रिम्बी-योकसम सड़क सुचारु गर्न बेली ब्रिजको योजना

प्रितम गुरुङ
• स्थानीय • १९ सेप्टेम्बर, २०२६
रिम्बी-योकसम सड़क सुचारु गर्न बेली ब्रिजको योजना

गेजिङ, 19 सेप्टेम्बरः अविरल वर्षा र पैह्रोका कारण 14 सेप्टेम्बरदेखि बन्द रहेको रिम्बी-योकसम सड़कको सम्पर्क पुनः स्थापित गर्न गेजिङ जिल्ला प्रशासनले रिम्बी खोलामाथि (पैह्रो प्रभावित खण्डमा) बेली ब्रिज निर्माण गर्ने तयारी गरिरहेको छ।

योकसम महकुमाअन्तर्गतको रिम्बी-टिम्ब्रोङ जीपीयूको सिङ्लिताम वार्डमा पर्ने उक्त प्रभावित खण्डका कारण कञ्चनजङ्घा फल्स हुँदै गेजिङ र योकसम जोड्ने सड़क सम्पर्क पूर्ण रूपमा अवरुद्ध भएको छ।

यस संवाददातासँग टेलिफोनमा कुराकानी गर्दै गेजिङका जिल्लापाल तेञ्जिङ डी डेञ्जोङ्पाले सड़क तथा पुल विभागको समन्वयमा जिल्ला प्रशासनले अवरुद्ध खण्डमा बेली ब्रिज निर्माणको तयारी गरिरहेको बताए। उनले मौसमको अवस्था अनुकूल भएमा छिट्टै काम शुरु हुने सम्भावना रहेको जानकारी दिए।

क्षेत्र विधायक तथा पर्यटन मन्त्री छिरिङ टी भोटियाले स्थितिको नजिकबाट अनुगमन गरिरहेका छन् र अवरुद्ध सड़क सम्पर्क पुनः स्थापित गर्न जिल्ला प्रशासन तथा सम्बन्धित विभागहरूसँग समन्वय गरिरहेका छन्। उनले प्रभावित क्षेत्रको नियमित निरीक्षण पनि गरिरहेका छन्।

यसैबीच, खराब मौसमका कारण मरम्मत तथा पुनर्स्थापना कार्यमा बाधा पुगिरहेको छ। प्रशासनले अर्को आदेश नआएसम्म सर्वसाधारणलाई उक्त प्रभावित मार्ग प्रयोग नगर्न र वैकल्पिक मार्गको रूपमा लेगसेप-टाशीडिङ-गेरेथाङ-योकसम सड़क प्रयोग गर्न सुझाउ दिएको छ। रिम्बी क्षेत्रमाथि गएको पैह्रोका कारण त्यहाँको बस्ती जोखिममा परेको छ। हालसम्म कुनै मानवीय वा पशुधनको क्षति भएको खबर प्राप्त भएको छैन।

विज्ञापन यहाँ तपाईंको विज्ञापन देखिन सक्छ 728 × 90 →
विज्ञापन Hotel Gangtok Drift — Footer Banner
ब्रेकिङ