पाकिम, 3 अक्टोबर (आईपीआर)ः सिक्किम ‘आमा सशक्तिकरण योजना’-को राज्यव्यापी कार्यान्वयनको एक भागको रूपमा शनिवार पाकिम जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रका लाभग्राहीहरूलाई चेक वितरण गरियो।
महिला, बालकबालिका, ज्येष्ठ नागरिक तथा दिव्याङ्गजन कल्याण विभागद्वारा कार्यान्वयन गरिएको सिक्किम ‘आमा सशक्तिकरण योजना’ आमाहरूलाई सशक्त बनाउने, परिवारहरूलाई सुदृढ़ पार्ने र उनीहरूको सामाजिक-आर्थिक हित प्रवर्द्धन गर्ने उद्देश्यले ल्याइएको एक पहल हो। यस योजनाअन्तर्गत 31 निर्वाचन क्षेत्र र एउटा सङ्घ क्षेत्रका कुल 32,000 आमालाई सम्बन्धित खण्ड प्रशासनिक केन्द्र (बीएसी) मार्फत आर्थिक सहयोग प्रदान गरिँदैछ। सो कार्य आज र भोलि सञ्चालन भइरहेको छ।
पाकिम जिल्लामा सम्बन्धित निर्वाचन क्षेत्रका लाभ समेट्ने गरी डुगा, रिगु, पारखा, रिनाक र नाम्चेबुङ बीएसीमा वितरण कार्यक्रम सञ्चालन गरियो। डुगा बाएसीमा पश्चिम पाण्डामका विधायक तथा भूमि राजस्व एवं आपदा प्रबन्धन, आईटी र आईपीआर विभागका सल्लाहकार एलबी दासको उपस्थितिमा वितरण कार्य सम्पन्न भयो, जसबाट यस योजनाअन्तर्गत 1001 लाभग्राही लाभान्वित भए।
रिगु बीएसीमा 1000 लाभार्थीलाई चेक वितरण गरियो, जसले यस क्षेत्रका आमाहरूलाई आर्थिक सहयोग पुर्यायो। पारखा बीएसीमा महिला, बालकबालिका, ज्येष्ठ नागरिक तथा दिव्याङ्गजन कल्याण विभागकी विधायक तथा सल्लाहकार पामिन लेप्चाको उपस्थितिमा वितरण कार्य सम्पन्न भयो, जसमा आमा सशक्तिकरण योजनाअन्तर्गत 1000 लाभार्थी समेटिए।
रिनाक निर्वाचन क्षेत्रमा आयोजित वितरण कार्यक्रममा मुख्यमन्त्री पीएस गोलेको उपस्थिति रहेको थियो। यस अवसरमा मुख्यमन्त्रीका सल्लाहकार विष्णुकुमार शर्मा तथा अन्य विशिष्ट व्यक्तिहरूको पनि उपस्थिति रहेको थियो। यस योजनाअन्तर्गत कुल 1,169 लाभार्थीले आर्थिक सहयोग प्राप्त गरे।
नाम्चेबुङ बीएसीमा शिक्षा विभाग, खेलकुद तथा युवा मामिला विभाग, कानून विभाग र संसदीय मामिला विभागका मन्त्री राजु बस्नेतको उपस्थितिमा वितरण कार्य सम्पन्न भयो, जसबाट 1,083 लाभार्थी लाभान्वित भए। सिक्किम आमा सशक्तिकरण योजनामार्फत राज्य सरकारले महिलाकेन्द्रित कल्याणकारी उपायहरूलाई सुदृढ़ पार्ने तथा आर्थिक सशक्तिकरण र सामाजिक-आर्थिक विकासका अवसरहरू सिर्जना गर्ने कार्यलाई निरन्तरता दिँदै तल्लो तहका आमाहरूलाई आर्थिक सहयोग उपलब्ध गराउने दिशामा एउटा महत्त्वपूर्ण कदम चालिरहेको छ।
यहाँ तपाईंको विज्ञापन देखिन सक्छ
300 × 250 विज्ञापनका लागि सम्पर्क गर्नुहोस् →स्थानीय • ०१ नोभेम्बर, २०२६
स्थानीय • ०१ नोभेम्बर, २०२६
स्थानीय • ०१ नोभेम्बर, २०२६