भौतिक ज्ञान र आध्यात्मिक ज्ञानको समन्वयबाट मात्र मानव समाजको विकास सम्भव छः सतपालजी महाराज
परम शान्ति केवल अध्यात्मद्वारा सम्भव छः मुख्यमन्त्री
रम्फू, 10 अक्टोबरः रम्फूस्थित खेल मैदानमा मानव उत्थान सेवा समिति उत्तर पूर्वाञ्चल क्षेत्र एवं समितिको सिक्किम राज्य समितिद्वारा आयोजित दुईदिने सद्भावना सम्मेलनमा परम पूज्य सद्गुरुदेव श्री सतपालजी महाराज, विभुजी महाराज तथा मुख्यमन्त्री पीएस गोलेले अध्यात्म, मानवता, राष्ट्रिय एकता, सद्भावना र विश्वशान्तिको महत्त्वमाथि प्रकाश पारे। मानव उत्थान सेवा समितिको आयोजनामा सम्पन्न उक्त सम्मेलनले आध्यात्मिक चेतनाको जागरणसँगै समाजमा प्रेम, भाइचारा, सहिष्णुता र पारस्परिक सद्भाव अभिवृद्धि गर्ने सन्देश प्रवाह गरेको छ।
आध्यात्मिक जागरणमार्फत राष्ट्र निर्माणमा युवाहरूको भूमिका सम्बन्धमा सम्मेलनलाई सम्बोधन गर्दै परम पूज्य विभुजी महाराजले युवाहरूलाई आध्यात्मिक क्रान्तिमा सहभागी भएर राष्ट्रिय एकता, सद्भावना र मानव कल्याणको भावनासहित राष्ट्र निर्माणमा योगदान पुर्याउन आह्वान गरे। उनले युवाशक्ति राष्ट्रको अमूल्य सम्पत्ति भएको उल्लेख गर्दै युवाहरूमा सकारात्मक सोच, नैतिक मूल्य, अनुशासन, सेवा भावना र आध्यात्मिक चेतनाको विकास हुन आवश्यक रहेको कुरो बताए।
श्री बिभूजी महाराजका अनुसार राष्ट्रको समृद्धि भौतिक विकास र आर्थिक उन्नतिमा मात्र सीमित नभएर त्यसका लागि नागरिकको चरित्र निर्माण, मानवीय संवेदना, आपसी विश्वास र सामाजिक उत्तरदायित्व पनि उत्तिकै महत्त्वपूर्ण हुन्छन्। “आध्यात्मिक ज्ञानले मानिसलाई आफ्नो वास्तविक स्वरूप बुझ्न, अरूको सम्मान गर्न र समाजप्रति जिम्मेवार बन्न प्रेरित गर्दछ। यसैले युवाहरूले आपसी मतभेद र विभाजनभन्दा माथि उठेर एकता, सद्भाव र मानवताको मार्ग अवलम्बन गर्नुपर्छ।”
श्री विभुजी महाराजले युवाहरूमा आध्यात्मिक चेतना जागृत भएमा उनीहरू व्यक्तिगत जीवनमा अनुशासित बन्नुका साथै समाजमा सकारात्मक परिवर्तनका संवाहकसमेत बन्न सक्ने धारणा व्यक्त गरे। मानव सेवाको भावनालाई आत्मसात् गर्दै राष्ट्रको सामाजिक तथा सांस्कृतिक एकता सुदृढ़ बनाउन युवाहरू अग्रसर हुनुपर्ने उनले बताए।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री एवं सम्मेलनका मुख्य अतिथि पीएस गोलेले परम पूज्य सद्गुरुदेव श्री सतपालजी महाराजले अध्यात्मको माध्यमबाट सिक्किमका जनतामाझ पुर्याउँदै आएको असीम कृपा, आशीर्वाद र आध्यात्मिक सन्देशप्रति हार्दिक आभार व्यक्त गरे।
उनले सद्गुरुदेव महाराजजीको उपस्थितिले मानिसहरूमा आध्यात्मिक चेतना, नैतिक मूल्य र मानव सेवाप्रतिको भावना अभिवृद्धि गर्न महत्त्वपूर्ण प्रेरणा मिलेको बताए। समाजमा शान्ति, प्रेम र सद्भाव कायम राख्न आध्यात्मिक शिक्षाको भूमिका उल्लेखनीय रहने बताउँदै यस्ता सम्मेलनले विभिन्न समुदायबीच आपसी समझदारी, एकता र भाइचाराको भावना बलियो बनाउन सहयोग पुर्याउने धारणा राखे। मुख्य अतिथिले भौतिक समृद्धिले स्थायी परम शान्ति र आनन्द प्राप्त हुन नसक्ने परम शान्ति केवल अध्यात्मद्वारा सम्भव हुने कुरो जनाउनुभयो। उनले श्री महाराजजी जस्ता आध्यात्मिक महान् पुरुष जस्ता व्यक्तित्वले राजनीतिमा संलग्न भएर जन सेवाको कार्य गरिरहेकोमा खुशी व्यक्त गर्दै महाराजजीजस्ता महा मानवहरूले राजनीतिमा नेतृत्व दिए देश समृद्ध बन्ने बताए।
मुख्यमन्त्रीले आध्यात्मिक मूल्य र मानवीय संवेदनालाई जीवनमा आत्मसात् गर्दै समाजको समग्र विकासमा अघि बढ्नुपर्ने सन्देश दिए। भौतिक विकाससँगै नैतिकता, अनुशासन, सामाजिक उत्तरदायित्व र मानवीय सद्भावलाई पनि महत्त्व दिन सके मात्र समृद्ध तथा शान्त समाज निर्माण गर्न सकिने भाव उनको सम्बोधनमा अभिव्यक्त भएको थियो साथै सद्गुरुदेव श्री सतपालजी महाराजले सिक्किमको जनसमुदायमा पुर्याउँदै आएको आध्यात्मिक मार्गदर्शनप्रति उनले पुनः कृतज्ञता प्रकट गरे।
सम्मेलनको प्रमुख आकर्षणका रूपमा परम पूज्य सद्गुरुदेव श्री सतपालजी महाराजको प्रवचन रहेको थियो। आफ्नो आध्यात्मिक सम्बोधनमा उनले विश्वमा स्थायी शान्ति स्थापना गर्न अध्यात्मको भूमिका अपरिहार्य रहेको बताए। मानव समाजमा देखिने द्वन्द्व, असहिष्णुता, विभाजन र अशान्तिलाई न्यूनीकरण गर्न मानिसले आफ्नो अन्तरचेतनालाई जागृत गर्दै प्रेम, करुणा, सहिष्णुता र मानवताको मार्ग अपनाउनुपर्ने सन्देश दिए।
सद्गुरुदेव महाराजजीले भारतको आध्यात्मिक परम्परा र ज्ञानको महत्त्वमाथि प्रकाश पार्दै आध्यात्मिक ज्ञानका दृष्टिले भारत विश्वको गुरु बन्न सक्ने धारणा व्यक्त गरे। उनले भौतिक ज्ञान र आध्यात्मिक ज्ञान एकार्काका परिपूरक भएको उल्लेख गर्दै यी दुवैको समन्वयबाट मात्र मानव समाजको चौतर्फी विकास सम्भव हुने बताउनुभयो।
उनका अनुसार विज्ञान, प्रविधि र भौतिक उपलब्धिले मानव जीवनलाई सहज र सुविधासम्पन्न बनाउन सक्छन्, तर ती उपलब्धिलाई मानवीय हितमा उपयोग गर्न नैतिकता, विवेक र आध्यात्मिक चेतना आवश्यक हुन्छ। “मानिसले बाह्य संसारको विकाससँगै आफ्नो अन्तरमनलाई पनि परिष्कृत गर्न सकेमा मात्र व्यक्तिगत जीवन, सामाजिक सम्बन्ध र विश्वव्यापी सहअस्तित्वमा सकारात्मक परिवर्तन ल्याउन सकिन्छ”-उनले भने।
सद्गुरुदेव महाराजजीले आध्यात्मिक ज्ञानले मानिसलाई मानवताको साझा सूत्रमा बाँध्न सहयोग पुर्याउने उल्लेख गर्दै सबैलाई आध्यात्मिक जागरणतर्फ अग्रसर हुन आह्वान गरे। जाति, भाषा, क्षेत्र र अन्य सामाजिक भिन्नताभन्दा माथि उठेर मानवतालाई प्राथमिकता दिन सकेमा समाजमा एकता र विश्वमा शान्तिको वातावरण निर्माण गर्न सकिने उनको सन्देश थियो।
उनको प्रवचनले आध्यात्मिकतालाई व्यक्तिगत साधनाको विषयका रूपमा नभएर सामाजिक सद्भाव, मानवीय एकता र विश्वशान्ति स्थापनाको आधारका रूपमा बुझ्नुपर्ने कुरा महाराजजीले आह्वान गरे।
कार्यक्रममा मानव उत्थान सेवा समितिका तर्फबाट मुख्यमन्त्री गोले तथा अन्य विशिष्ट अतिथिहरूलाई सम्मान तथा अभिनन्दन गरियो। यसै क्रममा अभियन्ता सीके प्रधानलाई पनि सम्मान तथा अभिनन्दन जनाइयो।
यहाँ तपाईंको विज्ञापन देखिन सक्छ
300 × 250 विज्ञापनका लागि सम्पर्क गर्नुहोस् →स्थानीय • ३० अक्टोबर, २०२६
स्थानीय • ३० अक्टोबर, २०२६
स्थानीय • ३० अक्टोबर, २०२६