छन्द उपासना र पाठकीय प्रतिक्रिया

जीविका अश्रु गान्तोक, सिक्किम
• साहित्य • ०१ नोभेम्बर, २०२६
छन्द उपासना र पाठकीय प्रतिक्रिया

छन्द कविता भनेको निश्चित नियम, लय, मात्रा वा वर्णको आधारमा लेखिने कविता हो। छन्दले कवितालाई लयात्मक प्रस्तुति माधुर्य बनाउँछ। साथै व्यवस्थित बनाउँछ। नेपाली साहित्यमा शार्दूलविक्रीड़ित, वसन्ततिलका, मन्दाक्रान्ता, अनुष्टुप आदि विभिन्न छन्दहरूको प्रयोग हुँदै आएको छ। छन्दमा लेखिएको कविता पढ्दा वा वाचन गर्दा विशेष प्रकारको सङ्गीतात्मक अनुभूति हुन्छ, त्यसैले यसको साहित्यिक महत्त्व धेरै छ।

काव्यमा छन्द अनिवार्य हुन्छ कि हुँदैन भन्ने विषयमा समय समयमा चर्चा परिचर्चा नभएको भने हैन, तर समयसँगै धारणा परिवर्तन भएको छ। परम्परागत रूपमा छन्दलाई कविताको प्रमुख आधार मानिन्थ्यो। त्यसबेला अधिकांश कविताहरू छन्दका नियम पालना गरेर लेखिन्थे। तर आधुनिक साहित्यमा मुक्तछन्दको विकास भएपछि छन्द अनिवार्य मानिँदैन। आजका धेरै कविहरू भावना, विचार, कल्पना र सन्देशलाई प्राथमिकता दिँदै छन्दको बन्धनबिना पनि उत्कृष्ट कविता सिर्जना गरिरहेका छन्।

यसैले काव्यमा छन्दको महत्त्व अत्यन्त ठूलो भए पनि आजको सन्दर्भमा छन्द अनिवार्य भने होइन। छन्दयुक्त कविता र मुक्तछन्द दुवैका आफ्नै विशेषता र सौन्दर्य छन्। कविले आफ्नो उद्देश्य, विषयवस्तु र अभिव्यक्तिको शैलीअनुसार छन्दयुक्त वा मुक्तछन्द जुनसुकै माध्यम रोज्न सक्छ। मुख्य कुरा कविताले पाठकको मन छुने, प्रभावकारी सन्देश दिने र कलात्मक अभिव्यक्ति प्रस्तुत गर्न सक्नु हो।

आज म छन्द उपासना नामक कविता सङ्ग्रहको कुरा गर्दैछु। यस पुस्तकका लेखक हुन् विराटनगर निवासी कवि रोहिणी रसिक। कवि छन्दमा अब्बल मानिन्छन्। साँच्चै भन्नुपर्दा म छन्द लेख्न नजान्ने तर छन्द वाचन सुन्न र छन्द कविता लय हालेर पढ्न मन पराउने मान्छे चाहिँ हुँ। प्रत्येक कवितामा यति, गति, लय आदि कहाँ भङ्गग भएको छ? भन्ने छुट्याउन सक्दिन। तर कविताको भाव र विषयवस्तु भने बुझ्न सक्छु भन्ने लाग्छ।

यो कविता सङ्ग्रहमा प्रा.डा. देवी नेपाल, हरि कट्टेल, जीवन काश्यप, प्रिन्स प्रमोदकुमार ढकाल्को शुभकामना संदेश छ भने बाबुराम पोखरेलले भूमिका लेख्नुभएको छ। कविले लेखकीय मन्तव्य राखेपछि कविताक्रम छ। उनन्साठीवटा कविताक्रम पछि कविता शुरु भएका छन्। कम्तिमा पाँच श्‍लोकदेखि नौ दश श्‍लोकसम्मका मीठा र मर्मस्पर्शी कविताहरू छन्।

नारा उच्च लगाउने जति सबै हुन् क्रान्तिकारी भनी

आग्ला यी घरमा हुने जति सबै हुन् भ्रष्टचारी भनी

बोल्ने बोल्न लगाउने नबुझियोस् हुन् सर्वहारा जन

हौवाका पछि दौड़िई दिनदिनै चल्दैन यो जीवन।

यो कवितामा समाजमा देखिने राजनीतिक नारा, आन्दोलन, बन्द-हड्ताल, झूटा आश्वासन, धम्की, प्रलोभन र छलकपटको चित्रण गरिएको छ। कविले यस्ता गतिविधिबाट मानिसहरू केही समय प्रभावित भए पनि अन्ततः सत्य बुझेर फेरि आफ्नो दैनिक जीवनतर्फ फर्किने यथार्थ प्रस्तुत गरेका छन्। भाषण र नाराभन्दा कर्म नै ठूलो हुने सन्देश कविताले दिन्छ। क्षणिक उत्तेजना र भ्रममा नपरी विवेकका साथ जीवन अघि बढ़ाउनुपर्ने भाव यस कविताको मुख्य सार हो। यो कविता यथार्थवादी हो। यसमा समाज र राजनीतिको वास्तविक अवस्था, नेताहरूको खोक्रो आश्वासन, आन्दोलन, बन्द-हड्ताल तथा जनजीवनमा पर्ने प्रभावलाई यथार्थ रूपमा चित्रण गरिएको छ।

उदाउँदो प्रभातमा म खोज्छु मुस्कुराउन

म दिन्न भन्छ रातले निमग्न चल्मलाउन

म लाग्छु भन्छु कर्ममा हुदैन भन्छ राहुले

तनावमा छ जिन्दगी नबस्नु भन्छ घाउले

पञ्चचामर छन्दमा लेखिएको माथि उल्लेखित कवितांश हालत शीर्षक कविताबाट राखेकी हुँ। सिङ्गो कविताले समाज र देशको वर्तमान अवस्थाप्रति कविको असन्तुष्टि र चिन्ता व्यक्त गरेको छ। कवितामा मानिसहरू सत्य बोल्न डराउने, भ्रष्टाचार र अन्याय बढ़्दै जाने, योग्य व्यक्तिको उपेक्षा हुने तथा समाजमा गलत प्रवृत्ति हावी भएको यथार्थ चित्रण गरिएको छ। यस्ता विकृतिका कारण कविको मन दुःखी र चिन्तित बनेको छ। अन्ततः कविले समाजमा सत्य, न्याय र नैतिकताको स्थापना हुनुपर्ने सन्देश दिएका छन्। प्रगतिवादी कविता भन्न मिल्छ झै महसुस गरेकी छु।

अन्त्यमा,

‘छन्द उपासना’ सङ्ग्रहमा विभिन्न छन्दमा लेखिएका कविता छन्। कवितामार्फत समाज, राष्ट्र, राजनीति, संस्कृति, नैतिकता, मानवीय जीवन, प्रेम, प्रकृति र समसामयिक विकृतिहरूलाई यथार्थ र कलात्मक रूपमा प्रस्तुत गरिएको छ। कविताहरूले सत्य, न्याय, मानवता, कर्तव्य, अनुशासन र सकारात्मक परिवर्तनको सन्देश दिन्छन् भने भ्रष्टाचार, अन्याय, विसङ्गति र सामाजिक विकृतिप्रति तीव्र असन्तुष्टि व्यक्त गर्छन्। छन्दको शास्त्रीय नियमलाई पालना गर्दै सरल, प्रभावकारी र सन्देशमूलक शैलीमा रचिएको यो सङ्ग्रहले पाठकलाई नैतिक, सामाजिक र राष्ट्रप्रेमी चेतना जगाउँदै आदर्श जीवनतर्फ प्रेरित गर्दछ।

विज्ञापन यहाँ तपाईंको विज्ञापन देखिन सक्छ 728 × 90 →
विज्ञापन Hotel Gangtok Drift — Footer Banner
ब्रेकिङ