मादुरोको अपदस्तपछि भेनेजुएलामा ३९ राजबन्दी रिहा

हिमाली बेला
• अन्तर्राष्ट्रिय • २७ सेप्टेम्बर, २०२६
मादुरोको अपदस्तपछि भेनेजुएलामा ३९ राजबन्दी रिहा

काराकास, 27 सेप्टेम्बरः भेनेजुएलामा अन्तरिम सरकार र विपक्षीबीच भएको दोस्रो चरणको वार्तापछि ३९ जना राजबन्दी रिहा भएका छन्।

मानवअधिकार संस्था जस्टिसिया, एन्कुएन्त्रो यी पेर्दोन (जेईपी) अनुसार शुक्रवार र शनिवार विभिन्न जेलबाट ३९ जना राजनीतिक अभियन्ता तथा असन्तुष्टलाई रिहा गरिएको हो।

रिहा हुनेमा सन् २०२१ मा ‘नार्को–आतङ्कवाद’-को आरोप लागेका आठ महिला र सन् २०२० मा तत्कालीन राष्ट्रपति निकोलास मादुरोलाई सत्ताच्युत गर्ने प्रयासमा अमेरिकासँग सहकार्य गरेको आरोप लागेका छः जना पनि छन्।

जेईपीले सामाजिक सञ्जाल एक्समा जारी विज्ञप्तिमा अझै जेलमा रहेका सबै राजनीतिक बन्दीको पूर्ण स्वतन्त्रताको माग जारी राख्ने जनाएको छ।

रिहाइ शुक्रवार अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेज नेतृत्वको सरकार र विपक्षीबीच भएको दोस्रो चरणको वार्तापछि भएको हो।

रोड्रिगेज मादुरो सरकारकी पूर्वउपराष्ट्रपति हुन्। जनवरीमा अमेरिकाले मादुरोलाई सैन्य कारबाहीमार्फत सत्ताबाट हटाएपछि वाशिङ्टनको स्वीकृतिमा सरकार र विपक्षीबीच वार्ता हुँदै आएको छ।

यसअघि अगस्तमा भएको पहिलो चरणको वार्तामा विदेशमा रोक्का गरिएका भेनेजुएलाका रकम फिर्ता ल्याउने तथा न्याय प्रणालीमा सुधार गर्ने विषयमा छलफल भएको थियो।

उक्त रकम जूनमा गएको भुइँचालोबाट भएको क्षतिको पुनर्निर्माणमा प्रयोग गर्ने योजना छ। सो भुइँचालोमा ६३०० भन्दा बढ़ी मानिसको मृत्यु भएको थियो।

अमेरिकाको दबाउपछि रोड्रिगेजले फरवरीमा आममाफीसम्बन्धी कानून लागू गरेकी थिइन्। तर, राजनीतिक बन्दी रिहाइको प्रक्रिया अपेक्षाकृत सुस्त रहेको अधिकारवादी समूहहरूको भनाइ छ।

राजनीतिक बन्दीको अवस्था निगरानी गर्ने अधिकारवादी संस्था फोरो पेनालका अनुसार १८ सेप्टेम्बरसम्म भेनेजुएलामा ३४४ जना राजनीतिक बन्दी थिए।

१० अगस्तमा यो सङ्ख्या ३९१ थियो। त्यसबेला सरकारले छुट्टै ‘वैकल्पिक उपाय’ कार्यक्रमअन्तर्गत १३१ जनालाई रिहा गरेको जनाएको थियो।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले यसअघि मादुरोलाई सत्ताबाट हटाइएपछि १00 भन्दा बढ़ी भेनेजुएली रिहा भएको बताएका थिए। उनले त्यसलाई देशमा मेलमिलापका लागि ‘महत्त्वपूर्ण कदम’ भनेका थिए।

राजनीतिक बन्दीका परिवारहरूले भने आफ्ना आफन्तको रिहाइको माग गर्दै काराकासस्थित अमेरिकी दूतावास र एल रोडेओ–१ जेलबाहिर निरन्तर प्रदर्शन गर्दै आएका छन्।

अधिकारवादी संस्थाहरूले एल रोडेओ–१ लाई यातनाका घटना हुने जेलका रूपमा वर्णन गर्दै आएका छन्।

विज्ञापन यहाँ तपाईंको विज्ञापन देखिन सक्छ 728 × 90 →
विज्ञापन Hotel Gangtok Drift — Footer Banner
ब्रेकिङ