कविता मानव हृदयको गहिरो भावना, अनुभूति, कल्पना, विचार र जीवनदर्शनलाई कलात्मक भाषाका माध्यमबाट अभिव्यक्त गर्ने साहित्यिक विधा हो। मानिसले भोगेका सुख-दुःख, आशा-निराशा, प्रेम, पीड़ा, सङ्घर्ष, प्रकृति, समाज र समयका विविध पक्षहरूलाई शब्दमा सौन्दर्यपूर्ण ढङ्गले उतार्ने कला नै कविता हो। सामान्य भाषाले भन्न नसक्ने संवेदनालाई बिम्ब, प्रतीक, उपमा, रूपक र लयको सहायताले प्रभावकारी रूपमा व्यक्त गर्ने भएकाले कविता साहित्यको अत्यन्त संवेदनशील र कलात्मक विधाका रूपमा परिचित छ। कविता केवल शब्दहरूको संयोजन मात्र होइन; यो कविको अन्तरमनको अनुभूति, जीवनप्रतिको दृष्टिकोण र सिर्जनात्मक चेतनाको अभिव्यक्ति हो। त्यसैले कविता पढ्दा पाठकले केवल अर्थ मात्र होइन, भाव, सौन्दर्य र संवेदनाको पनि अनुभूति गर्न सक्छ।
राम्रो कविता भावपूर्ण, मौलिक, प्रभावकारी र कलात्मक हुनुपर्छ। यसमा प्रयोग गरिएका शब्दहरू सहज, अर्थपूर्ण र सान्दर्भिक हुनुपर्छ। कविताले पाठकको मन छुने, सोच्न बाध्य बनाउने र कुनै न कुनै अनुभूति जगाउने क्षमता राख्नुपर्छ। कविता छन्दबद्ध वा मुक्तछन्द दुवै हुन सक्छ, तर जुनसुकै रूपको भए पनि त्यसमा स्वाभाविक लय, भाषिक सौन्दर्य र भावको गहिराइ हुन आवश्यक हुन्छ। अनावश्यक शब्दाडम्बरभन्दा अर्थगर्भित अभिव्यक्ति, सशक्त बिम्ब तथा जीवनसँग जोड़िएको यथार्थ वा कल्पनाको सन्तुलित प्रस्तुति कविताको विशेषता मानिन्छ। यसरी हृदयको संवेदनालाई कलात्मक भाषामा सौन्दर्यपूर्ण ढङ्गले अभिव्यक्त गरी पाठकको मनमा दीर्घकालीन प्रभाव पार्न सक्ने र जीवनप्रति नयाँ दृष्टिकोण दिन सक्ने रचना नै उत्कृष्ट कविता हो।
जब मेरो हातमा इन्द्रकुमार राईको नक्सा भित्रका मान्छेहरू शीर्षक कवितासङ्ग्रह पर्यो तब पढ्ने हुटहुटी जागेर आयो। सङ्ग्रहको नाम केही लामो भएपनि गज्जबको लाग्यो। सरर हेरेँ। कविताले छोयो। त्यसपछि ध्यान दिएर पढ़ेँ। पढ़िनै सकेपछि पाठकीय प्रतिकृया पनि लेख्न मन भयो। मैले लेखेको प्रतिक्रियाले लेखकलाई थप ऊर्जा मिल्छ भन्ने कुरामा विश्वस्त छु। खासमा भन्नुपर्दा एकदुई पटक कविलाई भेटेकीछु तर गहिरो चिनजान भने हैन। भेटमा कहिले कवि र कविताका कुरा भएनन। उनको स्वभाव, आचरण र व्यवहारसँग मलाई कुनै सरोकार छैन पनि। म कविता पढ्छु कवि हैन।
एकसय पन्द्र पृष्ठको पुस्तकभित्र लामा छोटा गरेर जम्मा पैतीसवटा कविता छन्। चौधौँ कविता ‘मान्छेभित्र एउटा क्रान्ति फेरि पलाओस्’ शीर्षक मात्र हेर्दा पनि विषयवस्तु, उद्देश्य र शैलीका आधारमा प्रगतिवादी चेतनाले प्रेरित मुक्तछन्द कविता हो भन्न सकिन्छ। यस कविताले समाजमा विद्यमान शोषण, दमन, अन्याय, अत्याचार, सामन्ती सोच र भ्रष्टाचारप्रति तीव्र असन्तुष्टि व्यक्त गरेको छ। कविले जनजीवनका यथार्थ समस्यालाई उजागर गर्दै परिवर्तन र क्रान्तिको आवश्यकतामाथि जोड़ दिएका छन्। शोषित र पीड़ित वर्गको पक्षमा उभिएर सामाजिक न्याय, समानता र परिवर्तनको आकाङ्क्षा व्यक्त गरिएकाले यसलाई प्रगतिवादी वा प्रगतिशील कविता भन्न सकिन्छ।
कविताहरू प्राय उस्तै भाव भएका पाइन्छन्। प्रगतिवादी मान्छे र मन, मान्छेभित्र बाँच्नपर्छु सत्य मन, यसै भन्छु ए फूल क्रान्ति गर, गरीवको पनि सपना हुन्छ, स्वार्थको जाँतोमा पिसिएका अन्जान मान्छेहरू आदि शीर्षकहरूबाट नै स्पष्ट हुन्छ कि यि कविताहरू मार्मिक, सामाजिक र प्रगतिशील विचारका छन भन्ने कुरा। कविको कलम खारिएको छ। उनी मान्छेहरूलाई जाग्न, उठ्न र केही गर्नुपर्छ भनेर कविता मार्फत सिकाउछन। ऊर्जा दिन्छन्। पठकलाई सक्रिय बनाएर राख्ने क्षमता, किताव पढ्न जोश जाँगर भर्ने बनाइरहन्छ, यस सङ्ग्रहले। विशेष गरेर भुइँ मान्छेको आवाज बोकेका कविता छन्। सबै कविताको बारेमा म यहाँ भन्दिन। किनकि पाठकले आफैले किताव पढ़ेर बुझ्नुपर्ने हुन्छ। मेरो पाठकीय प्रतिक्रिया हेरेपछि किताबको सम्पूर्ण कुरा थाहा भएको खण्डमा पाठकले पुस्तक पढ्दैनन्। त्यसैले यो पठन योग्य किताबलाई तपाईँ पाठकहरूले खोजेर पनि पढ्दा पक्कै पनि नोक्सान हुदैन।
अन्त्यमा, कुनैपनि पुस्तकमा कहिँकतै खोट त भैहाल्छ। तर पनि यस पुस्तकमा उस्तो खास केही छैन। आगामी दिनमा आउने पुस्तक यो भन्दा उत्कृष्ट आउनेमा दुईमत छैन। कविले अङ्क भन्दा पनि परिणाममा ध्यान दिनु जरुरी छ। कविको उन्नति प्रगतिका साथ यस पुस्तकका लागि बधाई अनि अरू नयाँ पुस्तकका लागि शुभकामना छ।
यहाँ तपाईंको विज्ञापन देखिन सक्छ
300 × 250 विज्ञापनका लागि सम्पर्क गर्नुहोस् →साहित्य • ०१ नोभेम्बर, २०२६
साहित्य • ०१ नोभेम्बर, २०२६
साहित्य • ०१ नोभेम्बर, २०२६