नाम्ची, 27 सेप्टेम्बर (आईपीआर): नाम्चीस्थित जिल्ला प्रशासन कार्यालयले जोखिममा रहेका बालकबालिका तथा किशोरकिशोरीहरूको रोकथाम, संरक्षण, पुनःस्थापना र सशक्तीकरण गर्ने उद्देश्यले जिल्लास्तरीय ढाँचा माया (किशोर तथा युवा उत्थान अभियान)-को औपचारिक शुरुआत गरेको छ।
मुख्यमन्त्री पीएस गोलेद्वारा आइतवार एटीटीसी बार्दाङमा आयोजित उड़ान अन्तरविद्यालय शैक्षिक महोत्सव 2026 को अवसरमा यस पहलको औपचारिक शुरुआत गरियो। कार्यक्रममा शिक्षामन्त्री राजु बस्नेत, विधायक तथा सल्लाहकार एलबी दास, सचिव, विभिन्न अधिकारी तथा अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।
यस पहलको परिचय दिँदै नाम्चीकी जिल्लापाल अनुपा तामालिङले जोखिममा रहेका बालकबालिका तथा किशोरकिशोरी विशेषगरी स्कूल छोड़ेकाहरूले सामना गरिरहेका चुनौतीको गहन अध्ययन र मूल्याङ्कनपछि मायाको विकास गरिएको बताइन्।
उनले विभिन्न विश्वसनीय स्रोतबाट प्राप्त तथ्याङ्कले औपचारिक शिक्षा प्रणालीबाट बाहिरिने (ड्रप-आउट हुने) जोखिममा रहेका ठूलो सङ्ख्यामा विपन्न बालकबालिका तथा किशोरकिशोरीहरूको उपस्थिति देखाएको विषयमा जोड़ दिइन्। बालकबालिकाहरू सामाजिक र आर्थिक कठिनाइहरूको थप जोखिममा पर्नुअघि नै यस्ता समस्याहरूको पहिचान गरी समाधान गर्ने उद्देश्यले यो पहलको अवधारणा ल्याइएको उनले बताइन्।
जिल्लापाल तामलिङले विद्यालय छोड्ने समस्या समाधानका लागि विभिन्न सरकारी विभाग, संस्था, सङ्गठन र सरोकारवालाहरू संलग्न भएको समन्वयात्मक तथा सामूहिक प्रयासको आवश्यकता रहेको विषयमा रेखाङ्कित गरिन्। मायामार्फत जिल्ला प्रशासनले जोखिममा रहेका बालकबालिकाहरूको पहिचान, उनीहरूको संरक्षण र पुनःस्थापनामा सहजीकरण तथा उनीहरूको निरन्तर शिक्षा, विकास र सशक्तीकरणका लागि अवसरहरू सिर्जना गर्न समन्वय सुदृढ़ गर्ने र एक व्यवस्थित संयन्त्र स्थापना गर्ने लक्ष्य राखेको छ।
माया जिल्ला प्रशासन, जिल्ला स्वास्थ्य विभाग, जिल्ला शिक्षा विभाग, जिल्ला सीप विकास विभाग र जिल्ला बाल संरक्षण एकाइको सहयोगात्मक पहल हो। यस ढाँचाले विद्यालय छोड्ने विषयलाई केवल एउटा शैक्षिक समस्याको रूपमा नहेरेर यसलाई समयमै हस्तक्षेप, संरक्षण र निरन्तर सहयोग आवश्यक पर्ने बृहत् सामाजिक मुद्दाको रूपमा सम्बोधन गर्ने व्यापक दृष्टिकोण अपनाएको छ।
यो पहलले विद्यालय छोड्ने समस्यालाई प्रारम्भिक चरणमै रोक्ने तथा बालकबालिका र किशोरकिशोरीहरूका लागि सुरक्षित, समावेशी र सहयोगी वातावरण प्रवर्द्धन गर्ने जिल्लाको प्रयासलाई सुदृढ़ पार्न महत्त्वपूर्ण कदमको रूपमा काम गर्ने बताइएको छ।
यहाँ तपाईंको विज्ञापन देखिन सक्छ
300 × 250 विज्ञापनका लागि सम्पर्क गर्नुहोस् →स्थानीय • ३० अक्टोबर, २०२६
स्थानीय • ३० अक्टोबर, २०२६
स्थानीय • ३० अक्टोबर, २०२६