मुख्यमन्त्रीद्वारा लुङ्चोकमा आयुर्वेद तथा आरोग्य केन्द्रको शिलान्यास

हिमाली बेला
• स्थानीय • १६ अक्टोबर, २०२६
मुख्यमन्त्रीद्वारा लुङ्चोकमा आयुर्वेद तथा आरोग्य केन्द्रको शिलान्यास

केन्द्रले सिक्किमलाई आरोग्य पर्यटनको प्रमुख गन्तव्यको रूपमा विकास गर्नेछः गोले

  • ‘रोग रोकथाममा आधारित स्वास्थ्य सेवा र जनहितका लागि राज्य सरकार प्रतिबद्ध’

  • सरकारले आमा सशक्तिकरण योजना अझ धेरै लाभग्राहीसम्म विस्तार गर्ने योजना बनाएको मुख्यमन्त्रीको दाबी

  • उनले केन्द्रको सञ्चालनका लागि स्थानीय जनशक्ति विकास गर्नु महत्त्वपूर्ण रहेको बताए

  • मुख्यमन्त्रीले सिक्किम गरीब आवास योजनाअन्तर्गत आवासहरू छिट्टै लाभग्राहीलाई हस्तान्तरण गरिने दिए जानकारी

गान्तोक, 15 अक्टोबरः सिक्किमको स्वास्थ्य सेवा तथा आरोग्य पर्यटनलाई नयाँ उँचाइमा पुर्‍याउने लक्ष्यका साथ मुख्यमन्त्री पीएस गोलेले बिहीवार छुजाचेन निर्वाचन क्षेत्रअन्तर्गत लुङ्चोकमा होलिस्टिक इन्स्टिट्युट अफ् आयुर्वेद एण्ड वेलनेस सेन्टरको शिलान्यास गरेका छन्। 600 करोड़ रुपियाँभन्दा अधिक लागतमा निर्माण गरिने प्रस्तावित परियोजनाले राज्यको स्वास्थ्य क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। प्रस्तावित केन्द्रले आयुर्वेद, पञ्चकर्म, योग, ध्यान तथा समग्र उपचार पद्धतिलाई एकीकृत गर्दै नागरिकलाई व्यापक स्वास्थ्य सुविधा उपलब्ध गराउने लक्ष्य राखेको छ। यसले परम्परागत चिकित्सा पद्धतिको प्रवर्द्धनसँगै सिक्किमलाई आरोग्य पर्यटनको प्रमुख गन्तव्यका रूपमा विकास गर्न तथा रोजगारीका अवसर सिर्जना गर्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

शिलान्यास समारोहकै अवसरमा मुख्यमन्त्रीले गुराँसको बिरुवा रोपेर पर्यावरण संरक्षणको सन्देश पनि दिए। समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री गोलेले होलिस्टिक इन्स्टिट्युट अफ् आयुर्वेद एण्ड वेलनेस सेन्टर स्थापना भएकोमा त्यहाँका बासिन्दाहरूलाई बधाई दिए। उनले यस परियोजनालाई साकार पार्न आयोजक विभाग र विभिन्न सरोकारवालाले गरेको प्रयासको पनि प्रशंसा गरे।

मुख्यमन्त्रीले यो परियोजनाले परम्परागत स्वास्थ्य सेवालाई सुदृढ़ पार्नुका साथै ‘वेलनेस टुरिजम’ (स्वास्थ्य तथा कल्याण पर्यटन) लाई पनि प्रवर्द्धन गर्ने बताए। उनले रोग रोकथाममा आधारित स्वास्थ्य सेवा र जनहितका लागि राज्य सरकार प्रतिबद्ध रहेको कुरामा जोड़ दिए।

मुख्यमन्त्रीले राज्य सरकारद्वारा स्वास्थ्य, शिक्षा र पूर्वाधार क्षेत्रमा अघि बढ़ाइएका विभिन्न विकासमूलक पहलबारे प्रकाश पारे। निर्वाचन क्षेत्रमा प्रस्तावित र जारी कामहरूको सन्दर्भ उल्लेख गर्दै उनले स्थानीय विकासलाई टेवा पुर्‍याउन र पर्यटन प्रवर्द्धन गर्न सड़क सम्पर्क, मरम्मतसम्भार र सुधारको महत्त्वमा जोड़ दिए।

उनले सरकारी कर्मचारी, समाजका विपन्न वर्ग, आशा कार्यकर्ता र आँगनवाड़ी कार्यकर्ताहरूका लागि राज्य सरकारले चालेका विभिन्न कल्याणकारी कदमबारे चर्चा गरे। सिक्किम आमा सशक्तिकरण योजनाको उल्लेख गर्दै उनले हालै यस योजनाअन्तर्गत वितरण गरिएको सहायताबारे अवगत गराए र सरकारले यसको दायरा अझ धेरै लाभग्राहीसम्म विस्तार गर्ने योजना बनाएको जानकारी दिए। यसका साथै उनले जोखिममा रहेका परिवारहरूलाई सहयोग पुर्‍याउने र उनीहरूको समग्र जीवनस्तरमा सुधार ल्याउने उद्देश्यले गरिएका पहलमाथि पनि प्रकाश पारे। आवासको विषयमा बोल्दै मुख्यमन्त्रीले सिक्किम गरीब आवास योजनाअन्तर्गत आवासहरू छिट्टै लाभग्राहीलाई हस्तान्तरण गरिने जानकारी दिए। यस क्रममा तत्काल सहयोग आवश्यक पर्नेहरूलाई प्राथमिकता प्रदान गरिने उनले बताए। उनले सरकारले यस योजनाको दायरा विस्तार गरी थप लाभग्राहीलाई समेट्ने योजना बनाएको पनि बताए।

यसका साथै मुख्यमन्त्रीले राजस्व र पूँजीगत खर्चबारे चर्चा गर्दै प्रभावकारी वित्तीय व्यवस्थापनको महत्त्वमा जोड़ दिए। उनले कार्य संस्कृति, समयको पाबन्दी, समय व्यवस्थापन र कर्तव्यप्रतिको समर्पणको महत्त्वलाई पनि विशेष जोड़ दिए।

पश्चिमी देशहरूमा रहेको श्रमको सम्मानको अवधारणालाई उल्लेख गर्दै उनले सबै प्रकारका कामलाई पहिचान र सम्मान गर्ने प्रणाली विकास गर्न तथा यसलाई विद्यमान कार्य संस्कृतिमा समाहित गर्न आह्वान गरे। प्रस्तावित ‘वेलनेस सेन्टर’ मा रोजगारीको सम्भावनालाई औँल्याउँदै मुख्यमन्त्रीले सम्बन्धित निकायहरूलाई त्यहाँ काम गर्न आवश्यक तालिमको व्यवस्था गर्न आग्रह गरे। उनले केन्द्रको सञ्चालनका लागि स्थानीय जनशक्ति विकास गर्नु महत्त्वपूर्ण रहेको बताए।

मुख्यमन्त्रीले जन भेटघाट कार्यक्रमअन्तर्गत प्रत्येक निर्वाचन क्षेत्रमा तीनदिने भ्रमण गर्ने जानकारी पनि दिए। यस भ्रमणको उद्देश्य सर्वसाधारणसँग अन्तरक्रिया गर्नु, उनीहरूका समस्या सुन्नु र आवश्यकताहरू बुझ्नु हो।

मुख्यमन्त्रीले स्थानीय समुदाय, सरकारी अधिकारी र अन्य हितधारकहरूलाई होलिस्टिक इन्स्टिट्युट अफ् आयुर्वेद एण्ड वेलनेस सेन्टरलाई एक प्रमुख वेलनेस गन्तव्यको रूपमा विकास गर्न सामूहिक रूपमा काम गर्न आह्वान गरे।

यसअघि मुख्यमन्त्रीले परियोजना स्थलमा शिलापत्र अनावरण गर्नुका साथै भूमि पूजा गरे र परियोजनाको सफल निर्माण तथा सम्पन्नताका लागि आशीर्वाद ग्रहण गरे।

आफ्नो सम्बोधनमा कृषिमन्त्री पुरणकुमार गुरुङले उक्त संस्था स्थापनाका लागि छुजाचेन निर्वाचन क्षेत्र छनोट गरेकोमा राज्य सरकारप्रति आभार व्यक्त गरे। उनले राज्य सरकारद्वारा यस निर्वाचन क्षेत्रमा सञ्चालित विभिन्न विकासमूलक पहलजस्तै सार्वजनिक सुविधा, पूर्वाधार र अत्यावश्यक सेवाहरूमा गरिएको सुधारबारे पनि प्रकाश पारे। उनले स्थानीय विकासमा राज्य सरकारको निरन्तर ध्यान रहेको कुरा उल्लेख गर्दै सड़क सुधार, कालोपत्रे र पुल निर्माणसम्बन्धी चलिरहेका तथा प्रस्तावित विकास कार्यहरूको संक्षिप्त विवरण दिए। मन्त्रीले पर्यटन, आर्थिक सहायता र कल्याणकारी क्षेत्रमा राज्य सरकारका विभिन्न पहलबारे पनि चर्चा गरे। सामूहिक प्रयासको महत्त्वमा जोड़ दिँदै उनले जिल्लाको समग्र विकासमा विभिन्न सरोकारवालाको भूमिकाको सराहना गरे साथै उनले युवाहरूलाई यस संस्थाले प्रदान गर्ने अवसरहरूको पूर्ण सदुपयोग गर्न र स्वास्थ्य तथा कल्याण, परम्परागत उपचार पद्धति तथा यससँग सम्बन्धित अन्य क्षेत्रहरूमा रहेका व्यापक सम्भावनाहरूको खोजी गर्न प्रोत्साहित गरे।

स्वास्थ्यमन्त्री जीटी ढुङ्गेलले आयुर्वेद र परम्परागत उपचार पद्धतिको सम्भावनाबारे जोड़ दिँदै भने, “यस क्षेत्रमा युवा पुस्ताको बढ़ी संलग्नताले जीविकोपार्जनका विविध अवसर सिर्जना गर्न र समाजको कल्याणमा योगदान पुर्‍याउन सक्छ।” उनले परम्परागत उपचार अभ्यासहरूको लामो समयदेखिको महत्त्व र विभिन्न स्वास्थ्य समस्याहरू समाधान गर्न तिनको भूमिकाबारे प्रकाश पारे।

उनेल प्रस्तावित वेलनेस सेन्टरका लागि लुङ्चोक उपयुक्त स्थान रहेको बताउँदै त्यहाँको प्राकृतिक परिवेशले विश्राम र स्वास्थ्यका लागि अनुकूल शान्त वातावरण प्रदान गर्न सक्ने उल्लेख गरे। उनले आयुर्वेद, परम्परागत उपचार पद्धति र समग्र स्वास्थ्यलाई प्रवर्द्धन गर्न यस संस्थाको सम्भावनाबारे चर्चा गर्दै यी पद्धतिहरूलाई विद्यमान स्वास्थ्य सेवाहरूसँग एकीकृत गर्नुको महत्त्वमा जोड़ दिए।

आयुष विभागकी सचिव सुचित्रा रसाइलीले आफ्नो सम्बोधनको क्रममा राज्यमा आयुष सेवाहरूलाई सुदृढ़ र विस्तार गर्न विभागले गरिरहेका प्रयासहरूबारे जानकारी दिइन्। उनले विभागका विभिन्न पहललाई अघि बढ़ाउन राज्य सरकारबाट प्राप्त सहयोगको सराहना गरिन्। स्थापनाकालदेखि नै विभागले आफ्ना सेवाहरूमा सुधार ल्याउन र सेवाको पहुँच विस्तार गर्न निरन्तर काम गरिरहेको बताइन्। उनले प्रस्तावित वेलनेस सेन्टर (स्वास्थ्य तथा कल्याण केन्द्र) लाई सिक्किमको स्वास्थ्य सेवा र कल्याण क्षेत्रमा एक महत्त्वपूर्ण थपको रूपमा वर्णन गरिन्। कार्यक्रमलाई अन्यले पनि सम्बोधन गरे।

उक्त समारोहको क्रममा आयुष विभाग र हबिल्ड हेल्थ टेक प्रालि- बीच सम्झौता-पत्रमा हस्ताक्षर गरियो। यसका साथै योग, स्वास्थ्य तथा कल्याण प्रवर्द्धन गर्ने पहलहरूमा राज्यको सहभागिता र मुख्यमन्त्रीबाट प्राप्त मार्गदर्शनको कदरस्वरूप हबिल्ड हेल्थ टेक प्रालि-द्वारा मुख्यमन्त्रीलाई प्रशंसा पत्र प्रदान गरियो।

विज्ञापन यहाँ तपाईंको विज्ञापन देखिन सक्छ 728 × 90 →
विज्ञापन Hotel Gangtok Drift — Footer Banner
ब्रेकिङ