लेटरप्रेसदेखि डिजिटल युगसम्म

अर्जुन चामलिङ ‘यावा’
• अन्तर्वार्ता • १२ अक्टोबर, २०२६
लेटरप्रेसदेखि डिजिटल युगसम्म

सत्यको यात्रामा विजय बान्तवा

सिक्किमेली पत्रकारिताको इतिहासमा छुट्टिनु नहुने एउटा स्थापित नाम हो वरिष्ठ पत्रकार एवं साहित्यकार विजय बान्तवा। पत्रकारिता उनका लागि केवल पेशा होइन, समाजसेवाको एउटा माध्यम हो। त्यसैले आर्थिक कठिनाइ, शारीरिक-मानसिक थकान र अनेकौँ चुनौतीबीच पनि उनको पत्रकारिताको यात्रा रोकिएनन्। बरु समयसँगै परिवर्तित हुँदै गएको प्रविधि, सञ्चारका माध्यम र पत्रकारिताका स्वरूपलाई आत्मसात् गर्दै उनी निरन्तर अगाड़ि बढ़िरहे।

‘लेटरप्रेस’को कठिन समयदेखि कम्प्युटर, इन्टरनेट हुँदै डिजिटल र सामाजिक सञ्जालको युगसम्म आइपुग्दा उनले पत्रकारिताका अनेकौँ रूप देखे, भोगे र अनुभव गरे। करिब पाँच दशक लामो यही यात्रामा उनले एउटा कुरा भने निरन्तर सम्झिरहे-पत्रकारिता सत्यको यात्रा हो। वरिष्ठ पत्रकार एवं साहित्यकार विजय बान्तवाको जीवनयात्रा हेर्दा पत्रकारिताप्रतिको यही समर्पण सबैभन्दा बलियो पक्षका रूपमा देखिन्छ।

  • चियाबारीबाट शुरु भएको यात्रा

श्री विजय बान्तवाको जन्म दार्जीलिङ जिल्लाको सेलेम्बुङ अर्थात् पहिला सुलबुङ भनिने चियाबारीमा 20 अप्रेल, 1956 मा भएको हो। पिता स्व. रतनलाल बान्तवा र माता धनमायाको कोखबाट जन्मिएका उनले बाल्यकाल सेलेम्बुङमै बिताए।

स्थानीय प्राथमिक पाठशालाबाट पाँच कक्षासम्मको अध्ययन पूरा गरेपछि उनले पोखरङ हाईस्कूलमा दशौँ कक्षासम्म पढ़े। त्यसपछि उनको जीवनले नयाँ मोड़ लियो। सन् 1976/77 तिर उनी सिक्किम आए। यहीँ उनको अध्ययन, रोजगारी, साहित्यिक रुचि र पत्रकारिताको यात्रा क्रमशः अघि बढ्दै गयो।

अहिले नरबहादुर भण्डारी कलेजका रूपमा चिनिने सिक्किम सरकारी महाविद्यालयमा उनले नन-टिचिङ स्टाफका रूपमा काम शुरु गरे। त्यतिबेला कलेजमा विद्यार्थीको सङ्ख्या पनि अहिलेको जस्तो ठूलो थिएन। सीमित स्रोत र साधनबीच काम गर्दै उनले त्यहाँका प्राध्यापकहरूसँगको सम्पर्कबाट आफ्नो अध्ययनलाई पनि निरन्तरता दिए।

पञ्जाब युनिभर्सिटीबाट करेस्पोन्डेन्स कोर्समार्फत अध्ययन अघि बढ़ाउँदै उनले बीए अनर्स पूरा गरे। पछि सिक्किममा ल कलेज खुलेपछि एलएलबी पनि पूरा गरे। अङ्ग्रेजीमा स्नातकोत्तर अध्ययन गरे पनि त्यो भने पूरा गर्न सकेनन्। तर, औपचारिक शिक्षाभन्दा पनि जीवनले उनलाई दिएको अर्को ठूलो शिक्षा थियो- सङ्घर्ष गर्दै अघि बढ्ने।

वकालत कि पत्रकारिता?

एलएलबी पूरा गरेपछि उनीसँग वकालत गर्ने बाटो खुल्ला थियो। कलकत्ताको बार काउन्सिलसँग जोड़िएर उनले केही समय प्राक्टिस पनि सिके। गान्तोक फर्किएपछि वकिलका लागि आवश्यक कालो कोट र अन्य सामग्रीसमेत तयार पारे। तर, यही समयमा उनको मनभित्र एउटा ठूलो द्वन्द्व शुरु भयो-वकालत गर्ने कि पत्रकारितामा जाने?

एक बिहान पूजा गरिरहँदा उनले आफूलाई यही प्रश्‍न गरे। धेरै सोचिसकेपछि उनले आफ्नो बाटो आफैँ रोजे। वकालतमा उनले सङ्घर्ष गरिरहेका युवा अधिवक्ताहरूको अवस्था नजिकबाट देखेका थिए। कतिपय अवस्थामा आफ्नो सिद्धान्तसँग सम्झौता गर्नुपर्ने अवस्था आउन सक्ने कुराले उनलाई आकर्षित गरेन। त्यसको विपरीत पत्रकारितामा उनले आफूलाई समाजसँग प्रत्यक्ष जोड्न सक्ने सम्भावना देखे।

बाल्यकालदेखि नै साहित्य र पत्रकारितामा उनको रुचि थियो। समाजसेवा गर्ने चाहना पनि थियो। त्यसैले अन्ततः उनले वकालतको बाटो छाड़ेर पत्रकारितालाई आफ्नो जीवनको बाटो बनाए। कारण, उनका लागि पैसा कमाउनु जीवनको अन्तिम उद्देश्य थिएन। आवश्यकताका लागि पैसा चाहिने भए पनि समाजका लागि केही गर्ने इच्छा ठूलो थियो। उनको बुझाइमा वकालतले आफूलाई एउटा कोठाभित्र सीमित गर्न सक्थ्यो, तर पत्रकारिताले समाजको सबै तहसम्म पुग्ने स्वतन्त्र मञ्च दिन्थ्यो।

अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक अधिकारलाई उपयोग गर्दै समाजका विभिन्न पक्षसँग जोड़िन सकिने र जनताको आवाजलाई बाहिर ल्याउन सकिने भएकाले पत्रकारिता उनलाई आफ्नो स्वभावसँग नजिक लाग्यो।

‘हिमाली बेला’ देखि पत्रकारिताको कखरा

पत्रकारिताको औपचारिक यात्रा शुरु हुनुअघि नै उनी ‘हिमाली बेला’ सँग जोड़िइसकेका थिए। अहिले दैनिक रूपमा प्रकाशित हुने ‘हिमाली बेला’ त्यतिबेला साप्ताहिक पत्रिकाका रूपमा प्रकाशित हुन्थ्यो। त्यहाँ काम गर्दा उनले पत्रकारिताका धेरै कुरा व्यवहारिकरूपमा सिक्ने अवसर प्राप्त गरे। औपचारिक रूपमा पत्रकारिताको कक्षा नलिए पनि समाचार कसरी तयार हुन्छ, सम्पादन कसरी हुन्छ र एउटा पत्रिका कसरी तयार भएर पाठकसम्म पुग्छ भन्ने कुरा उनले त्यही वातावरणबाट सिक्दै गए।

त्यतिबेला पत्रकारिताको अध्ययनका लागि सहज स्रोत र साधन थिएनन्। त्यसैले काम गर्दै, पढ्दै र अनुभवी अग्रजहरूबाट सिक्दै उनले आफ्नो पत्रकारिता यात्रा अघि बढ़ाए। उनको साहित्यिक पृष्ठभूमिले पनि पत्रकारितामा सहयोग गर्‍यो। सन् 1974 मै उनले ‘अवकाश’ नामक साहित्यिक पत्रिकाको सम्पादन गरिसकेका थिए। साहित्य र पत्रकारितासँगको यही सम्बन्ध पछि उनको जीवनको महत्त्वपूर्ण आधार बन्यो।

अक्षर टिपेर समाचार छाप्ने समय

आज एउटा समाचार लेखेर मोबाइलबाटै संसारभरि पठाउन सकिन्छ। केही सेकेन्डमै फोटो, भिडियो र समाचार पाठकसम्म पुग्छ। तर, श्री बान्तवाले पत्रकारिता शुरु गर्दा अवस्था एकदमै फरक थियो। त्यो लेटरप्रेसको समय थियो। एक-एक अक्षर हातले टिपेर स्टिकमा मिलाउनुपर्थ्यो। अक्षरहरू मिलाएर ग्याली (ट्रे वा फ्रेम) तयार पारिन्थ्यो। त्यसपछि त्यसलाई टाइट गरेर प्रेसमा राखिन्थ्यो र मेशिन चलाएर पत्रिका छापिन्थ्यो।

खुट्टाले चलाउने प्रेस मेशिन पनि थिए। बिजुलीको सुविधा सहज थिएन। जाड़ो महिनामा चिसोबीच काम गर्नुपर्थ्यो। कम्पोजिटर, प्रेस वर्कर र सम्पादकका काम छुट्टाछुट्टै भए तापनि आवश्यक पर्दा पत्रकार आफैँ पनि प्रेसको काममा हात हाल्नुपर्ने अवस्था थियो। त्यो समय कठिन थियो, तर त्यसमा एउटा छुट्टै आत्मीयता पनि थियो।

समाचार छापिन समय लाग्थ्यो। पाठकसम्म पुग्न ढिलाइ हुन्थ्यो। तर, समाचार-पत्र नै सूचना प्राप्त गर्ने प्रमुख माध्यम भएकाले पाठकहरू पत्रिकाको प्रतीक्षा गर्थे। बजारमा पत्रिका पुगेपछि त्यसको माग हुन्थ्यो। आजको डिजिटल युगसँग तुलना गर्दा त्यो समय ढिलो थियो, तर त्यति बेलाको पत्रकारिताले समाजमा आफ्नो छुट्टै स्थान बनाएको थियो।

प्रविधि बदलियो, जिम्मेवारी झन् बढ्यो

लेटरप्रेसदेखि कम्प्युटर र त्यसपछि इन्टरनेट तथा डिजिटल मिडियासम्मको परिवर्तन श्री विजय बान्तवाले आफ्नै आँखाले देखे। उनको अनुभवमा डिजिटल माध्यमले पत्रकारितालाई अत्यन्त छिटो, सहज र पहुँचयोग्य बनाएको छ। तर, यही गति पत्रकारिताका लागि चुनौती पनि बनेको छ।

पहिले समाचार छापिनुअघि गल्ती सच्याउने समय हुन्थ्यो। अहिले एउटा गलत सूचना सेकेन्डमै हजारौँ मानिससम्म पुग्न सक्छ। त्यसपछि त्यसलाई नियन्त्रण गर्न सजिलो हुँदैन। त्यसैले डिजिटल युगमा पत्रकारिताको पहिलो आवश्यकता शुद्धता र विश्‍वसनीयता भएको उनको धारणा छ। उनका लागि प्रविधि बदलिन सक्छ, माध्यम बदलिन सक्छ, तर पत्रकारिताको आधार बदलिनु हुँदैन।

पाँच दशकको सङ्घर्ष

पत्रकार विजय बान्तवाको पाँच दशक लामो पत्रकारिता यात्रा सहज थिएन। आर्थिक कठिनाइ, बिरामी हुँदा आउने समस्या, पारिवारिक जिम्मेवारी, शारीरिक तथा मानसिक थकानजस्ता कुराहरूसँग जुझ्दै उनले पत्रकारितालाई अघि बढ़ाए।

पत्रकारिताबाट मात्र परिवार चलाउन कठिन हुने समय पनि आयो। त्यसैले प्रेससँग सम्बन्धित अन्य काम गरेर अतिरिक्त आम्दानी गर्नुपरेको अनुभव उनीसँग छ। तर, उनले पत्रकारितालाई छाड़ेनन्। उनको दृष्टिमा पत्रकारिता एउटा समर्पण हो। उनले यसलाई सैनिकको सेवासँग तुलना गरेका छन्। जसरी एउटा सैनिकले सीमामा आफ्नो जीवनसम्म जोखिममा राखेर कर्तव्य निर्वाह गर्छ, त्यसरी नै एउटा साँचो इमान्दार पत्रकारले पनि व्यक्तिगत स्वार्थभन्दा माथि उठेर आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने उनको विश्‍वास छ।

राष्ट्रिय पत्रकारितासँगको सम्बन्ध

स्थानीय पत्रकारितामा सीमित नरहेर श्री बान्तवा राष्ट्रिय स्तरका पत्रकार सङ्गठनसँग पनि जोड़िए। ‘इन्डियन फेडरेसन अफ् स्मल एन्ड मिडियम न्यूजपेपर्स’सँग जोड़िँदै उनले सन् 1985-87 को आसपास सिक्किम युनिटको नेतृत्वसमेत गरे। यसै क्रममा उनको सम्बन्ध भारतका विभिन्न केन्द्रिय संस्थासँग पनि स्थापित भयो। उनी सेन्ट्रल प्रेस एक्रेडिटेसन कमिटी, पीआईबीसँग पनि जोड़िए। उनका अनुसार भारतबाट नेपाली भाषाको प्रतिनिधित्व गर्दै उक्त समितिमा छनोट हुने पहिलो नेपाली पत्रकारको अवसर आफूले पाएका थिए। यो अनुभव उनको पत्रकारिता जीवनको एउटा महत्त्वपूर्ण उपलब्धिमध्ये एक रह्यो।

राष्ट्रिय नेताहरूसँगका अविस्मरणीय क्षण

पत्रकारिताले उनलाई राष्ट्रिय स्तरका नेता र मन्त्रीहरूसँग प्रत्यक्ष संवाद गर्ने अवसर पनि दियो। दिल्लीमा आयोजित राष्ट्रिय पत्रकार सम्मेलनमा सहभागी हुँदा उनले केन्द्रिय मन्त्री पी. चिदम्बरमलगायत राष्ट्रिय नेताहरूसँग प्रश्‍न गर्ने अवसर पाए। ठूलो सङ्ख्यामा पत्रकारहरू उपस्थित हुने त्यस्ता सम्मेलनमा आफ्नो प्रश्‍न सोध्नका लागि पत्रकारहरूबीच प्रतिस्पर्धा हुने गर्थ्यो। उनी पनि त्यो प्रतिस्पर्धाबाट पछि हटेनन्। उत्तरपूर्वी क्षेत्र, इन्टरनेटको विस्तार, वित्तीय तथा विकाससम्बन्धी विषयलगायत प्रश्‍न उनले राष्ट्रिय नेताहरूसामु राखे। त्यस्ता क्षणहरू उनको पत्रकारिता जीवनका अविस्मरणीय अनुभव बने।

त्यस्तै, तत्कालीन प्रधानमन्त्री अटल बिहारी वाजपेयी सिक्किम आउँदा गभर्नर हाउसमा आयोजित पत्रकार सम्मेलनमा पनि उनले प्रश्‍न गर्ने अवसर पाए। पाकिस्तानका तत्कालीन राष्ट्रपति परवेज मुशर्रफसँगको सम्बन्ध, शान्ति प्रयास र आतङ्कवादसँग सम्बन्धित विषयमा उनले प्रश्‍न उठाए। त्यस दिन उनको प्रश्‍न सञ्चारमाध्यममा चर्चाको विषय बनेको सम्झना उनीसँग अझै ताजा छ।

इन्टरनेटको शुरुआती समयमै ‘हिमगिरी’ अनलाइन

नेपाल र भारतका नेपाली भाषी क्षेत्रमा इन्टरनेट विस्तार हुँदै गर्दा बान्तवाले त्यसलाई पनि पत्रकारिताको नयाँ सम्भावनाका रूपमा लिए। सन् 2000 तिर इन्टरनेट होस्टिङको प्रारम्भिक अभ्यास हुँदै गर्दा उनले ‘हिमगिरि’लाई अनलाइनमा लैजाने प्रयास गरे, जो साप्ताहिक समाचार-पत्रका रूपमा 1985 देखि प्रकाशित हुँदै आइरहेको थियो। त्यो समय अनलाइन पत्रकारिता आजजस्तो सहज थिएन। तर, नयाँ प्रविधि सिक्दै उनले ‘हिमगिरि’लाई इन्टरनेटमा पुर्‍याउने प्रयास सफल बनाए। यसले उनको पत्रकारिता केवल छापा अर्थात् प्रिन्ट माध्यममा सीमित नभएको देखाउँछ। समयसँगै माध्यम परिवर्तन हुँदै जाँदा आफूलाई पनि परिवर्तन गर्न सक्ने क्षमता उनको यात्राको अर्को विशेषता बन्यो।

पत्रकारितालाई दस्तावेज बनाउने प्रयास

पत्रकारितामा लामो समय बिताएपछि उनले आफ्नो अनुभवलाई पुस्तकका रूपमा दस्तावेजीकरण गर्ने आवश्यकता महसुस गरे। यही सोचबाट ‘पत्रकारिताका पक्षहरू’ पुस्तक जन्मियो। भारतीय नेपाली पत्रकारिताका लागि आवश्यक सामग्रीको अभाव उनले नजिकबाट अनुभव गरेका थिए। नेपालमा पत्रकारितासम्बन्धी पुस्तकहरू भए पनि भारतीय नेपाली समाज, यहाँको पत्रकारिता र यहाँको सामाजिक-राजनीतिक परिवेश फरक भएकाले ती सबै सन्दर्भ यहाँ जस्ताको तस्तै लागू नहुने उनको अनुभव थियो।

भारतीय नेपाली पत्रकारिताको ऐतिहासिक पक्ष समेट्ने काम केही लेखकले गरे तापनि समाचार कसरी लेख्ने, समाचारको स्रोत के हो, पत्रकारिताको आधार के हो, रिपोर्टिङ कसरी गर्ने, पत्रकारको जिम्मेवारी के हो जस्ता व्यावहारिक पक्षमा अझै काम गर्नुपर्ने आवश्यकता उनले देखे। त्यसैले उनले आफ्नो अनुभव र अध्ययनलाई पुस्तकमा समेटे।

समयसँगै पुस्तकलाई परिमार्जन गर्दै लगे। सन् 2026 मा प्रकाशित संस्करणमा उनले सिक्किमबाट प्रकाशित पुराना पत्रिका तथा पत्रकारितासम्बन्धी सामग्रीलाई समेत दस्तावेजका रूपमा समेट्ने प्रयास गरेका छन्। उनका लागि यो पुस्तक केवल आफ्नै अनुभवको अभिव्यक्ति होइन; नयाँ पुस्ताका पत्रकारका लागि एउटा आधार बन्न सक्ने प्रयास पनि हो।

साहित्य र पत्रकारिता : संवेदनशीलता र निष्पक्षताको सम्बन्ध

साहित्य र पत्रकारिता दुवै क्षेत्रमा लामो समय बिताएका बान्तवाका लागि यी दुई विधाबीच गहिरो सम्बन्ध छ। साहित्यले मानिसलाई संवेदनशील बनाउने, सामाजिकता सिकाउने र मानवीय गुणको विकास गर्ने उनको विश्‍वास छ। यही साहित्यिक पृष्ठभूमिले पत्रकारितामा पनि आफूलाई सहयोग गरेको उनी बताउँछन्। तर, पत्रकारितामा संवेदनशीलता मात्र पर्याप्त हुँदैन।

पत्रकारले सत्य लेख्नुपर्छ। आवश्यक पर्दा आलोचना गर्नुपर्छ। कसैप्रति व्यक्तिगत माया वा घृणाका आधारमा होइन, तथ्य र निष्पक्षताका आधारमा समाचार प्रस्तुत गर्नुपर्छ। उनको दृष्टिमा आलोचना स्वस्थ हुनुपर्छ। पत्रकारिता कसैलाई खुशी पार्ने माध्यम होइन। सत्यलाई बाहिर ल्याउने माध्यम हो।

सामाजिक सञ्जालको युगमा विश्‍वसनीयताको प्रश्‍न

आज सामाजिक सञ्जालले पत्रकारिता र सूचनाको परिभाषालाई नै फराकिलो बनाएको छ। हातमा मोबाइल र क्यामेरा भएपछि जोसुकैले सूचना सार्वजनिक गर्न सक्छ। तर, बान्तवाका लागि पत्रकारिता यति मात्र होइन। “क्यामेरा लिएर बोल्दैमा पत्रकारिता हुँदैन। पत्रकारिताको सीमा, संविधानले दिएको अधिकार, कानुनी जिम्मेवारी, समाचारको स्रोत र तथ्यको सत्यापनबारे ज्ञान आवश्यक हुन्छ। विशेषगरी मानहानि, अनुसन्धानात्मक पत्रकारिता, समाचारको स्रोत र सूचनाको विश्‍वसनीयताजस्ता विषयमा पत्रकार सचेत हुनुपर्छ”- उनी भन्छन्। उनका लागि पत्रकारिताको सबैभन्दा महत्त्वपूर्ण शब्द हो- क्रेडिबिलिटी अर्थात् विश्‍वसनीयता।

“माध्यम जुनसुकै होस्-प्रिन्ट, अनलाइन वा सामाजिक सञ्जाल-विश्‍वसनीयता गुम्यो भने पत्रकारिताको मूल उद्देश्य नै कमजोर हुन्छ”-भन्ने उनको मान्यता हो।

जीवनले सिकाएको पाठ

पाँच दशकभन्दा लामो यात्रापछि फर्केर हेर्दा बान्तवाले जीवनबाट सिकेको सबैभन्दा ठूलो पाठ धैर्य, सहनशीलता र सङ्घर्ष गर्न सक्ने क्षमता हो। आपतमा पनि धीरज राख्नुपर्छ। आफू जस्तो अवस्थामा छौँ, त्यसैमा खुशी भएर बाँच्न सिक्नुपर्छ। जीवनमा दुःख आउँछन्, आलोचना हुन्छ, निन्दा पनि हुन्छ। तर ती सबैभन्दा माथि उठेर सकारात्मक दिशामा अघि बढ्नुपर्ने उनको धारणा छ। सबैसँग हाँस्न, सबैसँग मिल्न र सकारात्मक सोच राख्न उनले जोड़ दिएका छन्। उनको जीवनदर्शनको एउटा सार वाक्यमा भन्नुपर्दा- “सत्यको यात्रा नै पत्रकारिता हो। सत्यको यात्रा नै जीवनको दर्शन हो।”

नयाँ पुस्ताका लागि सन्देश

आज पत्रकारितामा आउन चाहने युवाहरूलाई उनी एउटा महत्त्वपूर्ण कुरा सम्झाउँछन्- “पहिला आफ्नो उद्देश्य स्पष्ट बनाउनुपर्छ।” उनी भन्छन्, “पत्रकारिताबाट तुरुन्तै पैसा, पुरस्कार वा प्रतिष्ठा पाइन्छ भन्ने अपेक्षा राखेर मात्र यो क्षेत्रमा आउनु हुँदैन। समाजको सेवा गर्ने दृढ़ इच्छासहित, इमानदारीपूर्वक र निरन्तर काम गर्ने प्रतिबद्धता चाहिन्छ।” परिवार र आर्थिक अवस्थालाई पनि ध्यानमा राखेर आफ्नो निर्णय गर्नुपर्ने उनको सुझाउ छ। तर, पत्रकारितामा आएपछि भने त्यसलाई जिम्मेवारी र समर्पणका साथ अघि बढ़ाउनुपर्ने उनको आग्रह छ। उनका लागि पत्रकारिता अझै पनि समाजसेवाको क्षेत्र हो।

एउटा यात्राको अर्थ

सेलेम्बुङको चियाबारीबाट शुरु भएको एउटा बालकको यात्रा वकालतको ढोकासम्म पुग्यो। तर, त्यहाँबाट फर्किएर उनले पत्रकारिताको बाटो रोजे। लेटरप्रेसमा अक्षर टिपेर समाचार छापे। चिसोमा प्रेस चलाए। आर्थिक कठिनाइ भोगे। साहित्यिक पत्रिका सम्पादन गरे। राष्ट्रिय पत्रकार सङ्गठनसँग जोड़िए। भारतको केन्द्रिय प्रेस एक्रेडिटेसन प्रणालीसम्म पुगे। राष्ट्रिय नेताहरूसँग प्रश्‍न गरे। इन्टरनेटको प्रारम्भिक समयमा आफ्ना प्रकाशनलाई अनलाइनमा लैजाने प्रयास गरे र अन्ततः आफ्ना अनुभवलाई पुस्तकका पानामा दस्तावेज बनाए। यो केवल एउटा पत्रकारको व्यावसायिक यात्रा होइन। यो समयसँगै बदलिँदै गएको पत्रकारिताको पनि एउटा इतिहास हो।

लेटरप्रेसमा हातले टिपिएका अक्षरदेखि आजको डिजिटल स्क्रिनसम्म आइपुग्दा प्रविधि धेरै बदलिएको छ। माध्यम बदलिएको छ। समाचारको गति बदलिएको छ। पाठकको बानी बदलिएको छ। तर, विजय बान्तवाका लागि पत्रकारिताको मूल मर्म अझै उही छ- “सत्यको खोजी र समाजप्रतिको जिम्मेवारी।”

सायद यही कारण पाँच दशक लामो यात्रापछि पनि उनको पत्रकारिताप्रतिको समर्पणमा कमी आएको छैन। किनकि उनका लागि पत्रकारिता केवल समाचार लेख्ने काम होइन। यो समाजलाई बुझ्ने, समाजलाई बुझाउने र सत्यको बाटोमा निरन्तर हिँड़िरहने एउटा यात्रा हो।

विज्ञापन यहाँ तपाईंको विज्ञापन देखिन सक्छ 728 × 90 →
विज्ञापन Hotel Gangtok Drift — Footer Banner
ब्रेकिङ