ऐँठन

युवा बराल
• साहित्य • २० सेप्टेम्बर, २०२६
ऐँठन

बिरिङ, पाकिम सिक्किम

सुनसान रात। एकतमासको शून्यता। कतै प्रकाश या उज्यालोको मध्यिम आभाश छैन। कहीँबाट प्रसारित कुनै आवाजको प्रकम्पन छैन। कृष्णपक्षको चतुर्दशिको कालो चुक घोप्टिएको रात।

म विचारशून्य यही अन्धकारलाई आँखा चिम्म नगरी, आँखा नखोली कुनै प्रतिक्रियाहीन हेरिरहेछु, फगत हेरिरहेछु। देख्नु सुन्नु केही छैन। भनौँ म अनुभवशून्य छु। मलाई कसैको समीपतताको आभास छैन। कसैको आत्मीय स्पर्शको पनि अनुभव छैन। कसैले खलबल्याएको छैन यो निस्तब्धता; जुनकिरीले पनि; कतै टा़ढ़ा बलेको बत्तीले पनि। रातको ध्रुवसत्य घोप्टिएको मध्यम घड़ी। समय रोकिएको अचल निष्पट्टता।

यस्तो आफूले आफैलाई छाम्नुपर्ने रातमा एउटा भ्रममा मैले शरीरको शिरदेखि पाइतालासम्म सुम्सुम्याएको छु। शरीरदेखि आत्मासम्म। हत्केलाका औँला, औँलाका शङ्ख अनि चक्रहरू छामेको छु। ललाटमा खुम्चिएका रेखाहरू गनेको छु। हस्तरेखामा खिचिएका- भाग्यरेखा, जीवनरेखा अनि आयुरेखा पहिल्याएको छु। छात्तीका औँहरू पल्टाएर आफू पुरुष हुनुको स्वभिमान निधो गरेको छु। पाखुराको खँदिलो मासु समातेर मर्दाङ्गीको दम्भ बोकेको छु। केही नदेखिने कालो चुक रातमा मैले आफैँलाई बेस्मारी झकझक्याएको छु।

कहालीलाग्दो विचार दिमागभरि बोकेर मैले रातभर सम्भावनाको गला घोटेको छु। भावनाको खुन गरेको छु। एकपछि अर्को अनि क्रमश:। रहरहरूलाई सम्झौताको पिञ्जड़ामा थुन्ने प्रयत्न गरेको छु। यौवनका प्रगाड़ इच्छाहरूलाई यही अन्धकारभित्र लुकाएर मैले आफैलाई त्यही कालो रात बनाएको छु। मर्माहत छात्तीका वेदनाहरू निष्क्रिय मनको पैतालाले औँद्दैछु बेस्मारी। तर त्यो कपटी उज्यालो पनि उभिँदैछ मेरो सामु भ्रान्ति जस्तो। इच्छा पाल्ने छात्ती च्याङ्गला च्याङ्गला बनेर ओछिएको छ भुइँमा। त्यसलाई पनि बाध्य भै कैयनपल्ट कुल्चिएको छु। अब त डर आफैँलाई देख्नुको लाग्दैछ। सन्त्राश जस्तो दिनको क्रुर नङ्ग्राले चिथोर्छ कि!

आफ्नो प्रतिविम्बसम्म नदेखिने यो प्रहरमा कसैले नदेखि म जीवनदेखि चुपचाप चुपचाप भाग्न लागिरहेको छु। न ॠतु बद्लिन्छ न मौसम परिवर्तन हुन्छ; यस्तो एकनाशे कालो अँध्यारोपनमा म आफू भए/नभएको अस्तित्वहीन स्थितिमा आफैलाई खोज्न लागिरहेको छु।

ओहो! कति अप्राकृतिक यो खोजाइ!

देख्नु जीवन हो कि दुख्नु?

अलिकति चिमोटी देऊ न प्लीज!

विज्ञापन यहाँ तपाईंको विज्ञापन देखिन सक्छ 728 × 90 →
विज्ञापन Hotel Gangtok Drift — Footer Banner
ब्रेकिङ