विविध सांस्कृतिक कार्यक्रमका साथ तीनदिने बलिहाङ तोङ्नाम पर्व समाप्त

हिमाली बेला
• स्थानीय • ०१ नोभेम्बर, २०२६
विविध सांस्कृतिक कार्यक्रमका साथ तीनदिने बलिहाङ तोङ्नाम पर्व समाप्त

गेजिङ, 1 नोभेम्बरः गत 30 अक्टोबरदेखि भव्य रूपमा शुरु भएको तीनदिने बलिहाङ तोङ्नाम पर्व आइतवार विविध सांस्कृतिक तथा परम्परागत कार्यक्रमका साथ सफलतापूर्वक समापन भएको छ। लिम्बू समुदायको मौलिक संस्कृति, परम्परा, भाषा तथा पहिचानलाई संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजन गरिएको उक्त पर्वमा विभिन्न क्षेत्रबाट आएका अतिथि, प्रतिनिधि तथा समुदायका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

तीनदिने यस पर्वको समापन समारोहमा भवन तथा आवास विभागका मन्त्री भीमहाङ सुब्बा मुख्य अतिथिका रूपमा उपस्थित रहेको थियो। उनको साथमा राज्य सरकारका विभिन्न बोर्ड तथा विभागका सल्लाहकार, अध्यक्ष, ओएसडीलगायत विभिन्न स्थानबाट उपस्थित लिम्बू सङ्घ-संस्थाका प्रतिनिधिहरूको विशेष उपस्थिति रहेको थियो। कार्यक्रमको क्रममा बलिहाङ तोङ्नाम पर्वलाई सफल बनाउन विभिन्न तौरबाट सहयोग पुर्‍याउने व्यक्तित्वहरूलाई आयोजक समितिको तर्फबाट सम्मान जनाइयो। पर्वको आयोजन तथा व्यवस्थापनमा योगदान पुर्‍याउने व्यक्तिहरूको कदर गर्दै सम्मान प्रदान गरिएको छ।

समारोहलाई सम्बोधन गर्दै मुख्य अतिथि मन्त्री भीमहाङ सुब्बाले बलिहाङ तोङ्नाम पर्व वर्तमान सरकारको आगमनपछि थप उत्साह र भव्यताका साथ मनाइन थालेको उल्लेख गरे। उनले लिम्बू समुदायको जातीय तथा सांस्कृतिक पर्वका रूपमा परिचित बलिहाङ तोङ्नामलाई समुदायको सीमाभित्र मात्र सीमित नराखी सम्पूर्ण सिक्किमवासीको साझा पर्वका रूपमा अघि बढ़ाउनुपर्ने आवश्यकता औँँल्याए।

उनले यस्ता पर्वहरूले कुनै एक समुदायको संस्कृति र परम्परालाई मात्र प्रतिनिधित्व नगरी राज्यको समग्र सांस्कृतिक विविधता र सामाजिक एकतालाई बलियो बनाउने धारणा व्यक्त गरे। सिक्किम विभिन्न जातजाति, भाषा, धर्म र संस्कृतिले भरिपूर्ण राज्य भएकाले प्रत्येक समुदायको मौलिक परम्पराको संरक्षण गर्नु सबैको साझा जिम्मेवारी रहेको उनले बताए। यसैगरी मन्त्री सुब्बाले राज्यमा रहेका माङ्हिमहरूको संरक्षण, पुनर्निर्माण तथा सौन्दर्यीकरणका विषयमा पनि आफ्नो धारणा व्यक्त गरे।

विगतमा उचित संरक्षण र व्यवस्थापनको अभावमा जीर्ण तथा लथालिङ्ग अवस्थामा रहेका माङ्हिमहरूलाई वर्तमान सरकारले व्यवस्थित, सुन्दर र आकर्षक बनाउने दिशामा काम गरिरहेको मन्त्री सुब्बाले बताए। धार्मिक तथा सांस्कृतिक सम्पदाहरूको संरक्षणले भावी पुस्तालाई आफ्नो इतिहास, आस्था र परम्परासँग जोड़िराख्न महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो।

तीनदिने पर्वको अवसरमा लिम्बू समुदायको मौलिक कला, संस्कृति र परम्परालाई झल्काउने विभिन्न सांस्कृतिक प्रस्तुतिहरूले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो। कार्यक्रममा धान नाच, च्याब्रुङ नृत्य, तामोखे, हाक्पारे, साम्लोलगायतका परम्परागत सांस्कृतिक प्रस्तुति प्रस्तुत गरियो। यस्ता प्रस्तुतिमार्फत नयाँ पुस्तालाई आफ्नो पुर्ख्यौली संस्कृति, मौलिक नृत्य, सङ्गीत तथा परम्परासँग परिचित गराउने प्रयास गरियो।

विशेष गरी धान नाच र च्याब्रुङ नृत्यले लिम्बू समुदायको सांस्कृतिक पहिचान र सामाजिक जीवनशैलीलाई उजागर गर्‍यो। त्यस्तै हाक्पारे तथा साम्लो जस्ता मौलिक सांस्कृतिक प्रस्तुतिले समुदायको ऐतिहासिक परम्परा र सांस्कृतिक सम्पदाको महत्त्वलाई थप प्रस्ट पारेको थियो। बलिहाङ तोङ्नाम केवल मनोरञ्जन र उत्सवमा सीमित नभई लिम्बू समुदायको इतिहास, पहिचान, मौलिकता र पुर्ख्यौली परम्परालाई जीवन्त राख्ने महत्त्वपूर्ण अवसरका रूपमा लिइन्छ। पुस्तान्तरण हुँदै आएको भाषा, भेषभूषा, नृत्य, सङ्गीत तथा सामाजिक मूल्य-मान्यताको संरक्षणमा यस्ता पर्वहरूको विशेष महत्त्व रहने गरेको छ।

तीन दिनसम्म चलेको यस पर्वले लिम्बू समुदायका विभिन्न सङ्घ-संस्था तथा प्रतिनिधिहरूलाई एउटै साझा मञ्चमा जोड्नुका साथै आपसी सद्भाव, एकता र सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउने अवसर प्रदान गरेको छ। विविध सांस्कृतिक कार्यक्रम तथा सम्मान समारोहका साथ सम्पन्न भएको बलिहाङ तोङ्नाम पर्वले सिक्किमको बहुसांस्कृतिक पहिचानलाई थप उजागर गरेको छ।

विज्ञापन यहाँ तपाईंको विज्ञापन देखिन सक्छ 728 × 90 →
विज्ञापन Hotel Gangtok Drift — Footer Banner
ब्रेकिङ