एउटा घटना त्यस्तो पनि जो मेरै आँखाले देखेको हो। बलेँसीमा तप्केका पानीबाट फोका- फोका उठेर-फुटेर जीवनको क्षणिकतालाई बयान गरिरहेको थियो। फोकाहरू अलिक पर पुग्दै फुट्दै थियो। बलेँसीदेखि भित्रपट्टिको ओभानोतिर उभिएर मैले हेरेको त्यो नाटक जस्तै लाग्ने तर सत्य कथा यथार्थ घटना तितो टर्रो खल्लो र बेस्वाद झैँ लाग्ने दृश्यहरू घटनाको मूक दर्शकनै भएर।
कसको पक्ष लिएर वाद-विवाद गर्नु मैले। मलाई लाग्ने पक्षले म त्यहाँ आओस्, उनीहरूको ‘सपोर्ट’मा बसेर कुरा गरिदेओस् अवश्य सोच्दा हुन्। त्यसैले ती दुई मप्रति आशावादी दृष्टि बेला- बेला फ्याँक्थे। फेरि मलाई नलाग्ने (?) विपक्षमा रहेका ती दुईले नआओस्को खातिर मपट्टि पिठ्यूँ फर्काइदिएको पनि छ। पल्लो घरमा साँझपख एउटा खेल हुँदैछ, खेल हेर्दैछु तर निराश घटनाको मूक दर्शकनै भएर।
“तँहरू यो घरबाट निस्किहाल, जहाँ जान्छस् जा, तर यहाँ एकछिन पनि बस्नु पर्दैन” भन्यो। त्यस घरको मालिक मूल व्यक्तिले भन्यो “आजदेखि यस घरमा तेरो निम्ति कुनै ठाउँ छैन।”
कसैको निम्ति आफ्नै घरभित्र पनि ठाँवै नहुनु जस्तो बिडम्वनाजन्य कुरा केही होला र!! कसैले पनि मेरै भनेर कुनै वस्तुलाई च्याप्प समातेर राख्न खोजे पनि त्यो समातिराखेको वस्तुमा केही समयपश्चात नै भ्रम भइदिन्छ। जादुवालाको चटकमा डोरी समाउनु लगाएर त्यसलाई सर्पका परिणत गरिदिन्छ। त्यसबेला समात्ने मान्छे अत्तालिन्छ फ्यात्त फ्याँकिन्छ अघिको डोरी, अहिले डर भयो। अब उसको दिमागमा त्यो डरले शासन गरिरहन्छ धेरै कालसम्म। मेरो बाबुले सानु छँदा (झ्याङको काँक्रा लम्केर टिप्ने प्रयत्नमा भुइँमा साँपलाई कुल्चेको कथा गर्नुहुन्छ। त्यसपछि दुई-तीन वर्षसम्म बारीतिर मकैको ढोड़ टेकिपठाउँदा पनि झसङ्ग हुन्थे अरे। यसरी आफैसित सम्बन्धित वरिपरिका विषयवस्तुहरूले मान्छेलाई ‘इतिटेड’ गरिरहन्छन्।
घरबाटै निकालिमाग्ने उनीहरूका छोरा-बुहारी रहेछन्। साह्रै मन परेको छोरा-बुहारी थिइन्, केही समयअघि साह्रै मन नपर्ने छोरा-बुहारी भइन् अहिले। ‘वस्तुमा भ्रमको सृजना यी यसरी हुन्छ। आँखाको भ्रम मनको भ्रम!!!’
आफ्नै छोरो हो (लाई) पनि साँझपख घरबाट निकाली खेदनु पर्ने अभिनय गर्नुपर्यो, हाउभावको प्रदर्शन गर्नु पर्यो, साथै स्वाङ पार्नुपर्यो। नाटक खेल्नु पर्यो। नाटक जस्तै देखिने वास्तवमा होइन नाटक। घरकी मूल मालिकनी जसलाई ‘आमा’ भन्छन् छोरोले अनि बुहारीले पनि त्यसै भन्छिन्। आमा भित्र कोठातिर बस्छिन्। सिकुवा हो ‘ग्राउण्ड जिरो’ नाटकको मञ्चभन्दा पनि हुने। मानौँ उनी मञ्चदेखि नपथ्यतिर ओझेल हुन्छिन्। बाहिर त्यस्तै गन्गन् छ बाबुको भित्रपट्टिको ठूलो आवाजले बाहिर निस्केर सबैको कान रन्काउँछ। थाल- बटुका भित्रको भुइँमा झरेका छन्। ‘न्यूटनको’ गुरुत्वाकर्षण शक्तिले त्यो झर्ने वस्तुलाई तलतिर तानेछ अनि ठूलो आवाज प्रसारण भएछ। सिल्बर र स्टिलका केही थाल - बटुकाका एउटा लाबरको ढाकीमा कोचारेर आमा बाहिर निस्किन्छन्।
“लू यो लिएर बाटो लागिहाल् तँहरू!”
माया छ क्या हो! आमाको ह्रदयमा छोरा - बुहारीलाई पकाई खाने थाल बटुका दिन्छिन् त हँ!
बाबुचाहिँले एकक्षण त्यो भाँड़ाबर्तन हेरेपछि स्वात भित्र पस्छन्। बाहिर गनगन त्यस्तै आमाको। अचम्म बाबुले झनै झर्का थाल- बटुका लिएर आउँछन् साथै अलिकता चामल, दुई डल्ला इस्कुस पनि।
“लू यो पनि लैजा”।
अझ बेसी माया देखाउँछन् त बाबुले किन माया छ कि दया छ हँ बाबुकोमा!
त्यहाँको स्थिति देख्दा एउटा अन्योल सृष्टि भए झैँ देखिन्थ्यो , हेरिन्थ्यो, बुझिन्थ्यो। दुईजनाको गन्गन् सुनिन्थ्यो, दुईजना अझ मौन रहन्थे। अघि म मात्रै थिएँ अहिले त्यहाँ रमिता देख्ने धेरै भए। आवाजले तानेका कानहरू ठाड़ा- ठाड़ा पार्दै त्यहाँ आएका मान्छेहरू!!
त्यो घरमा कहिल्यै शान्ति भएको देखेनौँ, जहिल्यै झगड़ा हुन्छ। रक्सीको झोल पियो अनि झग्ड़ा गर्यो। रिस पोख्ने साधन भयो त्यी सीधा-सोझा छोरा-बुहारी, बरू बण्डा दिएर अलग्गै छुट्याइदिनु नी पहिल्यै। हेर्नुनी तिनीहरूले आज साँझपख घरबाट निकाल्नु आँटे ती दुइलाई बुहारी पनि दोजिया छिन्। यस्तो स्थितिमा उनीहरू कहाँ जाने? कस्तो निर्दयी रहेछन् यिनीहरू त! गएर केही त बोलिदिऊँ। होइन घर झगड़ा हो, उनीहरू बाझ्छन्, मिल्छन्, पछि आफू पो नराम्रो भइन्छ। यस्तै तर्कहरूमा अल्झिबसेका थियौँ। त्यहाँ हामी रमिते भएर बसिरहयौँ। हेरिरहयौँ रमिता मन मनमै मज्जा मानेर? दयाको ढोङ गरेर निर्दयी भएर!
मलाई लाग्यो मात्र ती दुईलाई घरमा ल्याएर राख्नु पर्यो आज जुन सङ्घर्षको बाटोमा ती दुई निस्किनु परेको छ त्यसमा सफल भए भने, त्यसलाई पार गर्न सके उनीहरू स्वनिर्भर बन्न सक्नेछन्। त्यसैले मैले त्यहाँ केही भन्न खोजिनँ। यथार्थ घटनाभित्र पसेर म वास्तविक पात्र हुन खोजिनँ। पानी एक तमासले परिरहेकै छ। लाग्छ जस्तो कि ती दुईजनाको परिस्थितिमा प्रकृति पनि रोइरहेछ। रात पर्दैछ। ती दुईजना पोको बोकेर घरबाट विदा हुन लागेको छन्। आँगनमा ओर्लेका छन् बाबु र आमा भित्र पस्छन् र दैलो ड्याम्म लगाउँछन्। रातले साँझको अन्तिम प्रहरमा खुट्टा टेकेको छ, अब साँझ बस्दैन, रात हिँड्दछ। त्यही रातको कालो हात समातेर अन्धकारतिर ती दुई पर पुगेको देखियो, त्यसपछि त्यो आकृति देखिन पनि छोड्यो। सबै आ-आफ्नो घरतिर लागे। अब शुरु हुन्छ कथा!
रात बित्यो, दिनहरू पनि बित्दैगए। बित्ने विषयहरूले नबिती धर पाउँदैनन्। नयाँ, नवीन, नौलो भन्ने आवाजहरू अण्डा, ओथ्रा र चल्ला सबै स्थिति पार गरेर पखेटा पलाउने ठाउँमा पुगिसकेका छन्। सबै कुरा सङ्कुचित भएर कस - कसको भाग बण्डामा परेर मेरो - मेरो भन्नु थालेका समयमा फराकिला ठाउँहरू साँघुरो भइबसेका छन्। धेरैको ‘सपोर्टले’ उठेका शिरहरूले सबैलाई केही न केही बण्डा दिएर प्रसन्न पारेर आफू गजक्क परेर सत्तासीन भएर बस्ने वातावरण बनाएको छन्। यो पनि एउटा खुशीको कुरा हो। संसार साँघुरो भएको आँखाले देखिरहेका दृश्य हो, भोगिरहेका यथार्थ योजनाहरू शुरु भएपछि पर्खालहरू भत्किनथालेको छन्। मान्छे हिँड्नु होइन, कुद्ने, उड्ने ठाउँ चाहियो। जसको दम छ र ‘सपोर्टको’ कम छैन त्यो एकैक्षणमा कहाँ-कहाँ पुग्दछन् पत्तो पाइँदैन। घरभित्र बाघ हुने र आफ्नैहरूमाथि घात-प्रतिघात अनि आघात पुर्याउनेहरूले समयमा विसर्जनको तातो सास फेर्नु परेको घटना देखिबसेका छौँ हामीले, सबै, सबैले।
सरकारले फ्याँक्यो सूचनाको झटारो, कि जसले अवैध रूपमा सरकारी जमीनमा घर खड़ा गरेका छन्। उक्त घरहरू सबैमा ‘डोजर’ लगाइने छन्। यस्तो अप्रत्याशित सूचनाको पालन गर्नै पर्नेछ भन्ने हस्तक्षेपीकरणको सामु विवश आखिर त्यो घर पनि त भत्किने नै भयो। जमीन मापन गर्नेहरूले ‘तिम्रो घर भत्काउनु पर्छ’ भन्ने निर्णय सुनाए। यो तिम्रो बण्डा होइन, यो सरकारको बण्डा हो भन्दा ती दुई प्राणी छक्क, अक्क न बक्क पर्नुको अवस्था आयो।
वास्तवमा हाम्रो के चाहिँ आफ्नो छ हौकेही त छैन्। माया गरी हुर्काएका कायालाई त्याग्नु पर्ने जीवनको पूर्ण सत्यको परिभाषा बोकेरै बाँच्नु विवश जीवन हाम्रो हो। मर्दाखेरि छ: फूट जमीनमा चिरनिन्द्रा निदाउने हो। समय र परिस्थितिकै दास हौँ। हाम्रो बण्डामा परेको त्यही छ : फूट माटो हो, जमीन हो, हाम्रो बण्डा!
‘मेरो घरमा नबस’ भन्नेहरू घरविहीन भयो, समय चक्र यसरी घुम्यो मान्छेको भाग्यमा भग्नावशेषमा। भ्रममा।
एक साँझ एउटा घरको आँगनमा एउटा कलिलो बालक उफ्रिरहेको थियो, रमाइरहेको थियो अनायसै आँगनमा दुई वृद्ध/ वृद्धाको बोझिल शरीर कतैबाट आएर त्यहाँ उभियो। उदाङ्गो दैलोबाहिर भित्रको उज्योलोले बाहिर पनि प्रकाश छरिरहेथ्यो, बालक भित्र पसेर तोते बोलीमा के-के भन्दै बाबु आमाको औँलीमा समातेर बाहिर निस्कियो। केही क्षणमा सबै भित्र पसे, घरको ढोका खुल्लै थियो। भित्र बत्ती झलमल्ल बलिरहेथ्यो। वातावरणमा एक प्रकारको आनन्द थपिएर अब एउटा सुखान्त कथाको शुरुवात हुन लागेको थियो।
यहाँ तपाईंको विज्ञापन देखिन सक्छ
300 × 250 विज्ञापनका लागि सम्पर्क गर्नुहोस् →साहित्य • ०१ नोभेम्बर, २०२६
साहित्य • ०१ नोभेम्बर, २०२६
साहित्य • १८ अक्टोबर, २०२६