काँस फूल: दशैँ बोलाइरहेछ

अर्जुन शर्मा निरौला, गीतखोला, कालेबुङ
• साहित्य • ११ अक्टोबर, २०२६
काँस फूल: दशैँ बोलाइरहेछ

खोलागड़तिर

सेताम्मे काँस फुलेको छ,

वातावरण रमाइलो

दिन घमाइलो छ।

वर्षा ऋतु

सकिनै लागेको छ,

तिम्रो आगमनसँगै

चाड़पर्व आइरहेछ।

काँस फूल दशैँ बोलाइरहेछ।

सबैलाई हतारो छ

घर सिँगारपटार गर्न,

टाढ़ाका आफन्तलाई घर फर्कन,

चेलीलाई माइती जान,

सानालाई ठूलाको

आशीर्वाद थाप्न।

यस्तै-यस्तै

सबैलाई आ-आफ्नो हतारो छ।

सानाहरूलाई

नयाँ लुगाफाटो लगाउने,

मामाघर जाने उमङ्ग छ।

ठूलाहरूलाई

दशैँको गर्जो कसरी टार्ने

भन्ने चिन्ता छ।

सर्वत्र काँस फुलेर

वातावरण उसै रमाइलो छ।

काँस फूल दशैँ बोलाइरहेछ।

कोही खोरमा

घोर्ले खसी पोस्दै छन्,

सबैले आ-आफ्नो हैसियतमा

हाँस, कुखुरा, भेड़ा र राँगो

जोगाड़ गरिरहेछन्।

आफ्नो कुल-कुलानी खुसी पार्न

रीति र परम्पराका नाममा

अबोध पशुबलिको तयारी चल्दै छ।

काँस फूल दशैँ बोलाइरहेछ।

‘काँस फुल्यो, भैँसी रोयो’

भन्थे बूढ़ापाकाहरू।

यी मूक पशुहरू-

मानवको दशैँ,

बबुराहरूको दशा!

म त भन्छु

नफूल्नु तिमी अब।

तिम्रा ती सुन्दर

सेताम्मे फूलहरूमा

रगतको आलो टाटो देख्छु म।

काँस फूल दशैँ बोलाइरहेछ।

अहँ!

तिम्रो यो सुन्दरतासित

मेरो मन कहिल्यै रमाउन सक्दैन।

तिम्रा ती लामा, धारिला पातहरूमा

हजारौँ खुँड़ा र खुकुरीहरू देख्छु म।

सक्छौ भने नाबो बनिदिनु तिमी,

बरु मलाई

उन्यूको सौन्दर्य मन पर्छ।

काँस फूल दशैँ बोलाइरहेछ।

तिमीसँगै रमाउँदै

काँसघारीमा चरन चर्ने

ती पशुहरूलाई के थाहा-

तिमी उनीहरूका लागि

यमराज बनेर फुलेका हौ!

तिम्रो यो रूप

हावाका झोक्काहरूले उड़ाई नसक्दै,

वरिपरि निर्धक्क चरिरहेका अबोध प्राणीहरू

यमराजको दरबारमा

पुगिसकेका हुनेछन्।

त्यसैले, तिमी नफूल्नु कहिल्यै।

काँस फूल दशैँ बोलाइरहेछ।

विज्ञापन यहाँ तपाईंको विज्ञापन देखिन सक्छ 728 × 90 →
विज्ञापन

यहाँ तपाईंको विज्ञापन देखिन सक्छ

300 × 250 विज्ञापनका लागि सम्पर्क गर्नुहोस् →

सम्बन्धित समाचार

बण्डा

साहित्य • ०१ नोभेम्बर, २०२६

बण्डा

बाध्यता

साहित्य • ०१ नोभेम्बर, २०२६

बाध्यता

छन्द उपासना र पाठकीय प्रतिक्रिया

साहित्य • ०१ नोभेम्बर, २०२६

छन्द उपासना र पाठकीय प्रतिक्रिया

विज्ञापन Hotel Gangtok Drift — Footer Banner
ब्रेकिङ