सिक्किम आइडलको अन्तरराष्ट्रिय उड़ान

देव दर्जी
• स्थानीय • ०१ नोभेम्बर, २०२६
सिक्किम आइडलको अन्तरराष्ट्रिय उड़ान

सिक्किममा 6-8 दिसम्बरसम्म फिजिकल अडिशन

गान्तोक, 31 अक्टोबरः सिक्किमको प्रतिष्ठित गायन रियालिटी शो सिक्किम आइडल तेस्रो संस्करणमा प्रवेश गरेसँगै राज्य स्तरदेखि अन्तरराष्ट्रिय स्तरमा आफ्नो नौलो यात्रा शुरु गर्न अग्रसर भएको छ। यद्यपि, उक्त प्रतियोगिताको वरिष्ठ वर्गलाई मात्रै अन्तरराष्ट्रिय स्वरूपमा आयोजन गरिने भएको छ। कनिष्ठ वर्गलाई राज्यस्तरमै आयोजन गरिनेछ।

सिक्किमलाई विश्वको सांस्कृतिक नक्सामा स्थापित गर्न, पर्यटन प्रवर्द्धन गर्न तथा प्राकृतिक सुन्दरताको अवलोकन गराउन हेतु यस प्रतियोगितालाई अन्तरराष्ट्रियस्तरमा लैजाने योजना बनाइएको आयोजक समितिले बताएको छ। शनिवार आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मुख्य कार्यक्रम सञ्चालन अधिकारी डा. मनोज राईले प्रतियोगिताका प्राविधिक पक्षहरूमाथि प्रकाश पारे। उनले भने, “सिक्किम आइडलको वरिष्ठ वर्गमा संसारका जुनै पनि क्षेत्रबाट प्रतियोगीले अंशग्रहण गर्न सक्नेछन्। आजैदेखि अनलाइन अडिशन शुरु भएको छ। फिजिकल अडिशन काठमाड़ौँ, देहरादून, गुवाहाटी र बिर्तामोड़मा 30 नोभेम्बरमा हुनेछ। सिलगढ़ी, दार्जीलिङ र कालेबुङमा 3 दिसम्बरमा आयोजन हुनेछ। सिक्किममा 6, 7 र 8 दिसम्बरमा अडिशन आयोजन गरिनेछ। सिक्किममा कनिष्ठ र वरिष्ठ वर्गका लागि एउटै स्थानमा अडिशन आयोजन हुनेछन्। हामी सिक्किमका छः वटै जिल्लामा जानेछौँ। अनलाइन अडिशन आजदेखि शुरु भएर 25 नोभेम्बरसम्म हुनेछ। त्यसपछि पाँच दिन भने प्राप्त भएका भिडियोहरू जाँच गर्नेछौँ। हामी अनलाइन अडिशनबाट छनोट भएकाहरूलाई पहिलो प्राथमिकता दिएर पछि फिजिकल अडिशन गर्नेछौँ।” वरिष्ठ वर्गमा 15 वर्षदेखि अधिक उमेर समूहका प्रतियोगीहरूले भाग लिन सक्नेछन् भने कनिष्ठ वर्गमा 14 वर्षभन्दा मुनिका प्रतियोगीले अंशग्रहण गर्न सक्नेछन्। निर्णायकहरूबारे पछि जानकारी प्रदान गरिने डा. राईले बताए।

“अनलाइन अडिशनपछि सिलगढ़ी र गान्तोकमा प्रि-मेगा अडिशन आयोजन गरिनेछ। दुईवटा प्रि-मेगा अडिशनपछि मेगा अडिशन आयोजन गरिनेछ। गान्तोकमा आयोजन हुने मेगा अडिशनमा दुवै वर्गबाट शीर्ष 16-16 जना प्रतियोगीलाई गाला चरणका लागि छनोट गर्नेछौँ। फाइनलका लागि दुवै वर्गबाट शीर्ष पाँच-पाँचजना प्रतियोगीलाई छनोट गर्नेछौँ।”

प्रतियोगीहरूले sikkimidolint@gmail.com मा अधिकतम दुई मिनटको भिडियोसहित आफ्नो सम्पर्क नम्बर र अडिशन गर्ने स्थानको जानकारी दिनुपर्नेछ। उनीहरूले +91 6296529813, +91 9475371002 नम्बरमा ह्वाट्सएपमा पनि सोही विवरण पठाउन सक्नेछन्। डा. राईले भने, “अनलाइन अडिशन गर्दा ट्र्याकमा गीत गाएर पठाउन मनाही छ। उनीहरूले विशुद्ध आफ्नो मौलिक स्वरमा गीत गाएर पठाउनुपर्नेछ। उनीहरूले चाहे केवल एउटा वाद्ययन्त्र बनाएर गीत गाएको भिडियो पठाउन सक्नेछन्।” कनिष्ठ वर्गका विजेताले 2 लाख, पहिलो उपविजेताले 1.5 लाख र दोस्रो उपविजेताले एक लाख पाउनेछन्। उनीहरूलाई सरकारको तर्फबाट सङ्गीत र शिक्षाका लागि छात्रावृत्ति पनि प्रदान गरिनेछ। वरिष्ठ वर्गका विजेताले 10 लाख, पहिलो उपविजेताले 5 लाख र दोस्रो उपविजेताले 3 लाख प्राप्त गर्नेछन्। सिक्किम आइडल तेस्रो संस्करणका संरक्षण सञ्जय दिलपाली राईले भने, “मुख्यमन्त्री पीएस गोलेले तेस्रो संस्करण अन्तरराष्ट्रियस्तरको आयोजन गर्नुपर्ने भनेका थिए। उनले हाम्रा कलाकारहरू अन्य ठाउँमा अन्तरराष्ट्रियस्तरीय प्रतियोगितामा सहभागिता जनाउन जाने गरेको बताउँदै प्रतियोगिताका लागि सिक्किममै अन्तरराष्ट्रियस्तरका पारिस्थितिकीतन्त्र रहेको र सिक्किममै अन्तरराष्ट्रियस्तरको प्रतियोगिता आयोजन गर्नुपर्ने र गर्न सकिने बताएका थिए। सिक्किममा 2019 यता कलाकारहरूले धेरै न्याय, वृद्धि र योग्य बन्ने परिवेश पाएका छन्। अब सिक्किमका प्रतियोगीहरू अन्तरराष्ट्रियस्तरका कलाकारहरूसँग जुझ्न योग्य रहेको परिकल्पनाका साथ सिक्किम आइडललाई अन्तरराष्ट्रियस्तरमा आयोजन गरिएको हो। यो मुख्यमन्त्री पीएस गोलेको मार्गदर्शन र सहयोगले सफल भएको हो।” उनले जेत्शेन डोना लामाको दृष्टान्त प्रस्तुत गरे। उनले लामा, हिस्से शेर्पा र ओजस्वी गुरुङजस्ता कलाकारहरूको सफलताका लागि सरकारले दिएको टेवामाथि प्रकाश पारे। “कलाकारहरूलाई समयमै सही बाटो देखायौँ भने उनीहरूले सिक्किमलाई विश्व मञ्चमा चिनाउने छन्”-राईले भने।

अडिशन

30 नोभेम्बरः देहरादून, गुवाहाटी, काठमाड़ौँ, बिर्तामोड़

3 दिसम्बरः सिलगढ़ी, कालेबुङ, दार्जीलिङ

6,7 र 8 दिसम्बरः सिक्किमका सबै जिल्ला

विज्ञापन यहाँ तपाईंको विज्ञापन देखिन सक्छ 728 × 90 →
विज्ञापन Hotel Gangtok Drift — Footer Banner
ब्रेकिङ