गान्तोक, 24 सेप्टेम्बर (आईपीआर): तीनदिने राज्यस्तरीय इन्द्रजात्रा उत्सवको दोस्रो दिन अर्थात् बिहीवार गान्तोकको एमजी मार्गमा पालन गरियो। यस अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रममार्फत नेवार समुदायको समृद्ध कला, संस्कृति र परम्पराको प्रदर्शन गरियो।
कार्यक्रमको शुरुआत रानीपुलदेखि सिच्छेसम्म बाइक र्यालीबाट भयो, जुन बारपिपलस्थित सिक्किम नेवाः गुथि भवनमा पुगेर टुङ्गियो। ़र्याली गान्तोकका विभिन्न भाग हुँदै गुथि भवनमा पुगेर सम्पन्न भयो।
एमजी मार्गमा आयोजित मुख्य कार्यक्रममा गान्तोक नगर निगमकी मेयर छिरिङ पाल्देन भोटिया मुख्य अतिथिका रूपमा उपस्थित रहेकी थिइन्। सभालाई सम्बोधन गर्दै मेयरले सामूहिक धिमे नृत्य प्रस्तुतिले इण्डिया बुक अफ् रेकर्ड्समा स्थान पाएकोमा आयोजक र सहभागीहरूलाई बधाई दिइन्। मुख्यमन्त्री पीएस गोलेको एकीकृत तथा प्रगतिशील सिक्किमको परिकल्पनाको चर्चा गर्दै उनले एकता र भाइचाराको भावना अभिवृद्धि गर्दै सबै समुदायको सांस्कृतिक सम्पदाको संरक्षण गर्नुको महत्त्वमाथि जोड़ दिइन्। उनले यस्ता पहलहरूले सांस्कृतिक चेतना बलियो बनाउन र युवा पुस्तालाई आफ्ना परम्पराहरूसँग जोड़िरहन प्रोत्साहित गर्न मद्दत गर्ने बताइन्।
कार्यक्रमको मुख्य आकर्षण सिक्किम नेवाः गुथिका 110 जना सहभागीहरूद्वारा प्रस्तुत सामूहिक धिमेनृत्य थियो। चेतन प्रधान र उनको समूहको नेतृत्वमा प्रस्तुत गरिएको नेवार समुदायको यो परम्परागत धिमे नृत्यले इण्डिया बुक अफ् रेकर्ड्समा मान्यता प्राप्त गर्यो। रेकर्ड मान्यता प्रक्रियाको एक भागको रूपमा सीआईआई सिक्किमका अध्यक्ष तथा माउन्ट जायन एजुकेशनल ट्रस्टका संस्थापक सोनी विर्धीले उक्त प्रस्तुतिको औपचारिक अवलोकन र प्रमाणीकरण गरे।
यसअघि, इन्द्रजात्रा उत्सव समिति-2026 की सदस्य चित्रलेखा प्रधानले स्वागत सम्बोधन राखिन् भने समितिका उपाध्यक्ष उत्तम शाक्यले इन्द्रजात्राको महत्त्वबारे प्रकाश पार्दै 2026 को उत्सवको रूपरेखा प्रस्तुत गरे।
उत्सवमा धिमे वादन, परम्परागत नृत्य तथा गायन प्रतियोगिता र अन्य सांस्कृतिक प्रस्तुतिहरू सामेल थिए। सिक्किम नेवाः गुथिका उपाध्यक्ष भाजु महेन्द्र प्रधानले धन्यवाद ज्ञापन गरेसँगै कार्यक्रमको समापन भयो। सिक्किम नेवाः लोक ब्याण्डद्वारा प्रस्तुत साँझको साङ्गीतिक कार्यक्रमले उत्सवको माहोललाई अझ रमाइलो बनायो।
यस अवसरमा उपमेयर सारा लामा, एमजी मार्गका पार्षद् सन्दीप मालु, सिक्किम नेवाः गुथिका प्रतिनिधि तथा सदस्यहरूका साथै अन्य विशिष्ट व्यक्ति र समुदायका सदस्यहरूको पनि उपस्थिति थियो।
यहाँ तपाईंको विज्ञापन देखिन सक्छ
300 × 250 विज्ञापनका लागि सम्पर्क गर्नुहोस् →स्थानीय • ०१ नोभेम्बर, २०२६
स्थानीय • ०१ नोभेम्बर, २०२६
स्थानीय • ०१ नोभेम्बर, २०२६