पाकिम, 31 अक्टोबरः सिटिजन एक्सन पार्टी-सिक्किमको संयुक्त जिल्ला कार्यकारी परिषद् (डीईसी) बैठक शनिवार सम्पन्न भयो। बैठकमा पार्टीको साङ्गठनिक अवस्था, विभिन्न जिल्लामा भइरहेका राजनीतिक गतिविधि, क्षेत्रस्तरीय कार्यसम्पादन तथा आगामी कार्ययोजनाका विषयमा विस्तृत चर्चा गरियो।
बैठकको प्रारम्भमा उपस्थित पदाधिकारी तथा सदस्यहरूलाई स्वागत गर्दै पार्टीको सङ्गठनलाई थप सुदृढ़, सक्रिय र जनमुखी बनाउने आवश्यकतामाथि जोड़ दिइयो। आजको सभामा पूर्ण सिंह राईले स्वागत जनाए। पार्टीकी उपाध्यक्ष सुमति छेत्रीले सभाध्यक्षको पदभार लिइन्।
बैठकमा पाकिम, गान्तोक, तथा मङ्गन जिल्लाका प्रतिनिधिहरूले आ-आफ्ना जिल्लाको साङ्गठनिक प्रगति, क्षेत्रीय गतिविधि र मासिक कार्यसम्पादनसम्बन्धी प्रतिवेदन प्रस्तुत गरे। प्रस्तुत प्रतिवेदनमाथि चर्चा गर्दै पार्टीको जनसम्पर्क अभियानलाई प्रभावकारी बनाउने, जमिनी स्तरसम्म सङ्गठन विस्तार गर्ने तथा नागरिकका समस्या र गुनासोलाई प्राथमिकताका साथ उठाउने विषयमा जोड़ दिइयो।
यसैगरी, पाकिम जिलाका महासचिव योगेश खतिवड़ा र पार्टीका विभिन्न क्षेत्रीय निर्वाचन क्षेत्र परिषद्का प्रतिनिधिहरूले मासिक प्रतिवेदन प्रस्तुत गर्दै तुमिन-लिङ्गी निर्वाचन क्षेत्रका क्षेत्र अध्यक्ष रामकुमार कटुवाल, सिङ्ताम-खाम्दोङ क्षेत्र अध्यक्ष कर्मा वाङ्गेल, रुम्तेक-मार्ताम क्षेत्रका अध्यक्ष भाइचुङ लेप्चा, मङ्गनबाट निम्गे लेप्चाले सङ्गठनको वर्तमान अवस्था, कार्यकर्ताहरूको सक्रियता र आगामी दिनमा सञ्चालन गरिने कार्यक्रमबारे जानकारी गराए। बैठकले जिल्लादेखि क्षेत्रीय तहसम्म आपसी समन्वय कायम राख्दै सङ्गठनात्मक जिम्मेवारीलाई प्रभावकारी ढङ्गले निर्वाह गर्नुपर्ने आवश्यकतालाई विशेष महत्त्व दियो।
आजको सभाको विशेष मुख्य एजेण्डा कोष योगदान कार्ड, आगामी 2027 को पार्टी स्थापना दिवस साथै पार्टीका हरेक गतिविधिलाई सम्पूर्ण नेताहरूले गाउँको जमिनी तहसम्म इमानदारी अनुशासनका साथ सहभागिता जनाउने विषयमा गहन विचार विमर्श गरियो। आजको सभामा पार्टीका उपाध्यक्ष जर्बु छिरिङ लेप्चा, उपाध्यक्ष दीपेन्द्र राई, कर्मा छिरिङ भोटिया, उपाध्यक्ष अनिल नेपाल, कोषाध्यक्ष विष्णु चामलिङ, रिफम कोर्डिनेटर मणि छेत्रीले मन्तव्य राखे।
बैठकमा पार्टीको सुधार अभियानलाई थप प्रभावकारी बनाउने, नागरिकसँग प्रत्यक्ष संवाद बढ़ाउने, युवा तथा महिलाको सहभागिता अभिवृद्धि गर्ने र पार्टीका नीति तथा विचारलाई जनस्तरसम्म पुर्याउने विषयमा समेत चर्चा भयो। पार्टीको साङ्गठनिक आधारलाई बलियो बनाउँदै जनताको विश्वास जित्ने दिशामा सबै पदाधिकारी, कार्यकर्ता तथा समर्थकहरूले जिम्मेवारीपूर्वक काम गर्नुपर्ने निष्कर्ष बैठकले निकालेको छ।
सिटिजन एक्सन पार्टी-सिक्किमले सुशासन, पारदर्शिता, जवाफदेहिता र नागरिकको हितलाई केन्द्रमा राखेर आफ्नो राजनीतिक तथा साङ्गठनिक गतिविधिलाई निरन्तर अगाड़ि बढ़ाउने प्रतिबद्धता व्यक्त गरेको छ। अन्तमा सभाध्यक्ष सुमति छेत्रीले सबै वक्ताको बयानलाई समेट्दै आफ्नो पक्षबाट पार्टीको हरेक गतिविधिलाई वर्तमान परिस्थितिको निचोड़ निष्कर्ष अभिव्यक्ति नेताहरूको काम हेरेर विचार व्यक्त गरिन्। सभामा उत्तर सिक्किम महिला परिषद् अध्यक्ष साङ्मित लेप्चाले धन्यवाद ज्ञापन गरेको जिल्ला महासचिव योगेश खतिवड़ाद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।
यहाँ तपाईंको विज्ञापन देखिन सक्छ
300 × 250 विज्ञापनका लागि सम्पर्क गर्नुहोस् →स्थानीय • ०१ नोभेम्बर, २०२६
स्थानीय • ०१ नोभेम्बर, २०२६
स्थानीय • ३० अक्टोबर, २०२६