रम्फूमा विष्टलाई जनाइयो भव्य स्वागत
- ‘371एफ स्थायी हो, संविधान रहेसम्म यो पनि रहन्छ’
- भाजपा बलियो हुँदा सिक्किम पनि बलियो हुने विष्टको दाबी
- ‘सिक्किम-दार्जीलिङ विलयको प्रस्ताव छँदै छैन’
-सिक्किममा भाजपाको सङ्गठन विस्तार कसैले पनि रोक्न नसक्ने विष्टको दाबी
गान्तोक, 5 अक्टोबरः आगामी छः महिनाभित्र सबै बुथस्तरमा पार्टीको सङ्गठन विस्तार गर्ने प्रतिबद्धताका साथ दार्जीलिङका सांसद राजु विष्टले सिक्किममा भारतीय जनता पार्टीको प्रभारीका रूपमा पहिलो सार्वजनिक सम्बोधन गरे। सोमवार सिङ्तामस्थित भाजपा कार्यालयमा आयोजित स्वागत कार्यक्रमबाट सिक्किममा पहिलो राजनीतिक सम्बोधन गर्दै विष्ट पार्टीको सङ्गठनलाई मजबुत गराउनु नै आफ्नो पहिलो उदेश्य रहेको बताए।
सिक्किम क्रान्तिकारी मोर्चा पार्टीसँग गठबन्धनमा रहेको भारतीय जनता पार्टीले सिक्किम सरकारलाई आवश्यक सहयोग दिन पछि नपर्ने, तर भाजपाको साङ्गठनिक विस्तार कार्यक्रमलाई भने कसैले रोक्न नसक्ने विष्टले बताए। उनले कार्यक्रममा सहभागी भाजपा कार्यकर्तालाई सम्बोधन गर्दै भने, “सिक्किममा भाजपाको सङ्गठन छ। यसलाई विस्तार गर्न कसैसँग अनुमति लिनु आवश्यक छैन। हामी संवैधानिक अधिकारअनुसार पार्टी विस्तार गर्छौँ किनभने हामी भाजपाका कार्यकर्ता हौँ, तर खेताला होइनौँ।”
उनले सिक्किम भारतीय जनता पार्टी भोट शेयर एक प्रतिशतबाट बढ़ेर पाँच प्रतिशत पुगिसकेको भन्दै सबैले मिलेर पार्टी बलियो बनाउनुपर्ने अपील पनि गरे। उनले सिक्किमका जनता भाजपासँग डराउनुपर्ने स्थिति नरहेको स्पष्ट पार्दै भने, “भाजपासँग डराउनुपर्दैन। भाजपाले कसैलाई खाँदैन, तर भाजपा बलियो हुँदा सिक्किम पनि बलियो हुन्छ।”
उनले सिक्किम भाजपा प्रभारीका रूपमा आफ्नो भूमिका स्पष्ट पार्दै भने, “म सांसद, विधायक बन्न सिक्किम आएको होइन। नेता बन्न अथवा कसैलाई नेता बनाउन पनि आएको होइन। हामीलाई चुनाउ जित्ने सङ्गठनको मात्रै खाँचो छैन, तर सिक्किम सिक्किम बनाउने सङ्गठनको खाँचो र त्यो काम हामी भाजपा कार्यकर्ताबाट हुनुपर्छ।” उनले अघि भने, “छः महिनाभित्र सबै जिल्ला र मण्डल दह्रिलो बनाउने लक्ष्य र हामीले यो अवधिभित्र सिक्किमका सबै बुथ स्तरका समितिलाई सशक्त बनाउनुपर्छ।”
सिक्किमको सुरक्षा र स्वाभिमानलाई उच्च राख्नु भारतीय जनता पार्टीको प्राथमिकतामा रहेको राजु विष्टले बताए। यसबारे बोल्दै उनले भने, “सिक्किमको स्वभिमान हाम्रो लागि सर्वोपरी हो। सिक्किमलाई अझ टेवा दिन सक्छ भने त्यो भाजपा हो। सिक्किमको विशेष सुरक्षा कवच 371एफलाई कसैले सुरक्षित राख्न सक्छ भने त्यो भाजपा हो।”
सांसद राजु विष्टले भारतीय जनता पार्टी केन्द्रमा सरकारमा रहेका पार्टी भएको कारण सबैको सम्मानमा झुकेर काम गरिरहेको बताए। उनले सिक्किममा पनि भाजपाले झुकेर काम गरिरहेको बताए।
भाजपालाई संविधान शिरोपर गर्दै काम गर्ने पार्टीको रूपमा व्याख्या गर्दै सिक्किम प्रभारी राजु विष्ट 371एफलाई लिएर सिक्किमका नागरिक निश्चिन्त रहन अपील गरे। जम्मू-कश्मीरबाट धारा 370 हटाएको जस्तो सिक्किमको 371एफ-लाई भाजपाले हटाउँछ भन्ने अफवाहमा सिक्किम जनता नपर्न आह्वान गर्दै विष्टले भने, “भाजपा संविधान मान्ने पार्टी हो, धारा 370 अस्थायी थियो हटायो, 371 एफ स्थायी हो। यो कसैले दिएको भीख होइन, सिक्किमले पाएको अधिकार र सुरक्षा कवच हो। भारतको संविधान रहेसम्म धारा 371एफ पनि रहन्छ।”
दार्जीलिङ-सिक्किम विलयको विषयमा उठेका तर्कहरूलाई पनि सिक्किम भाजपा प्रभारीका रूपमा पहिलो राजनीतिक सम्बोधनबाट राजु विष्टले खारेज गरे। दार्जीलिङको स्थायी राजनीतिक समाधानका उपायमा सिक्किम दार्जीलिङ विलयको प्रसङ्ग अहिलेसम्म नभएको उनले स्पष्ट पारे। उनले भने, “दार्जीलिङमा स्थायी राजनीतिक समाधान भारतको संविधानले नै दिनेछ। सिक्किमले पाएको जस्तै सुरक्षा कवच दार्जीलिङले पाउनेछ। यसमा धेरै कुरा बोल्न मिल्दैन, तर आन्तरिक कुरा मलाई पनि थाहा छ। म राम्रो कुरा भन्न डराउँदिनँ र नडराइ भन्न चाहन्छु, स्थायी राजनीतिक समाधानका लागि आजसम्म कहिल्यै सिक्किम-दार्जीलिङ विलयको कुरा आजसम्म भएको छैन, विलयको प्रस्ताव छँदै छैन। दार्जीलिङ र सिक्किमको भूगोल र विरासत एउटै प्रकारको हुनसक्छ, तर वर्तमान र भविष्य दुवैको अलग-अलग हो, जसले पनि सिक्किम र दार्जीलिङको विलयको कुरा गर्दैछ, उनले दार्जीलिङका जनतालाई पनि ठग्दैछन् र सिक्किमका जनतालाई पनि धोका दिँदैछन्।”
सिक्किममा एसकेएम भाजपा गठबन्धनमा रहेका कारण चुनाउ कसरी लड्ने भन्ने कुरा स्थानीय नभएर केन्द्रिय नेतृत्वको निर्णयमा रहने विष्टले स्पष्ट पारे। उनले राज्यका नेतृत्व र कार्यकर्तालाई चुनावी रणनीतिलाई लिएर टाउको नदुखाउने अपील गरे।
अर्कोतर्फ, सरकारलाई आवश्यक परे सहयोगका लागि भाजपा तयार रहेको बताउँदै भने, “म स्पष्ट भन्न चाहन्छु, भारतीय जनता पार्टीले पनि आफ्नो सङ्गठन विस्तार गर्नेछ।”
सिक्किम भाजपा प्रभारीको रूपमा आफ्नो नियुक्तिलाई सांसद विष्टले आफ्नो सौभाग्य र पार्टीले दिएको ठूलो जिम्मेवारी बताएका छन्।
भाजपा प्रदेश अध्यक्ष डीआर थापाले कार्यकर्ताहरूलाई धरातलीयस्तरमा सशक्त रूपमा काम गर्न अपील गरे। उनले भने, “भाजपा कुनै व्यक्तिविशेषको निजी संस्था होइन, बरू सामूहिक राजनीतिक सङ्गठन हो।” उनले पार्टी सिक्किमको विशिष्ट पहिचान र संवैधानिक हितको रक्षाको पक्षमा रहेको बताए। यसै सन्दर्भमा उनले वन नेशन, वन राशन कार्डको विरोध र इनर लाइन पर्मिट जस्ता सुरक्षा व्यवस्थाको समर्थनको उल्लेख गरे।
पार्टी महासचिव अर्जुन राईले विष्टको नियुक्तिलाई महत्त्वपूर्ण रहेको बताउँदै पहिलोचोटि नेपाली भाषी नेतालाई सिक्किमको प्रभारी बनाइएको बताए।
यहाँ तपाईंको विज्ञापन देखिन सक्छ
300 × 250 विज्ञापनका लागि सम्पर्क गर्नुहोस् →स्थानीय • ०१ नोभेम्बर, २०२६
स्थानीय • ०१ नोभेम्बर, २०२६
स्थानीय • ०१ नोभेम्बर, २०२६