बाध्यता

युवा बराल बिरिङ्ग, पाकिम सिक्किम।
• साहित्य • ०१ नोभेम्बर, २०२६
बाध्यता

“सब चोर! यो पनि चोर! त्यो पनि चोर! सब चोर! लाटा पनि चोर! बाठा पनि चोर! सब चोर! हामी गरीब निमुखा पनि चोर! धनी मानीहरू पनि चोर!” मनमा उठेको तर अरूको सामुन्ने भन्न नसकेको भड़ास वेपर्वाहसँग ओकल्दै डम्बर बहादूर उर्फ डीबी उर्फ डमरु ओह्रालै लाग्यो। ऊ बर्बराउँदै गएको हेर्ने एमके टीआरहरू खित्का थुन्दै हाँस्दै थिए।

मञ्चमा कुनै स्थानीय नेता हातको मुड़की बजाउँदै भाषण छाँटिरहेको छ। भाषण सुन्न भनेर भेला भएका जनताहरू सुझ न बुझ थपड़ी बजाइरहेका छन्। मञ्च पनि खचाखच छ, प्राङ्गण पनि भरिभराउ।

दुई तीन घण्टाको समय चार-पाँच जना तथाकथित नेताहरूले खाइसकेका छन्। घाम टण्टालापूर छ। दिन ढलिसकेको छ। तर मिटिङ्ग आधा बिच मै छोड़ेर नहिँड़ने निर्देश हुँदा प्रायजसो जनताहरू आधा भाषण गर्ने ठाउँमा, आधा मन घरमा राखेर त्यहाँ उपस्थित छन्।

“ला गाईलाई घाँस! लाबाख्रा पगाहा लगाएर हिँड़ेको झुण्ड्यो होला! मेरो त सासु बिमारी त्यतिकै निस्लोट ज्वरोमा छोड़ेर आएकी!” जस्ता उच्छवासहरू त्यहाँ मन्द मन्द गुञ्जयमान छन्। खास खास खुस खुस मात्र छ त्यहाँ। कोही उठेर हिँड़न सक्नेवाला छैनन्।

“डर! हो डर लाग्छ तिनीहरूलाई। कस्तो होला यो डर’ भन्ने चिज पनि। यो डर जसको आड़मा त्यत्रो विशाल जमघट जुटेको छ। मान्छेलाई लाग्ने डर; एउटा शासनको, अर्को भाषणको र अझ अर्को राशनको!”

सबैभन्दा ठूलो मनको डर।

डीबीलाई लागेन कि डर! त्यो त त्यत्रो जनताहरू चुपचाप बसिरहेको माझबाट जुरुक्कै उठेर हिँड़ेको हो। अनि अलिक टाड़ा पुगेपछि व्यक्त गर्ननसकेको मनको औड़ाहा बोलिपठाएको हो। अर्कालाई स्वन्तत्र ‘चोर’ भन्न पाउँदा कति शान्त बनेको हो उसको छाती!

बाटो मास्तिर सुर्ति खान भनेर छलिएर बसेका एमके, टीआर, विर्खे र अन्यहरूले डीबी उर्फ डम्बर उर्फ डमरुको चर्तिकला देखेर छक्कै परेका हुन्। तर त्यस्को स्वभाव नै त्यस्तो। त्यो एकलै बोल्दै हिँड़छ। मन नपरेको कुरा बर्बराइरहन्छ। ऊ हल्का भैरहन्छ। ऊ बगिरहन्छ। सङ्लो।

झण्डी डाँड़ामा कुनै पार्टीको मिटिङ चलिराखेको छ। गाउँको घर, घरको परिवार र परिवारको हरेक सदस्यलाई भेला गरिन्छ यहाँ - अलिकति लोभ, अलिकति आशा, अलिकति विश्‍वास, अलिकति सपना र केही आश्वासनहरूका ठेली थमाउन। गाउँ- यही डाँड़ामा बसेर आफ्नो उज्ज्वल भविष्यको परिकल्पना गर्छ र खुब रमाउँछ। खुब ताली पड़काउँछ। अनि साँझपख मनभरी डर बोकेर फर्किन्छ, आफ्नो घर।

गाउँको हरघरमा गाई बाख्रा कराइराखेको छ। बुड़ा-बुड़ी, लाटा-लाटी र नानीहरू भोकाइरहेका छन्। गाउँको सुनसानलाई बिथोल्दै चर्को ध्वनी ओकल्दै घन्किरहेछ माइकको आवाज। भाषणको रापिलो आगोले मान्छेको मन पगाल्ने काम चलिराखेको छ।

मनगड़न्ते कुराको जादुले सुन्ने मान्छेको विचार परिवर्तन गर्ने कोशिश भइराखेको हुन्छ। आवाजको प्रवाह र हाव-भावको जोशिलो माध्यमबाट मान्छेको दिमागमा आफ्नो समूहको नीति, सिद्धान्त अनि कार्यक्रमको प्रचार प्रसार गर्ने काम भैराखेको छ। भनौँ विस्तारै विस्तारै मान्छेको मनमा डर भर्ने प्रयोजन चलिरहेको छ।

डरको खेती भइराखेको वारीको सिमाना मिचेर हिँड़ेको डीबी’ले घर पुग्ने बित्तिक्कै भर्खरै पञ्चेत बाउले घर छाउन भनेर दिएको सहुलियत तीस पन्ना च्यादरबाट छ: पन्ना अलग्गै छुट्यायो।

त्यसपछि घरछेउको चप्लेटि ढुँङ्गामा टुक्सुक्क बसेर बिँड़ी सल्कायो। धुवाँ फुस्स हावामा छोड़ेर गोजीबाट नोकियाको ब्लाक एण्ड वाइट फोन निकाल्यो। नम्बर मिलायो। फोन कानमा टँसायो। केही क्षण पर्खेर बिस्तारै बोल्यो- “दुईजना मान्छे लिएर राति दश बजेदेखि उता आउनु! एउटाको पाँच सौ हो ; पैसा चैँ लिएरै आउनु है, क्याश!”

चट्ट फोन काटेपछि फेरि बिँड़ी मुखमा च्यापेर लामो चुस्यो। निकैबेर धुवाँ मुखभित्रै रुमल्याएर आकाशतिर एकैसाथ ह्वास्स छोड़यो। त्यो धुवाँ डल्लो पर्दै निकै माथीसम्म गुड़ुल्किँदै उड़िरह्यो अनि पातलो बन्दै शून्यमा विलिन भयो।

उसले फेरि फोन मिलायो- “हजूर मालिक! एक बोरा चामल, दुइ लिटर खाने तेल, पाँच केजी आलु, एक केजी नुन। पुरानो हिसाब भोलि मिलाउने छु, चुक्ता। यो आजको लेखिराख्नु।”

“मौकामा पछि पर्नु हुँदैन”, डीबीले दृड़ सङ्कल्प गरिछाड़यो।

यतिबेला उसका भोकाएका छोरा-छोरीहरू स्कूलबाट फर्किएर घरभित्र पस्दैथिए। दीपा, गोमा, रमेश, इन्द्रे र सरिता।

विज्ञापन यहाँ तपाईंको विज्ञापन देखिन सक्छ 728 × 90 →
विज्ञापन Hotel Gangtok Drift — Footer Banner
ब्रेकिङ