यमन, 19 सेप्टेम्बरः इरानसमर्थित हुथी विद्रोहीको आक्रमण तीव्र भएपछि यमनमा एक लाख 25 हजारभन्दा बढ़ी मानिस विस्थापित भएका छन्। लाल सागरको तट हुँदै रणनीतिक समुद्री मार्गतर्फ हुथीहरू अघि बढ़ेपछि सर्वसाधारणले घर छाड़ेर सुरक्षित स्थानतर्फ पलायन हुनुपरेको हो। चार महिनाकी गर्भवती इशराक अब्देल जलिल र उनका श्रीमान् मोहम्मद थाबेट पनि विस्थापित हुने मध्येका एक हुन्। हुथी लड़ाकु नजिकिँदै गएपछि उनीहरूले पाँच किलोमिटर पैदल यात्रा गरेपछि पहाड़ी बाटो हुँदै करिब 60 किलोमिटर सवारी साधनमा यात्रा गरी दक्षिण पश्चिमी सहर ताइज पुगेका थिए। थाबेटका अनुसार पछिल्लो लड़ाइँ सन् 2017 को द्वन्द्वभन्दा पनि भीषण थियो। घर नजिकै गोलाबारी भइरहेको थियो र विस्फोटका छर्रा उड़िरहेका थिए, उनले भने।
ताइज पुगेपछि चिकित्सकले गर्भमा रहेको बच्चा तल सरेको जानकारी दिएपछि अब्देल जलिल थप चिन्तित भएका छन्। यसअघि पनि सोही अवधिमा उनको गर्भपतन भएको थियो। अहिले उनीहरू विस्तारित परिवारसँग एउटै घरमा बसिरहेका छन् र दिनमा दुई पटक मात्र खाना खान सक्ने अवस्थामा छन्। थाबेटकी बहिनीले एक महिनाभन्दा बढ़ी समयदेखि मधुमेहको औषधि किन्न नसकेको उनले बताए। उनकी बहिनी र दुई छोरीमा रक्तअल्पताको जोखिम बढ़ाउने रक्तसम्बन्धी समस्या रहेको पनि उनले बताए। संयुक्त राष्ट्रसङ्घको मानवीय मामिला हेर्ने निकायका अनुसार पछिल्लो लड़ाइँमा आठ सर्वसाधारणको मृत्यु भएको र 32 जना घाइते भएका छन्। युनिसेफका अनुसार विस्थापितमध्ये 57 हजारभन्दा बढ़ी बालबालिका छन्।
यो यमनले विगत केही वर्षमा देखेको सबैभन्दा तीव्र र अस्थिर विस्थापनको लहरमध्ये एक हो, यमनका लागि युनिसेफ प्रतिनिधि ओबिया अचिएङले भने। उनका अनुसार परिवार प्रायःरातको समयमा अत्यन्तै कम वा कुनै पूर्वसूचनाबिना घर छाड्न बाध्य भएका छन्। यमनमा सन् 2014 मा हुथीहरूले राजधानी साना र उत्तरी भू-भागको ठूलो हिस्सा नियन्त्रणमा लिएपछि गृहयुद्ध शुरु भएको थियो। त्यसको अर्को वर्ष साउदी अरबले अन्तरराष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारको समर्थनमा सैन्य हस्तक्षेप गरेको थियो। सन् 2022 को युद्धविरामपछि लड़ाइँ केही हदसम्म रोकिएको भए पनि पछिल्लो समय पुनः चर्किएको हो। संयुक्त राष्ट्रसङ्घका अनुसार पछिल्लो द्वन्द्व सुरु हुनुअघि नै करिब 50 लाख यमनी गम्भीर खाद्य असुरक्षाको सामना गरिरहेका थिए। सहायता संस्थाले विस्थापितलाई खाद्य सामग्री, खानेपानी, सरसफाइका सामग्री, स्वास्थ्य सेवा र अस्थायी आवासको तत्काल आवश्यकता रहेको बताएका छन्। केही विस्थापित 16 घण्टाभन्दा बढ़ी पैदल हिँड़ेर ताइज पुगेको र कतिपय बालबालिकामा कुपोषणका लक्षण देखिएको सहायता संस्थाले जनाएका छन्।
यहाँ तपाईंको विज्ञापन देखिन सक्छ
300 × 250 विज्ञापनका लागि सम्पर्क गर्नुहोस् →अन्तर्राष्ट्रिय • १४ अक्टोबर, २०२६
अन्तर्राष्ट्रिय • १३ अक्टोबर, २०२६
अन्तर्राष्ट्रिय • १२ अक्टोबर, २०२६