स्मृतिका पानामा जीवनका रङ

शशी भट्टराई श्रेष्ठ, तीनकुने, सुविधानगर काठमाडौँ, नेपाल
• साहित्य • ०७ नोभेम्बर, २०२६
स्मृतिका पानामा जीवनका रङ

समयको नदी निरन्तर बगिरहन्छ; किनारका दृश्य बदल्दै, मानिसका अनुहारमा उमेरका रेखा कोर्दै, सम्बन्धका रूप फेर्दै, जीवनलाई नयाँ मोडहरूतिर हरपल डोर्‍याउँदै। तर यही समयको प्रवाहमा पनि केही क्षण यस्ता हुन्छन्- जसलाई बिर्सन खोज्दा झन् गाढ़ा भएर बसिदिन्छ। मानिसको जीवन पनि कति अनौठो हुन्छ। बितेका दिनहरू फर्केर आउँदैनन्, तर तिनले छाड़ेका सम्झनाहरू भने मनको कुनै न कुनै कुनामा चुपचाप बसिरहेका हुन्छन्। केही अनुहार यस्ता हुन्छन्, जो आँखा अगाड़ि नभएपनि मनबाट कहिल्यै ओझेल पर्दैनन्। जीवनका यिनै नबिर्सने क्षण, आत्मीय अनुहार र मनमा गहिरिएर बसेका अनुभूतिहरूको सुन्दर सम्झनालाई हामी स्मृति भनेर चिन्छौँ। जब त्यो स्मृतिले शब्दको सहारा पाउँछ, तब त्यो केवल व्यक्तिको निजी सम्पत्ति रहँदैन, साहित्यको साझा निधी बन्न पुग्छ। त्यसैगरी, यो साहित्यिक फुलबारीमा संस्मरण विधाअन्तर्गत झापा- दमक निवासी निर्मला भट्टराईको एउटा सुन्दर फूल मकन आइपुगेको छ, स्मृतिको सेरोफेरो।

साहित्यका अनेक विधामध्ये संस्मरणको आफ्नै विशिष्ट आकर्षण छ। यहाँ समयको स्पर्श हुन्छ, अनुभवको न्यानोपन हुन्छ र यथार्थले छोड़ेका कतिपय नदेखिने घाउहरू पनि हुन्छन्। यस पुस्तकमा सीतापुरको कथादेखि सङ्गत, प्रेरणा र सिर्जनासम्म गरेर जम्मा पन्ध्रवटा लेख रहेका छन्। जसमा आवरण चित्र- श्लोक कोइरालाले तयार गरेका छन् भने उक्त पुस्तकको प्रकाशक बुकमार्क पब्लिकेशन प्रा.लि. रहेको छ। तीन दशकबीचमा मेरो एक दशक, मणिपुर हुँदै म्यान्मार बोर्डरसम्मको यात्रा, आमा, सिनेमा र ममता अनि सीतापुरको कथा जस्ता शीर्षकले संस्मरणको संसारमा स्थान, समय, सम्बन्ध र यात्राका विविध आयाम उपस्थित रहेको सङ्केत गर्छन्। यी शीर्षकहरूलाई एकै ठाउँमा राखेर हेर्दा जीवन एउटै बाटोमा हिँड्ने सरल यात्रा होइन भन्ने अनुभूति हुन्छ। कतै स्मृतिले कुनै स्थानको ढोका खोल्छ, कतै आमाको ममताले गहिराई छाम्छ, कतै समयले लामो अन्तरालपछि आफ्नै जीवनको हिसाब खोजिगर्छ भने कतै यात्राले परिचित भूगोलबाट नयाँ संसारसँग साक्षात्कार गराउँछ। जीवनका यस्ता विविध अनुभूतिलाई संस्मरणमा समेट्नु भनेको आफ्नै जीवनको परिधिलाई शब्दमार्फत पुनः नाप्नु पनि हो।

यस कृतिसँग मेरो सम्बन्ध भने अलि फरक पनि छ। निर्मला भट्टराई मेरा लागि केवल एउटा पुस्तककी लेखिका मात्र नभएर मेरो परिवारको आत्मीय सदस्य पनि हुनुहुन्छ। मेरा सात दाजुभाइ मध्येमा माइला दाजु कमलराज भट्टराईकी श्रीमती, नाताले मेरी भाउजू हुनुहुन्छ उहाँ। उहाँहरूको विवाहको कुनै सम्झना त छैन मसँग। भाउजू विवाह गरेर हाम्रो घरमा आउनु हुँदा म सानै थिएँ- सायद तीन कक्षामा पढ्थेँ होला। त्यतिबेला संसारलाई बुझ्ने दृष्टि आजको जस्तो परिपक्व थिएन, तर कसैले गरेको माया महसुस गर्न ठूलो उमेर पनि नचाहिने रहेछ। उहाँले मलाई गर्नुभएको माया मेरो स्मृतिमा आज पनि सुरक्षित छ। समय बित्दै गयो, जीवनका अनेक चरण पार भए, तर बाल्यकालमा प्राप्त गरेको त्यो चोखो माया आजसम्म पनि मेरो केशमा रातो, हरियो, पहेँलो निलो रङका रिबनहरू बनेर फर्फराइरहेका छन्। चमेलीको तेल लगाएर दुई चुल्ठा बाटिदिएको, नुहाइदिएको यी सबै बाल्यकालका सम्झनाको पोकोमा सुरक्षित बाँचेका छन्। उमेरसँगै फेरिएका सम्झना कति छन् कति। आमा, सिनेमा र ममता शीर्षकको लेख पढ़िरहँदा म पुगेँ आफ्नै दमक, दमकको पाथिभरा हल।

आउनुहोस्, आउनुहोस्, आउनुहोस्

दमकको पाथिभरा हलमा चलिरहेछ,

सरोज खनालको मोहनी सिनेमा॥

यसरी माइकिङ गर्दै हाम्रो गाउँमा पोष्टर टाँसेर झिलिमिली पारेकोे रिक्सा भित्रियो। अब के चाहियो र! नायकहरूमा सरोज खनाल असाध्यै मन पर्थ्यो उहाँलाई। फिल्म हेर्नका लागि त शनिवार आउनुपर्थ्यो, जागिरे हुनुहुन्थ्यो उहाँ। म भने एस.एल.सी दिएर बसेकी थिएँ। छिट्टो गरेर भातभान्साको काम सकेर हामी दुई बाटो लाग्यौँ। खपिनै नसक्नुको गर्मी थियो त्यो दिन। हल त पुग्यौँ नि, टिकट काट्न सके पो! बल्ल बल्ल भाउजूले ब्ल्याकमा दुई टिकट मिलाउनुभयो। हलभित्र पसेको त मेरा बाब्बै!! जस्ताको तातोले मान्छे सबै पग्लेका!! म दमकमा जन्मेर त्यहीँ हुर्केकी, तर त्यो दिनको जस्तो गर्मी मलाई कहिल्यै थाहा थिएन। हिरोको इन्ट्रि भयो, पूरा साइँसाइँ र सुइँसुइँ पार्दै सिट्टि लगाउँदै थिए दर्शकहरू। म पनि सकेजत्ति त चिच्याउँदै थिएँ, मस्त थिएँ उतै, यता आफ्नी भाउजू कतिखेर बेहोस भइसक्नुभएछ। अहिले त्यसरी कामचलाउ मात्रका सिनेमा-हल कतै हुँदैनन्। ती बेलाका कुरा गर्दा मान्छेले पत्याउँदैनन् पनि। त्यो दिनको बिजोग भनिसाध्य छैन। होशमा आएपछि भाउजूले यो कुरो घरमा कसैलाई भन्नुहुँदैन है कान्छा भन्नुभएको आज पनि झल्झली सम्झन्छु। भाउजू बिरामी हुनुहुन्थ्यो त्यतिबेला तर सरोज खनालको फिल्म भनेपछि मन थाम्न सक्नुभएन। उहाँकी आमा पनि फिल्ममा त्यस्तै क्रेजी हुनुहुँदो रहेछ। यस संस्मरणमा भाउजूले आफ्नी आमाका रमाइला किस्सा पनि लेख्नुभएको रहेछ, पढ़ेर छक्कै परेँ म। असाध्यै रमाइलो गनुपर्ने भाउजूलाई, गीत गाएर लट्ठ पार्नसक्ने कला पनि उहाँसँग सुरक्षित छ। त्यो समय रविन शर्माका, नारायण गोपालका, उदितका गीतहरू रेडियोमा खूब बज्थे। गीतको किताब पनि थियो उहाँसँग। फुर्सदमा कन्ठ गर्दै गाइरहनुहुन्थ्यो। आज उहाँको कृति पढ्ने सन्दर्भमा ती पलहरू सम्झेर हुरुक्कै भा’छु।

मलाई लाग्छ, प्रिय मानिसको लेख पढ्नु भनेको उहाँलाई नयाँ आँखाले हेर्नु पनि हो। हामीले दैनिक जीवनमा देखेको व्यवहार भन्दा पर उहाँको मनभित्र कति अनुभव, कति प्रश्न र कति स्मृतिहरू सुरक्षित छन् भन्ने कुरा उक्त लेखले उजागर गर्छ। उहाँको बुवासँगको सम्झना, बच्चाबेलाको त्यो सङ्घर्ष मलाई थाहा थिएन। यसरी नै बुवा नदेखेको त्यो भाइ शीर्षकको लेख पढ़िसकेपछि भाइ रामेश्वरप्रतिको माया झन् गाढ़ा भएर आयो। स्लेटदेखि साहित्यसम्म, सङ्गत प्रेरणा र सिर्जना यी दुई लेखहरूमा भाउजू साहित्यको क्षेत्रमा कसरी पुग्नुभयो, त्यो बाटोमा दौड़ाउने को थिए र एउटा असल सिङ्गो परिवार कस्तो हुँदोरहेछ भन्ने कुरालाई दर्शाइएको छ। यात्रा सम्बन्धी लेख उस्तै रमाइला छन्। बद्रीदेखि केदारनाथसम्म, बनारसदेखि वृन्दावनसम्म, मणिपुरदेखि म्यान्मारको छेउछाउ, त्यसरी नै तिरूपति सम्मको यात्रामा पाठक पनि लेखक सँगसँगै दौड़िरहन्छन्। यसरी पाठकलाई कतै अल्मलिन नदिई आफूसँगै राख्न सक्नु नै लेखक सफल हुनु हो।

मेरो लागि स्मृतिको सेरोफेरो एउटा परिचित व्यक्तिको लेखकीय संसारलाई बुझ्ने माध्यम बनेको छ। जीवनको आँगनमा समयले अनेक फूल फुलाउँछ, अनेक पात झार्छ र अनेक दृश्यलाई फेरिदिन्छ। तर केही फूलको सुवास मनमा लामो समयसम्म रहिरहन्छ। स्मृतिको सौन्दर्य सम्भवतः यही सुवासमा छ-देख्न नसकिने तर अनुभूत गर्न सकिने, एउटा आत्मीय उपस्थिति। उक्त पुस्तकको शीर्षकले पनि हामीलाई स्मृतिको यही संसारतर्फ आमन्त्रण गर्छ, जहाँ जीवनका बितेका क्षणहरू केवल सम्झनाका अवशेष भएर होइन, वर्तमानलाई अर्थ दिने अनुभूतिका रूपमा फेरि जीवित हुन सक्छन्। उक्त पुस्तक मेरालागि केवल विगतका सम्झनाहरूको सङ्ग्रह मात्र होइन, समयको लामो यात्रामा उहाँले सँगालेर राखेका अनुभूति, सम्बन्ध र जीवनबोधलाई नजिकबाट नियाल्ने एउटा अवसर पनि हो। निर्मला भट्टराईलाई मैले बाल्यकालदेखि नै माया र स्नेह दिने अभिभावकका रूपमा चिनेँ। आज उहाँलाई आफ्ना अनुभूतिहरूलाई शब्दमा उतार्ने लेखिकाका रूपमा पढ्दा उहाँको व्यक्तित्वको अर्को पाटोसँग परिचित हुने अवसर पाएकी छु। सम्बन्धले दिएको आत्मीयता र साहित्यले दिएको दृष्टि दुवै मेरा लागि उत्तिकै मुल्यवान् छन्। मेरो कामना छ- उहाँका स्मृतिमा सुरक्षित रहेको जीवनका अनेक रङ यसरी नै शब्दमा फुरिरहून्, ती शब्दले पाठकका मनमा आफ्नै विगतका ढोका खोलून्। किनकी जीवन बितेर जान्छ, समय फेरिएर जान्छ, तर अनुभूतिपूर्वक लेखिएका शब्दहरूले समयको सीमा नाघेर पनि मानिसको मनमा आफ्ना उपस्थिति जनाइरहन्छन्।

किताब पढ़िसकेपछि लाग्छ, जीवन बितेर जाने समयको नाम मात्र होइन, मनमा सधैँ जीवित रहने सम्झनाहरूको अर्को नाम पनि रहेछ। ती सम्झनाहरूलाई अक्षरमा जोगाइदिने निर्मला भट्टराईप्रति साधुवाद!

विज्ञापन यहाँ तपाईंको विज्ञापन देखिन सक्छ 728 × 90 →
विज्ञापन

यहाँ तपाईंको विज्ञापन देखिन सक्छ

300 × 250 विज्ञापनका लागि सम्पर्क गर्नुहोस् →

सम्बन्धित समाचार

पाकिमदेखि नथुलासम्म

साहित्य • ०७ नोभेम्बर, २०२६

पाकिमदेखि नथुलासम्म

मानवको अवशेष

साहित्य • ०७ नोभेम्बर, २०२६

मानवको अवशेष

बण्डा

साहित्य • ०१ नोभेम्बर, २०२६

बण्डा

विज्ञापन Hotel Gangtok Drift — Footer Banner
ब्रेकिङ