मध्यस्थकर्ता पङ्कजकुमारसँग भागोप्रमो र जीएसीको भेट

हिमाली बेला
• स्थानीय • १० अक्टोबर, २०२६
मध्यस्थकर्ता पङ्कजकुमारसँग भागोप्रमो र जीएसीको भेट

‘एकताबद्ध भएर गोर्खाल्याण्डको माग अघि बढ़ाउनुपर्छ’

दार्जीलिङ, 9 अक्टोबरः केन्द्र सरकारद्वारा नियुक्त मध्यस्थकर्ता पङ्कजकुमार सिंहको निमन्त्रणामा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा (भागोप्रमो)-को एक टोलीले शुक्रवार दार्जीलिङस्थित एक होटलमा उनीसँग भेटघाट गरेको छ। भागोप्रमो अध्यक्ष अनित थापाको नेतृत्वमा भएको उक्त भेटमा आलोक कान्तमणि थुलुङ, सतीश पोख्रेल र बारुद थापा सहभागी थिए।

भेटपछि जारी वक्तव्यमा अनित थापाले मध्यस्थकर्तासँग यो आफ्नो दोस्रो भेट भएको जानकारी दिँदै गोर्खाको दीर्घकालीन मागबारे विस्तृत छलफल भएको बताए। उनले मध्यस्थकर्ताले समस्यालाई बुझ्न विभिन्न प्रश्न गरेको र आफूहरूले यहाँको वास्तविकता सकेसम्म स्पष्ट पार्ने प्रयास गरेको बताए।

थापाले भने, “हामीलाई क्षेत्रीयताको महत्त्व किन छ भन्ने विषयमा उनलाई अवगत गराएका छौँ। पहाड़का जनताको आकाङ्क्षा के रहेको छ भन्ने विषयमा मैले जोड़ दिएर आफ्नो तर्क राखेँ। गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन (जीटीए)-बारे आफ्नो धारणा स्पष्ट पार्दै थापाले आफूले जीटीए त्यागिसकेको बताए। उनले यसै कारण अहिले संवादको बाटो खुलेको र यस संवादले पहाड़का जनताका आकाङ्क्षा पूरा गर्न केही योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

उनले जीटीए खारेज गर्ने विषयमा नेताहरूले यसअघि नै प्रतिबद्धता जनाइसकेको उल्लेख गर्दै अब त्यो प्रतिबद्धता कहिले कार्यान्वयन हुन्छ भन्ने प्रतीक्षामा रहेको बताए। गोर्खाल्याण्डको माग र भारतीय जनता पार्टी (भाजपा)-को भूमिकाबारे बोल्दै थापाले जीटीएलाई गोर्खाल्याण्ड प्राप्तिको बाधक बताइएकाले जनताले गोर्खाल्याण्डकै उद्देश्यका लागि भाजपालाई विजयी बनाएको बताए।

उनले भने, “अब गोर्खाल्याण्ड दिनु भाजपाको ठूलो जिम्मेवारी बन्छ।” थापाले आफ्नो पार्टी गोर्खाल्याण्डको समर्थनमा रहेको स्पष्ट पार्दै यसको माग पूरा गर्ने जिम्मेवारी भाजपा र त्यसको गठबन्धनले निर्वाह गर्नुपर्ने बताए। गोर्खाको दीर्घकालीन माग र समस्याको समाधान खोज्न मध्यस्थकर्ता पङ्कजकुमार सिंहको नेतृत्वमा मस्यौदा समिति गठन गरिएको जानकारी दिँदै थापाले भागोप्रमोको अड़ान पुनः प्रस्तुत गरिएको बताए।

उनले भने, “गोर्खाको मागलाई अझ दह्रिलो बनाउन भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको अड़ानलाई हामीले पङ्कजकुमार सिंह र उनको टोलीसमक्ष पुनः राख्यौँ।” मध्यस्थकर्ताले तयार पार्ने मस्यौदा गोर्खाहरूको हितमा रहने विश्वास व्यक्त गर्दै थापाले दीर्घकालीन मागको समाधानका लागि भइरहेको संवादप्रति आशा व्यक्त गरे।

अर्कोतर्फ, प्रा. महेन्द्र पी लामाको नेतृत्वमा रहेको गोर्खाल्यान्ड एपेक्स कमिटी (जीएसी) र 17 वटा राजनीतिक दलका प्रतिनिधिले पनि वार्ताकारको नेतृत्वमा रहेको राज्य र केन्द्र सरकारको उच्चस्तरीय समितिसँग भेट गरे।

जीएसीका सदस्य तथा इण्डियन गोर्खा जनशक्ति फ्रण्टका अध्यक्ष अजय एडवर्डले भने, “हाम्रा जनतालाई यो भन्न चाहन्छु, धैर्य गर्नुहोस्। आगामी यात्रामा धैर्य, दृढ़ सङ्कल्प र एकताको आवश्यकता पर्नेछ, तर आजको भेटले हामीलाई आशा जगाएको छ। हाम्रा मतभेदहरूभन्दा हाम्रो साझा आकाङ्क्षा ठूलो हुनुपर्छ।” जनताको आवाज ‘गोर्खाल्याण्ड’ नै हो भन्ने कुरामा जोड़ दिँदै उनले भने, “आउनुहोस्, हामी सम्मान, दृढ़ सङ्कल्प र एकार्काप्रतिको विश्वासका साथ अघि बढ़ौँ। गोर्खाल्याण्ड हाम्रा जनताको आशा हो र हामीले त्यो आशालाई एकताबद्ध आवाजका साथ अघि बढ़ाउनुपर्छ।”

लामाको अध्यक्षतामा हालै ‘जीएसी गठन गरिएको हो। यसमा पूर्व निजामती कर्मचारी, पुलिस अधिकारी, कानून व्यवसायी र शिक्षाविद्का साथै विभिन्न राजनीतिक दल तथा नागरिक समाजका संस्थाहरूको बृहत् गठबन्धन समावेश छ। दार्जीलिङ पहाड़, तराई र डुवर्स क्षेत्रमा विकसित भइरहेको राजनीतिक परिस्थितिलाई सम्बोधन गर्न यसको गठन गरिएको हो।

विज्ञापन यहाँ तपाईंको विज्ञापन देखिन सक्छ 728 × 90 →
विज्ञापन Hotel Gangtok Drift — Footer Banner
ब्रेकिङ