तीनकुने, काठमाडौँ
विषय प्रवेश
कविता साहित्यको सबैभन्दा प्राचीन र प्रभावकारी विधा हो। थोरै शब्दमा धेरै कुरा अटाई, मनमा लागेका अनेक उकुसमुकुसलाई शब्दमा उनेर, मनका भावनाहरूलाई आकार दिई संवाद गर्नु नै कविता हो। समयचक्र सँगसँगै कविताको इतिहास पनि निरन्तर अघि बढ्दै गएको पाइन्छ। वीरधारा, भक्तिधारा, श्रृङ्गारिक धारा, सुधारवादी धारा हुँदै आधुनिक नेपाली कविताहरूमा अहिले स्वच्छन्दतावाद, सामाजिक यथार्थवाद, प्रयोगवाद र उत्तराधुनिक चेतना झल्किन्छ। मैले बारम्बार भन्ने गरेकी छु- कविता रच्नु आफैँमा निकै कठिन कुरा हो। आख्यान वा निबन्धमा जस्तो कवितामा व्याख्या गर्ने छुट हुँदैन। उपयुक्त विम्ब र प्रतीकहरू खोज्दै, व्यक्त गर्न खोजेको भावहरू नछुटाई, सीमित शब्दमा सम्पूर्ण कुरा समेटी पाठकलाई पनि तरङ्गित पार्न सक्नु, यो सजिलो त हुँदै होइन र यस्तो मुश्किल कर्ममा लागेका कवि सफल त्यतिबेला बन्छन् जब तीनै विम्बहरूले आफ्नो सार्थक रूप पाउँछन्।
अक्षरहरूमा रमाउने जीवित खड्का मगरका कविता
कुनै तड़कभड़कबिनाको सामान्य देखिने वस्तुहरूले कहिलेकाहीँ धेरै मन लोभ्याउँछ, कहिलेकाहीँ यस्तै साधारण लाग्ने कुराहरूले नै मन मस्तिष्कमा अधिपत्य जमाउने गर्छन्। त्यस्तै सरल र तड़कभड़कबिना नै आफ्ना अक्षरका माध्यमबाट पाठकको मनमा गहिरो छाप छोड्न सफल सर्जक हुन् जीवित खड्का मगर। कलामा रमाउने, कलाको विशाल आकाशमा आफ्नो पङ्ख फिजाई निरन्तर सृजना गरिरहने जीवित खड्का मगरलाई केवल कवि भनेर चिनाउनु उनको सर्जक व्यक्तित्वलाई केही साँघुरो बनाउनु हो। उनी अक्षरहरूमा रमाउने कवि हुन्, रङ्गहरूमा विलिन हुने चित्रकार हुन्, सङ्गीतमा लिन हुँदै जादु छर्ने सङ्गीतकार पनि हुन्। काव्य, कला र सङ्गीतले उनलाई जीवित बनायो या जीवितले काव्य, कला र सङ्गीतलाई आफ्नो जीवन बनाए, त्यो कुराको हिसाब-किताब उनले आफ्नो रचना मार्फत व्यक्त गर्ने गरेका छन्।
धागो कवितासङ्ग्रह कवि जीवितको तेस्रो प्रकाशन हो। यस सङ्कलन अगावै प्रकाशित उनका कवितासङ्ग्रहहरू - अनुभूतिका चर्चाहरू (2060) र ईश्वरको खेती (2071) मैले पढ़ेकी त छैन तर धागोमा सङ्ग्रहित कविताहरूले मलाई उनको काव्यिक यात्रातिर मोहित पार्यो। उनका पूर्व प्रकाशित यी दुई सङ्ग्रह पनि म अवश्य पढ्नेछु। कवि जीवितको कवितासङ्ग्रह धागोमा 40 वटा कविताहरू सङ्ग्रहित छन् - सबै उम्दा। लामा-छोटा-अति छोटा कविताहरू यस सङ्ग्रहका निकै पठनयोग्य छन्। जन्मभूमि नेपाल भएपनि हाल अरब भूमिलाई कर्मभूमि बनाएका कविले विवश नेपाली जनताको प्रतिनिधि गर्दै आफ्ना कविताहरू मार्फत नेपाल सरकारलाई चोटिलो व्यङ्ग्य प्रहार गरेका छन्।
हाम्रो देशमा बिजुली बत्तीहरू
दिउँसै मध्यरात बाल्छन्
हाम्रो देशमा लिलामी दौरा-सुरुवालहरू
रोगी सड़क खोप्दै मोटरगाडी दगुराउँछन्।
ओ शासकहरू !
दिनहुँ यो बेरोजगारको ताँती
भोको कमिलाहरूझैँ कहिलेसम्म?
(कविताः परदेश आउनेहरूलाई)
आजको नेपालको सबैभन्दा ठूलो र तीतो यथार्थ भनेको युवा र सक्षम जनशक्तिको विदेश पलायन हो। स्वदेशमा भनेजस्तो रोजगार नपाउनु, गुणस्तरीय शिक्षाको अभाव, राजनीतिक अस्थिरता र भविष्यप्रतिको असुरक्षाका कारण दैनिक हजारौँ नेपाली देशबाट बाहिरिन बाध्य छन्। हुन त विदेशको जीवन बाहिरबाट देखिएजस्तो सहज र रमणीय त पक्कै छैन। यद्यपि, अधिकांश नेपालीका लागि विदेशको जीवन नेपालको भन्दा धेरै गुणा राम्रो साबित भइरहेको छ। श्रमको उचित कदर, सामाजिक सुरक्षा, नियम कानुनको अनिवार्य पालना, पारदर्शी व्यवस्था र जवाफदेहिता, यति भए जस्तै देश पनि विकासको बाटोतर्फ उन्मुख हुन्छ भन्ने कुरा हामी सबैलाई थाहा छ तर पनि हामी खोइ कता चुकिरहेका छौँ। समस्या के हो भन्ने थाहा हुँदाहुँदै पनि समाधानतर्फ अघि बढ्न नसक्नुको कारण के हो? जीवितका कविताहरूले यिनै प्रश्नहरूलाई बारम्बार कोट्याउँछन्।
दौरा सुरुवाल
र ढाका टोपी ढल्काएर
ठूल्दाज्यूहरू !
जब जब पाहुना भई
छिमेकमा जानुहुन्छ
तब तब
इमान र स्वाभिमानका
सबै वस्त्रहरू
उतै फुकालेर
निर्वस्त्र घर फर्किनुहुन्छ।
(कविताः निम्तो)
यो कविता कति पेचिलो छ हेर्नुहोस् त। देश हाँकेका, हाँक्ने चेष्टा गरेका सम्पूर्ण ड्राइभरहरूलाई इञ्जिन पड्किने गरी दनक दिएका छन् कविले यस कवितामा। आफ्नो व्यक्तिगत वा राजनीतिक स्वार्थका लागि देशको स्वाभिमानसँग सौदा गरेर नैतिक शून्यतालाई महानता सम्झने ती सबै ढोङ्गीहरूलाई यो कविता मैले समर्पण गरेँ। सत्तामा रहेर पनि देशको लाज बचाउन असफल तिमीहरूले जति नै ठूला कुरा गरेपनि, जति नै विपक्षी दलको खण्डन गरेपनि, सत्यको अगाडि तिमीहरूको खोक्रो आश्वासन र नालायकी इतिहासको पानाबाट मेटिने छैन। दबिएका आवाज, असन्तुष्टि र यी आलापहरू कुन दिन र कसरी प्रस्फुटन हुन्छन् भन्ने कुराको हेक्का तिमीहरूलाई छैन, सरकार।
बारुद बनाएर हामीलाई
भरुवा बन्दुकमा नखाँद्नू
तिमी जति खाँद्यै जान्छौ
हामी त्यति जोडले पड्किन्छौँ।
(कविताः बारुद)
‘सरकार’, ‘तलाउ’, ‘हिउँको आगो’, ‘फोटो’, ‘गल्ती’, यी कविताहरूमा विम्ब र प्रतीकहरू बेजोड छन्। हर कोहीले यस कविताको भावसँग सहमति जनाउनेछन्। प्रिय पाठकहरूलाई म अनुरोध गर्छु, यी कविताहरू पढ्नुहोस् र आफ्नो आवाज बुलन्द बनाउनुहोस्।
जीवितका कविताहरू सरल छन् तर भाव निकै गहकिला। सरर पढ्दा बुझिन्छ तर त्यसको प्रत्येक विम्ब अनि प्रतीकहरूलाई केलाएर पढ्ने हो भने यी कविताहरू त्यति सतही छैनन्। ‘उड्ने मान्छे’, ‘मोहन कोइराला’, ‘ईश्वरहरूको विरुद्धमा’, ‘देवताहरूको सत्ता’, ‘अग्नि परीक्षाअघि सीताको प्रतिवाद’, आदि कविताहरू गहकिला छन्, तरङ्गित पार्ने खालका छन्। समय लगाएर धैर्यका साथ पढ्नुहोस् यी कविताहरू र सोचमा लिन हुनुहोस्। आपैाँलाई प्रश्न गर्नुहोस्, मानव सभ्यतादेखिका कथनलाई मनन गर्नुहोस्। आफ्नो दृष्टिकोणमा यहाँहरूले पक्कै केही फरक महसुस गर्नुहुनेछ।
अब कुरा गरौँ ‘धागो’ कविताको। यो कविता छोटो छ। सरल छ। विम्बहरू पर्याप्त छन्। कवि भन्छन्, कुनै पनि सम्बन्धमा मनमुटाव आउनु, मतभेद हुनु स्वभाविक हो र कतिपय अवस्थामा जरुरी पनि हुन्छ। तर ती मतभेदले सम्बन्धलाई कुन दिशातर्फ लग्दैछ, सम्बन्धको त्यो धागो अल्झिएको छ वा चुँडिन लागेको छ, सो कुराको सुझबुझ सबैमा हुनुपर्दछ।
म चाहन्न
धागोलाई गाँठो पारेर धागोमै जोडौँ
त्यही धागोले स्वेटर बुन्नु छ
जसले सधैँ न्यानो दिनेछ।
(कविताः धागो)
यही सम्बन्ध र परिवारको पृष्ठभूमिमा रहेको अर्को कविता छ, ‘घर र ससाना ढुङ्गा’। यो कविताले पनि मलाई निकै छोयो। घरपरिवारको आधार भनेकै माया, विश्वास र एकअर्काप्रतिको सद्भाव हो। यीमध्ये कुनै पनि कुराको गैरहाजिरीमा सम्बन्धको जग मक्किन सक्छ र वर्षौँदेखिको अनुराग र समर्पण छिनमै निरर्थक साबित भइदिन्छ।
आजका दिनमा सम्बन्धहरू निकै नाजुक र कमजोर धरातलमा अड़िएका देखिन्छन्। असीमित विकल्पको भ्रम, अत्याधिक व्यक्तिगत स्वार्थ र सम्झौताको अभाव, भावनात्मक सुरक्षाको कमी, वचनबद्धता र जटिलताको समस्या, आदिका कारण सायद बाहिरबाट हेर्दा आकर्षक देखिने प्रेम सम्बन्ध भित्रभित्रै काँचको पर्दा जस्तै क्षणभङ्गुर बन्दै गएको छ। सायद कवि यी कविताहरू मार्फत आजका पुस्ताहरूलाई केही सुझाउ दिन खोजिरहेका छन्। सम्बन्धलाई बचाउन र अझ प्रगाढ़ बनाउन काल्पनिक पूर्णताको पछाड़ि दौड़िनुको सट्टा एकअर्काका विचारलाई सुन्नुपर्छ र कमजोरीहरूलाई स्वीकार्नुपर्छ, यस कविताको मूल आशय हो। यो कविता फगत एउटा साधारण कविता मात्र नभई मानिस र मानिसबीचको सम्बन्ध, आफ्नो माटोसँगको नाता, समाजप्रतिको उत्तरदायित्व र जीवनसँगको हाम्रो निरन्तर संवादको कथा पनि हो।
कतै उनी प्रश्न गर्छन्, कतै व्यङ्ग्य गर्छन्, कतै असहमति जनाउँछन् त कतै सम्बन्धहरू जोगाइराख्ने सानो आग्रह गर्छन्। उनका कविताहरूको सुन्दरता यही सरलतामा छ। सायद यही नै ‘धागो’को सबैभन्दा सुन्दर पक्ष हो- यसले पाठकलाई कुनै निष्कर्ष थमाउँदैन, बरु आफ्नै जीवन, आफ्ना सम्बन्ध र आफ्नै समाजलाई फेरि एकपटक नियाल्न बाध्य बनाउँछ। त्यसैले ‘धागो’ पढ़िसकेपछि पनि कतिपय कविता र तिनका विम्बहरू मनमा कतै न कतै बाँकी रहिरहे।
धागोमा जेलिएका प्रश्नहरूको उत्तर खोज्न म सायद किनाराहरूतर्पा लागेँ।
उमेश अकिञ्चनको मौलिक विम्ब र सरल शैली
नेपाली कविता आकाशमा आफ्नै मौलिक विम्ब र सरल शैलीका लागि चिनिने कवि उमेश अकिञ्चनको गद्य विधामार्फत सशक्त सिर्जना हो सायद किनाराहरू। कवि अकिञ्चनको पनि यो तेस्रो कृति हो। इन्डिगो प्रकाशनबाट 2082 मा निक्लिएको उक्त
सङ्ग्रहमा 41 वटा कविताहरू छन्। कवितामा विभिन्न विषयको प्रतिनिधित्व छ। ती केही थान कविताले अन्याय-अत्याचार विरुद्घ आवाज उठाएका छन्। त्यसरी नै उनका केही कविताले देश हाँक्ने अभिभारा बोकेर अगाड़ि बढ़ेको नयाँ सरकारलाई बाटो नबिराउन सचेत गराएका छन्। कमल नारीविम्बः कालो पोखरी समाजमा, बदनाम बाटो, किनारीकृत प्रश्न, प्रिय पाइलाहरू, मोटरसाइकलमा डाइनोसर यी कविताहरू अब्बल दर्जामा पर्दछन्। त्यसैगरी सायद किनारामा केही प्रेमिल कविताको पनि प्रतिनिधित्व छ। जस्तै- प्रिय (श्री) कविता, मुस्ताङ मोन्टाज, बेजिङको बतास आदि इत्यादि। सायद किनाराले सबैभन्दा धेरै त देशकै नाममा, सिमानाका नाममा, प्रकृतिकै नाममा एकसेएक कविताहरू बोकिबसेको छ। खोलानाला, झरी, बतास, आँधी, रुख, पहाड़ यस्तै यस्तै शीर्षकमा लेखिएका उनका कविताले पाठकलाई आफ्नै अतीतमा दौडाउँछ। अझ प्रष्ट भनौँ, तपाईँ पाठकहरूलाई मनपर्ने शब्द छ नी ‘नोस्टाल्जिक’। हो त्यै नोस्टाल्जिक बनाउँछ। पेटको लागि जन्मभूमिलाई मुटुमा गाँठो पारी देश छोड्नेहरूको नाममा लेखिएको कविताले मलाई मात्र होइन यहाँहरूलाई पनि हुरुक्क पार्छ। चरा भएको भएँ (यो कवितामा भएँ हो या भए हो कविसँग बुझ्नुहोस् ल) त्यसैगरी बदनाम बाटो उस्तै बेजोड़ लाग्यो। ब्यारेकको रुख, अनन्त आलापहरू सबै राम्रा छन्। चार पाँचवटा कविता चैँ मलाई उही फर्सीको जरा झैँ लागे। धेरै कविता लेखेपनि तिमीलाई यै एउटा नबुझिने कविताले अमर बनायो मोहन कोइराला। के थाहा ! भोलि तिमीले जस्तै कुनै नयाँ कविले पनि गद्यको संसारमा आफ्नो नाम सुरक्षित गर्न पनि त सक्छन्। त्यहाँ उमेश अकिञ्चनको कविता पनि हुन सक्छ, नयनराजको, खुपेनको, जीवितको, अभयको,सुनिता राई कपालिक, मन्दिरा मधु, सिमा आभाष, एलिसा एकलास जस्ता धेरै कविहरू छन् नेपालमा, तिनीहरूमध्ये जो पनि त पर्न सक्छ।
मलाई असाध्यै मन परेको केही कविताहरूमा ‘बदनाम बाटो’ पनि एउटा हो। यो कविता अत्यन्तै अर्थपूर्ण र प्रतीकात्मक छ। यस कविताले जीवनको यात्रा, स्मृति र मानवीय सम्बन्धका उतारचढ़ावलाई केलाएको छ। कवितामा बाटो एउटा विम्ब हो, हिँड्ने सड़क मात्र नभइकन मानव जीवनको यात्रा र गन्तब्यलाई बोकेर बाटो शब्द हिँड़ेको छ। हुन त, कविता यस्तो विधा हो, जसलाई प्रत्येक आँखाले भिन्दाभिन्दै अर्थ लगाउन सकिन्छ। कविले कुन अवस्थामा रचेको हुन्छ, त्यसलाई पाठकले अर्थ्याउँदा कविलाई चित्त नबुझ्न पनि त सक्छ। मान्छेको विचार फरक हुन्छ र सोचाइमा भिन्नता हुन्छ। मैँले पनि अकिञ्चनका कवितालाई पूर्णरूपमा न्याय दिन नसकुँला त्यहाँनेर मलाई अदना सम्झेर माफ गर्नुहोला।
साँझ खस्दै गरेको बेला
कविताहरू
भट्टीका हरिया पर्दाहरूमा ओर्लिन्छन् ....
युग बदल्न हिँडेको युवा
कायर बनेर हल्लिरहनेछ बोतलहरूमा
बोलिरहनेछ सत्यको भाषामा
असत्यझैँ सुनिने बर्बराहटहरू
यो समयको हिट कवि
हराउनेछ हुस्सुको सेतो पर्दामा....
किनकी
कवि कहलिन पनि चाहिन्छ यो देशमा
राजनीतिक दलको झण्डामुनि झुकिरहन सक्ने
अद्भुत योग्यता !
(कविताः बदनाम बाटो)
यो कविताले राजनीतिकर्मीलाई विशेषगरी नेतालाई सम्बोधन गरेको छ। गल्ती नदोहोरियोस्, देश बाँचोस् भन्ने कामना छ कविको।
केही कविताले जीवनका सुन्दर पलहरू, सफलताहरू र यो संसारको भौतिक सौन्दर्यलाई बुझाउँछ, जसलाई एकदिन सबैले छोड़ेर जानु नै पर्छ। उक्त कविताले मानिसलाई आफ्नो अहङ्कार त्यागेर जीवनको अन्तिम सत्यलाई सहज रूपमा स्विकार गर्ने प्रेरणा दिन्छ। फूलको पहाड़ विम्बले मानिसप्रति यस्तो भाव जगाउँछ, जीवनभर कमाएको धनसम्पत्ति, इष्टमित्र, सम्बन्ध जे-जे छ ती सबै भौतिक वस्तु नाशवान हुन् तर मानिसले छोड़ेका कृतिको सुवास सधैँ बाँचिरहन्छन्। जस्तै शब्द, विचार, सिर्जना यी कुराहरू पृथ्वी रहुञ्जेल बाँचिरहन्छन्, रहिरहन्छन् भन्ने कुरा अर्थ्याएका छन् कविले यहाँ। मानव शरीर नरहेपनि कर्म कहिल्यै मर्दैन भन्छन् कवि। जीवनको शाश्वत सत्य बोकेको यो रचना उत्कृष्टमा पर्दछ।
फूलको पहाड़ बिसाएर जाँदैछु
यी लेख्दै गरेका कविताका पाना पल्टाएर
बहिरहनेछ बतास
सम्झनु
हावामा मिसिएको हुनेछ
मेरो रोकिएको आवाज
(कविताः अक्षर इच्छा)
समकालीन नेपाली कवितामा पहाड़को भौगोलिक सौन्दर्यको चित्रण गर्ने अकिञ्चनको अर्को कविता- ‘पुरानो पहाड’ कविता मात्र नभएर यो बदलिँदो नेपालको सामाजिक, सांस्कृतिक र राजनीतिक इतिहासको काव्यात्मक दस्तावेज हो। कविताले पहाड़लाई समयको साक्षी बनाउँदै आदिवासी अस्मिता, बसाइँसराई, जनयुद्घपछिको मोहभङ्ग र स्मृतिको निरन्तरताबारे गम्भीर प्रश्न उठाउँछ। यस अर्थमा ‘पुरानो पहाड़’ एउटा स्मृतिस्थल (मेमोरी साइट) हो, जहाँ इतिहासका अनेक तहहरू एकैसाथ उपस्थित छन्।
‘किपट खोसिएको याक्थुम्बा, पगरी खोसिएको किरात जाती’ यी वाक्यले पाठकलाई सिधै पहिचानको राजनीतितर्फ लैजान्छ। किपटले कवितामा भूमिलाई मात्र दर्शाएको नभइकन; यो लिम्बू समुदायको ऐतिहासिक स्वामित्व, आत्मनिर्णय र सांस्कृतिक अस्तित्वलाई उजागर गरेको जस्तो लाग्छ। त्यसैगरी पगरी शब्द सम्मान, सामाजिक गरिमा र ऐतिहासिक स्वाभिमानको बिम्ब हो। यी दुई प्रतीकको प्रयोगले कविले राज्य इतिहास र समुदायबीच को जटिल सम्बन्धलाई सूक्ष्म तर प्रभावकारी ढङ्गले प्रस्तुत गरेका छन्। कवितामा सिङ्गो प्रकृति हाँसेको छ। तीतेपाती, अलैँचीका बोट, कान्ला, त्यस्तै गरेर पुराना पहाड़ जस्ता बिम्बहरू सांस्कृतिक स्मृतिका वाहक हुन्। अलैँचीका बोटहरू छोड़ेर गाउँबाट हिँड्नु केवल उज्यालोको खोजीमा निक्लनु मात्र होइन; त्यो आफ्नो जीवनपद्घति, भाषा, संस्कार र पुर्ख्यौली सम्बन्धबाट टाढ़िनु पनि हो। यसरी कविताले विस्थापनलाई भौतिकभन्दा बढ़ी सांस्कृतिक घटनाका रूपमा प्रस्तुत गर्छ।
बाँदरले दुःख दिएका कारण उठेको बस्ती भन्ने यस कविताको पङ्क्ति उल्लेखनीय छ। सतहमा हेर्दा यो कृषिको समस्या जस्तो देखिएपनि यसको गहिरो अर्थ ग्रामीण संरचनाको विघटन हो। खेत बाँझा छन्, मानिसहरू गाउँ छाड्दैछन् र त्यसको असर प्रकृति तथा मानव सम्बन्धमा समेत देखिएको छ। यो बाँदर आतङ्कको विषय हाल संसदमा बहसको विषय बन्यो तर यो समस्यालाई कसरी निरुपण गर्ने भन्ने कुनै उपायहरू निष्कर्षमा पुगेन। कविताले कुनै घोषणात्मक शैली अवलम्बन नगरे पनि शब्दमार्फत पीड़ित समाजको आवाज उठाउन सफल भएको छ। यस्तैगरी साहित्य मार्फत सानो दृश्यबाट ठूलो सामाजिक परिवर्तन ल्याउन सकिन्छ। जनयुद्घसम्बन्धी अंश पुरानो पहाड़ कविताको अर्को महत्वपूर्ण पक्ष हो।
जिन्दगीका अटोग्राफमा लेखिएका
क्रान्तिकारी शब्दहरूलाई सुस्तरी सम्झिरहेका
भेटिन्छन्
जनयुद्घ लड़ेका सिपाहीहरू
(कविताः पुरानो पहाड)
यहाँ कविले जनयुद्घको समर्थन वा विरोध गरेका छैनन्। बरु, इतिहास निर्माण गर्ने आकाङ्क्षा बोकेका मानिसहरूको वर्तमान अवस्थालाई अत्यन्त मानवीय दृष्टिले हेरेका छन्। अटोग्राफ शब्दले जीवनमा अमिट छाप छोड़ेका विश्वास र आदर्शलाई अहिले सम्झनामा बाँचेका छन् भन्ने बुझाउँछ। अचेल यता आइपुग्दैन पार्टी हेडक्वाटरको नयाँ घोषणा भन्ने पङ्क्तिले केन्द्र र सीमान्तबीचको सम्बन्धलाई प्रश्न गर्छ। परिवर्तनका नारा गाउँसम्म नपुग्ने तर बजार र बाह्रय प्रभाव भने पुग्ने विडम्बनालाई उक्त कविताले तीक्ष्ण व्यङ्ग्य प्रहार गरेझैँ लाग्छ। रक्सौलबाट केही अपरिचित अनुहारहरू भन्ने विम्बले सीमापार ब्यापार, बजार अर्थतन्त्र र बदलिँदो सामाजिक सम्बन्धको सङ्केत गर्छ। कविताको अन्तिम अंश- विगत हिँड़ेका बाटोमा अझै छ घामको चित्र×छैनन् त केवल समयका छायाहरू यहाँ कविलाई म दार्शनिक पाउँछु। ‘घामको चित्र’ आशा, उर्जा र स्मृतिको प्रतीक हो। ‘समयको छायाहरू’ हराइसक्नुले विगत फर्केर आउँदैन भन्ने सत्यलाई स्वीकार गर्छ। स्मृति बाँच्छ तर समय पुनः प्राप्त हुँदैन। यही वाक्यले कवितालाई गहिरो बनाएको छ।
शिल्पका दृष्टिले सायद किनाराहरू भित्रका 41 वटा कविताहरू मुक्त छन्दमा आधारित छन्, भाषा सरल छ तर प्रतीकहरू बहुस्तरीय छन्। कविले पाठकलाई अर्थ निर्माण गर्ने स्वतन्त्रता दिएका छन्। समकालीन नेपाली कवितामा उमेश अकिञ्चनले आफ्नो छुट्टै काव्य पहिचान निर्माण गरेका छन्। उनको काव्ययात्रा कुनै चर्को वैचारिक घोषणाभन्दा अनुभूतिको गहिराइ, जीवनप्रतिको इमान्दार दृष्टि र समयको सूक्ष्म अवलोकनमा आधारित छ। ‘सायद किनाराहरू’ समकालीन नेपाली कवितामा समय, स्मृति, पहिचान, विस्थापन र मानवीय अस्तित्वको गहिरो खोज गर्ने उल्लेखनीय कृतिका रूपमा उभिन्छ। कवि अकिञ्चनले सामान्य जीवनका दृश्यहरूलाई असाधारण - काव्य अनुभूतिमा रुपान्तरण गर्दै आफ्नो विशिष्ट काव्य स्वर स्थापित गरेका छन्। कवितामार्फत थाहा पाइन्छ उनका मनका छटपटीलाई ...। भ्यालेन्टाइन डे को नाममा निक्लिएको उकुसमुकुस ‘मुटुभित्रको मुटु’ कवितामा पोखिएको छ यसरी-
मौसमले सिगरेट तानिरहेको छ
थामेको छु पुरानो कोटले जाड़ो
फेब्रुअरी 14 आएर जान्छ
प्रत्येक वर्ष
टाँगेर मेरो मुटु आकाशमा॥
प्रिय पाठक मित्रहरू ! माथिको एक टुक्रा कविता यहाँलाई लोभ्याउन मात्र राखेकी हुँ। यस्तै मीठा मीठा कविता पढ्न मन छ भने कवि अकिञ्चन र कवि जीवितलाई नबिर्सनोस् ल!
यहाँ तपाईंको विज्ञापन देखिन सक्छ
300 × 250 विज्ञापनका लागि सम्पर्क गर्नुहोस् →साहित्य • ०१ नोभेम्बर, २०२६
साहित्य • ०१ नोभेम्बर, २०२६
साहित्य • ०१ नोभेम्बर, २०२६