आगामी नोभेम्बरमा चीनमा हुने एपेक सम्मेलनका क्रममा अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनसँग भेटवार्ता हुनसक्ने
ट्रम्पले किमसँग आफ्नो सम्बन्ध राम्रो रहेको उल्लेख गर्दै भेट हुन सक्ने बताएका हुन्।
ट्रम्पले आफ्नो पहिलो कार्यकालमा किमसँग गरेका थिए तीनपटक भेटवार्ता
वाशिङ्टन, 13 अक्टोबरः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा चीनमा हुने एशिया–प्रशान्त आर्थिक सहयोग (एपेक) सम्मेलनका क्रममा उत्तर कोरियाली नेता किम जोङ उनसँग भेटवार्ता हुन सक्ने बताएका छन्।
सञ्चारमाध्यमका अनुसार, सोमवार पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले किमसँगको सम्भावित भेटलाई रोचक बताए। उनले किमसँग आफ्नो सम्बन्ध राम्रो रहेको उल्लेख गर्दै भेट हुन सक्ने बताएका हुन्।
ट्रम्प १८ र १९ नोभेम्बरमा चीनको सेनझेनमा हुने एपेक नेताहरूको बैठकमा सहभागी हुन जाने कार्यक्रम छ। सोही भ्रमणका क्रममा किमसँग भेट हुन सक्ने सम्भावना देखिएको हो। यद्यपि, उत्तर कोरियासँग भेटवार्ताबारे औपचारिक छलफल भइरहेको छ वा छैन भन्ने विषयमा ट्रम्पले स्पष्ट पारेका छैनन्।
ट्रम्पले आफ्नो पहिलो कार्यकालमा किमसँग तीनपटक भेटवार्ता गरेका थिए। दुई नेताबीच सन् २०१८ मा सिङ्गापुर, सन् २०१९ मा भियतनामको हनोई र त्यही वर्ष उत्तर तथा दक्षिण कोरियाको सीमाक्षेत्रमा भेट भएको थियो।
उत्तर कोरियासँग तनाउ कम गर्ने प्रयासस्वरूप ट्रम्पले यसअघि अमेरिका र दक्षिण कोरियाबीच हुने संयुक्त सैन्य अभ्यासको अवधि घटाउने निर्देशन दिएका थिए। त्यसपछि दुवै देशले अगस्तमा सञ्चालन गरेको ‘उल्ची फ्रिडम सिल्ड’ नामक वार्षिक सैन्य अभ्यासको अवधि ११ दिनबाट घटाएर पाँच दिन झारेका थिए।
ट्रम्पले संयुक्त सैन्य अभ्यासमा ठूलो खर्च हुने र यसले उत्तर कोरियालाई शत्रुतापूर्ण सन्देश दिने तर्क गर्दै आएका छन्। उनले किमसँगको आफ्नो राम्रो सम्बन्धलाई पनि सैन्य अभ्यास घटाउनुको कारण बताएका थिए।
यहाँ तपाईंको विज्ञापन देखिन सक्छ
300 × 250 विज्ञापनका लागि सम्पर्क गर्नुहोस् →अन्तर्राष्ट्रिय • १४ अक्टोबर, २०२६
अन्तर्राष्ट्रिय • १२ अक्टोबर, २०२६
अन्तर्राष्ट्रिय • ०९ अक्टोबर, २०२६