गान्तोक, 19 सेप्टेम्बरः भारतीय जनता पार्टी (भाजपा), सिक्किमले सिक्किम सरकारका मुख्य आर्थिक सल्लाहकार डा. महेन्द्र पी लामाले गोर्खाल्याण्डसम्बन्धी प्रस्तावित स्थायी राजनीतिक समाधानको मार्गचित्रको चौथो बुँदामा उल्लेख उत्तर बङ्गाललाई एउटा राज्यका रूपमा र/वा छिमेकी राज्यहरूका जोड़िएका भू-भागसहित एउटा छुट्टै राज्यका रूपमा (स्थापित गर्ने) प्रस्तावमाथि घोर विरोध गरेको छ। सम्पूर्ण सिक्किम नै यसको विरोधमा रहेको र यसले अराजकताको माहोल सृजना गरेको बताएको छ।
पत्रकारहरूलाई सम्बोधन गर्दै भाजपा प्रवक्ता पासाङ शेर्पाले भने, “दार्जीलिङका नेताहरूले छुट्टै राज्यको माग घरीघरी उठान गरेका छन् र यो उनीहरूको अधिकारको कुरा हो। तर, डा. महेन्द्र पी लामा स्वयं सिक्किममा मुख्य आर्थिक सल्लाहकार हुन्। सिक्किम सरकारले विकसित सिक्किमको परिकल्पनामा एउटा जुन मस्यौदा तयार गर्दैछ, त्यसमा पनि उनी सामेल छन्। यसका साथै उनी दार्जीलिङको राजनीतिमा पनि त्यतिकै सामेल छन्। उनलाई सारा विश्वको नेपाली समाजले विद्वान् मान्छ। तर, उनले जुन चाहिँ ‘कन्टिजियस’ (संलग्न क्षेत्र) शब्द लेखे, त्यसले चाहिँ यहाँ अराजकताको माहोल पैदा गरेको छ। उनले आफ्नो स्पष्टीकरणमा चौथो बुँदा हटाएर केन्द्र सरकारसमक्ष प्रस्तुत गरेको बताएका छन्। उनले चौथो बुँदा हटाएर बुझाए तापनि यहाँ उनको नियतमा खोट देखिँदैछ। उनले उत्तर प्रदेश, मेघालयसम्मको कुरा पुर्याउँदै छन्। डा. लामाले बङ्गालसँग संलग्न राज्यहरूको भूभाग लिएर उल्लेख गर्दा सिक्किमप्रति उनको नियत इमानदार देखिँदैन। सिक्किम सरकारसँग पनि एकदमै आबद्ध भएर काम गरिरहेका मान्छेले यो कुरा ल्याउँदाखेरि स्वाभाविक रूपमा सिक्किमे समाजले यसलाई विरोध गरेको हो।”
शेर्पाले सिक्किम सरकार र राज्य सरकारलाई आग्रह गर्दै भने, “जुन व्यक्तिले सिक्किमको नून खाएर त्यो संलग्न शब्द लेख्दाखेरि उनले सिक्किम छोड़ेर लेख्दा हुन्थ्यो। तर, उनले त्यस्तो गरेनन्। जुन चतुर्याइँले उनले ‘कन्टिजियस’ शब्द चलाए, हामी त्यसकै विरोधमा हौँ।”
उनले सिक्किम सरकारले पनि यस विषयमा स्पष्टीकरण दिनुपर्ने माग राखे। “समाजमा अराजकता फैलाउने काम भइरहेको छ। समाजको शान्ति, सिक्किमको शान्तिप्रिय जुन चाहिँ एउटा ढाँचा छ, त्यसलाई धमिल्याउने प्रयास भइरहेको छ। त्यसैले सिक्किम सरकार र मुख्यमन्त्रीले यसमाथि स्पष्ट पार्नुपर्छ”-उनले भने। शेर्पाले सिक्किममा राज्यपालको ठूलो दायित्व रहेको सिक्किमको शान्ति शृङ्खलालाई भङ्ग हुन नदिन राज्यपालले हस्तक्षेप गर्नुपर्ने बताए। “उनले हस्तक्षेप गरेर यसलाई साम्य बनाउन्। दार्जीलिङ डिस्ट्रिक कन्स्टिट्युसनल राइट्स पिपल्स फोरम नामक सङ्गठन छ। त्यो सङ्गठनले सिक्किम र दार्जीलिङको नक्शा जोड़ेर आफ्नो स्ट्याम्प बनाएको छ। सिक्किमलाई मुछ्नु बन्द गर्नुपर्छ।” शेर्पाले डा. लामाले आत्मग्लानी महसुस गरेर स्वेच्छिक रूपमा राजीनामा दिनुपर्ने माग राखे। दार्जीलिङ, तराई तथा डुवर्सको मागमा सिक्किमे सदैव उनीहरूको साथमा रहेको, तर सिक्किमेको भूभागलाई लिएर कसैले पनि राजनीति नगर्न अपील पनि गरेका छन्।
यहाँ तपाईंको विज्ञापन देखिन सक्छ
300 × 250 विज्ञापनका लागि सम्पर्क गर्नुहोस् →स्थानीय • ०१ नोभेम्बर, २०२६
स्थानीय • ०१ नोभेम्बर, २०२६
स्थानीय • ०१ नोभेम्बर, २०२६