विस्थापनाको पीड़ा र पहिचानको खोजी

शशी भट्टराई श्रेष्ठ तीनकुने काठमाड़ौँ
• साहित्य • १८ अक्टोबर, २०२६
विस्थापनाको पीड़ा र पहिचानको खोजी

नेपाली साहित्यको फराकिलो आकाशमा आफ्नो छुट्टै पहिचान निर्माण गर्दै अघि बढ़िरहेकी स्रष्टाको नाम हो जानु काम्बाङ लिम्बू। कथा, कविता, गीत, नियात्रा र उपन्यासजस्ता विविध साहित्यिक विधामा कलम चलाउने स्रष्टा जानु विदेशी भूमिमा सङ्घर्षरत हुनुहुन्छ। विशेषत: डायस्पोरिक नेपाली साहित्यको प्रवर्धन र प्रतिष्ठाका लागि उहाँले गरिरहेको सिर्जनात्मक प्रयास उल्लेखनीय छ। शिविरमा ईश्वर कवितासङ्ग्रह, नउघ्रेको जून कथासङ्ग्रह, त्यसैगरी अनुभव, जानु र आँसुको लय गीति सृजनाका साथै फ्लाण्डर्स फिल्डमा तमोरको सुसेली नियात्रा सङ्ग्रह जस्ता कृतिहरूकी धनी जानुको साहित्यिक यात्राको अर्को महत्त्वपूर्ण उपलब्धि हो उपन्यास खाम्योक। यस कृतिमार्फत उहाँले आख्यानको संसारमा आफ्नो सिर्जनात्मक क्षितिजलाई अझ फराकिलो बनाउनुभएको छ।

समाजमा घटेका ठूला राजनीतिक र सामाजिक घटनाहरू इतिहासका पानामा लेखिन्छन्। एउटा समाजमात्रको घटना भन्नुभन्दा पनि सिङ्गो देशको कुरा गरौँ। कुनै एउटा घटनाले एउटा साधारण मानिसको जीवनमा के कस्तो असर पार्छ भन्ने कुरा साहित्यमार्फत अझ बढ़ी संवेदनशील रूपमा बुझ्न सकिन्छ। हामी सबैलाई थाहा छ त्यो दशवर्षे माओवादी गृहयुद्घ। हो! त्यही माओवादी द्वन्द्वकालीन समयमा घटेको एउटा डरलाग्दो घाउको कथा हो खाम्योक। समय, समाज र परिवेशलाई सँगसँगै लिएर अघि बढ़ेको उक्त कृतिले माओवादी सशस्त्र द्वन्द्वपछिको नेपाली समाज, त्यसले जन्माएको विस्थापन र प्रवासी जीवनका जटिल मनोवैज्ञानिक तथा सामाजिक आयामलाई कथाको केन्द्रमा राखेको छ। साहित्यकार जानुले आफ्नो उपन्यासको नाम र उक्त पुस्तकको प्रमुख पात्रको नाम एउटै जुराउनु भएको छ, खाम्योक। यति एउटा शब्द (खाम्योक) मा सिङ्गो कथा अटाएको छ। लिम्बू भाषामा खाम्योकको अर्थ माटोको पहिचान अथवा मानव र माटोबीचको अटुट सम्बन्ध भन्ने जनाउँदो रहेछ।

यो उपन्यासको मुख्य पात्र खाम्योक नेपाली सेनामा कार्यरत रहँदा माओेवादी युद्धको समयमा एम्बुसमा परेपछिबाट कथा शुरु हुन्छ। बाँच्ने क्रममा उसले काठमाडौँमा एउटा पिसिओ चलाएर बसेको हुन्छ। सेनाको जागिर छोड़ेपछि नै उसको जीवनमा आएका उतारचढावले उपन्यासका प्लटहरू बुनिँदै र बाटिँदै जान्छन्। पिसिओमा एकदिन एउटा नोर्बु शेर्पा नाम गरेको मनुष्य आउँछ। उसले बेल्जियम जाने कामदारको कागजपत्र फोटोकपी गर्न ल्याएको हुन्छ। खाम्योक विचरा सोझो प्राणी, आमाबाबुको एक्लो छोरो, भर्खरै मायाप्रेममा परेको ठिटो त्यो मानवतस्कर दलाल नोर्बुको कुरामा फिदा भैजान्छ। घरमा खबरै नगरी ऊ पनि बेल्जियम उड्छ। त्यो यात्राको वर्णन गरीसाध्य छैन। एम्बुसमा परेर गुमेका साथीहरू, होसमा कहिल्यै फर्कन नसकेका साथीहरू, उनीहरूको ग्रुपमा बाँचेको एक्लो खाम्योक। त्यो विभत्स घटनापश्चात् दश वर्ष सात महिना खाएको जागिर छोड्यो उसले। सायद, उसलाई अझै दुःख भोग्न बाँकी नै रहेछ र त ऊ त्यस्तो डरलाग्दो एम्बुसमा परेर पनि बाँच्यो। यस्तै अनेक कुराहरू खेल्छन् किताब पढ़िरहँदा। त्यति बेलाको माओवादी आतङ्क तछाडमछाड गर्दै मस्तिष्कमा हुरहुरी आउँछन्। सम्झन्छु मोहन मैनालीको पुस्तक ‘मान्ठ डराएको जुग’। यो किताबले मेरा कैयौँ रातहरू तहसनहस पारेको छ। आज धेरैपछि खाम्योकसँग पनि म उसरी नै डराउन पुगेँछु। एकैछिन किताब बन्द गर्छु। सोच्न बाध्य हुन्छु त्यो दशवर्षे जनयुद्धमा लेखक पनि कहीँ कतै प्रत्यक्षदर्शी हुनैपर्छ नत्र सुनेकै भरमा यस्तो दर्दनाक कथा लेख्न सकिँदैन।

अस्पतालको बेडमा मृत्युसँग लाप्पा खेलिरहेको बेलामा भेटिएकी मायालु नर्स फुङ्सा। यता फिदिमको ओदिन गाउँमा एउटा लिम्बू परिवारमा दोस्रो सन्तानको रूपमा जन्मिएको खाम्योक। यी दुवैको मन मिल्यो र मायामा प्रेममा बाँधिएका छन्। आमा हाङ्मारीले थुन्चेमा राखेर रक्सी बेच्न जाँदा बालक खाम्योकले पहिलोपटक फिदिम बजार देखेको, आमाको हात समाएर स्टुडियोमा फोटो खिचेको जस्ता कुराहरूले पाठक पनि अतितमा पुग्छन्। बाबु हर्कधोजको छोराछोरीप्रति उर्लेको स्नेह देखेर प्रत्येक पाठक आफ्नै बाल्यकालमा फर्कन बाध्य हुन्छन्। त्यही मायालु छोरो बेपत्ता हुँदा खोज्न हिँड़ेका पिताको अवस्था बयान गरिसक्नु छैन। यता छोरो खाम्योक भने बाआमा र प्रेमिका फुङ्सालाई नेपालमै छोड़ेर गलैँचा व्यापारीको नक्कली आवरणमा बेल्जियम उड़िसकेको हुन्छ।

खाम्योक पढ्दै जाँदा यो केवल एउटा पात्रको कथा होइन भन्ने अनुभूति हुन्छ। यसभित्र एउटा सिङ्गो समाजको आवाज छ। नेपालले माओवादी सशस्त्र द्वन्द्वको लामो र पीड़ादायी समय भोग्यो। त्यस द्वन्द्वले राजनीतिक परिवर्तनको बाटो त खोल्यो, तर त्यससँगै समाजका धेरै मानिसका जीवनमा गहिरा घाउहरू पनि छोड़ेर गयो। कतिले आफन्त गुमाए, कतिले घर छाड़े, कतिले गाउँ छाड़े र कतिपयले देश नै छाड्नु पर्‍यो। विस्थापनको यस्तो यात्रा केवल एउटा ठाउँबाट अर्को ठाउँमा पुग्नुमात्र होइन रहेछ। परदेशमा पुगेपछि मानिस एकाएक परिवर्तनको बाटोमा उभिन बाध्य हुने रहेछ। उसलाई सबैभन्दा धेरै त भाषाको समस्या हुन्छ। नयाँ ठाउँ, नयाँ मानिस, नयाँ चालचलन, यी प्रत्येक कुरामा मिसिन सक्नुपर्छ। बाहिरबाट ऊ खुशी देखिए पनि भित्र त उसले आफ्नै माटोको सुगन्ध खोजिरहँदो रहेछ। एउटा प्रसङ्ग खाम्योकलाई नोर्बुले अलपत्र छाड़िदिन्छ। अनि नोर्बुले स्टेशनमा छाड़ेर हिँड़ेपछि खाम्योकसँग नेपाली बोल्ने मान्छे पनि कोही हुँदैन। छिटो भात खा है काले, नत्र कुटाई खालास् भन्ने आमा त्यहाँ छैनन्। भाइले त दूध खानै मान्दैन भन्ने दिदी पनि त्यहाँ छैन। न त अलिक खानु के, क्यै हुन्न यत्तिले भन्ने फुङ्सा नै साथमा छे। नाङ्गै कुदे पनि किन कुदिस् भन्ने कोही छैन। धानै नाचे पनि अहो! कति राम्रो भन्ने कोही छैन। मान्छेका भिड़मा पनि ऊ एक्लो छ। खाम्योकको आँशु थामिएन।

आँशुलाई कति रोकिराख्नु भनेर स्वतन्त्र आँखालाई रुन छोड़िदियो खाम्योकले। पाइलाहरू नथाकुञ्जेल चालिरह्यो। चौरास्तामा ऊ गन्तव्यहीन भयो। हिँड्नका लागि बाटो प्रशस्त तर, जाने कहाँ? उपन्यासले प्रवासी जीवनको यही बाहिरी र भित्री द्वन्द्वलाई स्पर्श गरेको छ। यसरी नै खाम्योक उपन्यासमा पहिचानको प्रश्न पनि उत्तिकै महत्त्वपूर्ण भएर आएको छ। मानिस आफू कहाँको हो? मातृभूमि छोड़ेर टाढ़ा पुगेपछि उसको पहिचान के हुन्छ? उसले आफ्नो जन्मभूमि, भाषा, संस्कृतिलाई कहाँसम्म पुर्‍याउन सक्छ? यस्ता प्रश्नहरू थुप्रै छन् खाम्योक पुस्तकभित्र। खाम्योकले आफ्ना बाबुआमा हाङ्गमारी र हर्कधोजलाई समेत एकवचन नभनीकन किन हिँड़ेको होला युरोप? कति दिन पीड़ामा रोएर बाँचे होलान् ती दुई प्राणी? समयले कति निष्ठुरी बनाइदिन्छ मान्छेको मन। जीवन के रहेछ र हेर्नोस् त! हिजो सेनामा कार्यरत रहँदा जुनियरहरूलाई आदेश गर्ने खाम्योक लिम्बू आकस्मात घाइते भएर अस्पतालमा अचेत, त्यसपछि साधारण नागरिक भएर कम्युनिकेशन पसलको पसले त्यसपछि आयुलाई जबर्जस्ती तानिरहेको एउटा मगन्ते। देशलाई गृहयुद्घमा होम्ने शासकहरूलाई जनताको यस्तो दुःखले कति छुन्छ कुन्नी? खाम्योकलाई बल्ल थाहा भयो नोर्बुको ग्रुपले यसैगरी हरेक छः-छः महिनाको अन्तरालमा मान्छे ओसार्दा रहेछन्।

नेपाली युवाहरू कतिलाई यसरी नै बिचल्ली पारेको होला मानव तस्करले। कल्पना गर्दा पनि मुटु थर्थरी काँप्छ। खाम्योकले उता बेल्जियम पुगेपछि कति दिनसम्म खान पाएन, भन्डै मरेको थियो ऊ। एकजना मिलन लिम्बू नाम गरेको नेपालीले खाम्योकको हात समाउँदा कम्ता खुशी लागेन। त्यो दलाल तस्कर नोर्बु पनि नेपाली, यता विपदमा साथ दिने मिलन पनि नेपाली। मान्छे बाहिरबाट उस्तै देखिए तापनि उसको भित्री रूप कसैले चिन्न सक्दैन नि। एक वर्षअघि त्यही नोर्बुले ल्याएर छोड़ेको रहेछ त्यो मिलनलाई पनि। आइडी कार्ड बनेको छैन उसको। बिना कार्ड काम गर्नुलाई कालो भन्दारहेछन् त्यहाँ । हो! मिलन अझै कालोमा काम गर्दै छ, मतलब लुकेर एकदमै सस्तो पारिश्रमिक दिएर लगाइने काम। मिलनको कोठामा आश्रय पायो खाम्योकले। त्यो सानो कोठामा अरू दुई नेपाली थिए। सोलुखुम्बुको निर्मल र चितवनको रत्नमान। उनीहरू सबै आइडी कार्डको पर्खाइमा लुकेर बसेका थिए। सुरेश, निमा, अनुप, सुनाक, शैलेन्द्र, सेसेहाङ, मदन कति हो कति त्यहाँ त कार्ड नभएका। नेपाल, भारत र अन्य देशका पनि थिए क्याम्पमा बसेका शरणार्थीहरू। एवम् रितले उनीहरूको समय कटिरहेको थियो। एकदिन बिहान खाम्योकले बुवा बितेको खबर सुन्यो दिदी मिङ्सुबाट। एक साँझ खाना खाँदाखाँदै बाबालाई पक्षघात भयो। सबै गाउँले मिलेर फिदिम अस्पताल पुर्‍याए, तर बचाउन सकेनन्। बाबाको सबै काजक्रिया सकेर दिदी मिङ्सु ब्रुनाइ फर्किन्। तर, खाम्योकले पत्तो पाएन। लुकेर बसेको छ, कुनै स्थायी ठेगाना छैन। कसरी थाहा होस् र उसलाई। यस्तो दुःखपर्दा काम लाग्छ भनेर उनीहरूले विदेशमा एउटा नेपाली संस्था बनाए।

यता, नेपालमा भने दशवर्षे माओवादी युद्ध पश्चात उक्त पार्टी सरकारमा सामेल भएपछि हरेक जातिहरूले आफ्नो पहिचानसहितको प्रदेशको नाम राख्ने नयाँ प्रचलन शुरु भयो। मधेश प्रदेश, नेवा प्रदेश, किराँत प्रदेश, लिम्बुवान क्रमशः। नेपालको राजनीतिको बाछिटा जताततै छरियो। नेपाली भएको ठाउँमा आफ्नो देशले काँचुली फेर्दै गरेको चर्चा चल्नु स्वभाविकै पनि हो। सबैका राय फरक-फरक हुनुपनि सामान्य नै ठान्नुपर्छ। त्यहाँ कसैले लिम्बुवान राज्यको परिकल्पना गरे त कसैले किराँत राज्यको। माओवादले जातीय पहिचान त चाहेकै हो। समग्रमा यो ठीक होला त? के लाग्छ यहाँहरूलाई .. भैगो! अहिलेलाई लिम्बुवान, खम्बुवान, कोचिला, तरुवान सबै छोड़ेर हामी नेपाली हौँ भन्ने नभुलौँ ल। पहिचानलाई लिएर राई र लिम्बुबिचको वाकयुद्ध पनि मच्चिएको छ है यस पुस्तकमा। खाम्योककी प्रेमिका फुङ्सा नेपालमा लिम्बुवान मुक्ति मोर्चामा आबद्ध छे। उनीहरूको माग लिम्बुवान राज्य हो। त्यसका लागि रकम त चाहियो। रकमका लागि स्वदेश तथा विदेशमा रहेका तमाम दाजुभाइ, दिदीबहिनीहरूलाई आर्थिक, नैतिक र भौतिक सहयोगका लागि आह्वान गर्दै रातदिन खटेकी छे फुङ्सा। नेपालमा जातीय लड़ाइँ जरुरी छ भन्छे फुङ्सा।

दिनहरू बित्दै गयो। उनीहरूको जीवनमा परिवर्तन नआए पनि लुभेन सहरमा नयाँ-नयाँ बिल्डिङहरू बनिँदै गए। दोकान र सुपरमार्केटहरू थपिए। उनीहरूको तलबमा वृद्धि नभएपनि बजारभाउमा वृद्धि भो। हेरफेर भो। उनीहरूको जीवनमा एकलाल पनि सुख थपिएन। चरण चरणका भोक हड्ताल गरे, तर कुनै बदलाव आएन जीवनमा। उही र उस्तै काम तर तलब सधैँ आधा। मन बुझाउने बाटो कतै रहेन, परदेशीको सपना र पसिनाको मूल्य खै? कहिले माओवादी, कहिले एमाले त कहिले काङ्ग्रेस आफ्नो निजी पहिचान खै? एक बिहान खाम्योक ब्युँझेर जीउ तन्काउँदै मुस्कुरायो। अहो! नेपाल जाने दिन पो आयो। दुःखको भेलबाढ़ीमा लछारिँदा-लछारिँदा किनारमा तैरेर आराम लिने दिन पनि आखिरमा आयो त! बेल्जियम छिरेका दिनदेखिको ती सङ्घर्षका क्षणहरूले जिन्दगीलाई बेलाबेला रेट्न नछाड्ने भयो।

अन्ततः, यस उपन्यासले मानिसको जीवनमा आफ्नो पहिचान, अस्तित्व र आत्मसम्मानको कति ठूलो महत्त्व हुन्छ भन्ने कुरालाई गहिरो रूपमा प्रस्तुत गरेको छ। मानिसलाई बाँच्नका लागि गाँस, बास र कपास मात्र पर्याप्त हुँदैन, उसलाई समाजमा सम्मानपूर्वक बाँच्न पाउने अधिकार पनि उत्तिकै आवश्यक हुन्छ। आफ्नो पहिचानकै कारण अपहेलित हुनुपर्ने, अरूभन्दा फरक ठानिनुपर्ने र आफ्नो अस्तित्व प्रमाणित गर्न सङ्घर्ष गर्नुपर्ने अवस्थाले मानिसको मनमा कति पीड़ा जन्माउँछ भन्ने कुरा उपन्यासका विभिन्न घटनाबाट बुझ्न सकिन्छ। हामी सबै मानिस हौँ र सबैले समान अधिकार पाउनुपर्छ भन्ने कुरा सुन्नमा जति सरल छ, व्यवहारमा लागू गर्न त्यति नै कठिन देखिन्छ। यही वास्तविकतालाई उपन्यासले पाठकसामु प्रस्तुत गरेको छ। यसले केवल जातीय विभेदको चित्रण मात्र गर्दैन, बरू यस्तो विभेदको अन्त्यका लागि हाम्रो सोच र व्यवहारमा परिवर्तन आउनुपर्ने आवश्यकतालाई पनि औँँल्याउँछ। कुनै पनि व्यक्तिको पहिचान उसको कमजोरी होइन, बरू उसको अस्तित्व र आत्मसम्मानसँग जोड़िएको विषय हो भन्ने कुरा बुझ्न जरूरी छ। यसरी हेर्दा, यो उपन्यास एउटा कथामा मात्र सीमित नरही समाजलाई आफ्नै सोच र व्यवहारमाथि प्रश्न गर्न प्रेरित गर्ने सशक्त माध्यम बनेको छ।

विज्ञापन यहाँ तपाईंको विज्ञापन देखिन सक्छ 728 × 90 →
विज्ञापन

यहाँ तपाईंको विज्ञापन देखिन सक्छ

300 × 250 विज्ञापनका लागि सम्पर्क गर्नुहोस् →

सम्बन्धित समाचार

बण्डा

साहित्य • ०१ नोभेम्बर, २०२६

बण्डा

बाध्यता

साहित्य • ०१ नोभेम्बर, २०२६

बाध्यता

छन्द उपासना र पाठकीय प्रतिक्रिया

साहित्य • ०१ नोभेम्बर, २०२६

छन्द उपासना र पाठकीय प्रतिक्रिया

विज्ञापन Hotel Gangtok Drift — Footer Banner
ब्रेकिङ