सोरेङ जिल्ला छिट्टै उन्नत दूरसञ्चार सेवाहरूसँग जोड़िनेछः मुख्यमन्त्री

हिमाली बेला
• स्थानीय • १३ अक्टोबर, २०२६
सोरेङ जिल्ला छिट्टै उन्नत दूरसञ्चार सेवाहरूसँग जोड़िनेछः मुख्यमन्त्री

सोरेङ, 12 अक्टोबर (आईपीआर): मुख्यमन्त्री पीएसले सोमवार सोरेङ जिल्लास्थित सरकारी उच्चतर माध्यमिक विद्यालय, छोटा साम्दोङको स्वर्णजयन्ती समारोहमा सहभागिता जनाएका छन्। उनीसँग शिक्षा विभागका मन्त्री राजु बस्नेत पनि उपस्थित रहेका थिए।

समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री गोलेले उक्त विद्यालयमा आफूले शिक्षकको रूपमा बिताएको समयको स्मरण गरे। उनले स्थापनाको 50 वर्ष पूरा गरेकोमा विद्यालयलाई बधाई दिए र वार्षिक प्रतिवेदनमा उल्लेख गरिएका विद्यालयका उपलब्धि तथा प्रगतिहरूको प्रशंसा गरे।

मुख्यमन्त्रीले जनताको जीवनस्तर उकास्ने उद्देश्यले राज्य सरकारद्वारा सञ्चालित विभिन्न कल्याणकारी पहल र योजनाबारे प्रकाश पारे। उनले सिक्किम गरीब आवास योजना, श्रावण कुमार पुरस्कार, मुख्यमन्त्री स्वरोजगार योजना, आमा सशक्तिकरण योजना, मुख्यमन्त्रीको स्वेच्छिक अनुदान (सीएमडीजी) र मुख्यमन्त्री चिकित्सा सहायता योजना (सीएमएमएएस) माथि चर्चा गरे। उनले आगामी वर्षहरूमा सिर्जना हुने रोजगारीका अवसर, विभिन्न क्षेत्रमा रोजगारीलाई स्थायी गर्ने पहल र पर्यटन प्रवर्द्धनमा राज्य सरकारको प्रतिबद्धताबारे पनि जानकारी दिए।

यसका साथै मुख्यमन्त्रीले सोरेङ जिल्ला छिट्टै नै उन्नत दूरसञ्चार सेवाहरूसँग जोड़िने कुरा बताए। उनले मुख्यमन्त्रीको स्वेच्छिक अनुदान (सीएमडीजी) मार्फत सरकारी उच्चतर माध्यमिक विद्यालय, छोटा साम्दोङलाई एउटा चिकित्सा भ्यान उपलब्ध गराइने घोषणा पनि गरे।

सोरेङ-च्याखुङका विधायक आदित्य गोलेले यस महत्त्वपूर्ण अवसरमा विद्यालय र आयोजक समितिलाई बधाई दिए। उनले छोटा साम्दोङमा सञ्चालित विभिन्न विकासमूलक पहलबारे चर्चा गरे, जसमा आवासीय मोडल स्कूल, युमा माङ्हिम, सार्वजनिक खेलमैदान, देवानितार र आरोबोटेमा सामुदायिक भवन तथा यस क्षेत्रभित्र र वरिपरि सड़क निर्माण कार्यहरू समावेश छन्।

उनले दुर्गम क्षेत्रहरूको विकास तथा पूर्वाधार र सार्वजनिक सुविधाहरूमा सुधार ल्याउन राज्य सरकार प्रतिबद्ध रहेको दोहोर्‍याए। उनले छोटा साम्दोङका जनताको तर्फबाट मुख्यमन्त्रीसमक्ष सड़क सञ्जाल, पूर्वाधार, पशुपालन परियोजना, पर्यटन र अन्य अत्यावश्यक क्षेत्रहरूमा थप विकासको आवश्यकतामा जोड़ दिँदै विभिन्न मागपनि राखे।

यस उत्सवमा विद्यालय र स्थानीय समुदायको विकासमा योगदान पुर्‍याउने विशिष्ट व्यक्तित्व तथा व्यक्तिहरूलाई सम्मान गर्ने कार्यक्रम समावेश थिए। सो अवसरमा मुख्यमन्त्री पीएस गोले र सोरेङ-च्याखुङका विधायक आदित्य गोलेलाई सम्मान गरियो। मुख्यमन्त्री र अन्य विशिष्ट अतिथिहरूलाई ‘गोल्डेन जुबली’ (स्वर्ण जयन्ती) स्मारिका, फूलका गमला र विद्यालयको पत्रिका ‘ज्ञानदीप’ प्रदान गरियो। छोटा साम्दोङस्थित युमा माङ्हिम समितिले पनि मुख्यमन्त्रीलाई स्मारिका प्रदान गर्‍यो। विद्यालय स्थापनामा योगदान पुर्‍याउनेहरूलाई पनि सम्मान गरियो।

सन् 1986 मा विद्यालयमा मुख्यमन्त्रीसँगै सेवा गरेका सेवानिवृत्त शिक्षकहरूलाई ‘गोल्डेन जुबली’ स्मारिका प्रदान गरियो। कार्यक्रममा रिम्बी बाढ़ पीड़ितहरूका लागि मुख्यमन्त्री राहत कोषमा चेक हस्तान्तरण गर्ने कार्य पनि भयो। सोरेङ जिल्लाको शिक्षा विभाग, जिल्लाभरिका विभिन्न विद्यालय र गैर-सरकारी संस्था (एनजीओ) द्वारा उक्त सहयोग प्रदान गरिएको थियो। छोटा साम्दोङ सरकारी उच्चतर माध्यमिक विद्यालयका प्रधान अध्यापक प्रकाश शर्माले गत पाँच दशकमा विद्यालयको यात्रा, उपलब्धि र शिक्षाको क्षेत्रमा पुर्‍याएको योगदानबारे प्रकाश पार्दै संक्षिप्त प्रतिवेदन प्रस्तुत गरे।

सोरेङका अतिरिक्त जिल्लापाल (एडीएम) डीआर विष्टाले ‘आस्पिरेशनल डिस्ट्रिक्ट प्रोग्राम’ को रूपरेखा प्रस्तुत गरे र स्वास्थ्य तथा पोषणको क्षेत्रमा नीति आयोगको ‘डेल्टा र्‍याङ्किङ’-मा सोरेङ जिल्लाले हासिल गरेको प्रथम स्थानबारे जानकारी गराए।

जिल्लाको यस उपलब्धिलाई कदर गर्दै मुख्यमन्त्री गोलेले स्वास्थ्य तथा पोषणसम्बन्धी डेल्टा र्‍याङ्किङमा प्रथम स्थान हासिल गर्न योगदान पुर्‍याएबापत् सोरेङका जिल्लापाल धीरज सुवेदी, सीएमओ (स्वास्थ्य) स्मृति राई र सीडीपीओ गौरी तामाङलाई प्रशंसा-पत्र प्रदान गरे।

यसअघि, मुख्यमन्त्रीले छोटा साम्दोङमा युमा माङ्हिमको उद्घाटन गरे र हस्तकलाका सामग्री, शिक्षण-अधिगम सामग्री तथा विभिन्न नमुना राखिएका प्रदर्शनी कक्षहरूको अवलोकन गरे।

कार्यक्रममा सिक्किम विधानसभाकी उपाध्यक्ष राजकुमारी थापा, श्रम विभागका मन्त्री भीमहाङ लिम्बू, विधायकगण, पूर्वमन्त्री तथा पूर्वविधायकगण, मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ, जिल्ला अध्यक्ष तिला देवी गुरुङ, जिल्ला पञ्चायतका पदाधिकारी तथा सदस्यलगायत अन्यको उपस्थिति रहेको थियो।

विज्ञापन यहाँ तपाईंको विज्ञापन देखिन सक्छ 728 × 90 →
विज्ञापन Hotel Gangtok Drift — Footer Banner
ब्रेकिङ