शिलङ लाजोङले सिक्किम आक्रमणमाथि 5-2 गोल अन्तरले जीत हासिल गरेको छ
शिलङ लाजोङका कप्तान केन्स्टर खार्से बने ‘म्यान अफ् द टुर्नामेन्ट’
शिलङ लाजोङका रनितले जिते ‘गोल्डन ग्लोब’ पुरस्कार
गान्तोक, 16 अक्टोबरः 42औँ अल भारतीय गभर्नर्स गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि शिलङ लाजोङ एफसीले हत्याउन सफल भएको छ। शुक्रवार गान्तोकस्थित पाल्जर स्टेडियममा सम्पन्न फाइनल खेलमा शिलङ लाजोङ एफसीले घरेलु टोली सिक्किम आक्रमण एफसीलाई 5-2 गोल अन्तरले पराजित गर्दै प्रतिष्ठित उपाधि आफ्नो पोल्टोमा हाल्न सफल भएको छ।
फाइनल खेलमा शिलङ लाजोङ एफसीले शुरुदेखि आक्रामक खेल प्रदर्शन गर्दै विपक्षी टोलीमाथि दबाउ सिर्जना गरेको थियो। खेलको प्रथमार्द्धमा पहिलो गोल गरेको शिलङ लाजोङले त्यसपछि लगातार दोस्रो र तेस्रो गोल गर्दै 3-0 गोल अन्तरको अग्रता बनाएको थियो। तीन गोलले पछि परेको सिक्किम आक्रमण एफसीले खेलमा लय समात्ने प्रयास गर्दै पहिलो गोल गर्न सफल भयो। यससँगै खेल 3-1 मा पुगेको थियो।
त्यसपछि शिलङ लाजोङ एफसीले पुनः अर्को गोल थप्दै 4-1 गोल अन्तरले अग्रता कायम बनायो। घरेलु समर्थकहरूको उत्साहबीच सिक्किम आक्रमण एफसीले आफ्नो लय नडगमगाइ दोस्रो गोल गर्न सफल भयो। यस गोलसँगै खेल 4-2 गोल अन्तरमा पुगेको थियो र खेल थप रोमाञ्चक बनेको थियो।
तर, शिलङ लाजोङ एफसीले आफ्नो आक्रामक खेललाई निरन्तरता दिँदै थप एक गोल गर्यो। यससँगै खेलको अन्तिम स्कोर 5-2 गोल अन्तरमा पुगेको थियो। निर्धारित खेलमा उत्कृष्ट प्रदर्शन गरेको शिलङ लाजोङ एफसीले सिक्किम आक्रमण एफसीलाई पराजित गर्दै 42औँ गभर्नर्स गोल्ड कपको उपाधि उचाल्न सफल भयो। शिलङ लाजोङका कप्तान केन्स्टर खार्सेलाई म्यान अफ् द टुर्नामेन्टको रूपमा घोषित गरिएको छ भने शिलङ लाजोङकै गोलकिपर रनितले गोल्डन ग्लोब पुरस्कार जितेका छन्।
फाइनल खेलमा राज्यपाल तथा प्रतियोगिताका मुख्य संरक्षक ओम प्रकाश माथुर मुख्य अतिथिका रूपमा उपस्थित रहेका थिए। मुख्यमन्त्री पीएस गोले विशिष्ट अतिथिका रूपमा उपस्थित रहेका थिए। यस अवसरमा सिक्किम उच्च न्यायालयका मुख्य न्यायाधीश, मन्त्रीगण, विधायकगण, सम्बन्धित अधिकारीगण तथा ठूलो सङ्ख्यामा खेलप्रेमी दर्शक उपस्थित रहेका थिए।
मुख्यमन्त्री पीएस गोलेले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन्, “सिक्किमको पाल्जोर स्टेडियममा सिक्किम आक्रमण एससी र शिलङ लाजोङ एफसीबीच सम्पन्न 42औँ अखिल भारतीय गभर्नर्स गोल्ड कप फुटबल प्रतियोगिताको फाइनल खेल प्रत्यक्ष हेर्न पाएकोमा खुशी लागेको छ। यस अवसरमा सिक्किमका राज्यपाल ओम प्रकाश माथुर तथा सिक्किम उच्च न्यायालयका मुख्य न्यायाधीश मोहम्मद मुस्ताक अयुमान्तकाथको गरिमामय उपस्थिति रहेको थियो।”
“आफ्नो उत्कृष्ट प्रदर्शनका साथ जीत हासिल गरेकोमा शिलङ लाजोङ एफसीलाई हार्दिक बधाई ज्ञापन गर्दछु साथै सिक्किम आक्रमण एससीको उच्च मनोबलसहितको प्रदर्शन र खेल भावनाको पनि प्रशंसा गर्दछु, जसले यस फाइनल खेललाई अविस्मरणीय बनायो।”
यस प्रतिष्ठित प्रतियोगितालाई भव्य रूपमा सफल बनाउन आफ्नो लगनशीलता र कड़ा परिश्रमद्वारा योगदान पुर्याउने आयोजक, पदाधिकारीगण, खेलाड़ी तथा अन्य सम्पूर्ण महानुभावप्रति म हार्दिक आभार व्यक्त गर्दछु। यस प्रतियोगिताले सिक्किमको समृद्ध खेलकुद संस्कृतिलाई अझ सुदृढ़ बनाउन मद्दत पुर्याएको छ।
प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति र दर्शकहरूको उत्साहपूर्ण सहभागिताले फाइनल खेलको महत्त्व थप बढ़ाएको थियो। खेल अवधिभर दर्शकहरूले दुवै टोलीलाई उत्साहपूर्वक समर्थन गरेका थिए।
गभर्नर्स गोल्ड कप उत्तरपूर्वी भारतको प्रतिष्ठित फुटबल प्रतियोगिताहरूमध्ये एक हो। यस प्रतियोगिताले विभिन्न राज्यका फुटबल क्लबहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै क्षेत्रीय फुटबलको विकासमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ।
यहाँ तपाईंको विज्ञापन देखिन सक्छ
300 × 250 विज्ञापनका लागि सम्पर्क गर्नुहोस् →स्थानीय • ०१ नोभेम्बर, २०२६
स्थानीय • ०१ नोभेम्बर, २०२६
स्थानीय • ०१ नोभेम्बर, २०२६