अमेरिकी राजदूत सर्जियो गोर र पश्चिम बङ्गालका वित्तमन्त्री डा. स्वपन दासगुप्ता सहभागी
कोलकाता, 13 अक्टोबरः अमेरिकी राजदूत सर्जियो गोर र पश्चिम बङ्गालका वित्तमन्त्री डा. स्वपन दासगुप्ताले संयुक्त राज्य अमेरिकाको 250औँ वार्षिकोत्सव मनाउन आईटीसी रोयल बङ्गालमा आयोजित कार्यक्रममा अतिथिहरूसँग सहभागिता जनाएका छन्।
कोलकातास्थित अमेरिकी महावाणिज्यदूत क्याथी जाइल्स-डियाजले पूर्वी र पूर्वोत्तर भारतभरिका वरिष्ठ सरकारी अधिकारी, व्यावसायिक नेतृत्वगण, कूटनीतिज्ञ र नागरिक समाजका प्रतिनिधिहरूलाई स्वागत गरिन्। यस उत्सवले अमेरिका र कोलकाताबीचको दुई शताब्दीभन्दा लामो सम्बन्ध तथा अमेरिकी र भारतीय जनताबीचको अटुट सम्बन्धलाई झल्कायो।
यस कार्यक्रमले पूर्वी र पूर्वोत्तर भारतभरिका वरिष्ठ सरकारी अधिकारी, व्यावसायिक नेतृत्वगण, कूटनीतिज्ञ र नागरिक समाजका प्रमुख प्रतिनिधिहरूलाई एउटै मञ्चमा ल्यायो।
यो कार्यक्रम सन् 1776 मा स्वतन्त्रताको घोषणापत्रमा हस्ताक्षर भएको 250 वर्ष पुगेको अवसरमा यूएस मिसन टु इण्डिया (भारतस्थित अमेरिकी नियोग) द्वारा आयोजित फ्रिडम 250 उत्सवको एक हिस्सा थियो। देशभरि मनाइने यस उत्सवले अमेरिकाको इतिहासको सम्मान गर्दै आगामी 250 वर्ष र त्यस भविष्यलाई आकार दिने साझेदारीहरूतर्फ पनि दृष्टि पुर्याउँछ।
साँझको मुख्य आकर्षणहरूमा यूएस नेभी ब्याण्ड ओरिएन्ट एक्सप्रेसको प्रस्तुति र कार्यक्रमको विषयवस्तु झल्काउने हवाई (एरियल) प्रस्तुति समावेश थिए। म्युजिसियन थर्ड क्लास केटी ग्रेस स्टेफेन्सनले भारत र संयुक्त राज्य अमेरिकाको राष्ट्रिय गान प्रस्तुत गरिन्।
राजदूत गोरले बढ्दो अमेरिका-भारत साझेदारी र यसले दुवै देशका लागि दिइरहेको ठोस परिणामहरूमाथि प्रकाश पारे।
“आज राति, हामी अमेरिकी स्वतन्त्रताको 250औँ वर्ष मनाउँदै छौँः निर्माण गर्ने, प्रतिस्पर्धा गर्ने र जित्ने स्वतन्त्रता र यहाँ कोलकातामा हामी अमेरिका-भारत साझेदारीको पनि उत्सव मनाउँदै छौँ, जसले हाम्रा दुवै राष्ट्रका लागि वास्तविक परिणाम दिइरहेको छ। संयुक्त राज्य अमेरिका र भारत विश्वसनीय साझेदार हुन् र हाम्रा सामु अद्भुत अवसरहरू छन्। व्यापार र प्रविधिदेखि सुरक्षा र क्वाडसम्म हामी हाम्रा दुवै देशका जनताका लागि अझ समृद्ध र सुरक्षित भविष्य निर्माण गर्न सँगै काम गरिरहेका छौँ।” अमेरिकी महावाणिज्यदूत क्याथी जाइल्स-डियाजले भनिन्, “कोलकातामा यो ऐतिहासिक 250औँ वार्षिकोत्सव मनाउन पाउनु सौभाग्यको कुरा हो। यो केवल विगतको सम्झना होइन - यो स्वतन्त्रता, स्वशासन र एकताका ती मूल्यहरूको पुनःपुष्टि हो, जसले अमेरिकी जनतालाई एकताबद्ध राखेका छन् साथै यो संयुक्त राज्य अमेरिका र भारतबीचको गहिरो र बढ्दो सम्बन्धको स्मरण पनि हो।”
यस अवसरमा वित्तमन्त्री डा. स्वपन दासगुप्ताले हार्दिक सन्देश दिँदै भने, “श्रद्धा र उत्सव दुवैका साथ शहर जीवन्त बन्ने यस चाड़पर्वको मौसममा यहाँहरू सबैलाई कोलकातामा स्वागत गर्न पाउँदा सधैँ खुशी लाग्छ। संयुक्त राज्य अमेरिकाको स्वतन्त्रताको 250औँ वार्षिकोत्सव मनाउने यस विशेष अवसरको हिस्सा बन्न पाउनु सौभाग्यको कुरा हो। पश्चिम बङ्गाल सरकारको तर्फबाट म यस ऐतिहासिक कोसेढुङ्गाका लागि संयुक्त राज्य अमेरिकाका जनतालाई हार्दिक बधाई ज्ञापन गर्दछु।”
कोलकातामा आयोजित यस उत्सवले पूर्वी र पूर्वोत्तर भारतमा अमेरिकी-भारतीय सम्बन्धको गहिराइलाई पनि झल्कायो। आफ्नो 11 राज्यको कन्सुलर क्षेत्रभित्र, कोलकातास्थित अमेरिकी महावाणिज्य दूतावासले व्यापार र लगानी विस्तार गर्न, शैक्षिक तथा सांस्कृतिक सम्बन्ध सुदृढ़ गर्न र पुस्तौँदेखि अमेरिकी तथा भारतीयहरूलाई जोड्दै आएको जनस्तरको सम्बन्धलाई अझ प्रगाढ़ बनाउन विभिन्न साझेदारहरूसँग मिलेर काम गर्दै आएको छ।
यहाँ तपाईंको विज्ञापन देखिन सक्छ
300 × 250 विज्ञापनका लागि सम्पर्क गर्नुहोस् →राष्ट्रिय • १६ अक्टोबर, २०२६
राष्ट्रिय • १२ अक्टोबर, २०२६
राष्ट्रिय • २७ सेप्टेम्बर, २०२६