एकपल्ट त...

मेनुका पौड्याल, राङ्का
• साहित्य • ११ अक्टोबर, २०२६
एकपल्ट त...

कति दिन्छौ आँसु मलाई

कति पिलाउँछौ पीड़ाको घुट्की मलाई

कति भिजाउँछौ मेरा थाकेका नयन

रात-दिन एउटै प्रश्नमा हराउँदा

एकपल्ट त मलाई पनि बाँच्न देऊ।

एक्लोपनले घेरेको यो मनलाई

कसैले नबुझ्ने मौनतामा थिचेर

साथ खोज्दा खाली हात मात्र पाएँ

भीड़मै हराएको मेरो अस्तित्वलाई

एकपल्ट त मलाई पनि बाँच्न देऊ।

मायाको अभावले सुक्दै गएको मन

स्पर्शबिना चिसो बनेको आत्मा

मायाको नाममा पीड़ा मात्र बाँड्यौ

निसास्सिएको यो हृदयलाई

एकपल्ट त मलाई पनि बाँच्न देऊ।

दुःखै-दुःखले भरिएको यो जीवनमा

खुसी त सपना जस्तै टाढ़ा भयो

आँसु पुछ्ने हात खोज्दै थाकिसकेँ

एक थोपा मुस्कानको भिख देऊ

एकपल्ट त मलाई पनि बाँच्न देऊ।

काँड़ाले मात्र बनेको मेरो बाटोमा

रगत बग्दै अघि बढ़िरहेँ

फूल कहिल्यै मेरो भाग बनेन

घाउमाथि मलम जस्तै आशा देऊ

एकपल्ट त मलाई पनि बाँच्न देऊ।

दागै-दागले भरिएको यो अनुहारमा

समाजले लेखेका निर्दयी कथाहरू छन्,

सौन्दर्य होइन, स्वीकार खोजेको हुँ

घृणामाथि प्रेमको मलम लगाइदेऊ

एकपल्ट त मलाई पनि बाँच्न देऊ।

विज्ञापन यहाँ तपाईंको विज्ञापन देखिन सक्छ 728 × 90 →
विज्ञापन Hotel Gangtok Drift — Footer Banner
ब्रेकिङ