नुपर्छ।’’
भीड़ बिस्तारै शान्त हुँदै गयो।
त्यति नै बेला पछाड़िबाट एउटा गोरु आयो। ऊ कृषिमन्त्री थियो। उसको नाम गोविन्द गुरु थियो।
उसले भन्यो, ‘‘मन्त्रीज्यू, किसानहरूसँग बीउ छैन, मल छैन, पानी पनि छैन।’’
यो कुरा सुनेर सुँगुरले उसको काँधमा हात राख्यो र भन्यो, ‘‘गोविन्दजी, किसानलाई समस्या होइन, आशा चाहिन्छ।’’
गोविन्दले भन्यो, ‘‘तर आशाले खेत जोतिँदैन नि!’’
सुँगुर आकाशतिर हेरेर मुसुक्क हाँस्यो र भन्यो, ‘‘त्यसैले त हामीले चुनाउ जितेका हौँ।’’
त्यो देशको संसदमा त्यस दिन विशेष बैठक थियो।
सभामुख एउटा बूढ़ो गधा थियो। उसको नाम धैरन्द्रनाथ थियो।
उसले घण्टी बजायो र भन्यो, ‘‘माननीय सदस्यहरू, आजको विषय हो- मानव नागरिकको व्यवस्थापन’’।
संसदमा बिस्तारै खलबली मच्चिन थाल्यो।
मानिसहरूलाई त्यस देशमा पाल्तु प्राणी भनिन्थ्यो। उनीहरूलाई छुट्टाछुट्टै वर्गमा बाँड़िएको थियो। कसैलाई घरमा राखिन्थ्यो, कसैलाई खेतमा, कसैलाई सुरक्षा गर्न, कसैलाई मनोरञ्जनका लागि अनि कसैलाई केवल भोजनका लागि।
संसद्को अगाड़िको एउटा बेञ्चमा बिरालो डल्लो परेर बसेको थियो। ऊ गृहमन्त्री थियो। उसको नाम म्याउँदेवी अधिकारी थियो।
उसले आफ्नो अगाड़ि राखेको फाइल पल्टाउँदै भन्यो, ‘‘अब मानव नागरिकहरूलाई नियन्त्रणमा राख्न नयाँ कानुन ल्याउनुपर्छ।’’
पछाड़िबाट एउटा कुकुर उठ्यो। ऊ विपक्षी दलको नेता थियो। उसको नाम भक्तबहादुर भुक्कर थियो।
ऊ भन्न थाल्यो, ‘‘म यस विषयमा विरोध गर्छु।’’
सभामुख गधाले सोध्यो, ‘‘किन?’’
कुकुरले आफ्नो ढुक्कुरे छाती फुलाउँदै भन्यो, ‘‘किनकि मानिसलाई धेरै स्वतन्त्रता दिनु हुँदैन।’’
संसद् तालीले गुञ्जियो।
एउटा बाँदरले संसद्को टेबल ठटाउँदै भन्यो, ‘‘सही कुरा भन्नुभयो, भक्तबहादुरजी! खुसी लाग्यो। म हजुरको साथमा छु।’’
अर्को बाख्रो सांसदले पनि भन्यो, ‘‘हो, सही कुरा हो।’’
यत्तिकैमा अहिलेसम्म चुप बसेका सभामुख गधाले घण्टी बजायो।
‘‘व्यवस्था कायम राख्नुहोस्।’’
बाहिर सड़कमा हजारौँ मानिसहरू बाँधिएका थिए। उनीहरू सबै चुपचाप उभिरहेका थिए। उनीहरूको आँखामा डर थियो। त्यही डरलाई संसद्ले ‘‘शान्ति’’ भनिरहेको थियो।
त्यही दिन एउटा गाउँमा एउटा मानिस अर्थात् त्यस संसारको भाषामा एउटा पाल्तु जनावर आफ्नो मालिकको घरअगाड़ि उभिरहेको थियो। उसको मालिक एउटा गाई थियो। गाईको नाम माता गौरी थियो।
गौरीले मानिसलाई रोटी दिइन्। मानिसले रोटी समात्यो र डराउँदै सोध्यो, ‘‘आमा, आज यति धेरै किन?’’
गौरीले मुस्कुराउँदै भनिन्, ‘‘तिमीले हिजोदेखि केही खाएका छैनौ।’’
मानिसले बिस्तारै टाउको उठाएर उनको अनुहारमा हेर्यो र भन्यो, ‘‘तर माता गौरी, अरू घरमा त हामीलाई बाँकी खाना मात्र दिन्छन्।’’
गौरी केहीबेर चुप भइन् र भनिन्, ‘‘मलाई थाहा छ।’’
‘‘त्यसो भए तपाईँ हामीलाई किन राम्रो खाना दिनुहुन्छ?’’
गौरीले उसको टाउकोमा हात फेरिन् र भनिन्, ‘‘किनकि भोकको कुनै जात हुँदैन।’’
मानिसले आफ्नो जीवनमा पहिलोपटक कसैको मुखबाट यस्तो वाक्य सुनेको थियो। उसका आँखा रसाए। उता राजधानीमा एउटा ठूलो बैठक भइरहेको थियो।
मुख्यमन्त्री थिए- सिंहबहादुर सिंह। उनी एकदमै शक्तिशाली थिए। उनको अगाड़ि घोड़ा, हात्ती, बाघ, गैँड़ा, सुँगुर, गोरु, कुकुर, बिरालो सबै मन्त्रीहरू बसेका थिए।
सिंहले टेबलमा हात राख्दै भन्यो, ‘‘हामीले आगामी चुनाउ जित्नैपर्छ।’’
घोड़ाले भन्यो, ‘‘अनि जनतालाई चाहिँ के दिने त?’’
सिंहले एकछिन विचार गरेर उत्तर दिए, ‘‘सपना!’’
‘‘कस्तो सपना?’’
सिंहले मुस्कुराउँदै भन्यो, ‘‘त्यो सपना, जुन पूरा गर्न नपरोस्।’’
सबै मन्त्रीहरू खुब मजाले हाँसे। त्यही बीच हात्तीले बिस्तारै भन्यो, ‘‘तर जनावरहरू अब प्रश्न गर्न थालेका छन्।’’
त्यति नै बेला सिंहको अनुहारमा गम्भीरता छायो र भन्यो, ‘‘त्यसैले उनीहरूलाई व्यस्त राख्नुपर्छ।’’
हात्तीले प्रश्न गर्यो, ‘‘तर कसरी?’’
सिंहले भन्यो, ‘‘एकलाई अर्काको विरुद्ध उभ्याऊ!’’
बाघले सोध्यो, ‘‘जात?’’
‘‘चल्छ।’’
‘‘धर्म?’’
‘‘अझ राम्रो।’’
‘‘क्षेत्र?’’
‘‘त्यो त सबैभन्दा सजिलो।’’
‘‘भाषा?’’
अब सिंह बिस्तारै मुस्कुरायो र भन्यो, ‘‘त्यसपछि त उनीहरूले हामीलाई नै बिर्सन्छन्।’’
कोठामा फेरि हाँसो फैलियो। सबै गलल्ल हाँसे। तर त्यसै रात एउटा अनौठो घटना भयो।
एउटा सानो मानिस, जो त्यस संसारमा एउटा सामान्य घरपालुवा प्राणी थियो। उसले आफ्नो मालिकको टेबलमा राखिएको एउटा पुरानो ऐना भेट्यो। उसले ऐनामा आफूलाई हेयो। अचानक उसको आँखामा एउटा प्रश्न जन्मियो, ‘‘के हामी साँच्चै जनावर हौँ त?’’
उसले ऐना उठाएर बाहिर निस्क्यो। उसले अर्को एक जना मानिसलाई पनि देखायो। अर्कोले पनि ऐनामा हेर्यो र भन्यो, ‘‘हामीलाई जनावर भनिन्छ, तर जनावरहरू हामीभन्दा दयालु किन छन्?’’
त्यो प्रश्न एउटाबाट अर्कोमा पुग्यो। अर्को दिन त्यही गाउँमा सय जनाले ऐना बोके। तेस्रो दिन हजार जनाले। चौथो दिन राजधानीमा लाखौँ मानिसहरू ऐना लिएर सड़कमा निस्किए। उनीहरूले कुनै नारा लगाएनन्। कुनै झण्डा बोकेनन्। कुनै नेता खोजेनन्। केवल खाली ऐना बोके।
सिंहबहादुर सिंहले झ्यालबाट त्यो दृश्य राम्ररी हेर्यो। उसले पहिलोपटक डर महसुस गर्यो। किनकि अब उसलाई थाहा थियो- ऐनाले मानिसलाई उसको अनुहार मात्र देखाउँदैन, चरित्र पनि देखाउँछ।
त्यही साँझ सुँगुर मन्त्री बराहप्रसाद एउटा सरकारी भोजमा थिए। टेबलमा सयौँ प्रकारका खानाहरू थिए। उनको अगाड़ि मासु पनि थियो। उनले काँटा उठाए, तर त्यति नै बेला अचानक उनको हात रोकियो। उनले प्लेटतिर हेरे। त्यसमा एउटा सानो बोर्ड थियो।
‘मानव मासु!’
बराहप्रसादको अनुहारको रङ उड्यो। उनले काँटा तल राखे।
‘‘यो केको मासु हो?’’
भान्सेले सहजै भन्यो, ‘‘मानिसको।’’
‘‘मानिसको?’’
‘‘हो मन्त्रीज्यू, तपाईँहरूले वर्षौंदेखि खानुहुन्थ्यो नि!’’
बराहप्रसाद उठे। त्यति नै बेला उनका आँखाअगाड़ि त्यो पुरानो संसार घुम्न थाल्यो।
सुँगुरहरू काटिएका, गाईहरू काटिएका, गोरुहरू थुनिएका, कुकुरहरू बाँधिएका, बिरालाहरू स्वार्थका लागि पालिएका, घोड़ाहरू बोझ बोकिरहेका अनि मानिसहरू पनि त्यही सबै गर्दै हिँड़िरहेका। उनले पहिलोपटक बुझे- हिंसा सधैँ हातमा चक्कु बोकेर आउँदैन। कहिलेकाहीँ कानुनको अवतार बनेर आउँछ। कहिले राष्ट्रवाद बनेर, कहिले धर्म बनेर, कहिले भोट बनेर र कहिलेकाहीँ त हाम्रो आफ्नै अहङ्कार बनेर आउँछ।
भोलिपल्ट संसदमा विशेष बैठक बस्यो।
गधा सभामुखले घण्टी बजायो।
‘‘माननीय सदस्यहरू, आजको विषय हो- मानिसहरूको विद्रोह’’।
कुकुर नेता उठ्यो।
‘‘उनीहरूमाथि कडा कारबाही गर्नुपर्छ।’’
बिरालो मन्त्रीले भन्यो, ‘‘कर्फ्यु लगाउनुपर्छ।’’
बाघले भन्यो, ‘‘सेना परिचालन गर्नुपर्छ।’’
घोड़ाले चुपचाप आफ्ना दुई आँखाले बाहिर हेरिरहेको थियो। सुँगुर मन्त्रीले पहिलोपटक केही बोलेन। गोविन्द कृषिमन्त्रीले उसको काँधमा हात राख्यो।
‘‘बराहजी!’’
सुँगुरले उसको आँखामा हेर्यो।
‘‘के हामी साँच्चै राम्रो शासक हौँ?’’
गोरुले उत्तर दिएन। केही बेरपछि उसले यति मात्र भन्यो, ‘‘सायद हामीले मानिस बनेर जनावरलाई शासन गरेका होइन रहेछौँ।’’
‘‘त्यसो भए?’’
‘‘हामीले जनावर बनेर पनि मानिसको गल्ती दोहोर्याइरहेका रहेछौँ।’’
संसद् फेरि मौनतामा परिणत भयो। त्यस रात सिंहबहादुर सिंहले आफ्नो सरकारी निवासका सबै ऐना फुटाउन आदेश दिए। आदेशअनुसार सबै ऐना फुटाइए। तर त्यही बीचमा एउटा ऐना बाँकी रह्यो- उसको शयनकक्षमा। उसले एकपटक त्यस ऐनामा आफूलाई हेर्यो।
ऐनामा सिंह थिएन। एउटा मानिस थियो र त्यो मानिस रोइरहेको थियो। उसले ऐनालाई छोयो। अर्कोतिरबाट मानिसले पनि ऐना छोयो।
सिंहले बिस्तारै भन्यो, ‘‘हामी के हौँ?’’
ऐनाभित्रको मानिसले केही भनेनन्। केवल मधुरो मुस्कान मुस्कुराइरह्यो। र, ऐनाको पछाड़ितिर कतैबाट ‘‘टक... टक... टक...’’ आवाज आयो।
सिंह डरायो।
फेरि त्यही आवाज दोहोरियो, टक... टक... टक...।
ढोकामा कोही थिएन।
उसले ढोका खोल्यो।
बाहिर एउटा सानो मानिस उभिएको थियो। उसको हातमा ऐना थियो। उसले सिंहलाई हेरेर भन्यो, ‘‘ढोका खोल्नुभएकोमा धन्यवाद।’’
‘‘किन?’’ सिंहले प्रश्न गर्यो।
त्यो सानो मानिसले उत्तर दियो, ‘‘किनकि हामी धेरै वर्षदेखि बाहिर उभिरहेका थियौँ।’’
सिंहले सोध्यो, ‘‘तिमीहरू के चाहन्छौ?’’
सानो मानिसले ऐना अगाड़ि राख्यो र बिस्तारै भन्यो, ‘‘हामी जनावर होइनौँ भन्ने प्रमाण होइन, हामी पनि कतै तपाईँहरूजस्तै हुन सक्छौँ भन्ने डर हो।’’
सिंह चुप भयो। तर कतै बिहान हुन थालेको थियो। त्यो संसारमा पहिलोपटक सूर्य उदाउनुअघि नै मानिसहरूको अनुहार बदलिँदै थियो। र जनावरहरू मानिस हुनुको अर्थ खोज्दै थिए।
‘‘टक... टक... टक... टक...’’
यसपटक आवाज ढोकाबाट आएको थिएन। यसपटक आवाज आएको थियो- मानिसको अन्तस्करणबाट।
यहाँ तपाईंको विज्ञापन देखिन सक्छ
300 × 250 विज्ञापनका लागि सम्पर्क गर्नुहोस् →साहित्य • ०७ नोभेम्बर, २०२६
साहित्य • ०७ नोभेम्बर, २०२६
साहित्य • ०१ नोभेम्बर, २०२६