गान्तोक, 28 अक्टोबरः सिटिजन एक्सन पार्टी (सीएपी)-सिक्किमले आफ्ना अखिल सिक्किम अनुसूचित जनजाति कल्याण परिषद्का नेता तथा कार्यकर्ताहरूका लागि आयोजना गरेको दुईदिने तालिम तथा कार्यशाला बुधवार रानीपुलस्थित पार्टी मुख्यालयमा सफलतापूर्वक सम्पन्न भएको छ।
यो तालिम कार्यक्रम अनुसूचित जनजाति समुदायको प्रतिनिधित्व गर्ने पार्टी नेता तथा कार्यकर्ताहरूको ज्ञान, चेतना र बुझाइ अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको थियो। यसमा जनजातीय कल्याण, संवैधानिक सुरक्षा, अधिकार तथा हक-हित र जनजातीय समुदायले सामना गरिरहेका व्यापक सामाजिक-राजनीतिक चुनौतीहरूसँग सम्बन्धित विभिन्न विषय समेटिएका थिए।
दुईदिने कार्यशालामा अनुसूचित जनजाति समुदायसँग सम्बन्धित विविध विषयमा विस्तृत छलफल तथा विमर्श गरियो। विशेषगरी संवैधानिक अधिकार, कानुनी संरक्षण, कल्याणकारी प्रावधान तथा जनजातीय समुदायको हित, पहिचान र मर्यादाको रक्षा गर्ने महत्त्वमाथि जोड़ दिइयो। यसका साथै परिषद्का प्रतिनिधिहरूको क्षमता अभिवृद्धि गरी समुदाय विशेषका सरोकारहरू बुझ्न र तिनलाई लोकतान्त्रिक तथा संवैधानिक माध्यमबाट सम्बोधन गर्न अझ प्रभावकारी रूपमा काम गर्न सक्षम बनाउने कुरामा पनि कार्यक्रमकेन्द्रित थियो।
यस कार्यशालाले सहभागीहरूलाई आफ्ना दृष्टिकोण आदान-प्रदान गर्न, जनजातीय मुद्दाहरूबारे बुझाइ अझ गहिरो बनाउन र सिक्किमका अनुसूचित जनजाति समुदायको कल्याण तथा सशक्तिकरणप्रति आफ्नो प्रतिबद्धता सुदृढ़ पार्न एक महत्त्वपूर्ण मञ्च प्रदान गर्यो। यसले जनजातीय समुदायका अधिकार र हितहरूको प्रभावकारी प्रतिनिधित्व सुनिश्चित गर्न सुसूचित, जिम्मेवार र सङ्गठित नेतृत्वको महत्त्वलाई पनि उजागर गर्यो।
समापन समारोहमा अनुसूचित जनजाति कल्याण परिषद्का प्रभारी तथा उपाध्यक्ष ओङ्देन छिरिङ लेप्चा मुख्य अतिथिका रूपमा उपस्थित रहेका थिए। दुईदिने तालिम तथा कार्यशालामा सक्रिय सहभागिता जनाएबापत् सहभागी नेता तथा पार्टी कार्यकर्ताहरूलाई प्रमाण-पत्र प्रदान गरियो।
यस कार्यक्रमको सफल सम्पन्नताले सीएपीको सङ्गठनात्मक परिषद्हरूलाई व्यवस्थित तालिम, ज्ञान आदान-प्रदान र क्षमता अभिवृद्धि पहलहरू मार्फत सुदृढ़ बनाउने निरन्तर प्रयासमा एक महत्त्वपूर्ण कदमको रूपमा काम गरेको छ। पार्टी संवैधानिक अधिकारहरूबारे चेतना जगाउन, अर्थपूर्ण सहभागितालाई प्रोत्साहन गर्न तथा सम्पूर्ण सिक्किमका अनुसूचित जनजाति समुदायको कल्याण, सशक्तिकरण र समावेशी विकासका लागि काम गर्न प्रतिबद्ध रहेको प्रचार-प्रसार परिषद्का राज्य संयोजक छ सोनाम ग्याछो लेप्चाद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।
यहाँ तपाईंको विज्ञापन देखिन सक्छ
300 × 250 विज्ञापनका लागि सम्पर्क गर्नुहोस् →स्थानीय • ०१ नोभेम्बर, २०२६
स्थानीय • ०१ नोभेम्बर, २०२६
स्थानीय • ०१ नोभेम्बर, २०२६