पाकिम, 27 सेप्टेम्बर (आईपीआर): मुख्यमन्त्री पीएल गोलेले आइतवार एटीटीसी बार्दाङमा रोटरी क्लब अफ् सिक्किम र इनर ह्विल क्लब अफ् सिक्किमद्वारा संयुक्त रूपमा आयोजित अन्तरविद्यालय शैक्षिक महोत्सव ‘उडान - द फ्लाइट अफ क्रिएटिभिटी’-मा सहभागिता जनाएका छन्।
यस कार्यक्रममा शिक्षा, खेलकुद तथा युवा मामिला, कानून तथा संसदीय मामिला विभागका मन्त्री राजु बस्नेत, सूचना प्रौद्योगिकी (आईटी), भूमि राजस्व तथा आपदा व्यवस्थापन र सूचना तथा जनसम्पर्क विभागका विधायक एवं सल्लाहकार एलबी दास पनि उपस्थित रहेका थिए।
कार्यक्रममा उनीहरूसँगै पुलिस महानिर्देशक अक्षय सचदेवा, पर्यटन तथा नागरिक उड्डयन विभागका अतिरिक्त मुख्य सचिव सीएस राव, शिक्षा विभागका प्रधान सचिव डा. सन्दीप ताम्बे, विद्यालय शिक्षाका सचिव टाशी छोफेलसहित अन्यको उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्रीले विद्यार्थीहरूलाई प्रोत्साहित गर्न तथा उनीहरूको प्रतिभा, रचनात्मकता र लगनशीलता प्रदर्शन गर्ने मञ्च उपलब्ध गराउन रोटरी क्लब अफ् सिक्किम र इनर ह्विल क्लब अफ् सिक्किमले गरेको प्रयासको प्रशंसा गरे। उनले राज्यभरिका 131 विद्यालयका करिब 1,300 विद्यार्थीको सहभागिताको सराहना गर्दै ‘उडान’-लाई सिक्किमका युवा प्रतिभाहरूको क्षमता, रचनात्मकता र सम्भावनाको उत्सवको रूपमा वर्णन गरे।
विद्यार्थीहरूलाई प्रोत्साहित गर्दै मुख्यमन्त्रीले उनीहरूलाई ठूला सपना देख्न, कड़ा परिश्रम गर्न र असफलतालाई सफलताको खुड्किलोको रूपमा लिन आग्रह गरे। उनले उपलब्ध स्रोत र अवसरहरूको रचनात्मक सदुपयोग गर्दै, सही जानकारी प्राप्त गरी हानिकारक बानीहरूबाट टाढ़ा रहन तथा अभिभावक र शिक्षकहरूको त्याग र योगदानको कदर गर्न सुझाउ दिए। मुख्यमन्त्रीले विद्यार्थीहरूको कल्याण, शिक्षा र समग्र विकासका लागि सहयोग उपलब्ध गराउने प्रतिबद्धता पनि व्यक्त गरे।
यसअघि, मुख्यमन्त्रीलाई एटीटीसी, बार्दाङका एनसीसी क्याडेटहरूद्वारा ‘गार्ड अफ् अनर’ (सम्मान गारद) प्रदान गरिएको थियो। त्यसपछि उनले विभिन्न कक्षाकोठाहरूको अवलोकन गर्दै जल संरक्षणः एक भविष्यमुखी दृष्टिकोण विषयमा भइरहेका प्रतियोगिता र परियोजना प्रदर्शनीको निरीक्षण गरे।
सो अवसरमा बोल्दै उड़ानका अध्यक्ष डा. योगेश वर्माले सन् 2011 मा शुरु भएको उड़ान - द फ्लाइट अफ् क्रिएटिभिटी (उडान - सृजनशीलताको उडान)-को यात्राबारे प्रकाश पारे। उनले यो महोत्सव कक्षाकोठा र पाठ्यपुस्तकभन्दा बाहिर विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन गर्ने एक महत्त्वपूर्ण मञ्चका रूपमा विकसित भएको बताए। उनले उड़ान एक दिन चल्ने अन्तरविद्यालय शैक्षिक महोत्सव भएको र यसले राज्यभरिका ग्रामीण तथा शहरी क्षेत्रका सरकारी तथा निजी विद्यालयका विद्यार्थीहरूलाई विभिन्न शैक्षिक तथा रचनात्मक गतिविधिहरूमा सहभागी हुन एकै ठाउँमा ल्याउने कुरा उल्लेख गरे।
सोही अवसरमा मुख्यमन्त्रीले माया (किशोर तथा युवा उत्थान अभियान)-को पनि शुभारम्भ गरे। यो नाम्चीस्थित जिल्ला प्रशासन केन्द्रको पहल हो, जसको उद्देश्य जोखिममा रहेका बालकबालिका तथा किशोरकिशोरीहरूको रोकथाम, संरक्षण, पुनःस्थापना र सशक्तीकरण गर्नु हो।
यसका साथै मुख्यमन्त्रीले पाकिमस्थित जिल्ला प्रशासन केन्द्रको पहलमा (एकलव्य वेलनेश फेस्टिभल)-को पनि शुभारम्भ गरे।
यस पहलमाथि जानकारी दिँदै पाकिमकी जिल्लापाल परी बिश्नोईले बताइन्, “सिक्किम इन्सपायर्स कार्यक्रमअन्तर्गत पाकिम जिल्ला प्रशासनले ‘ईबीबी एण्ड फ्लो’ तथा अन्य सरोकारवालाहरूसँगको सहकार्यमा शुरु गरेको ‘एकालव्य वेल्नेश फेस्टिभल’-ले पर्यटनलाई स्थानीय समुदाय, जीविकोपार्जन, संस्कृति, खानपान, स्वास्थ्य/कल्याणर प्रकृतिसँग जोड्ने लक्ष्य राखेको छ। यो पहल परम्परागत दर्शनीय स्थलहरूभन्दा बाहिर गएर आगन्तुकहरूलाई योग र कल्याण सत्रहरू, प्रकृति पदयात्रा, स्थानीय खाना, परम्परागत शिल्प, माटोका भाँडाकुँडा, सांस्कृतिक गतिविधि र होमस्टेसहित इमर्सिभ, समुदाय नेतृत्व अनुभवहरू प्रदान गर्दछ। यस पहलको उद्देश्य आगन्तुकहरूलाई सिक्किमका मानिसहरू, परम्परा र प्राकृतिक परिवेशसँग अर्थपूर्ण रूपमा संलग्न हुन सक्षम बनाउनु हो।
उनले अझ भनिन्, “महोत्सवले उद्यमी, कल्याण अभ्यासकर्ता, संस्थापक, सामग्री सिर्जनाकर्ता र अन्य पेशेवरहरूलाई राज्यको विविध पर्यटन प्रस्तावहरूको अनुभव र प्रवर्द्धन गर्न एकसाथ ल्याउनेछ र आत्मनिर्भर, अनुभव-आधारित पर्यटन पारिस्थितिक प्रणालीलाई बढ़ावा दिनेछ।” यसका साथै मुख्यमन्त्रीले यूडीएको स्मारिका प्रतिबिम्ब 2026 को आवरण पृष्ठ पनि अनावरण गरे।
यहाँ तपाईंको विज्ञापन देखिन सक्छ
300 × 250 विज्ञापनका लागि सम्पर्क गर्नुहोस् →स्थानीय • ०१ नोभेम्बर, २०२६
स्थानीय • ०१ नोभेम्बर, २०२६
स्थानीय • ०१ नोभेम्बर, २०२६