गान्तोक, 31 अक्टोबरः कम्प्युटेशनल म्याथम्याटिक्स एण्ड एप्लिकेशन्स (आईसीसीएमए 2026) विषयक दोस्रो अन्तरराष्ट्रिय सम्मेलन 30 अक्टोबरमा गान्तोकमा सफलतापूर्वक सम्पन्न भएको छ।
गान्तोकस्थित एउटा होटलमा 29 र 30 अक्टोबरमा आयोजित यस सम्मेलनको आयोजन संयुक्त रूपमा नेशनल इन्स्टिट्युट अफ् टेक्नोलोजी (एनआईटी) सिक्किम, एनआईटी सिलचर र एनआईटी नागाल्याण्डले गरेका थिए। यस अन्तरराष्ट्रिय कार्यक्रममा भारत तथा विदेशका शिक्षाविद्, अनुसन्धानकर्ता, विद्वान् र विशेषज्ञहरू भेला भई कम्प्युटेशनल म्याथम्याटिक्स (गणितीय गणना)-को क्षेत्रमा भइरहेका नयाँ विकासक्रम र यसका विविध प्रयोगहरूबारे गहन विमर्श गरे।
आईसीसीएमए 2026 को उद्घाटन 29 अक्टोबरमा विशिष्ट शिक्षाविद् तथा अतिथिहरूको उपस्थितिमा गरिएको थियो। सिक्किम सरकारका शिक्षामन्त्री राजु बस्नेतले उद्घाटन सत्रमा मुख्य अतिथिका रूपमा सहभागिता जनाए। स्लोभाकियाको स्लोभाक एकाडेमी अफ् साइन्सेसकी प्राध्यापक इभाना बुडिन्स्का, दिल्ली टेक्नोलोजिकल युनिभर्सिटीका प्राध्यापक आरके शर्मा र एनआईटी पटनाका निर्देशक प्राध्यापक प्रदीप कुमार जैनले कार्यक्रममा विशिष्ट अतिथिका रूपमा उपस्थिति जनाए। उद्घाटन सत्रमा एनआईटी सिक्किमका निर्देशक तथा मुख्य संरक्षक प्राध्यापक महेश चन्द्र गोभिल, सम्मेलनका अध्यक्ष डा. केदारनाथ दासका साथै अन्य विशिष्ट अतिथि, सहभागी र आयोजक समितिका सदस्यहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राजु बस्नेतले भारत र विदेशका अनुसन्धानकर्ता तथा विद्वानहरूलाई एकै ठाउँमा ल्याएकोमा तीनवटै एनआईटीलाई बधाई दिए। उनले वैज्ञानिक ज्ञान र नवाचारलाई अघि बढ़ाउन शैक्षिक सहकार्यको महत्त्वमाथि जोड़ दिए।
आधुनिक विज्ञान तथा प्रविधिमा गणितको आधारभूत भूमिकाबारे चर्चा गर्दै मन्त्री बस्नेतले आर्टिफिशियल इन्टेलिजेन्स (कृत्रिम बुद्धिमत्ता), चिकित्सा क्षेत्र, इञ्जिनियरिङ र मौसम पूर्वानुमानजस्ता क्षेत्रमा गणितको बढ्दो सान्दर्भिकताका बारेमा बताए। उनले सिक्किम राज्यका विद्यार्थीहरूका लागि ज्ञान, अवसर र व्यापक अनुभव प्रदान गर्ने शैक्षिक तथा अनुसन्धानमूलक पहलहरूमा सिक्किम सरकारको निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरे।
प्राध्यापक इभाना बुडिन्स्काले आफ्नो सम्बोधनमा अन्तरराष्ट्रिय शैक्षिक सहकार्यको महत्त्वबारे प्रकाश पारिन्। उनले भारत र स्लोभाकियाका अनुसन्धानकर्ता तथा संस्थाहरूलाई थप सहकार्य गर्न र ज्ञान तथा विशेषज्ञताको आदान-प्रदानमार्फत अर्थपूर्ण समन्वय (सिनर्जी) सिर्जना गर्न प्रोत्साहित गरिन्। यस अवसरमा बोल्दै प्राध्यापक आरके शर्माले सैद्धान्तिक र कम्प्युटेशनल गणितबीचको पूरक सम्बन्धलाई प्रकाश पारे। उनले जटिल समस्याहरूको समाधान अन्वेषण र अनुमान गर्न कम्प्युटेशनल विधिहरूले शक्तिशाली उपकरण प्रदान गर्ने भए पनि यस्ता नतिजाहरूको वैधता र विश्वसनीयता स्थापित गर्न गणितीय सिद्धान्त र कठोर प्रमाण आवश्यक रहेको अवलोकन गरे।
आफ्नो टिप्पणीमा एनआईटी सिक्किमका निर्देशक प्राध्यापक महेश चन्द्र गोविलले जटिल समकालीन चुनौतीहरूलाई सम्बोधन गर्न गणितीय मोडेलिङ, सङ्ख्यात्मक विधि, वैज्ञानिक कम्प्युटिङ र डेटा-सञ्चालित प्रविधिहरूको बढ्दो महत्त्वलाई प्रकाश पारे। उनले कम्प्युटेशनल नतिजा सही, स्थिर र भरपर्दो हुनुपर्ने आवश्यकतामा जोड़ दिँदै गणित, इञ्जिनियरिङ, कम्प्युटर विज्ञान र अन्य सम्बन्धित क्षेत्रहरू सामेल गर्ने बृहत् अन्तरविषय अनुसन्धानको लागि आह्वान गरे।
यस अवसरमा आईसीसीएमए 2026 को सारांश पुस्तक औपचारिक रूपमा मुख्य अतिथि राजु बस्नेतद्वारा विशिष्ट विशिष्ट व्यक्ति र सहभागीहरूको उपस्थितिमा विमोचन गरियो।
यस सम्मेलनमा कम्प्युटेशनल गणित र यसका प्रयोगहरूसँग सम्बन्धित समसामयिक विषयहरूमा केन्द्रित विभिन्न प्राज्ञिक तथा प्राविधिक सत्रहरू सञ्चालन गरिएका थिए। यी सत्रहरूले अनुसन्धानकर्ता, प्राध्यापक र विद्यार्थीहरूलाई आफ्ना कार्य प्रस्तुत गर्न, विचारहरूको आदान-प्रदान गर्न तथा अर्थपूर्ण प्राज्ञिक विमर्शमा संलग्न हुन एक महत्त्वपूर्ण मञ्च प्रदान गरे।
दुई दिनसम्म चलेको यस सम्मेलनमा भारत र विदेशका प्राज्ञ तथा अनुसन्धानकर्ताहरूद्वारा कुल 101 वटा अनुसन्धान पत्र प्रस्तुत गरिए। तीमध्ये उत्कृष्ट 17 वटा अनुसन्धान पत्रलाई तिनको महत्त्वपूर्ण प्राज्ञिक योगदान र अनुसन्धानको गुणस्तरका लागि ‘सर्वोत्कृष्ट अनुसन्धान पत्र पुरस्कार’ प्रदान गरी सम्मान जनाइयो।
सम्मेलनको समापन समारोह 30 अक्टोबरमा नेशनल इन्स्टिट्युट अफ् टेक्नोलोजी सिलचरका निर्देशक प्राध्यापक दिलीप कुमार वैद्यको प्रमुख उपस्थितिमा सम्पन्न भयो। सहभागीहरूलाई सम्बोधन गर्दै प्राध्यापक वैद्यले आधुनिक विश्वका तीव्र रूपमा परिवर्तन भइरहेका आवश्यकता र चुनौतीहरूलाई सम्बोधन गर्न कम्प्युटेशनल गणितको बढ्दो महत्त्वमाथि जोड़ दिए। उनले कम्प्युटेशनल विधि र नतिजाहरू सटीक, स्थिर र विश्वसनीय हुनुपर्ने आवश्यकता औँल्याए। साथै, वास्तविक विश्वका जटिल समस्याहरू समाधान गर्न गणित, इञ्जिनियरिङ, कम्प्युटर विज्ञान र अन्य वैज्ञानिक विषयहरूका बीच अन्तर-विषयक अनुसन्धान र सहकार्यको महत्त्वमाथि प्रकाश पारे।
आईसीसीएमए 2026 को सफल समापनले सहभागी संस्थाहरूबीच प्राज्ञिक सहकार्य र अनुसन्धान साझेदारीलाई सुदृढ़ पार्ने दिशामा अर्को महत्त्वपूर्ण कदम अघि बढ़ाएको छ। यस सम्मेलनले कम्प्युटेशनल गणित र यसका प्रयोगहरूको तीव्र रूपमा विकसित भइरहेको क्षेत्रमा ज्ञानको आदान-प्रदान गर्न, अनुसन्धानलाई प्रवर्द्धन गर्न र सहकार्यलाई प्रोत्साहन दिन एक बहुमूल्य अन्तरराष्ट्रिय मञ्च प्रदान गर्यो।
आयोजकहरूले आईसीसीएमए 2026 लाई सफलतापूर्वक सम्पन्न गर्न महत्त्वपूर्ण योगदान पुर्याउने सम्पूर्ण विशिष्ट अतिथि, वक्ता, अनुसन्धानकर्ता, सहभागी, प्रायोजक संस्था र आयोजक समितिका सदस्यहरूप्रति आभार व्यक्त गरेका छन्।
यहाँ तपाईंको विज्ञापन देखिन सक्छ
300 × 250 विज्ञापनका लागि सम्पर्क गर्नुहोस् →स्थानीय • ०१ नोभेम्बर, २०२६
स्थानीय • ०१ नोभेम्बर, २०२६
स्थानीय • ३० अक्टोबर, २०२६