‘सिक्किम-दार्जीलिङ एकीकरणको प्रस्ताव मलाई पनि दिइएको थियो, तर स्वीकार गरिनँ’
गान्तोक, 25 सेप्टेम्बरः सिक्किम प्रजातान्त्रिक मोर्चा (एसडीएफ) पार्टी अध्यक्ष तथा पूर्व मुख्यमन्त्री पवन चामलिङले दार्जीलिङका जनताले एक शताब्दीभन्दा लामो समयदेखि गोर्खाल्याण्डको माग गर्दै आएको र उनीहरूले ठूलो त्याग तथा बलिदान दिएको बताएका छन्। गोर्खाल्याण्डबाहेक अन्य कुराको माग राख्नु भनेको दार्जीलिङका जनतालाई सरासर धोका दिनुसरह रहेको चामलिङले दाबी गरे।
चामलिङले शुक्रवार एउटा भिडियो सन्देश जारी गरी सिक्किम-दार्जीलिङ एकीकरण विषयमाथि आफ्नो अड़ान प्रस्ट राखेका छन्। उनले भने, “1200-1300 शहीदले यसैका लागि बलिदान दिएका थिए, तर आज दार्जीलिङे जनताका आशा-आकाङ्क्षाको नाममा विभिन्न किसिमका मागहरू उठिरहेको हामीले सुनेका छौँ।” उनले दार्जीलिङ-सिक्किम विलय अथवा प्रस्तावित उत्तर बङ्गाल राज्यमा सिक्किमको भूभागलाई गाभ्ने विषय दार्जीलिङका जनताको मूल मुद्दालाई ओझेल पार्ने र सिक्किमे जनताको भावनालाई चोट पुर्याउने उद्देश्यले शुरु गरेको हुनसक्ने आशङ्का जताए।
सिक्किम-दार्जीलिङ एकीकरणका लागि दार्जीलिङका जनताले सङ्घर्ष नगरेको उनले बताए। चामलिङले भने, “उनीहरूले गोर्खाल्याण्ड राज्यका लागि सङ्घर्ष गरेका हुन् र सिक्किमले पनि दार्जीलिङका जनतालाई गोर्खाल्याण्ड राज्य प्राप्त गरुन् भनेर नै प्रजातान्त्रिक नैतिक साथ सहयोग गरेको हो। सिक्किम दार्जीलिङसँग एकीकरण गर्न र सिक्किमलाई उत्तर बङ्गाल राज्यको अङ्ग बनाउन यो साथ, समर्थन, उत्साहका लागि गरेको कदाचित होइन।” उनले आज सिक्किम-दार्जीलिङ विलय गर्ने काममा लागिपरेका सङ्घ-संस्था र व्यक्तिहरूले दुई क्षेत्रका जनताको विचारलाई लत्याएको दाबी गरे। चामलिङले भने, “दुई क्षेत्रका जनताका भावना र आकाङ्क्षालाई सम्मान गरेर गरेको निर्णय नै जनताको पक्षमा लिएको कदम हुनेछ, तर जनताको भावनालाई उपेक्षा गरेर उठाइएको कदम जनताको पक्षमा हुनेछ भनेर विश्वास गर्ने वा ढुक्क हुने अवस्था रहँदैन। त्यसैले सिक्किम-दार्जीलिङ विलय वा एकीकरणको सन्दर्भमा दार्जीलिङका जनताको साथ साथै सिक्किमका जनताको पनि विचार र भावनाको कदर गर्नु आवश्यक छ।”
पूर्व मुख्यमन्त्री चामलिङले दार्जीलिङ र सिक्किमको इतिहासबारे पनि सङ्क्षिप्त रूपमा प्रष्ट्याए। “सिक्किम अन्य राज्यभन्दा 28 वर्ष ढिलो गरी देशको प्रजातान्त्रिक व्यवस्थामा सामेल भएको हो। हामी अन्य राज्यहरूको तुलनामा धेरै कान्छो राज्य पनि हौँ। सिक्किमले आफ्नो देशै दिएर पाएको प्रजातान्त्रिक प्रणाली देशप्रति आफ्नो भावनात्मक लगाव छ। अतः सिक्किमले देशको संविधानअन्तर्गत पाएको विशेष सुरक्षा, अधिकार र पहिचान यथावत् रहोस् भन्ने चाहन्छन्। अब फेरि सीमावर्ती राज्यहरू मिलाएर उत्तर बङ्गाल राज्य बनाउने प्रस्ताव केन्द्र सरकारमा पुगिसकेको वा बुझाइसकेको जानकारी प्राप्त भएको छ। यस प्रस्तावमाथि हाम्रो आपत्ति र असहमति छ।”
“भारत देशको निर्माण वा सुरक्षा गर्न भारतीय गोर्खा समाजले जुन प्रशंसनीय कार्यहरू गरेका छन्, त्यसको सन्दर्भमा भारतीय गोर्खाहरूले गोर्खाल्याण्ड पाउन अत्यन्त स्वाभाविक र आवश्यक देखिन्छ”-उनले भने, “त्यसैले गोर्खाल्याण्डको मागलाई देशका सबै देशभक्त र यहाँका न्यायप्रेमी मानिसहरूले समर्थन र सहयोग गरेका छन्।” उनले एसडीएफ सरकारकालमा पनि गोर्खाल्याण्डको पक्षमा विधानसभामा प्रस्ताव पारित गरेको स्मरण गराए। उनले भने, “हाम्रो सरकारले 29 जनवरी, 2011 मै सिक्किम विधानसभामा गोर्खाल्याण्डको समर्थनमा सरकारी प्रस्ताव पारित गरी केन्द्र सरकारसमक्ष पठाएको थियो। यो प्रस्ताव स्वयं मैले सिक्किमका मुख्यमन्त्रीको रूपमा प्रस्तुत गरेको थिएँ। तपाईँहरूलाई यो स्मरण गराउन चाहन्छु, गोर्खाल्याण्डसम्बन्धी सबैभन्दा पहिलो औपचारिक तथा संवैधानिक प्रस्ताव यही हो। यसको निम्ति हामीले धेरै अप्ठ्यारा र असुविधाहरू पनि सामना गर्नुपरेको थियो।”
उनले भने, “जनताका सपनासँग सौदा गर्ने काम कसैबाट पनि हुनु हुँदैन। सरल तथा निःस्वार्थ जनतालाई दिग्भ्रमित गर्ने काम कसैबाट पनि हुनु हुँदैन। हाम्रो चाहना यति मात्र हो, सिक्किमे जनताका विशेष पहिचान, सुरक्षा र राजनैतिक अधिकारहरू सधैँ सुरक्षित हुनुपर्छ र दार्जीलिङका जनताका राजनैतिक आकाङ्क्षा वा छुट्टै राज्यको उदयको गठन गर्ने काम अविलम्ब हुनुपर्छ भन्ने हो।” उनले अझ भने, “म मुख्यमन्त्रीछँदा केन्द्र सरकारले मलाई पनि सिक्किम-दार्जीलिङलाई एकीकरण गर्ने प्रस्ताव दिएको थियो। मैले सिक्किमे जनताको प्रतिनिधि र नेताको रूपमा त्यस प्रस्तावलाई अस्वीकार गरेँ र गोर्खाको निम्ति अलग्गै राज्य गोर्खाल्याण्ड गठन गरिनुपर्छ भन्ने आफ्नो अड़ानमा कटिबद्ध रहेँ।” उनले कैयौँ कार्यक्रममा गोर्खाल्याण्डको पक्षमा माग उठान गरेको बताए।
चामलिङले अझ भने, “दार्जीलिङका जनताको धेरै पुरानो मागलाई लत्याएर केही मानिस नानाभाँतीका विकल्पहरू लिएर कराउँदैछन् र यसको निम्ति मनगढ़न्ते आरोप र षड्यन्त्र गर्ने कामहरू भइरहेका छन्। आज हाम्रो क्षेत्रमा पनि ‘डीप फेक’ राजनीति गर्नेहरू ठूलो मात्रामा विभिन्न मञ्चमा देखिँदैछन्। सिक्किम र सिक्किमेको अस्तित्व, पहिचान र संवैधानिक अधिकारलाई सखाप पार्न यस्ता तत्त्वहरू आज सक्रिय भएका छन्। यही षड्यन्त्रको माखेजालोमा फसेका आज सिक्किमतर्फबाट दार्जीलिङतिर फर्केर अपमानजनक शब्दहरू प्रयोग गर्ने, भावनात्मक रूपले आघात गर्ने अनि दार्जीलिङबाट पनि सिक्किमतिर फर्केर त्यही षड्यन्त्रको भरमा सिक्किम- दार्जीलिङका जनताबीचको ऐतिहासिक सम्बन्धलाई भत्काउने कामहरू गरिरहेका छन्।” सिक्किम-दार्जीलिङका जनताबीच द्वन्द्व निम्त्याउने काम भइरहेको उनले बताए।
पूर्व मुख्यमन्त्री चामलिङले सिक्किम सरकारलाई सुझाउ दिँदै भने, “आज जसरी सिक्किम-दार्जीलिङको राजनीतिक परिवेशलाई धमिल्याएर यहाँ अविश्वास र शङ्का पैदा गर्ने काम भइरहेको छ। त्यस अवस्थालाई अन्त्य गर्न सिक्किम सरकारले तुरुन्तै विधानसभाको विशेष सत्र बोलाएर आफ्नो अड़ान र स्थिति स्पष्ट पार्नुपर्छ।” उनले सिक्किम सरकारका मुख्य आर्थिक सल्लाहकार डा. महेन्द्र पी लामाको कार्यपद्धतिमाथि पनि प्रश्न तेर्साए।
यहाँ तपाईंको विज्ञापन देखिन सक्छ
300 × 250 विज्ञापनका लागि सम्पर्क गर्नुहोस् →स्थानीय • ०१ नोभेम्बर, २०२६
स्थानीय • ०१ नोभेम्बर, २०२६
स्थानीय • ०१ नोभेम्बर, २०२६